किसान समूहलाई निःशुल्क बोयर जातको बोका वितरण 

जनकपुरधाम  । बाख्राको नश्ल सुधार गरेर मासु उत्पादन बढाएर किसानको आय आर्जन तथा पोषण अवस्थामा सुधार ल्याउनका लागि खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लष्टर इकाई धनुषाले बोयर जातको बोका निःशुल्क वितरण गरेको छ । 

धनुषा तथा महोत्तरीको ४ वटा गाउँपालिकामा विश्व बैङ्कको सहयोगमा नेपाल सरकारद्वारा सञ्चालित रहेको आयोजनाले बाख्राको नश्ल सुधारका लागि पोखरा तथा बन्दीपुरको सरकारी फारमबाट बोयर बोका खरिद गरेर ल्याई चार वटा बोका दुई वटा बाख्रा पालन समूहलाई प्रदान गरेको छ । 

तीव्र रुपमा बढ्ने तथा कम बोसो सहितको मासु उत्पादन दिनमा मद्दत पुग्ने गरी बोयर जातको बोका धनुषाको धनौजी गाउँपालिकाको वडा नंं ५ बौहर्वामा रहेको लक्ष्मी बाख्रा पालन कृषक समूह तथा महोत्तरीको पिपरा गाउँपालिकाको जय माँ काली बाख्रा पालक समूहलाई प्रदान गरिएको छ । 

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लष्टर इकाई धनुषाका कार्यालय प्रमुख सुकेश्वर झाले समूहका अध्यक्ष राजकिशोर राउतलाई आज बोयर जातको बोका प्रदान गरेको छ । 

चार वटा बोका मध्ये २ वटा शत प्रतिशत तथा २ वटा ५० प्रतिशतको बोयर बोका रहेको कार्यालय प्रमुख झाले जानकारी दिनुभयो ।  

शत प्रतिशत बोयर बोकाबाट स्थानीय बाख्रालाई गर्भाधान गराउँदा ५० प्रतिशत, ५० प्रतिशत बोयर बोकाबाट बोयर बाख्रामा गर्भाधान गराउँदा ७५ प्रतिशत बोयर जातको बाख्रा एवं बोका जन्म लिने र बोयर जातको बोकाबाट उत्पन्न भएको बाख्रा एवं बोकाको वृद्धि तीव्र गतिमा हुने भएकाले यसले गरिबी निवारणमा मद्दत पुग्ने छ । 

यसअघि धनुषाको मुखियापट्टी तथा महोत्तरीको एकडारा बेलामा वोयर जातको बोका प्रदान गरिसकेको छ । 

बोयर जाँतको बोकाको प्रयोग समूहमा भएका किसानहरूले निःशुल्क तथा समूहले तोकेको शुल्कमा बाख्रालाई गर्भाधान गराउन पाउने भएका छन् ।  

मानव सूचकाङ्क तथा पोषणका दृष्टिकोणले निक्कै पछाडि परेका धनुषा तथा महोत्तरीका चार वटा पालिकामा खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना अन्तर्गत गरिब तथा विपन्न किसानहरूका लागि विभिन्न प्रकारको कार्यक्रमहरू गर्दै आएको छ । 

खास गरेर खाद्य उत्पादन, बजारीकरण, फलफूल तथा तरकारी उत्पादन, पशुपक्षी उत्पादन तथा व्यवसायिकरणमा सहयोग गर्दै आएको छ । 

कार्यालयले बिउँ विजन, मल खाद्य, यान्त्रिकीकरण सहितको क्षेत्रमा किसानहरूलाई सहयोग गर्दै आएको छ । 

कार्यक्रम लागू भएपछि धनुषाका दुई तथा महोत्तरीका दुई गरेर चार गाउँपालिकाको गरिब किसानहरूको जीवन स्तरमा सुधार आएको छ । 

https://ujyaalonepalnews.com/archives/22004

Previous articleसङ्घर्ष समिति र धितोपत्र बोर्डबिच सम्झौता
Next articleभरतपुर महानगरको बजेट रु पाँच अर्ब ७४ करोड
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।