
विराटनगर । विराटनगर महानगरपालिकाको नगर सभाको १०औँ अधिवेशनमा आगामी आर्थिक वर्षका लागि आय र व्ययको बजेट सार्वजनिक गरिएको छ ।
आगामी आर्थिक वर्षमा कूल रु तीन अर्ब ६२ करोड ५५ लाख ६७ व्यय हुने अनुमान गरिएको छ ।
सो व्ययमध्ये कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ रु ५५ करोड ३५ लाख ५० हजार, पूर्वाधार विकासतर्फ रु एक अर्ब ८९ करोड ७१ लाख १७ हजार, आर्थिक विकासतर्फ रु २७ करोड ७३ लाख, सामाजिक विकासतर्फ रु ७८ करोड ३९ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ रु सात करोड ७७ लाख र वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु तीन करोड ६० लाख खर्च हुने बजेटमा अनुमान गरिएको छ ।
महानगर उपप्रमुख शिल्पा निराला कार्कीले वाचन गर्नुभएको बजेटमा आगामी वर्ष सञ्चालन हुने मुख्य आयोजनामा वडा स्तरीय आयोजनामा रु ४१ करोड ६८ लाख १७ हजार, नगर स्तरीय आयोजनाका लागि रु ३० करोड, बहुवर्षीय तथा गौरवका आयोजनाका लागि रु २९ करोड, कर्मागत योजनाको भुक्तानीका लागि रु ४० करोड, आरयुडिपीबाट निर्माण भएका लगायतका कालोपत्रे सडकसमेत गरी मर्मत सम्भारमा रु १४ करेड, अन्य पूर्वाधारतर्फ रु नौ करोड ८० लाख, फोहर पानी प्रशोधन केन्द्रका लागि रु दुई करोड ५० लाख र समपूरक कोषमा रु चार करोड ८० लाख विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्षको अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये सङ्घीय सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ रु एक अर्ब २१ करोड ८५ लाख र प्रदेश सरकारतर्फ रु चार करोड ९१ लाख ९७ हजार, राजस्व बाँडफाँट रु एक अर्ब १३ करोड ९९ लाख ७० हजार, आन्तरिक आय रु एक अर्ब, जनसहभागिता रु आठ करोड, अन्य अनुदान तथा ऋण रु १० करोड १९ लाख र अन्य सङ्घसंस्था रु तीन करोड ६० लाख हुने बजेटमा अनुमान गरिएको छ ।
नीति कार्यक्रम तथा बजेटको कार्यान्वयनबाट महानगरको आर्थिक तथा सामाजिक क्षेत्रमा उल्लेखनीय नतिजा हासिल हुने विश्वास व्यक्त गरिएको छ ।
मध्यकालीन खर्च संरचना
त्रिवर्षीय मध्यकालीन खर्च संरचनाअनुरूप आव २०८०/८१ का लागि रु तीन अर्ब ९८ करोड ८१ लाख २३ हजार र आव २०८१/८२ का लागि रु चार अर्ब ३८ करोड ६९ लाख ३६ हजार आय तथा व्ययको अनुमान उपप्रमुख कार्कीले बजेटमा वाचन गर्नुभएको छ ।रासस
https://ujyaalonepalnews.com/archives/22015



