पर्वत । मोदी गाउँपालिकाले पालिकाभित्रका नागरिकका लागि २० युनिटसम्मको विद्युत खपत निःशुल्क उपलब्ध गराउने भएको छ । गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेका अनुसार असार १० गते सार्वजनिक गरिएको आर्थिक वर्ष ०७९/०८० मा अनुमानित आयव्यय सार्वजनिक गर्दा ‘हाम्रो रहर, उज्यालो गाउँ सहर’ भन्ने मूल नाराकासाथ विद्युत् सेवा सम्बन्धी व्यवस्थाहरू गरिएको बताउनुभयो ।
मोदी गाउँपालिकामा विद्युत गृहहरू रहेको तथा त्यहाँका खोलाहरूबाट निरन्तर विद्युत् उत्पादन भइरहँदा गाउँपालिकालाई आन्तरिक स्रोतको रूपमा रोयल्टी आउने र सोही रोयल्टीबाट २० युनिटसम्मको विद्युत उपभोगमा अनुदान दिइने उहाँको भनाई छ ।

यहाँका खोलानालाहरूबाट उत्पादित विद्युतको आन्तरिक स्रोतका रूपमा विद्युत् रोयल्टी प्राप्त हुने हुँदा सम्पूर्ण मोदीवासी यसको प्रभावित क्षेत्रमा पर्ने भएका कारण गाउँपालिकाले गाउँवासीका हरेक मिटरको मासिक २० युनिटसम्म अनुदान दिने जनाएको छ । न्यूनतम शुल्क गाउँपालिकाले सहुलियत अनुदानको लागि दिनेगरी आगामी आर्थिक वर्षको लागि १८ लाख रुपैयाँ विनियोजन गरिएको लामिछानेले बताउनुभयो ।
नेपाल विद्युत् प्राधिकरणसँगको समन्वयमा विभिन्न क्षेत्रमा सडक बत्तीको व्यवस्था गरी उज्यालो गाउँ सहर निर्माणका लागि पनि आवश्यक बजेट विनियोजन गरेको उपाध्यक्ष लामिछानेको भनाई छ ।
कालिका नगर अस्पतालको स्तरोन्नतिका लागि मेयर रेग्मीले भेटे स्वास्थ्यमन्त्री


