नेपाली कामदार जापान पठाउने विषयमा छलफल गर्न जापानिज टोली नेपालमा

१९ साउन, काठमाडौं । नेपाली श्रमिक जापान पठाउने सम्बन्धी समझदारी कार्यान्वयनका लागि गठित दुई देशको संयुक्त कार्यसमितिको दोस्रो बैठक आज बस्दै छ । नेपाल र जापानका सरकारी अधिकारी सम्मिलित समितिको बैठक आज बिहान १० बजे बस्न लागेको हो । नेपाल र जापानबीच सन् २०१९ को मार्चमा सरकारी संयन्त्रबाटै नेपाली कामदार जापान लैजान ‘सहकार्य गर्ने समझदारी भएको थियो ।

सो समझदारीको समीक्षा र कार्यान्वयनबारे आजको बैठकमा छलफल गर्ने श्रम मन्त्रालयका उपसचिव एवम् संयुक्त संयन्त्रका सदस्य सचिव थानेश्वर भुसालले जानकारी दिए । संयन्त्रको पहिलो बैठक गत नोभेम्बर महिनामा भर्चुअल माध्यमबाट बसेको थियो । दोस्रो बैठकका लागि जापानको श्रम मन्त्रालयका सहसचिवस्तरको कर्मचारी नेतृत्वको टोली काठमाडौं आएको छ । यसैगरी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व श्रम मन्त्रालयका सहसचिव राजु पोखरेलले गरेका छन् ।

नेपाल–जापानबीच भएको समझदारी अनुसार प्रशिक्षार्थी र विशेषज्ञ नेपाली कामदारहरु जापान पठाइने छ । जापान जानका लागि साढे ५ हजार जना नेपालीहरु भाषा परीक्षा पास गरेर बसेका छन् । ‘भाषा परीक्षा पास गरेकाहरुलाई जतिसक्दो छिटो जापान पठाउने विषयमा आजको बैठकमा छलफल हुन्छ,’ सदस्य सचिव भुसालले भने ।

जापानमा कामदारहरुको माग उच्च छ । ३ लाख ४० हजार कामदारको माग रहेको र सोही अनुसार विश्वका एक दर्जन बढी देशहरुबाट कामदारहरु लैजाने भनेर जापानी अधिकारीहरुले भन्ने गरेको भुसाल बताउँछन् । ‘नेपालले जति धेरै प्रयत्न गर्यो उति धेरै कामदार पठाउन सकिने सम्भावना छ,’ उनले भने, ‘त्यसका लागि हामी प्रयासरत छौं ।’

जापान सँग सहकार्य गर्ने समझदारी अनुसार नेपालले हालसम्म ८३५ जना नेपाली कामदारलाई मात्रै जापान पठाउन सकेको छ ।

https://ujyaalonepalnews.com/archives/23629

Previous articleट्रकले स्कुटरलाई ठक्कर दिँदा चितवनमा श्रीमतीकाे मृत्यु ,श्रीमान घाइते
Next articleतारकेश्वर घटना: छोराछोरीको अत्याधिक मायाले संगै लैजाने निर्णय गरें
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।