Home Uncategorized ५ वर्षको छोरासहित ओडारमा जीवन बिताउन बाध्य जलुदेवी

५ वर्षको छोरासहित ओडारमा जीवन बिताउन बाध्य जलुदेवी

बाजुरा-  पाँच वर्षदेखि ओडार बासको जीवन बिताइरहेकी जुलदेवी बुढाको पालन पोषणको जिम्मा गाउँपालिकाले लिने भएको छ। ५ वर्षको छोरासहित ओडारमा जीवन बिताउन बाध्य जलुदेवीको पालन पोषणको जिम्मा खप्तड छेडेदह गाउँपालिकाले लिएको पालिका अध्यक्ष दिलबहादुर रावतले बताएका छन्। जलुदेवीले घरबास नहुँदा ओडार बासको जीवन बिताएकै अवस्थामा प्रहरीले उद्धार गरेको थियो। खप्तड छेडेदह गाउँपालिका २ काँडाकी जलुदेवी श्रीमान र जेठी सौतासँग मिलेर बस्ने अवस्था नभएपछि ओडारको बास बसेर जीवन गुजारा गरिरहेकी थिईन्।

पाँच वर्षदेखि मानव भएर पनि दु:ख लाग्दो जंगली जीवन बिताउन बाध्य जलुदेवीलाई प्रहरीले उद्धार गरेपछि थप पालन पोषण र जीवन सुरक्षाको जिम्मा गाउँपालिकाले लिएको पालिका अध्यक्ष दिलबहादुर रावतले बताएका छन्। आमा छोराको पालन पोषण, छोराको शिक्षा र स्वास्थ्याेपचार सबै जिम्मा पालिकाले नै लिने गरि संरक्षण गरिएको अध्यक्ष रावतको भनाई छ। ५५ वर्षको उमेरमा साहराविहीन अवस्थामा जलुदेवी गाउँ नजिककै जंगलको ओडारमा बस्न बाध्य थिइन्। आमा र छोरा ओडारमा बस्दै आएको जानकारी पाएपछि काँडा प्रहरी चौकीले गएको शुक्रबार उद्धार गरेको थियो। ओडारबाट उद्धार गरिएका आमा छोरा दुबै जना कुपोषणबाट सिकार छन्।

जलुदेवीका श्रीमान भने जेठी श्रीमतीबाट छोरा नजन्मिएपछि दोस्रो विहे गरेका थिए। बझाङ्ग माइतीघर भएकी जलुदेवीका तीन छोरा छन्। जेठा छोरा १८ वर्षका चक्र बुढा भारतमा बस्छन्। १२ बर्षका छोरा कुशल बुढा बुवासँग गाउँकै घरमा बस्छन्। ५ वर्षका कान्छा छोरा मीन भने जलुदेवीसँग ओडारमा बस्ने गरेका थिए। घरमा बस्न खाने अवस्था नभएपछि जलुदेवी ओडारमा बस्न बाध्य भएकी हुन्। श्रीमानले कान्छी भनेर हेला गर्ने, राम्रो व्यवाहार नगर्ने र खान बस्न र लगाउन लुगा कपडा नदिने भएपछि ओडारको विकल्प रोजेको स्थानीयको भनाई छ।

निकै दु:ख र कष्ट भोगेर जीवन बिताइरहेकी जलुदुेवी र ५ वर्षको छोरालाई स्वास्थ्य उपचार, संरक्षण र लालन पालन सहीतको व्यवस्था हुने गरि पालिकाले जिम्मा लिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जोशीले बताएका छन्। जलुदेवीका आमा छोराले ओडारमा पानी घट्टबाट संकलन गरेर ल्याएको पिठोको खोले पकाएर खाने गरेका थिए। पुरा पेट कहिल्यै हुदैनथ्यो, छोरालाई सकेसम्म अघाउने प्रयास गर्थे, तर पनि विहान साँझ एकै प्रकारको पीठोको खोले खानै मन नलाग्ने हुँदा कति दिन भोकै बस्ने गरेको दुखेसो जलुदेवीको छ।

जलुदेवीसँग खानेकुरा र लत्ताकपडाको समेत अभाव छ। चिसो र गर्मी दुबै मौसमलाई आमा छोरालाई सास्ती हुने गरेको भएपनि दु:ख सहेरै बसेको अवस्था थियो। श्रीमानले केही कुरा नमिलेपनि सुरक्षित बासका लागि घरमा लिन प्रयास गरेका थिए, तर जलुदेवीले नै नमान्ने गरेको स्थानीय बताउँछन्।

घरभन्दा ओडार करिब ४०–५० मिटर मात्रै टाढा छ। जेठी श्रीमतीसँग मिलन नभएको र आफूसँग कहिलेकाँही झगडा पर्ने हुँदा उनी घर नगएको श्रीमान भाने बुढाको भनाई छ। मसँग कहिले काहीँ झगडा हुने गथ्र्यो, जेठी श्रीमति र कान्छीबीच पनि झगडा भइरहने हुँदा एक्लै बस्ने भन्दै ओडारमा बस्न थालेका हुन्, भानु बुढाले भने।

दुइ वटी श्रीमती मिल्ने अवस्था नआएपछि भाने बुढाले कान्छी श्रीमती जलुदेवीका लागि अलग्गै घर समेत बनाइ दिएका थिए। तर, उनी त्यो घरमा आगो लगाएर ओडारमै बस्ने जिद्दी गरेको पाइएको छ। उसो त गाउँपालिकाको उद्धार टोलीलाई समेत नराम्रो व्यवहार गरेकी जलुदेवीले प्रहरीको टोली पुगेपछि मात्रै पालिकाको संरक्षणमा आउन तयार भएकी हुन्। गाउँपालिकाले पालिका भित्रका अनाथ र बेसाहारहरुका लागि अर्को वर्षभित्र आश्रम निर्माण गरेर संरक्षणको जिम्मा संस्थागत रुपमै लिने योजना अघि सारेको छ।

https://ujyaalonepalnews.com/archives/23850

Previous articleभ्रष्टाचारको समाचार लेखेको भन्दै चितवनमा पत्रकार कुटिए
Next articleश्रीमान विदेशमा श्रीमतीको शव गेष्टहाउसको कोठामा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।