चितवनमा बोलेरोको ठक्करबाट बृद्धको मृत्यु, स्थानीयद्धारा राजमार्ग अवरुद्ध

भाद्र ०३, २०७९ – चितवन–पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ६ र ८ को सिमानामा पर्ने खगेरी पुल नजिकै आज बिहान करिब साढे ५ बजेको समयमा बोलेरोको ठक्करबाट शौचालय जाँदै गरेका एक बृद्ध व्यक्तिको मृत्यु भएको छ ।

दिसा पिसाव गर्न पूर्व–पश्चिम राजमार्ग पार गरेर शौचालय जाँदै गरेका स्थानीय ७१ वर्षीय खड्क बहादुर राना मगरको बोलेरोको ठक्करबाट मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी निरीक्षक धर्म अधिकारीले जानकारी दिए ।

बोलेरोको ठक्करबाट घाइते भएका मगरको उपचारका लागि भरतपुर अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको छ । बृद्धलाई ठक्कर दिएर बोलेरो फरार रहेको र खोजी कार्य जारी रहेको अधिकारीले बताए । दुर्घटनापछि स्थानीयले राजमार्ग अवरुद्ध गरेका छन् । २४ घण्टा भित्र फरार बोलेरो पक्राउ गर्ने सहमति पछु राजमार्ग सुचारु गरिएको छ ।

त्यसैगरी चितवनकै इच्छाकामना गाउँपालिका वडा नम्बर ४ कुरिनटार ट्रकमा मोटरसाईकल ठक्कर खाँदा दुई जनाको   मृत्यु भएको छ। कुरिनटारमा काठमाडौंबाट नारायणगढ तर्फ आउँदै गरेको ना ६ ख ५९१३ नम्बरको ट्रकमा सोही दिशाबाट आउँदै गरेको बा ८८ प ५३०१ नम्बरको मोटरसाईकल ठक्कर खाँदा मोटरसाईकल चालक र सवार दुबै जनाको मृत्यु भएको हो।

आज बिहान ३ः३० वजे पृथ्वी राजमार्ग अन्तर्गत कुरिनटारमा भएको दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाईकल चालक दैलेखका २५ वर्षिय सरोज रोकाय रहेका छन् । मोटरसाईकल पछि सवार सर्लाहीको इश्वरपुर गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष ३१ को सरोज माझी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ठक्करबाट घाईते दुबै जनाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । ट्रक र चालक इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/23910

Previous articleसाइकल खरिदमा घोटाला काण्ड: मुख्यमन्त्रीको हस्ताक्षर रहेको कागजै गायब!
Next articleदेशको प्रधानमन्त्रीले रक्सी खाँदै मातेर नाचेको भिडियो भाईरल भएपछी ….
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।