देशको प्रधानमन्त्रीले रक्सी खाँदै मातेर नाचेको भिडियो भाईरल भएपछी ….

फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनले मदि’रापान गर्दै आफ्ना साथीभाइसँग रमाइरहेको भिडिओ चुहिएसँगै उनले आलोचना खेपिरहेकी छन्। सामाजिक सञ्जालबाट लिइएको ठानिएको फूटेजमा फिनल्यान्डका ‘सेलेब्रिटीहरू’ सहित आफ्ना साथीहरूसँग मरिनले नाचगान गरिरहेको देखिन्छ। खासगरी विपक्षी दलहरूले उनको आलोचना गरिरहेका छन् र एकजना नेताले त उनले लागु औ’षध सेवन गरे / नगरेको समेत जाँच गरिनुपर्ने माग गरेका छन्।

३६ वर्षीय मरिनले लागु औ’षध लिएको अस्वीकार गरेकी छन् र आफूले रक्सी पिएको र “चर्को पाराले” रमाएको बताएकी छन्। केही अघिसम्म उनी विश्वकै कान्छी सरका प्रमुख थिइन्। आफू ‘पार्टी’ जाने कुरा मरिनले गोप्य राख्ने गरेकी छैनन्। उनले धेरैजसो साङ्गीतिक कार्यक्रममा फोटो खिचाएको पाइन्छ। गत वर्ष उनले कोभिड-१९ सङ्क्रमितको सम्पर्कमा आएपछि समेत ‘क्लब’ गएको भनेर आलोचना भएपछि माफी मागेकी थिइन्।

जर्मन न्यूज आउटलेट बिल्डले गत हप्ता उनलाई “संसारकै रमाइली प्रधानमन्त्री” भनेको थियो। बिहीवारको भिडिओबारे प्रतिक्रिया दिँदै उनले आफ्नो भिडिओ खिचिएको आफूले थाहा पाएको तर त्यसरी सार्वजनिक भएकोमा दुख लागेको बताइन्। ”मैले नाचेँ गाएँ र रमाइलो (पार्टी) गरेँ। सबै वैधानिक कुरा नै हो,” उनले भनिन्। आफूले कहिल्यै अन्य कुरा (लागु औ’षध) सेवन नगरेको उनले बताइन्। मरिन ३४ वर्षको उमेरमा सन् २०१९ मा प्रधानमन्त्री बनेकी थिइन्।

विपक्षी नेता रिक्का पुराले प्रधानमन्त्री मरिनले लागु औ’षध लिएकी हुन वा होइनन् भन्ने जाँच गर्नुपर्ने माग गरिन्। मरिनकै गठबन्धन सरकारमा रहेकी सांसद मिक्को कर्नले पनि प्रधानमन्त्रीले “स्व: परीक्षण गर्नु” ठिक हुने बताए। मरिनले रिपोर्टरहरूलाई “आफूले लागु औ’षध नलिएको” र “लागु औ’षधको परीक्षण गर्न कुनै समस्या नरहेको” बताइन्। मरिनले भनिन्, “मेरो पारिवारिक जीवन छ, मेरो कामको जीवन छ र मेरो उमेरका अरू मानिसहरू झैँ साथीहरूसँग बिताउने समय पनि छ।”

आफ्नो व्यवहार परिवर्तन गर्न कुनै आवश्यकता नरहेको ठानेको उनले बताइन्। “म अहिलेसम्म जस्ती छु त्यस्तै रहने छु र आशा छ मलाई त्यसैगरी स्वीकार गरिनेछ,” उनले भनिन्। फिनिस मिडिया यो भिडिओको व्यापक चर्चा भएको छ। तर अन्य विपक्षी दलका नेताहरूले सञ्चारमाध्यम र प्रधानमन्त्रीले अनेकौँ महत्त्वपूर्ण समस्याहरू हुँदाहुँदै पार्टीबारे कुराकानी गरेको भन्दै आलोचना गरेका छन्।

साना मरिन को हुन्?

सन् २०१९ मा उनको पार्टीले पूर्व नेता एन्टी रिनेको उत्तराधिकारीका रूपमा चुनेपछि उनी संसारकै कान्छी सरकार प्रमुख बनेकी थिइन्। उनको पारिवारिक पृष्ठभूमि सामान्य छ। उनका बाबुआमा उनी सानै छँदा छुट्टिएका थिए। र उनलाई उनकी एकल आमाले हुर्काएकी थिइन्। सन् २०१५ मा उनकी आमा समलैङ्गिक सम्बन्धमा हुँदा उनले भोग्नुपरेको दुर्व्य’वहारबारे बोलेकी थिइन्। ट्याम्पीअर विश्वविद्यालयमा पढेपछि र स्थानीय सरकारमा काम गरेपछि २९ वर्षको उमेरमा उनी फिनल्यान्डको सांसद बनेकी थिइन्।

फिनल्यान्डको राजनीतिमा दखल राख्ने पत्रकार तथा मिडिया टिप्पणीकार रोबर्ट सन्डम्यानले बीबीसीलाई भने, “सधैँ झैँ यस पटक पनि मरिले मानिसहरूलाई ध्रुविकृत गरिदिएकी छन्।” “त्यो उमेरका महिलाहरूले त्यसरी रमाइलो गर्नु स्वाभाविक हो भन्नेहरू छन् र कोही स्तब्ध भएका पनि छन्। ” “के चाहिँ निश्चित हो भने यस अघिका पार्टी तस्बिर र अहिलेको फूटेजले पनि उनको वा उनको पार्टीको लोकप्रियता घटाएको छैन।” बिबिसी नेपाली सेवा बाट 

https://ujyaalonepalnews.com/archives/23913

Previous articleचितवनमा बोलेरोको ठक्करबाट बृद्धको मृत्यु, स्थानीयद्धारा राजमार्ग अवरुद्ध
Next articleपिपुल्स पावरको आईपीओमा १० लाखभन्दा बढीको आवेदन, आइतवारसम्म आवेदन दिन सकिने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।