१३ सय दिराम तलबमा कार सफा गर्ने नेपाली युवालाई यूएईमा ३५ करोडको चिठ्ठा

काठमाडौं । नेपालका एक युवकले दुबईमा झण्डै ३४ करोड रुपैयाँ बराबरको चिठ्ठा जितेका छन् । केही वर्षदेखि दुबईमा कार धुने काम गरिरहेका ३१ वर्षीय भरत बीकेले त्यहाँको चर्चित मजुज चिठ्ठा जितेका हुन् । दश मिलियन अर्थात् एक करोड दिरामको उक्त चिठ्ठा जित्ने भरत पहिलो नेपाली रहको गल्फन्यूजले जनाएको छ ।

मजुजले साप्ताहिक रुपमा खुलाउने यो चिठ्ठामा भरतले दुई बर्षदेखि चिठ्ठा काटिरहेका थिए । अन्ततः उनको भाग्य खुल्यो र अहिले उक्त चिठ्ठा जित्न सफल भए । यो चिठ्ठा जित्नुअघिसम्म दुबईमा बैंक खातासमेत थिएन । ‘म त निकै खुसी छु’ उनले भने- शनिवार राति टिभीमा लाइभ हेरिरहेको थिएँ, मैले स्क्रिनमा आफ्नै चिठ्ठा नम्बर देखेँ, त्यसपछि खुसीले सुत्नै सकिनँ ।’

यो पैसाले भरत आफ्नो ऋण तिर्न र परिवारका लागि राम्रो बन्दोबस्तीको व्यवस्था गर्न चाहन्छन् । आफ्ना तीन र पाँच बर्षका दुई सन्तानका लागि यो रकम खर्च गर्ने उनको योजना छ । साथै उनले ब्रेन ट्युमरपछि प्यारालाइसिस भएका आफ्ना भाइको अपरेशनका लागि पनि केही पैसा खर्च गर्न चाहन्छन् ।

‘चिठ्ठा जिते पनि म कार धुने काम छाड्दिनँ’ भरतले भने । तीन वर्षअघि दुबई आएका भरत त्यसअघि वैदेशिक रोजगारीकै सिलसिलामा साउदी अरबमा थिए ।मजुजका सीईओ फरिद सामजीले चिठ्ठा जित्ने आशमा धेरै नेपालीहरुले यसमा सहभागिता जनाउने गरेको उल्लेख गर्दै भरतको जीतले नेपाली समुदायमा खुसी छाएको बताए ।

‘अहिलेसम्म करिव ३ हजार दुई सय नेपालीले विभिन्न श्रेणीको मजुज चिठ्ठा जितिसकेका छन्, जसमध्ये २८ जनाले पहिलो र दोस्रो श्रेणीको चिठ्ठा जितेका छन्’ सीईओ सामजीले भने ।

https://ujyaalonepalnews.com/archives/24435

Previous articleचितवनमा ४ वर्षिय बालकलाई ललाईफकाई लैजाँदै गरेकी भारतिय महिला पक्राउ
Next articleअमिलियाको वृद्धआश्रमलाई सनराईज बैंकको सहयोग
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।