नारायणीमा पानीको बहाव यस वर्षकै उच्च, सुरक्षा निकायलाई ‘अलर्ट’ रहन निर्देशन

भरतपुर : अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढीले सतर्कताको तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले आज बिहान ७:३० बजे दिएको जानकारीअनुसार नारायणगढ र देवघाट बाढी मापन केन्द्रमा जल सतहले सतर्कताको तह पार गरेको हो। नारायणगढमा बिहान ७ बजे पानीको सतह १० दशमलव ६१ मिटर पुगेको छ।

नौ दशमलव आठ मिटर पुगेपछि सतर्कता तह पार हुन्छ। नारायणगढ क्षेत्रमा बिहान ६ बजे नै पानीको सतह नौ दशमलव आठ मिटर पुगेको थियो। एघार मिटर पुग्नासाथ खतराको संकेत मानिन्छ। यस्तै देवघाट मापन केन्द्रमा पनि पानीको बहाव सात दशमलव चार मिटर पुगेको छ। सात दशमलव तीन मिटर पुगेपछि सतर्कता तह पार हुन्छ। देवघाटमा नौ मिटर पानीको बहाव पुगेपछि खतराको सङ्केत मानिन्छ।

नारायणीमा पानीको बहाव आज यस वर्षकै उच्च रहेको चितवन जिल्ला प्रशासन कार्यालयले जानकारी गराएको छ। पानी निरन्तर परिरहेकाले बाढीको सतह बढ्ने क्रममा छ। नारायणीमा बहाव बढेपछि पश्चिम चितवनका नदी तटीय क्षेत्र जोखिममा परेका छन्।

चितवन र नवलपरासीका तटीय क्षेत्रमा हुनेले आज साँझसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन उक्त केन्द्रले जनाएको छ। चितवन, नवलपरासीलगायत जिल्लामा रातभर पानी परेकाले नारायणी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेले जिल्लाका सबै सुरक्षा निकायलाई ‘अलर्ट’ रहन निर्देशन दिइएको छ। रासस

https://ujyaalonepalnews.com/archives/24550

Previous articleबर्षासगैँ सौराहामा बाढीले मच्चायो वितण्ड, सौरेली व्यवसायी चिन्तित, पर्यटक निकुञ्जमा अलपत्र
Next articleवकिलले समेत भेट्न नपाएपछी सन्दिपले भने मेरो विरुद्ध सिंगो राज्यशक्ति लाग्यो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।