उज्यालो नेपाल, २५ असोज- ईटाली पुगेर दोश्रो विश्वयुद्ध लडेका चितवनका “लाहुरे बा” मान बहादुर थापाको १०५ वर्षको उमेरमा निधन भएको छ । रत्ननगर १६ निवासी थापाको मंगलबार आफ्नै निवासमा निधन भएको हो । बि. सं १९७४ सालमा चितवनको पहाडी गाउँ काउलेमा जन्मिएका थापाले अङ्ग्रेजहरुको तर्फबाट द्दितिय विश्वयुद्द लडेका थिए । थापा त्यसबेला बेलायती गोर्खा सैनिकबाट लडाइँमा प्रतिनिधित्व गर्ने एक साक्षी थिए ।
नेपालका प्रधानमन्त्री जुद्धशमशेरले बेलायतको सहयोगका लागि आठ-आठ हजारका १२ वटा टिम गरी करिब एक लाख नयाँ रिक्रुट भर्ना गरी युद्धमा पठाएका थिए । तीमध्ये थापा ४९०६० नम्बरका हुन्। ‘इटालीको तारजुमा रहेर ब्रिटिस गोर्खा सेनाका तर्फबाट १८ महिनासम्म लडाइँ गरेको र त्यसताका घाइते साथीलाई स्टेचरमा राखेर उद्धार गर्ने कार्यमा आफु खटिएको थापाले बताएका थिए ।’

युद्धमा ब्रिटिस सेनाले जर्मनीलाई परास्त गरेपछि उनी रिलिजमा घर फर्किएका हुन् । आवश्यक परेका बेला लडाइँमा जाने शर्तबमोजिम रिलिजमा घर फर्किएको तर पुन: लडाईमा फर्कन नपरेपछि थापा खेतीकिसानी गरेर बसेका थिए । थातथलो काउले फर्किएर गृहस्थी जीवनमा लागेका मानबहादुरको ३६ वर्षको हुँदा घर जलेर खरानी भयो । घरसँगै पल्टनको महत्वपूर्ण कागजात पनि जलेर नष्ट भयो । चौथो गोर्खा पल्टनमा भएका सबै साथीहरुले पेन्सन पाए तर थापा भने कागजपत्र जलेर प्रमाण पु¥याउन नसक्दा पेन्सिन पाउनबाट वञ्चित भए ।
२०१८ सालमा काउले बाट तत्कालिन पिठुवाको हात्तिगाड़े झरेका थापाको परिवार पूर्णत: कृषि र पशुपालनमा निर्भर थियो ।अहिले उनका छ भाई छोरा तथा १० जना नाति र पनातिहरु विभिन्न पेशामा आवद्ध छन् । रत्ननगर १६ का वडाध्यक्ष हेमराज थापा उनकै नाती हुन् । विभिन्न सामाजिक संघसंस्था एवम् धार्मिक कार्यमा संलग्न उनी तत्कालीन गाउँपञ्चायतको कोषाध्यक्ष र सदस्य भएका थिए । उनी भद्रकाली माविका संस्थापक अध्यक्ष हुन् ।

शताव्दी पुरुष भै सकेका थापाको निधनले स्थानियहरु शोकमा डुबेका छन् । थापाको हिजो नै देवघाटमा अन्तिम संस्कार गरिएको छ । थापालाई श्रद्धाञ्जली दिन राष्ट्रिय सभा सदस्य पार्वती रावल, बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनाल, मेयर प्रलाद सापकोटा लगायत उपस्थित थिए ।
यो पनि पढ़नुहोस् :
ईटाली पुगेर दोश्रो विश्व यु द्ध ल डेका चितवनका लाहुरे बा ले मनाए १०३ औं जन्मोत्सव
रत्ननगरका १०५ वर्षिय मानबहादुर थापा सम्मानित
https://ujyaalonepalnews.com/archives/24597


