चितवन- भरतपुर महानगरपालिका–१ आँपटारीमा एम्बुलेन्स र अटो एकआपसमा ठोक्किँदा ६ जना घाइते भएका छन्। नारायणगढबाट काठमाडौंतर्फ गइरहेको ना २ च ६३७८ नम्बरको एम्बुलेन्स र रामनगरबाट नारायणग तर्फ आउँदै गरेको ना २ ह २८६२ नम्बरको अटो आज दिउँसो एक आपसमा ठक्कर खाँदा अटोमा सवार चालकसहित ६ जना घाइते भएका हुन्।
घाइते हुनेमा भरतपुर महानगरपालिका–८ का ३२ वर्षीय अटो चालक सूर्यबहादुर खुलाल, निजको श्रीमती वर्ष २५ को अञ्जु तामाङ, चालकको छोरा दुई वर्षीय किरण खुलाल, खैरहनी नगरपालिका–११ बस्ने वर्ष ३१ की रन्जु लामा, उनको श्रीमान् वर्ष ३३ को सूर्यबहादुर गुरुङ र उनको छोरी वर्ष २ को खुसी गुरुङ रहेका छन्। मध्यम अवस्थामा रहेका घाइतेहरुलाई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको प्रहरीले जनाएको छ। दुबै सवारीसाधन र एम्बुलेन्स चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
चितवनको फिल्सिङमा पिकअप र मोटरसाइकल ठोक्किँदा विदेशी नागरिकको मृत्यु
इच्छाकामना गाउँपालिका वडा नं ३ फिल्सिङमा पिकअप गाडी र मोटरसाइकल एकापसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ । अर्का एक विदेशी नागरिकसहित दुई घाइते भएका छन् । आज बिहान सवा १० बजे फिस्लिङस्थित पृथ्वी राजमार्गमा दुर्घटना भएको हो । मृत्यु हुनेमा जर्मनका नागरिक ६० वर्षीय मिचेल मेयर ओलवर्षलेबेन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । नारायणगढबाट काठमाडौँ जाँदै गरेको ना४१प ५४८ नंको मोटरसाइकल र धादिङबाट मुग्लिनतर्फ आउँदै गरेको गरेको बागमती प्रदेश ०३–००१च१६८२ नंको पिकअप गाडी ठक्कर खाएको हो । ठक्कर खाएका दुवै सवारीसाधन सडकबाट ५० मिटर तल खसेका छन् । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार मोटरसाइकलमा सवार एक विदेशी नागरिक र पिकअप गाडीमा सवार एक जना घाइते भएका छन् ।
मोटरसाइकल चालक जर्मनी नागरिकको मृत्यु भएको हो भने पछाडि सवार विदेशी महिलाको अवस्था मध्यम रहेको छ । पिकअप गाडीमा सवार तीन जनामध्ये धादिङको गल्छी गाउँपालिका–५ बस्ने ७३ वर्षीय वीरबहादुर तामाङ घाइते छन् । घाइते दुवैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पिकअप गाडी चालक र सहचालक प्रहरीको नियन्त्रणमा रहेको कार्यालयले जनाएको छ । रासस
https://ujyaalonepalnews.com/archives/25252


