कोठामा निसासिएर एकै परिवारका तीनको मृत्यु

कैलालीको गौरीगंगा नगरपालिका १ गोप्कास्थित पीपल टोलका चन्द्रबहादुर भुल आर्थिक विपन्नताका कारण आफूले पढ्न पाएनन्। पढ्ने उमेरमै गुजारा गर्नका लागि मजदुरी गर्न भारत छिरे। गरिबीका कारण आफूले पढ्न नपाए पनि मजदुरी गरेरै छोराछोरीलाई राम्रो शिक्षा दिने उनको सपना थियो, तर त्यही सपना अंग्रेजी नयाँ वर्षकै दिन मजदुरी गर्दै आएका साहुको कोठीमै बिलायो।

डिसेम्बर ३१ मा भारतको उत्तरप्रदेशस्थित मेरठ पूरै रमझममा थियो। ३८ वर्षीय चन्द्रबहादुर, ३४ वर्षीया श्रीमती कुमारी भुल र ४ वर्षीया छोरी अञ्जली खाना खाएर कोठीको कोठामा सुत्न गए। अत्यधिक चिसो का कारण कोठामा उनीहरूले कोइला बाले। कोइलाको धुवाँले निसासिएर तीनैजनाको मृत्यु भयो। चन्द्रबहादुरका श्रीमती र एक छोरा र एक छोरी छन्। उनको १३ वर्षीय छोरा भुवन मात्र बाँकी रहे।

भुवन कैलालीको गौरीगंगा– ४ गोप्कास्थित पीपल टोलमै आफ्ना बाजेबज्यैसँग बस्दै आएका छन्। उनी स्थानीय पशुपति माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छन्। छोराछोरीलाई पढाउने सपना विदेशी भूमिको कोठीमा बिलाएसँगै उनको परिवारमा बाँचेका एक मात्रै छोरा भुवन टुहुरा बनेका छन्।

चन्द्रबहादुरका दाजु लालबहादुर पहिल्यै अलग बस्दै आएका थिए भने उनका बुबा र आमा चन्द्रकै कमाइमा आश्रित थिए। एक कट्ठा जमिनमा घर बनाएर बसेका उनीहरूसँग जग्गाजमिन छैन। भारतमा मजदुरी गरेर कमाएको पैसा नै उनको परिवारको जीविकोपार्जनको आधार थियो।

बाल्यावस्थामै रहेका भुवनले आमाबुबा र बहिनीको मृत्यु सुनेर रोइरहेको चन्द्रबहादुरका दाजु लालबहादुरले बताए। ‘हिजो साँझ भान्जाको मोबाइलमा भारतबाट आफन्तको फोन आएपछि हामीले भाइको सपरिवार मृत्यु भएको खबर पायौं’, लालबहादुरले भने, ‘खबर सुनेदेखि वृद्ध आमाबुबा बेहोस छन् भने छोरा रोइरहेको छ।’

चन्द्रबहादुर गत कात्तिकमा दीपावलीको अघिल्लो दिन घर आएका थिए। उनी दीपावलीकै दिन बिहान श्रीमती र छोरी लिएर दिल्लीस्थित बहिनीका हातको टीका लगाउन गए। बहिनीका हातबाट टीका लगाएपछि उनी उतैबाट मेरठ गएका थिए। चन्द्रबहादुर मेरठको टिपी नगरका उद्यमी आलोक वंशलका घरमा घरेलु श्रमिकका रूपमा काम गर्थे।

https://ujyaalonepalnews.com/archives/25645

Previous articleबोक्सीको आरोपमा दलित महिलामाथि निर्घात कुटपिट
Next articleविदेशबाट फर्किनेलाई २ वटा मोबाइल ल्याउन दिन प्रधानमन्त्रीको निर्देशन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।