काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशबाट फर्कने नेपाली नागरिकले आफूसँग दुई वटा मोबाइल ल्याउन पाउने व्यवस्था गर्न निर्देशन दिएका छन् । विदेशबाट फर्किँदा व्यक्तिगत प्रयोजनका लागि आफूसँग अतिरिक्त मोबाइल ल्याउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवरोध भएपछि प्रधानमन्त्री कार्यालयले अर्थ मन्त्रालयलाई पुनः निर्देशन दिएको हो ।
विदेशबाट फर्किँदा दुई वटा मोबाइल ल्याउने विषयलाई सरल र सहज बनाउन नीतिगत जटिलता भए, त्यसलाई फुकाउन समेत प्रधानमन्त्री दाहालले निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोजनका मालवस्तुसम्बन्धी आदेशमा विदेशबाट फर्किने यात्रुले एउटा मात्रै मोबाइल ल्याउन पाउने व्यवस्था छ । त्यही व्यवस्थालाई देखाएर भन्सारका कर्मचारीले एउटाभन्दा बढी मोबाइल ल्याएमा भन्सार शुल्क तिराउने गरेका छन् ।
यसैबीच दाहालले व्यक्तिगत प्रयोजनका लागि ल्याएको मोबाइल जफत गर्नेलाई कारबाही अगाडि बढाउन निर्देशन दिएका छन्। सोमबार अमेरिकाको टेक्सासबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका झापाका दुधलाल नेम्वाङले साथमा ल्याएको नयाँ फोन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थति रहेको भन्सार कार्यालयले जफत गरेको थिए।
उक्त घटनाप्रती प्रधानमन्त्री दाहालले अर्थ मन्त्रालयलाई तत्काल कारबाही अगाडि बढाउन निर्देशन दिएका हुन्।
https://ujyaalonepalnews.com/archives/25649


