भिरबाट बस खस्दा एकै गाउँका ६ महिलाको मृत्यु

पाल्पा — पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ सत्यवती, मधुवनमा बिहीबार राति भएको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । रुपन्देहीको सालझन्डीबाट पाल्पाको सत्यवती खुर्सानेतर्फ आउँदै गरेको ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको मृत्यु भएको पाल्पाको बल्ढेङगढी प्रहरी चौकीले जानकारी दिएको छ ।

बस दुर्घटना हुँदा सत्यवती खुर्साने गाउँका ६ जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ५४ वर्षीया खेमकुमारी राना, ३३ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सुरुमा घिमिरे, १९ वर्षीया विमा पाण्डेय, ४५ वर्षीया गुनी गाहा, २१ वर्षीया दानकुमारी खत्रीको मृत्यु भएको वडा नं. ८ का वडाध्यक्ष रेमबहादुर रानाले जानकारी दिए ।

मृतकमध्ये तीन जनाको शव बसले च्यापेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए । दुर्घटनाग्रस्त बस सडकबाट ६० मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ । प्रहरी तथा स्थानीयले उद्धार गरी घाइतेलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको वडाध्यक्ष रानाले बताए । घाइतेमध्ये दुई जनाको अवस्था सामान्य छ ।

घटनास्थल सालझण्डी-ढोरपाटन सडकखण्डअन्तर्गत पर्ने र खुर्साने गाउँ नजिकै पुग्दा बस दुर्घटना भएको स्थानीय पत्रकार दिलबहादुर गाहाले जानकारी दिए । रातिको समयमा हुस्सु लागेको र बसले च्यापिएकाले उद्धारमा केही कठिनाइ भएको उनले बताए । बिहान ६ बजेमात्र बसले च्यापिएका शव टोचनको सहायताले निकाल्न सकिएको उनले जानकारी दिए ।

https://ujyaalonepalnews.com/archives/25697

Previous articleचितवनमा मृतकको हातबाट ब्रासलेट चोरेको आरोपमा अस्पतालका सुरक्षा गार्ड पक्राउ
Next articleनागरिकता मुद्दामा गृहमन्त्री रवि लामिछानलाई राहत, सर्वोच्चले दिएन अन्तरिम आदेश
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।