रास्वपाका चितवन सभापतिले दिए राजीनामा; पार्टीमा व्यक्तिवाद हावी भएको आरोप

१८ माघ, चितवन । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका चितवन सभापति धर्मेन्द्र सापकोटाले पार्टी भित्र व्यक्तिवाद चरम रुपमा हावी भएको भन्दै राजीनामा दिएका छन् । पार्टी महामन्त्री मुकुल ढकाललाई काठमाडौंमा राजीनामा बुझाएका सापकोटाले पार्टी व्यक्तिवादी हैकम र अराजकतामा चलेकोले त्यस्तोमा बसेर काम गर्न नसकिने निष्कर्षसहित राजीनामा दिएको बताए ।

गत कात्तिकमा चितवन जिल्ला सभापति बनेका सापकोटाले गत मंसिर ४ गतेको निर्वाचन पनि जिल्ला समितिलाई पूर्णयता वाइपास गरेर एकाध झुण्डलाई लिएर चुनावमा परिचालन गरिएको आरोप लगाए । ‘पार्टी सभापति रविलाई नै भेटेर राजीनामा दिने सोच बनाएको थिए, उहाँसँग समय मिलेन’ सापकोटाले भने, ‘महामन्त्रीलाई भन्दा उल्टै चितवनबाट भोट आएन भन्नुभयो, दुई दुई सांसद र सबैभन्दा बढि समानुपातिक मत आएको चितवनलाई नै लान्छना लगाउनुभयो ।’

उनले रवि लामिछानेसहितको टिमले जिल्ला कमिटीलाई वेवास्ता गरेर हिँड्ने गरेको कुनै मूल्यमान्यता र सरसल्लाह र बैठकसमेत नभएको बताए । ‘यसरी कसरी संगठन बन्छ ? उहाँहरुलाई पनि जिल्ला समिति चाहिएको जस्तो लागेन,’ सापकोटाले भने, ‘मलाई लाग्छ देशभरमा जहाँ जहाँ समिति बनेका छन् तिनको हालत यस्तैं होला, कुनै भूमिका छैन।’

राजीनामा दिएका सभापति सापकोटाले चुनावभन्दा अगाडिसम्म पार्टी ठिकै भए पनि चुनावपछि भने गतिविधि राम्रो नभएको बताए । ‘माथिबाट खटाइएका र तोकिएका केही मान्छे बोकेर मात्रै पार्टी चल्छ भने चल्न दिनुपर्छ’ सापकोटा भन्छन्, ‘कुनै पनि पार्टीमा यस्तो अभ्यास छैन, यो पार्टीमा मात्रै केही सिमित घेराले पार्टी चलाउने काम गरेको छ ।’ सापकोटाले अब स्वतन्त्र भएर आफ्नो पेशा व्यवसाय नै गरेर बस्ने अठोट लिएको बताए ।

https://ujyaalonepalnews.com/archives/26190

Previous articleरवि लामिछानेको पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी
Next articleदाउराले हा’नेर आफ्नै श्रीमान् मा’रेर सेफ्टीट्याङ्कीमा फाल्ने आमाछोरा पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।