कर्मचारी अभाव हुँदा कालिका नगरपालिकामा सेवाप्रवाहमा समस्या

निराजन घिमिरे- चितवनको कालिका नगरपालिकामा कर्मचारीको अभाव भएपछि सेवाप्रवाहमा समस्या देखिएको छ । दरबन्दी अनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या देखिएको हो। सरकारले गाउँपालिकामा ३० र नगरपालिकामा जनसंख्याअनुसार ५० देखि ७० कर्मचारीको व्यवस्था हुने भने पनि दरबन्दी पूर्ति भएको छैन ।

कर्मचारी समायोजन र भएका  कर्मचारी सरुवा भएर जाने तर आउने कोहि नभएपछी कर्मचारीको अभाव देखिएको हो ।  कर्मचारी अभावले विषयगत शाखा विस्तारमा समेत समस्या देखिएको छ ।  यद्दपी एउटा विषयगत शाखालाई दोहोर-तेहोरो जिम्मेवारी समेत दिएर सेवा संचालन गरिरहेको प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद उपाध्यायले बताए ।

आवश्यक अन्य जनशक्ति व्यवस्थापनका लागि पटकपटक केन्द्र र प्रदेश सरकारसँग माग गरे पनि सुनुवाइ हुन नसकेपछि वडा कार्यालयबाट प्रवाह हुने सेवासमेत प्रभावित भएको उपाध्याय बताउँछन् ।

हाल एकजना वडासचिवलाई २ वटा वडाको जिम्मेवारी दिएर कार्य संचालन गरिएको छ ।  वडा नं. ३ र ७, ९ र ८ र १० र ११ मा एकएक जना सचिवलाई जिम्मेवारी तोकिएको छ । एकजनाले दुईवटा वडा हेर्नुपर्दा सेवाप्रवाह चुस्त हुन सकेको छैन । कर्मचारी अभावको कारण सरुवा भईसकेका कर्मचारीको समेत रवाना रोकेर राखिएको उपाध्यायले बताए ।

केही कर्मचारी करारमा राखिए पनि कामकाज प्रभावकारी हुनसकेको छैन । अपुग कर्मचारी करारमा राख्न पनि नगरपालिकाको आर्थिक श्रोतले नधान्ने उपाध्याय बताउँछन् । ” विकासे बजेट काटेर कर्मचारी राख्न सकिंदैन, हाम्रा दुःख प्रदेश र संघले सुनेनन् ।’ उनले भने ।

यसरी कर्मचारी अभाव हुँदा सेवाग्राहीले समयमा सेवा पाउन समस्या भएको छ भने योजना कार्यान्वयनमा पनि समस्या देखिंदै आएको छ । विशेषगरि प्रदेश सरकारले स्थानियतहहरुलाई मद्दत गर्नुपर्नेमा पूर्वाग्रही तरिकाले कर्मचारी सरुवा गरिदिंदा नगरपालिकामा कर्मचारी अभाव हुँदै गएको उपाध्यायले बताए ।

 

https://ujyaalonepalnews.com/archives/26641

Previous articleफागुन १८ गतेदेखि कान्ति लोकपथमा आवागमन बन्द
Next articleकालिकाका नगरप्रमुखलाई मानव अधिकार समुहको ज्ञापनपत्र
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।