एसईई दिने छोराको शुल्क तिर्न तिलहरी धितो

बाके, चैत्र १७ । भनिन्छ- आमा महान् हुन् । कोहलपुर- २, गौरीनगरकी कस्तुरा बुढाले पनि आमाको महानता देखाएकी छिन् । उनले छोरा पृथीबहादुरको माध्यमिक शिक्षा परीक्षा (एसइई) शुल्क बुझाउन आफ्नो तिलहरी धितो राखेकी हुन् । शुल्क बुझाउन नसकेका कारण विद्यालयले प्रवेशपत्र नदिएपछि उनले गलाको तिलहरी पसलमा धितो राखेर शुल्क तिरेकी हुन् ।

कस्तुराले कोहलपुरको एक सुनचाँदी पसलमा पाँच हजार रूपैयाँमा तिलहरी धितो राखेकी छिन् । ‘घरको आर्थिक अवस्था कमजोर हुँदा विद्यालयमा छोराको शुल्क तिर्न सकेकी थिइनँ,’ उनले भनिन्, ‘शुल्क नतिर्दासम्म स्कुलले प्रवेशपत्र दिएन । अन्तिममा तिलहरी धितोमा राखे र छोराको शुल्क बुझाएँ ।’

शुल्कका लागि पैसा जुटाउन उनले घरमा पालेको खसी बेच्ने सोच बनाएकी थिइन् । तर गाउँमा मान्छे मरेकाले उनले सोचेअनुसार हुन सकेन । उनले भनिन्, ‘गाउँमा मान्छे बितेपछि खसी काट्ने कुरा भएन। खसी विक्री भएन । अनि छोराको परीक्षा नरोक्न तिलहरी धितो राखेर पैसा लिएँ ।’

उनका दुई छोरा समावेशी माध्यमिक विद्यालय, तिलकपुरका विद्यार्थी हुन् । एउटा छोरा नवीनबहादुरको स्वास्थ्य अवस्था कमजोर छ । कस्तुराले तिलहरी धितो राखेर शुल्क तिरेपछि अर्का छोरा पृथीवहादुरले भने एसइई दिन पाउने भएका हुन् ।

‘विद्यालयबाट छोराको शुल्क बुझाउन भनेर बेलाबेला खबर आउँथ्यो,’ उनले भनिन्, ‘तर के गर्नु गरिबीले गर्दा तिर्न सकेकी थिइनँ ।’ अन्तिममा परीक्षा नै छुट्ने भएपछि तिलहरी धितोमा राखेर शुल्क तिरेको उनले बताइन् । यो समाचार नागरिक दैनिकमा छ ।

https://ujyaalonepalnews.com/archives/27045

Previous articleनालामा डुबेर चितवनमा शिशुको मृत्यु
Next article१०६ दिनमा सातौंपटक मन्त्रिपरिषद् विस्तार; तर अझै पूर्णता पाउन सकेन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।