Home Uncategorized १०६ दिनमा सातौंपटक मन्त्रिपरिषद् विस्तार; तर अझै पूर्णता पाउन सकेन

१०६ दिनमा सातौंपटक मन्त्रिपरिषद् विस्तार; तर अझै पूर्णता पाउन सकेन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री नियुक्त भएको १०६ दिनमा सातौँपटक मन्त्रिपरिषद् पुर्नगठन गरेका छन् । नवगठित मन्त्रिपरिषद् १७ सदस्यीय रहेको छ । मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन सकेको छैन । प्रधानमन्त्री दाहालको जिम्मामा कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, वन तथा वातावरण, युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसंख्या र खानेपानी मन्त्रालय रहेको छ ।

नवगठित मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री एवं रक्षामन्त्रीमा पूर्णबहादुर खड्का र उपप्रधानमन्त्री एवं गृहमन्त्रीमा नारायणकाजी श्रेष्ठ रहेका छन् । यस्तै, कृषि तथा पशुपक्षी विकासमन्त्रीमा डा. बेदुराम भुसाल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा अशोककुमार राई र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शरतसिंह भण्डारीले जिम्मेवारी पाएका छन् ।

यस्तै, अर्थमन्त्रीमा डा प्रकाशशरण महत, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा महिन्द्रराय यादव, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा शक्तिबहादुर बस्नेत, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा रेखा शर्माले जिम्मेवारी पाएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा सुदन किराती, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा अमनलाल मोदीले जिम्मेवारी पाएका छन् । सञ्चारमन्त्री शर्मा, पर्यटनमन्त्री किराती र संघीय मामिलामन्त्री मोदी यसअघि नै मन्त्री बनेका हुन् ।

यसैगरी, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा प्रकाश ज्वाला, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा रमेश रिजाल, सहरी विकासमन्त्रीमा सीता गुरुङले जिम्मेवारी पाएका छन् । यस्तै, संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा सुशिला सिर्पाली ठकुरी रहेकी छन् ।

राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीले नेपालको संविधानको धारा ८० बमोजिम आजै मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन् । गत १० पुसमा दाहाल प्रधानमन्त्री नियुक्त भएका थिए ।

https://ujyaalonepalnews.com/archives/27048

Previous articleएसईई दिने छोराको शुल्क तिर्न तिलहरी धितो
Next articleट्रकमा चट्याङ लाग्दा सिरहामा चालकको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।