फ्रान्स र सर्भिया पठाउने नाममा ५२ लाख ठगी, दुई पक्राउ

काठमाडौं- फ्रान्स र सर्बिया पठाइदिने नाममा नागरिकको ५२ लाखभन्दा बढी रकम ठगी भएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यसरी ठगी गर्ने दुई जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका–१३ सल्लाघारी बस्ने ५० वर्षीय सुरेशकुमार पाख्रिन र सर्लाहीको हरिवन नगरपालिका–५ घर भई हाल काठमाडौँ बस्ने निरोज बुढाथोकी रहेका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो ।

पाख्रिनले वैदेशिक रोजगारीका लागि फ्रान्स पठाइदिन्छु भनी फूर्पा शेर्पासमेत चार जनाबाट रु ४० लाख असुलेको पाइएको छ । उनले जानका लागि प्रतिव्यक्ति रु १७ लाख लाग्ने र फ्रान्स पुगेपछि प्रतिष्ठित कम्पनीमा काममा लागेपछि त्यहाँबाट मासिक एक लाखभन्दा बढी तलब हुने प्रलोभनमा पारी पटकपटक गरी पीडितबाट ४० लाख लिएको खुलेको उहाँले बताउनुभयो ।

पैसा लिएपछि सम्पर्कविहीन भएका उनलाई वैदेशिक रोजगार विभागबाट खोजीका लागि पत्राचार भएअनुसार खोजतलास गर्नेक्रममा ललितपुरको पुल्चोकबाट आज पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उता सर्लाहीका बुढाथोकीले प्रमोद सिटौलासमेत चार जनालाई वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिन्छु, त्यसका लागि प्रतिव्यक्ति पाँच लाख ५० हजार लाग्ने भनी रकम उठाएको पाइएको छ । यसरी पीडितबाट उनले १२ लाख लिएर फरार भएका प्रहरीले जनाएको छ । उनलाई काठमाडौँको सिनामङ्गलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/27767

Previous articleअचम्मको संस्कृति: आगो पुज्न २२ गाउँका दरै एकै ठाउँ
Next articleधुनीवेशी पार्क आम्दानीको राम्रो श्रोत बन्दै (फोटो फिचर)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।