चुनाब जितेपछि दोस्रो पटक गाउँ पुगेका मन्त्रीलाई सडकमै मागपत्र

0
42

जाजरकोट । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलाई पश्चिम जाजरकोटका स्थानीयवासीले स्वागतसँगै सडकमै मागपत्र बुझाएका छन् ।

स्थानीयवासीसँगै स्थानीय तहका प्रमुखहरुले समेत सङ्घीय सरकारको तर्फबाट बजेट, योजना पठाएर समस्या समाधान गर्न माग गरेका हुन् । चुनाव जितेपछि दोस्रोपटक पश्चिम जाजरकोट आउपुगेका मन्त्री बस्नेतलाई खानेपानी, विद्युत, पुल, सडक र मोबाइल टावरसम्मका माग राखेर ध्यानाकर्षण गराइएको छ ।

चुनावमा गाउँ जाँदा घोरेटो बाटोमा हिँडेर गएका मन्त्री अहिले सडक निर्माणकार्य भएको ठाउँमा गाडीमा सवार थिए । करिब दुई वर्षभित्र स्थानीय सरकार र सङ्घीय सरकारको बजेटबाट पश्चिम जाजरकोटका अधिकांश मुख्य ठाउँका कच्ची सडक निर्माण जारी रहेकाले मन्त्री गाडीमै सवार भएका हुन् ।

दुई वर्षअघि गाउँ पुग्दा फोन गर्नका लागि अग्ला डाँडामा पुगेका मन्त्री बस्नेत योपटक भने अग्ला डाँडामा जानु परेन । आफू चढेको गाडीबाटै अधिकांश ठाउँबाट आएका फोनमा सजिलै सम्पर्क गर्न भ्याएका थिए । मध्यपहाडी लोकमार्गका अधिकांश ठाउँमा ३३ केभी प्रसारण लाइनका पोल गाडिएकाले अब तारसँगै सवस्टेशन निर्माणको काम पूरा गर्न ठाउँ र कामको समयसमेत मन्त्री बस्नेतले बताए ।

नौ वर्षदेखि अवरुद्ध शिवालय गाउँपलिका मोर्कको पुल अहिलेदेखि नै निर्माण शुरु भएको छ । स्थानीय तहले निर्माण गरेका काममा बजेट अभाव भएर सबै पूरा गर्न नसकिएको भन्दै शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाही, छेडागाड नगरपालिकाका नगरप्रमुख लालबहादुर महतराले मन्त्री बस्नेतसँग ज्ञापनपत्र समेत सडकमै बुझाएका थिए । स्थानीय तहका प्रमुख र जनताले सबैभन्दा बढी सडक र स्वास्थ्य संस्था निर्माणको विषयलाई केन्द्रित गरेर माग पत्रमा उठाएका छन् । मन्त्री बस्नेतले स्थानीयवासीसँग कहाँ–के समस्या भएको हो भन्नुहोस् भन्दै सार्वजानिक ठाउँबाट जनताका गुनासो सुनेका थिए ।

सिंहदरवार टाढा छ म गाउँमै कुरा सुन्न आएँ : मन्त्री

सिंहदरबारसम्म गुनासा लिएर जान नसक्ने स्थानीयवासीका लागि कुरा सुन्न म गाउँमा आएको भन्दै मन्त्री बस्नेतले ढुक्कसँग आफ्नो मनमा लागेका कुरा राख्न स्थानीयवासीलाई आग्रह गरे । स्थानीयवासीका माग सुनेर मन्त्री बस्नेतले भने ‘तपाईंका माग व्यक्तिगत चाहनासँग जोडिएका छैनन् मलाई थाहा छ सामूहिक विकास निर्माणका काम, स्वास्थ्य संस्था निर्माण, खानेपानी, टेलिफोन टावर निर्माण र सडकका कालोपत्रका कुरा छन् । यी सबै कुरा अबको दुई वर्ष्भित्र पूरा हुनेछन् ।’ स्थानीयवासीले सुनाएका समस्या तीन तहका सरकार भएकाले तीनै तहका सरकारका प्रतिनिधि गाउँमा पुगेको मन्त्री बस्नेतको भनाइ छ ।

विकासमा अनुशासन कायम गर्न समेत उनले आग्रह गरे । केन्द्रबाट पठाएको बजेट कहाँ–कति खर्च भयो त्यो सबै कुरा खबरदारी गर्न उनले आग्रह गरे । ‘दिनभरि के गरियो, बेलुकी समीक्षा गरौँ ? समयभर अर्काको कुरा काट्दै सकिने तर आफूले के गरिरहेको छु थाहा नपाउने परिपाटी अब बन्द गरौँ ।’ उनले भने ।

The post चुनाब जितेपछि दोस्रो पटक गाउँ पुगेका मन्त्रीलाई सडकमै मागपत्र appeared first on Rajdhani Daily News.

नेता पौडेलद्वारा चर्दीखोला मोटरेबल पुलको शिलान्यास

Previous articleएक नम्बर प्रदेशलाई खेलकूदको राजधानीका रूपमा विकास गरिन्छ : मुख्यमन्त्री राई
Next articleवुहानमा कोरोनाका कारण अर्का एक डाक्टरको पनि मृत्यु