Category: ताजाखबर

  • चितवनका सञ्चारकर्मी मगरलाई अन्तर्राष्ट्रिय सम्मान

    चितवन । सञ्चार क्षेत्रमा एक दशकदेखि सक्रिय चितवनका सञ्चारकर्मी पूर्णबहादुर मगर अन्तर्राष्ट्रियस्तरको सम्मानबाट पुरस्कृत भएका छन्। कला तथा संस्कृतिको माध्यमबाट नेपाल–भारत सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले आयोजित ‘इन्टरनेशनल एक्सिलेन्सी अवार्ड–२०२६’ अन्तर्गत मगरलाई ‘आउटस्ट्यान्डिङ प्रेस एण्ड पब्लिक रिलेसन अवार्ड’ प्रदान गरिएको हो।
    काठमाडौंस्थित राष्ट्रिय नाचघरमा शनिबार साँझ आयोजित समारोहमा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले मगरलाई अवार्ड प्रदान गरे। नेपालसहित भारत, बंगलादेश र भुटानका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वलाई ५० विधामा सम्मान गरिएको समारोहमा सञ्चार तथा जनसम्पर्क क्षेत्रमा मगरले पुर्‍याएको योगदानको कदर गरिएको हो।


    मगर विगत एक दशकदेखि रेडियो पत्रकारितामा सक्रिय छन्। स्थानीय समुदायका विषयवस्तु, सार्वजनिक सरोकार र सामाजिक गतिविधिलाई सञ्चारमाध्यममार्फत उजागर गर्दै आएका उनी पछिल्लो समय स्थानीय सरकारको प्रेस तथा जनसम्पर्क व्यवस्थापनमा समेत सक्रिय छन्।
    २०७९ सालको स्थानीय तह निर्वाचनपछि मगर राप्ती नगरपालिकाका नगर प्रमुख शमशेर लामाको सचिवालयमा प्रेस संयोजकका रूपमा कार्यरत छन्। उनले नगरपालिकाका गतिविधि तथा सूचना सञ्चारमाध्यमसम्म पुर्‍याउने, सञ्चारकर्मीसँग समन्वय गर्ने तथा जनप्रतिनिधि र सञ्चारमाध्यमबीच सम्बन्ध स्थापित गर्ने जिम्मेवारी सम्हाल्दै आएका छन्।
    अवार्ड ग्रहणपछि मगरले आफूले समुदायमा सञ्चारको माध्यमबाट गर्दै आएको कामको मूल्यांकनका रूपमा सम्मानलाई लिएको बताए। विभिन्न देशका विशिष्ट व्यक्तित्वसँगै आफू पनि सम्मानित हुन पाउनु गौरवको विषय भएको उनको भनाइ छ।
    “सञ्चारको माध्यमबाट समुदायका लागि गर्दै आएको कामको प्रतिफलका रूपमा यो सम्मानलाई लिएको छु। यसले आगामी दिनमा अझ जिम्मेवार भएर काम गर्न प्रेरणा दिएको छ,” उनले भने।
    समारोहमा नेपाल, भारत, बंगलादेश र भुटानका कला, संस्कृति, सञ्चार, सामाजिक सेवा लगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूको सहभागिता थियो। आयोजकका अनुसार अवार्डले कला, संस्कृति तथा सामाजिक क्षेत्रमार्फत दक्षिण एसियाली मुलुकबीचको सम्बन्ध विस्तारमा योगदान पुर्‍याउने व्यक्तित्वलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ।

  • टिकौली जंगलमा मिनी ट्रक र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

    उज्यालो नेपाल। चितवनको रत्ननगरमा मिनी ट्रक र स्कुटर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

    रत्ननगर नगरपालिका–९ स्थित टिकौली जंगलमा पूर्व–पश्चिम राजमार्गमा शनिवार बिहान करिब २ः५० बजे दुर्घटना भएको हो।

    प्रहरीका अनुसार टाँडीबाट भरतपुरतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ००४५ नम्बरको मिनी ट्रक र भरतपुरबाट टाँडीतर्फ आउँदै गरेको ना.३७ प ७०९६ नम्बरको स्कुटर आपसमा ठोक्किएका थिए।

    दुर्घटनामा स्कुटर चालक राप्ती नगरपालिका–७, चितवनका ३८ वर्षीय राजकुमार दर्जी गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको थियो।

    तर, उपचारकै क्रममा बिहान ६ः३० बजे दर्जीको मृत्यु भएको प्रहरीले जनाएको छ।

    दुर्घटनापछि मिनी ट्रक चालक रुपन्देहीको गैडहवा गाउँपालिका–७ का ४० वर्षीय रामेश्वर खरविन्द्रलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • प्रेम विवाहको दुई महिनामै नवविवाहिताको शंकास्पद मृत्यु, माइती पक्षद्वारा हत्याको आरोप

    रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–३ गोठटोलमा प्रेम विवाह गरेको दुई महिनामै एक नवविवाहिताको शंकास्पद मृत्यु भएको छ । मृतकका माइती पक्षले उनको हत्या गरी आत्महत्या जस्तो देखाउन खोजिएको आरोप लगाएका छन् ।

    देवाही गोनाही–३ का २२ वर्षीय रौनक राज पटेलले गत असार १९ गते गरुडा नगरपालिका–७ पिपरिया निवासी १८ वर्षीया सुमेदी कुमारी पटेललाई परिवारको सहमतिबिना भगाएर प्रेम विवाह गरेका थिए। विवाहपछि सुमेदी रौनककै घरमा बस्दै आएकी थिइन् ।

    भदौ १७ गते बुधबार सुमेदी घरको भान्सा कोठामा सालको पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। बुधवार बिहान ५ बजे मृतककी सासुले भान्सा कोठामा बुहारी लाई झुण्डिएको अवस्थामा हेरेर प्रहरीलाई खबर गरेको ईलाका प्रहरी कार्यालय देवाही गोनाहिले जनाएको छ।

    घटनापछि उनको शव हिजो बिहीबार प्रादेशिक अस्पताल गौरमा पोस्टमार्टम गरिएको थियो। पोस्टमार्टमपछि बिहीबार बेलुकी उनको अन्त्येष्टि गरिएको प्रहरीले जनाएको छ।

    मृतकका बुवा लालबाबु पटेलले विवाहपछि छोरीमाथि दाइजोको नाममा मानसिक तथा शारीरिक यातना दिने गरेको आरोप लगाएका छन्। उनका अनुसार रौनक, उनका बुवा सुभाष पटेल र बहिनीले ६ भर सुन, मोटरसाइकल, नगद तथा अन्य सामग्री दाइजोमा माग गरेका थिए।

    दाइजो दिन अस्वीकार गरेपछि छोरीमाथि कुटपिट, दुर्व्यवहार र मानसिक यातना बढ्दै गएको माइती पक्षको दाबी छ। यही कारण छोरीको हत्या गरी झुन्ड्याएर आत्महत्या जस्तो देखाइएको हुनसक्ने लालबाबुले आशंका गरेका छन्।

    जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमले पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको कारण यकिन हुने बताएका छन्।

    इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकरप्रसाद आचार्यका अनुसार माइती पक्षले रौनकसहितका व्यक्तिविरुद्ध बिहीवार कर्तव्य ज्यानसम्बन्धी जाहेरी दिन खोजेका थिए। तर पोस्टमार्टम रिपोर्ट आएपछि घटनाको प्रकृतिअनुसार कानुनी प्रक्रिया अघि बढाउने सहमति भएपछि उनीहरू फर्किएको उनले बताएका छन्।

    मृतकका आफन्तले घटनाको निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन र दोषी देखिए कानुनी कारबाही गर्न माग गरेका छन्।

     

  • वेत्रावतीको एकै घरमा २४ शव भेटिए

    बाढी प्रभावित क्षेत्र नुवाकोटको एउटा घरभित्रबाट २४ वटा शव फेला परेको छ। सोमबार विदुर नगरपालिका-१० स्थित बेत्रावतीमा रहेको एउटा घरबाट २४ वटा शव फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीले जानकारी दिए। उनका अनुसार घरभित्र आज पनि खोजी हुँदैछ।

    ‘बेत्रावतीको एउटा घरमा २४ वटा शव फेला परेको छ। अरू खोज्दैछौं। आजसम्म कति वटा छन् भन्ने यकिन विवरण आउँछ,’ उनले भने। उक्त घर कसको र एकै घरमा ठूलो संख्यामा शव फेला पर्नुको कारणबारे बुझ्ने काम भइरहेको बताए।

    ‘घर कसको हो भन्ने बुझ्न पाएका छैनौं। वडाध्यक्षज्यूको सम्पर्क हुन सकेको छैन। होटल वा गेस्ट हाउस जस्तो पनि देखिन्छ तर यकिन हुन सकेको छैन। कन्फर्म गर्ने प्रयास गर्दैछौं,’ उनले भने।

    भदौ १० गते रसुवाको भोटेकोशी हुँदै आएको बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ। सोमबारसम्म ९ सय भन्दा बढीको शव फेला परिसकेको छ भने हजारौंको संख्यामा मानिसहरू सम्पर्कबिहीन छन्।

    तीन वटै सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएर खोजी तथा उद्धारको काम गरिरहेका छन्।

  • FactCheck: सुरुङ भित्रै पुगेर उद्धारमा जुटे सुदन गुरुङ भन्दै फैलाईएको भिडियो भारतको

    सुरुङ भित्रै पुगेर उद्धारमा जुटे सुदन गुरुङ भन्दै फैलाईएको भिडियो भारतको

    निराजन घिमिरे- रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीको सन्दर्भ जोड्दै अहिले सामाजिक सञ्जालमा ‘सुरुङ भित्रै पुगेर उद्धारमा जुटे सुदन गुरुङ’ भन्दै एउटा भिडिओ भाइरल भइरहेको छ । तर, उज्यालोनेपालले गरेको तथ्य जाँच अनुसार उक्त भिडिओको रसुवाको बाढीसँग कुनै सम्बन्ध छैन । भाइरल भिडियो भारतको उत्तराखण्डस्थित विष्णुगाढ़-पिपलकोटी जलविद्युत परियोजनाको सुरुङमा भएको दुर्घटनाको हो ।

    के हो दाबी ?

    फेसबुकमा १ लाख ३ हजार फलोवर भएको The Birgunj News नामक फेसबुक पेजमा शनिवार बिहान एउटा भिडियो अपलोड भएको छ । जसमा एउटा सुरुङ भित्र केहि उद्धारकर्ताहरु देखिन्छन् ।

    भिडियोको क्याप्सनमा “गृहमन्त्री सुदन गुरुङ नेपाली सेना सग सुरुङ्गमा फसेका हरुलाई उद्दार गर्न भित्रै पसेका छन”१९ सेकेन्ड लामो उक्त भिडिओ तथ्य जाँच गर्दासम्म १२ सय  रियाक्ट, ७७  पटक सेयर र २० हजारभन्दा बढी पटक हेरिएको देखिन्छ ।

    हेर्नुहोस्, भिडिओको स्क्रिन रेकर्ड :

    

    उक्त भिडिओको ओरिजिनल लिङ्क र अर्काइभ लिङ्क

    सोही भिडिओ र यससँग सम्बन्धित सामग्री अन्य थुप्रै फेसबुक प्रयोगकर्ता तथा पेजहरूले पनि अपलोड गरेका छन्।

    हेर्नुहोस्, स्क्रिन रेकर्ड :

    
    

    के हो तथ्य ?

    तथ्य जाँच गर्ने क्रममा हामीले भाइरल भिडिओको सूक्ष्म अध्ययन गर्‍यौँ। हामीले भिडिओका केही की फ्रेमहरू निकालेर ‘गुगल रिभर्स इमेज सर्च’ गर्‍यौँ । सर्चका क्रममा सन् २०२६ अगस्ट १४  मा ‘Fire Service Uttarakhand Police’ नामक फेसबुक पेजमा उक्त भिडिओ अपलोड भएको पाइयो ।

    हेर्नुहोस्, स्क्रिन सट :

    उक्त भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्

    तथ्य जाँच गर्ने क्रममा फेसबुकमा १ लाख ३ हजार बढी फलोअर्स भएको  ‘The Birgunj News ’ले र अन्य फेसबुक प्रयोगकर्ताले  २९ अगस्ट मा  अपलोड गरेको भिडियो ‘Fire Service Uttarakhand Police’ ले अगस्ट १४ मा अपलोड गरेको भिडियो सँग हुबहु मिलेको पाइयो । उक्त भिडिओ रसुवाको भोटेकोशीमा आएको बाढी र गृहमन्त्री सुदन गुरुङ सँग सम्बन्धित होइन।

    तथ्य जाँच

    दाबी : ‘सुरुङ भित्रै पुगेर उद्धारमा जुटे सुदन गुरुङ’ भन्दै भाइरल भिडिओ

    दाबीकर्ता : ‘‘The Birgunj News’ पेजसहित विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ता।

    तथ्य : भ्रामक (Misleading) । ‘‘The Birgunj News’ भन्दै दाबी गरिएको भिडियो भारतको उत्तराखण्डस्थित विष्णुगाढ़-पिपलकोटी जलविद्युत परियोजनाको सुरुङमा भएको दुर्घटनाको हो । झन्डै १५ दिन अगाडी १३ अगस्टको दिन उत्तराखण्डमा सो दुर्घटना भएको थियो।  उक्त भिडियोको रसुवाको भोटेकोशीमा आएको बाढी र गृहमन्त्री सुदन गुरुङ सँग कुनै सम्बन्ध छैन ।

     

     

     

     

  • भोटेकोशी बाढीः हालसम्म ९५ जनाको शव भेटियो

    काठमाडौं १० भदौ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका अहिलेसम्म ९५ जनाको शव फेला परेकोछ । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार २७ जना महिला, ३७ जना पुरुष, ६ जना बालिका, ५ बालक र पहिचान नखुलेका २० जनाको शव फेला परेको हो।

    जसमध्ये रसुवामा १ जनाको पुरुषको शव फेला परेको छ । नुवाकोटमा ५ जना महिला र ६ जना पुरुष गरी ११ जनाको शव फेला परेको छ । धादिङमा ११ महिला, ५ पुरुष, २ (पहिचान नखुलेको) गरी १८ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

    गोरखामा एक महिला, ४ पुरुष र एक बालक र १० जना (पहिचान नखुलेको)को शव फेला परेको छ । चितवनमा १० महिला, १० पुरुष, २ बालिका, ३ बालक र ८ जना (पहिचान नखुलेका)को शव भेटिएको छ ।

    प्रहरीका अनुसार तनहुँमा ३ जना पुरुष, १ जना बालिका र १ जना बालकको शव फेला परेको छ भने नवलपरासीपूर्वमा ८ जना पुरुष र ३ जना बालिकाको शव फेला परेको छ ।

    ६३ जना उपचाररत

    नेपाल प्रहरीका अनुसार बाढीमा परी घाइते भएका ६३ जनाको उद्धार गरी हाल विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जसमा महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा २१ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ७ जना, वीरेन्द्र सैनिक छाउनी अस्पतालमा १ जना, रसुवा अस्पतालमा २१ जना र त्रिशूली अस्पतालमा १६ जना, नर्भिक अस्पतालमा ३, ग्रीनसिटी अस्पतालमा १ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    नेपाल प्रहरीका अनुसार टिमुरेबाट १०, रसुवागढीबाट ८, स्याफ्रुबेँसीबाट ३, मैलुङबाट ५, वेत्रावतीबाट एक जना र हाकुबाट एक जना गरी २८ जना प्रहरी सम्पर्कबिहीन छन् ।

     

  • भोटेकोशी बाढी : त्रिशूली बजार आसपासका करिब ६० घर बगायो, देवीघाट क्षेत्र प्रभावित

    रसुवादेखि आएको बाढीका कारण नुवाकोटको त्रिशूली बजार आसपासका करिब ६० घर बगाएको छ भने देवीघाट क्षेत्र प्रभावित भएको छ।

    बाढी आएको पूर्वसूचना पाएलगत्तै त्रिशूली नदी आसपासका स्थानीयहरु सुरक्षित स्थानमा गएकाले हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए।

    उनका अनुसार क्षतिको विस्तृत विवरण आउन बाँकी छ। बाढीले त्रिशूली बजारका केही घर र त्रिशूली नदीमा रहेका दुईवटा पक्की पुल बगाएको छ।

    बाढीबाट त्रिशूली र देवीघाट जलविद्युत् आयोजना क्षतिग्रस्त भएको छ।

    यस्तै बाढीले २५ मेगावाट क्षमताको सौर्य प्लान्टको तीनवटा ब्लक र सबस्टेसन बगाएको छ। रासस

  • कालिका नगरपालिकाका १३ सुकुम्बासी परिवारले आफ्नै घर पाए, थप ५० घर बनाउने नगरको योजना

    कालिका, चितवन, ९ भदौ । कालिका नगरपालिकाका १३ सुकुम्बासी तथा विपन्न परिवारले आफ्नै घर पाएका छन्। कालिका नगरपालिका र लुमन्ती संस्थाको सहकार्यमा विपन्न परिवार आवास कार्यक्रमअन्तर्गत निर्माण गरिएका १३ वटा सुरक्षित आवास सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको हो।

    नगरपालिकाले नागरिकलाई नाना, छाना र खानाको व्यवस्था गर्ने उद्देश्यले विभिन्न संघसंस्थासँग सहकार्य गर्दै आएको जनाएको छ। सोही अभियानअन्तर्गत नगरपालिकाले आगामी दिनमा थप ५० वटा घर निर्माण गरी विपन्न तथा आवासविहीन परिवारलाई वितरण गर्ने योजना अघि सारेको छ।

    निर्माण गरिएको दुईकोठे घर

    नगरपालिकाका अनुसार आवास निर्माणमा नगरपालिकाको ३० प्रतिशत, लुमन्ती संस्थाको ५५ प्रतिशत र सम्बन्धित घरधनीको १५ प्रतिशत लगानी रहेको छ। नगरपालिकाले १३ वटा घर निर्माणका लागि १३ लाख ४४ हजार ६ सय ७८ रुपैयाँ तथा लुमन्ती संस्थाले २५ लाख ८५ हजार ६७ रुपैयाँ लगानी गरेको लुमन्तीका कार्यक्रम संयोजक सिंहबहादुर वाईवाले जानकारी दिए ।

    निर्माण गरिएका घरमध्ये कालिका नगरपालिका वडा नं. १ मा एउटा, वडा नं. ३ मा छ वटा , वडा नं. ५ मा चारवटा , वडा नं. ६ मा एउटा र वडा नं. ७ मा एउटा घर रहेका छन्।

    घर हस्तानान्तरण कार्य्रक्रममा बोल्दै नगरप्रमुख विनोद रेग्मी

    नगर प्रमुख विनोद रेग्मीले विपन्न तथा आवासविहीन नागरिकलाई सुरक्षित आवासको व्यवस्था गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले नागरिकको आधारभूत आवश्यकता पूरा गर्ने अभियानमा स्थानीय तहसँगै विभिन्न संघसंस्थाको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।

    नगरपालिकाले आगामी दिनमा पनि आवासको समस्या रहेका परिवारलाई लक्षित गरी सुरक्षित घर निर्माण तथा हस्तान्तरणको कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

  • काठमाडौँमा छोराको हत्या, दाङमा आमा मृत फेला

    काठमाडौँ । काठमाडौँको शंखमुलमा शुक्रबार २२ वर्षीय वसन्त कालाखेतीलाई दुईजना मिलेर धारिलो हतियार प्रहार गरेर हत्या गरे । महानगरपालिका वडा नम्बर–१० स्थित शंखमुलमा सञ्चालित भ्याली ब्वाईज होस्टलमा बस्ने २२ वर्षीय कालाखेती दाङको घोराही उपमहानगरपालिका–१७ का स्थानीय हुन् ।

    छोराको हत्या भएको खबर थाहा पाएपछि दाङमा उनकी आमाले प्राण त्यागेकी छिन् । छोराको हत्या भएको खबर थाहा पाएपछि सिलिङ फ्यानमा पासो लगाएर झुन्डेको अवस्थामा ३८ वर्षीया बिना कालाथोकीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी डा. हेम केसीले बताए । उनको शव पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

    उनका श्रीमान् वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा छन् । वसन्तको हत्यामा संलग्न आरोपमा प्रहरीले बाराको कलैया उपमहानगरपालिका–३ घर भएका प्रमित पटेल र सोही ठाउँ भएका शेखर यादवलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत्त नयाँ बानेश्वरले अनुसन्धान गरिरहेको छ । वसन्त फ्रान्स जाने तयारीमा काठमाडौँमा बसेर भाषा अध्ययन गरिरहेका थिए ।

  • खैरहनी दुर्घटनामा मृत्यु भएका दुईजनाको परिचय खुल्यो

    खैरहनी, चितवन । चितवनको खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मृत्यु भएका दुई जनाको परिचय खुलेको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ का २३ वर्षीय महेबुब रजा र मोटरसाइकलको पछाडि सवार महोत्तरीको गौशला नगरपालिका–५ की ३३ वर्षीया अजिमा प्रबिन रहेका छन्। उनीहरू आफ्नै दिदी–भाइ रहेको प्रहरीले जनाएको छ।

    शनिबार दिउँसो करिब १२ः२३ बजे नारायणगढबाट बर्दिबासतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख २७७३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०१–०१५ प ३३८५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक र पछाडि सवार महिला गम्भीर घाइते भएका थिए।

    उनीहरू शनिबार दिउँसो खैरहनी नगरपालिका–१ तरकारी चोकस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा भएको दुर्घटनामा गम्भीर घाइते भएका थिए।

    उपचारका क्रममा महेबुबको दिउँसो १ः५५ बजे र अजिमाको २ बजे मृत्यु भएको थियो। उनीहरूको परिचय भने थप अनुसन्धानपछि खुलेको हो।

    बस चालक सर्लाहीको हरिवन नगरपालिका–८ का ५१ वर्षीय अजयकुमार मास्केलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनामा संलग्न दुवै सवारीसाधन इलाका प्रहरी कार्यालय खैरहनीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।