Home Blog Page 107

ललितपुरस्थित मन्त्री निवास वरपर निषेधाज्ञा

ललितपुर – जिल्ला प्रशासन कार्यालय ललितपुरले पुल्चोकस्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालय र मन्त्री निवास वरपरको क्षेत्रमा पाँच जनाभन्दा बढी हिँडडुल गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको छ ।

युएन हाउस र मन्त्री निवास वरपरको क्षेत्रको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले आजदेखि आगामी छ महिनासम्म लागू हुने गरी उक्त क्षेत्रमा निषेधाज्ञा जारी गर्नुभएको हो ।

प्रमुख जिल्ला अधिकारी पण्डितद्वारा जारी आदेशमा भनिएको छ, “ललितपुर जिल्ला ललितपुर महानगरपालिका–३ पुल्चोकस्थित युएन हाउस र मन्त्री निवास पुल्चोकको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी पूर्वतर्फ इनारमोड जाने मूलबाटो, पश्चिम राष्ट्रिय किताबखाना (निजामती), उत्तरतर्फ आन्तरिक राजस्व कार्यालय तथा युएन हाउस र दक्षिणतर्फ राष्ट्रिय मानव अधिकार आयोग एवं राष्ट्रिय सहकारी विकास बोर्डको चार किल्लाभित्र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३ क) बमोजिम मिति २०८० साल मङ्सिर ५ गतेदेखि आगामी छ महिनासम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई नारा, जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ ।”

https://ujyaalonepalnews.com/archives/33310

शान्ति प्रक्रिया टुङ्ग्याउन सबैको सहयोग आवश्यक : मन्त्री शर्मा

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शान्ति प्रक्रिया टुङ्ग्याउन सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाः दिवसका अवसरमा पद्ममरतन लुमन्ति गुठीले शङ्खधर उद्यान केन्द्रमा आज आयोजना गरेको कार्यक्रममा उहाँले पद्मरत्न तुलाधर जीवित भएको भए शान्ति प्रक्रिया टुङ्गिसक्ने दाबी गर्नुभयो । उहाँले परिवर्तनका लागि लड्ने नेताका रूपमा शङ्खधर साख्वाःलाई आफूले चिनेको र देशमा सङ्घीयता आउनु पनि शङ्खधरले देख्नुभएको सपना रहेको बताउनुभयो ।

मन्त्री शर्माले सम्पूर्ण सरकारी दस्तावेजमा नेपाल संवत्लाई उल्लेख गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको पनि जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक पहिचानका लगि गणतन्त्र आवश्यक छ ।”

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले नेपाल भाषाको संरक्षण र संवर्द्धन गर्न महानगरपालिका भित्रका सबै विद्यालयमा नेपाल भाषा विषय पढाउन थालिएको जानकारी गराउनुभयो ।

प्राथमिक तहमा पढाइ हुने स्थानीय भाषाले सबै जनालाई भाषा सिक्ने अवसर प्रदान गरेकोे उहाँको भनाइ थियो ।

महानगरका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले शङ्खधर साख्वाः सम्पूर्ण नेपालीको भएको बताउनुभयो । नेपाल संवतका प्रवर्तक शङ्खधर काठमाडौँका व्यापारी साथै समाजसेवी पनि हुनुहुन्थ्यो । तत्कालीन अवस्थाको कान्तिपुर इलाकामा बस्ने उहाँले गरिब नेपालीलाई ऋणमुक्त गराएको इतिहासविद्को दाबी छ ।

राघवदेवको पालामा साख्वाःले नेपालीहरूको ऋणमोचन गरिदिएको खुसीयालीमा विसं ९३६ मा नेपाल संवत् प्रचलनमा ल्याएको इतिहासकारको भनाइ छ ।।

https://ujyaalonepalnews.com/archives/33309

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान भएको भेटमा राष्ट्रपति पौडेलले भूकम्पप्रभावित क्षेत्रमा राहत व्यवस्थापन कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउनुभएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

सो अवसरमा उहाँहरुबीच समसामयिक विषयमा समेत छलफल भएको थियो ।।

https://ujyaalonepalnews.com/archives/33308

निर्वाचनको मिति ‘बार’ नै तोक्न आयोगको प्रस्ताव

काठमाडौँ- प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्यको निर्वाचन यस्तो सभाको अन्तिम निर्वाचन परिणाम घोषणा भएको चार वर्ष ११ महिनापछिको पहिलो आइतबारलाई प्रस्ताव गरिएको छ ।

निर्वाचन आयोगद्वारा गृह मन्त्रालयमा पठाइएको ‘निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको निर्वाचन व्यवस्थापनसम्बन्धी विधेयक’मा राष्ट्रपति र उपराट्रपतिको निर्वाचन भने पदावधि समाप्त हुनुभन्दा तीन दिनअघि गर्न प्रस्ताव छ ।

राष्ट्रियसभा सदस्यको निर्वाचन कार्यकाल समाप्त हुने एक महिनाअघिको पहिलो आइतबार तथा स्थानीय तहका पदाधिकारीको निर्वाचन परिणाम घोषणा भएको चार वर्ष ११ महिनापछिको पहिलो आइतबार गर्न विधेयकमा प्रताव गरिएको छ ।

गाउँपालिका वा नगरपालिका सदस्यको निर्वाचन स्थानीय तहको निर्वाचन परिणाम घोषणा भएको १५ दिनभित्र सम्पन्न हुने गरी सम्बन्धित निर्वाचन अधिकृतले तोकेको दिन गर्ने व्यवस्थाका लागि सुझाव दिइएको छ ।

नेपालमा २०४७ सालदेखि नै स्थानीय तहदेखि माथिल्लो तहसम्मका निर्वाचन अन्योलता कायम रहेको मात्र समयमा हुन नसकेर विथोलिँदै आएको सन्दर्भमा नयाँ प्रावधानले निर्वाचन ठिक समयमा गर्न सहयोग पुग्ने छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएकाले चार दृष्टिकोणबाट निर्वाचनको मिति पहिले नै थाहा हुनुपर्छ भन्ने मान्यताअनुरुप विधेयकमा दिन तोकेर प्रस्ताव गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “निर्वाचनको मिति थाहा नभई बजेट, नीति, विधि, योजना र तयारी केही गर्न सकिन्न । मतदाता नामावलीलाई अन्तिमरुप दिन र स्रोत साधनको सहज व्यवस्थापन र मितव्ययी निर्वाचनका लागि कानुनमै मिति तोक्न प्रस्ताव गरिएको हो ।”

राजनीतिक स्थायित्व र स्थिरताका लागि समयमा चुनाव नभएमा चुनौती हुने उल्लेख गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले जुनसुकै सरकारले पनि आफ्नो अनुकूल वातावरण नहुँदासम्म मिति तोक्न अलमल गर्ने विगतका घटना र अनुभव आधारमा नयाँ व्यवस्था गर्न प्रस्ताव गरिएको जानकारी दिनुभयो ।

राजनीतिक दललगायत सबै सरोकारवाला पक्षबाट निर्वाचनको मिति तोक्ने अधिकार आयोगलाई दिनुपर्छ भनी आवाज उठेपछि आयोगले संसद्बाटै कानुन निर्माण गरी यसलाई टुङ्ग्याउनुपर्छ भन्ने दृष्टिकोणबाट नयाँ प्रावधान अघि बढाउन सुझाव दिएको थियो ।

निर्वाचनका सबै अध्ययन, अनुसन्धान र अनुगमनलगायतका अधिकांश प्रतिवेदनमा समेत निर्वाचनको मिति आयोगले तोक्ने वा कानुनमै व्यवस्था गर्ने भनी सुझाव दिइएको थियो । निर्वाचनको मिति घोषणाका सन्दर्भमा सरकार र राजनीतिक दलबीच मतैक्यता नभई निर्वाचनको माहौलसम्बन्धी विषय उठाउँदै हुने गरेको आरोप–प्रत्यारोप अन्त्य गर्न यससम्बन्धी प्रावधानले सहयोग पुग्ने छ ।

निर्वाचन हुने दिन, मतदानको समय र निर्वाचन प्रचार–प्रसारको अवधिसम्बन्धी व्यवस्था प्रस्ताव गरिएको विधेयकमा मतदान हुने दिनभन्दा चौबीस घण्टाअघिदेखि मतदानको काम पूरा नभएसम्मको अवधिलाई मौन अवधि मानिने उल्लेख छ । विधेयकमा हालको जिल्ला न्यायाधीश मुख्य निर्वाचन अधिकृतको प्रावधान खारेज गरी न्याय सेवाका प्रथम र द्वितीय श्रेणीका अधिकृत रहने गरी प्रस्ताव गरिएको छ ।

समानुपातिक निर्वाचनका लागि आयोगको सचिव र स्थानीय तहका सदस्यको निर्वाचनमा न्याय सेवा वा सङ्घीय निजामती सेवा वा प्रदेश निजामती सेवाका राजपत्राङ्कित प्रथम श्रेणी वा द्वितीय श्रेणीको अधिकृत निर्वाचन अधिकृत नियुक्ति गर्ने व्यवस्थाका लागि सुझाव दिइएको छ ।

भ्रष्टाचारसम्बन्धी कसुरमा मुद्दा दायर भएको वा सुरु अदालतबाट भ्रष्टाचार ठहर भई पुनरावेदनको रोहमा मुद्दा विचाराधीन रहेको व्यक्तिसमेत निर्वाचनमा उम्मेदवार बन्न नपाउनेजस्ता थुप्रै प्रावधान विधेयकमा समेटिएको छ ।

सङ्घीय संसद्, प्रदेशसभा वा स्थानीय तहको सदस्य पदमा उम्मेदवार भई पराजित भएको व्यक्ति सोही निर्वाचन क्षेत्र वा तहको उपनिर्वाचनबाहेक त्यस्तो पदको कार्यकाल पूरा नएसम्म कुनै पनि तहको निर्वाचनमा उम्मेदवार हुन नसक्ने व्यवस्था पनि विधेयकमा छ ।

प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्यमा समानुपातिक निर्वाचन प्रणालीबाट दुईपटक निर्वाचत भइसकेको व्यक्ति सोही निर्वाचन प्रणालीबमोेजिम हुने निर्वाचनमा उम्मेदवार हुन नसक्ने व्यवस्था प्रस्ताव गरिएको छ । आयोगलाई राष्ट्रपति, उपराष्ट्रपति, सङ्घीय संसद्का सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहका सदस्यको निर्वाचन सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रणको कार्य जिम्मेवारी छ ।

निर्वाचन व्यवस्थापनलाई अझ बढी स्वच्छ, निष्पक्ष, सहज र प्रभावकारी बनाउन संविधान, अदालतको आदेश, अन्तर्राष्ट्रिय अभ्यास र अनुभवका आधारमा ऐन, कानुन संशोधन, परिमार्जन र एकीकृत गर्न लागिएको छ ।

विभिन्न चरणमा निर्वाचन कानुनका विज्ञ तथा सरोकारवालाको सुझावसमेतका आधारमा मस्यौदामा आवश्यक परिमार्जन गरी निर्वाचनसँग सम्बन्धित विद्यमान सातवटा निर्वाचन ऐन र निर्वाचन आयोग ऐनका प्रावधान समेटी एकीकृत विधेयक तयार गरिएको हो ।

प्रस्तुत विधेयकमा मतदाता नामावली सङ्कलन तथा आवधिक विद्युतीय माध्यमबाट गर्ने तथा नागरिकले स्थानीय बसोबास गरेको वडामा मतदान नामावलीमा नाम सबै निर्वाचन कार्यालयबाट दर्ता गराउन सक्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

कसैले मतदाता नामावलीमा एकाघरका नाम समावेश भएको वडाको मतदाता नामावलीमा आफ्नो नाम दर्ता र स्थानान्तरण गर्न सक्ने तथा कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भए हटाउने प्रस्ताव गरिएको छ ।

मतदाता नामावली तयार गर्ने प्रयोजनका लागि विदेशमा रहेका नेपाली नागरिकको विवरण सङ्कलन गर्ने विषय आयोगले अब औपचारिकरूपमै अघि बढाउन सङ्कल्प गरेको छ ।

निर्वाचन प्रणालीका सम्बन्मा अध्ययन, अनुसन्धान तथा छलफल गर्ने सन्दर्भमा आयोगले नीति अनुसनधान प्रतिष्ठानलाई जिम्मेवारी दिएको छ । निर्वाचन तथा मतदाता शिक्षालाई थप प्रभावकारी बनाउन र मतदाताको पहुँच वृद्धि गर्न स्थानीय तहमार्फत निर्वाचन तथा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्नेसम्बन्धी कार्यविधिको मस्यौदा तयार गरी आयोगले राय सुझावका लागि वेबसाइटमा राखेको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य र स्थानीय तह सदस्यको निर्वाचनमा निर्वाचित भई विभिन्न कारणबाट रिक्त हुन आएका पदको निर्वाचनका लागि आयोगले सरकारसँग परामर्श गरी आवश्यक तयारीमा जुटेको छ ।

यसैबीच आयोगले राष्ट्रियसभा सदस्यको रिक्त हुन लागेको एकतिहाई अर्थात् १९ पदको निर्वाचन माघको दोस्रो हप्ताभित्र सम्पन्न गर्ने गरी आवश्यक तयारी भइरहेको छ ।

यस्तै प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य एक, जिल्ला समन्वय समिति प्रमुख दुई, पालिका अध्यक्ष एक, उपाध्यक्ष दुई र वडाध्यक्ष रिक्त १७ पदको निर्वाचन पनि आगामी वैशाखभित्र सम्पन्न गर्ने आयोगको योजना रहेको बताइएको छ । आयोगमा हाल दर्ता कायम रहेका राजनीतिक दलको सङ्ख्या एक सय १९ रहेको छ ।

https://ujyaalonepalnews.com/archives/33307

तराईमा सामाचकेवा पर्वको रौनकता

सुनसरी- छठ पर्वपछि मनाइने समाचकेवा सुनसरीसहित तराइका जिल्लाहरुमा अहिले समा चकेवा पर्वको रौनकता छाएको छ ।

यो पर्वमा माटोबाट बनाइएको सामा र चकेवाका साथै विभिन्न चराको मुर्ति, दियो, कुचो आदि एउटा सानो बाँसको ढकियामा राखेर टाउकोमाथि राखेर दिदीबहिनीहरु रातको समयमा गीत गाउने यो पर्वको विशेषता हो ।

भाइ-बहिनीबीचको अगाध प्रेमलाई दर्शाउने पर्वको रूपमा मनाइने सामाचकेवा पर्व सहरी क्षेत्रमा लोप हुन थाले पनि ग्रामीण क्षेत्रमा अझै रौनकता बाँकी छ ।

विगतमा हर्षोल्लास पूर्वक मनाइने यो पर्व वर्तमान समयमा सहरी क्षेत्रमा विधि पुर्‍याउन मात्र मनाउने गरिन्छ । दाइजु भाइ र दिदिवहिनीको अघाध स्नेह दर्साउने यो पर्व मिथिला क्षेत्रको विशिष्ट पर्वहरुमध्ये एक रहेको इटहरी वडा नम्बर १३ की दुर्गी चौधरीले बताउनुभयो ।

दश दिनसम्म चल्ने र पूर्णिमाको ११औँ दिन माटोको विभिन्न प्रतीकलाई भाइको हातबाट फुटाई खनिएको खेत वा वनमा राखी बिसर्जन गरिने सामा भाइको दीर्घायु र स्वस्थको कामना गर्दै मनाइन्छ ।

https://ujyaalonepalnews.com/archives/33305

५० बन्धकलाई रिहा गर्ने इजरायल र हमासबीच सहमति

काठमाडौं- इजरायलले आक्रमण रोक्ने र प्यालेस्टिनी लडाकु समूह हमासले पहिलो चरणमा गाजामा बन्दी बनाएका ५० जनालाई रिहा गर्ने सहमति भएको छ ।

बुधबार बिहानसम्म चलेको लामो बैठकपछि इजरायलको मन्त्रिपरिषद्ले हमाससंगको सम्झौतालाई अनुमोदन गरेको हो । इजरायली प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ इजरायल सरकार सबै बन्धकहरुलाई घर फर्काउनका लागि प्रतिबद्ध छ ।

महिला र बालबालिका गरी ५० बन्धक चार दिनभित्र रिहा हुने र यसक्रममा लडाइ रोकिने समेत जनाईएको छ । त्यसको बदलामा इजरायलले १ सय ५० जना प्यालेस्टायनी कैदीहरुलाई छोड्नु पर्ने बताइएको छ ।

इजरायली सेनाका अनुसार उनीहरुले उत्तरम जबालियालाई घेरेका छन् । गाजामा इजरायली सेनाले गरेको सैन्य कारवाहीमा हालसम्म ५ हजार बालबालिका सहित १४ हजारभन्दा बढी मानिस मारिएका छन् ।

यसैगरी हमासले इजराइलमा गरेको आक्रमणमा परी १ हजार २ सय जनाको मृत्यु हुनुका साथै २ सयभन्दा बढीलाई बन्धक बनाइएको छ ।

https://ujyaalonepalnews.com/archives/33304

शीतलनिवास र प्रधानमन्त्री निवास वरपर निषेधाज्ञा

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय काठमाडौँले राष्ट्रपति कार्यालय शीतलनिवास र प्रधानमन्त्री निवास बालुवाटार वरपरका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले गएराति निषेधाज्ञाको आदेश जारी गर्दै यही मङ्सिर ५ गतेदेखि ३० दिनसम्म पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभालगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाइने बताउनुभएको छ ।

जारी निषेधाज्ञामा शीतलनिवासमा पूर्वतर्फ पवित्र वर्कसपसम्म, पश्चिममा सामाखुशी निस्किने नालासम्म, उत्तरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको दक्षिण–पूर्वी गेटसम्म र दक्षिणमा प्रहरी अस्पताल जाने मोडसम्म रोक लगाइएको छ ।

यस्तै बालुवाटारमा पवित्र वर्कसप चोकबाट बालुवाटारतर्फ नेपाल राष्ट्र बैंक चोकसम्म र सभामुख निवासदेखि गैह्रीधारा जाने बाटोको पश्चिम दक्षिण एक सय मिटरसम्म निषेधित क्षेत्र तोकिएको छ ।

विशिष्ट व्यक्तिको निवास कार्यालय रहेको क्षेत्रमा भेला भई धर्ना, जुलुसजस्ता कर्याक्रम गर्दा आपसी शान्ति सुरक्षा भङ्ग हुनसक्ने र नागरिकको सेवा प्रवाहमा असर गर्न सक्ने भएकाले सो क्षेत्रमा धर्ना, जुलुस गर्न रोक लगाइएको जनाइएको छ ।

यसअघि स्थानीय प्रशासनले माइतीघर–बानेश्वर र ललितपुरको पुलचोक क्षेत्रमा निषेधको आदेश जारी गरिसकेको छ ।

https://ujyaalonepalnews.com/archives/33303

रसुवागढी नाकाबाट सुन तस्करी बढ्दै

 

– सुशिल कोईराला, रसुवा

रसुवा- पछिल्लो केही दिनयता रसुवागढी नाकाबाट सुन तस्करी हुन थालेपछि प्रहरीले विशेष निगरानी बढाएको छ । तस्करले गहना बनाई सुन ल्याउन थालेपछि प्रहरीले सूक्ष्म निगरानी बढाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख सुवास बुढाथोकीले बताउनुभयो ।

उहाँका अनुसार केरूङबाट बेरुवा औठी लगाई सुन आयात गर्न लागेको अवस्थामा उत्तरी रसुवाका तीन जना पक्राउ परेका छन । यसपछि प्रहरीले गरगहना लगाउनेप्रति विशेष निगरानी थालेको हो ।

केरुङबाट ल्याइएको १२ तोला सुनका औँठी रसुवागढी नाकामा तैनाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीसहितको गस्तीले पक्राउ गरेको हो ।

यसरी पक्राउ पर्नेमा रसुवा जिल्ला आमाछोदिङ्मो गापा- ५ गोङगाङ बस्ने २९ वर्षका सुरेश तामाङ, आमाछोदिङ्मो गापा– ५ तातोपानी निवासी ३७ वर्षका निमाटासी तामाङ र गोसाइँकुण्ड गापा-३ बृद्धिम बस्ने २३ वर्षका ङवाङ लोप्चन तामाङ रहेको जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले जानकारी दिनुभयो ।

यसैगरि अघिल्लो दिन पनि प्रहरिको संयुक्त्त टोलीले बेरुवा औठी बनाई ल्याएको अवस्थामा तीन जनालाई पक्राउ गरेको थियो ।

उनीहरूको साथबाट रु. १३ लाख ८८ हजार चार सय बराबरको सुन बरामद गरी कानुनी कारबाहीका लागि भन्सार कार्यालय टिमुरेमा बुझाईएको प्रहरीले बताएको छ ।

यसैगरी गत आइतबार रु. १४ लाख ९१ हजार छ सय ८२ बराबरको सुनका औँठी सहित तीन जना पक्राउ गरी भन्सार कार्यालय बुझाई सकिएको प्रहरीको भनाई छ । अवैधरूपको सुन बोकी ल्याउने काम नगर्न नगराउन नेपाल प्रहरीले व्यापारीदेखि सर्वसाधारण सबैमा अनुरोध गरेको छ ।

https://ujyaalonepalnews.com/archives/33302

‘भिपिएन प्रयोग गरेर टिकटक नचलाउनु, गोप्य र महत्त्वपूर्ण डाटा चोरि हुन सक्छ’

काठमाडौँ- सरकारले प्रतिबन्ध लगाएको टिकटक चलाउनका लागि प्रयोग भइरहेको भिपिएन र डिएनएस अवैध तथा असुरक्षित रहेकाले त्यसको प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ ।

यसबाट प्रयोगकर्ताका गोप्य र महत्त्वपूर्ण डाटा चोरि हुनसक्ने भएकाले त्यस्ता अवैध प्रविधिको प्रयोग निरुत्साहित गर्न प्रहरीले आग्रह गरेको हो ।

नेपाल सरकार मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको निर्णयबाट पूर्णरूपमा प्रसारणमा बन्देज लगाएको सामाजिक सञ्जाल टिकटक भिपिएन, डिएनएसजस्ता असुरक्षित र अवैध माध्यमबाट सञ्चालन भइरहेको भन्ने सूचना प्राप्त भएको उल्लेख गर्दै ब्यूरोका प्रहरी उपरीक्षक नरेन्द्र चन्दले त्यसको प्रयोग नगर्न सर्वसाधारणमा अनुरोध गरेको छ ।

ब्यूरोले भिपिएन, डिएनएसको प्रयोगले प्रयोगकर्ताको डिभाइसमा रहेका महत्तवपूर्ण डाटा, व्यक्तिगत विवरण, बैंकिङ विवरणको समेत पहुँच पुर्याई चोरी हुने र आर्थिक दुरुपयोगका घटना साइबर सुरक्षाका दृष्टिकोणले समेत बढिरहेको पाइएको जनाएको छ ।

यस्तै विद्युतीयस्वरुपमा गैरकानूनी कुरा सम्प्रेषण गर्ने, सम्प्रेषण गरिएका गलत सामग्रीले व्यक्ति तथा समाजलाई नकारात्मक प्रभाव पार्नुका साथै व्यक्तिको चरित्रहत्या गर्ने, सार्वजनिक नैतिकता, जातीय, भाषिक, धार्मिक सद्भाव खल्बल्याउनेजस्ता गतिविधि पनि भइरहेकाले यसतर्फ सचेत हुन अनुरोध गरिएको छ ।

राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्नेलगायतका दुष्प्रभाव सिर्जना गर्ने गतिविधिसमेत टिकटकका माध्यमबाट हुने गरेको पाइएको हुँदा प्रविधिको दुरुपयोग गरी यस्ता गतिविधि नगर्न र नगराउन ब्यूरोले आग्रह गरेको छ ।

https://ujyaalonepalnews.com/archives/33301

चितवनको सौराहामा साउथ एशियन फिल्म फेष्टिवल हुने

चितवन- चितवनको पर्यटकीय नगरी सौराहामा अन्तराष्ट्रिय स्तरको फिल्म फेष्टिबल हुने भएको छ । क्याराभान नेपालको आयोजनामा यही मंसिर २९ गते देखि पुस ३ गते सम्म सौराहा साउथ एशियन फिल्म फेष्टिवल हुने भएको हो ।

चलचित्रको माध्यमबाट सौराहा सहित नेपालको पर्यटनको विकास गर्ने उद्देश्यले फेष्टिबल आयोजना गरिएको हो । फेष्टिबल चित्रसारी पुल नजिक रहेको खालीचौरमा हुनेछ ।

आयोजनकले सोमबार रत्ननगर नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी फेष्टिबलको उद्देश्य र तयारीको बारेमा जानकारी गराएको हो । चलचित्र र पर्यटन उद्योगको विकास गर्ने उद्देश्यले सरकारसंगको सहकार्यमा फेष्टिबल आयोजना गर्न लागिएको क्याराभान नेपालका अध्यक्ष तथा फेष्टिबल संयोजक विमल पौडेलले जानकारी दिनुभयो ।

फेष्टिवलमा नेपालसहित ८ वटा देशका उत्कृष्ट फिल्महरुको प्रर्दशन र तथा अन्तरक्रिया समेत गरिने छ । पाँच दिन सम्म चल्ने फेष्टिबलमा अन्य देशका फिल्म निर्माता, कलाकार र नेपालका फिल्म निर्माण र कलाकारहरुको बीचमा अनुभव आदानप्रदान समेत गरिने संयोजक पौडेलले बताउनुभयो ।

नेपालको चिलचित्र उद्योगलाई माथि उठाउन गर्नुपर्ने अबको प्रयासका बारेमा निर्माता र कलाकारहरुको बीचमा अन्तरसंवाद समेत गरिनेछ । महोत्सव अन्तर्गत तीन दिन चलचित्र र पर्यटनको विकासबारे विज्ञहरु सहितको अन्तरक्रिया कार्यक्रम हुने छ ।

सो फेष्टिबल अन्तर्गत नेतृत्व तहमा रहेका व्यक्तिहरु र कलाकार तथा पूर्वी चितवन र पश्चिम चितववनका युवाहरुबीच मैत्रीपूर्ण फूटवल प्रतियोगिता आयोजना गरिने संयोजक पौडेलले जानकारी दिनुभयो ।

सय बढी स्टल रहने सो फेष्टिवलमा स्थानीय खानाका परिकारसंगै हस्तकलाका सामाग्री, स्थानीय उत्पादनसँग सम्बन्धित तथा चलचित्र विकास बोर्ड तथा अन्य सिनेमा सम्बन्धी संघसंस्थाहरुको जानकारीमुलक स्टलहरु रहनेछ ।

https://ujyaalonepalnews.com/archives/33300