Home Blog Page 126

विद्युत प्राधिकरण भरतपुरले १० दिनमा १ करोड ३७ लाख बक्यौता उठायो

चितवन- दसैँपछिको १० दिनमा नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्र मात्रै पाँच महिना अवधिसम्म विद्युत् महसुल नबुझाउने एक हजार ७९ जना ग्राहकको लाइन काटेको छ ।

कात्तिक १२ गतेदेखि कात्तिक २२ गतेसम्म दश दिनमा विद्युत् महसुस बक्यौता रहेका सेवाग्राहीको लाइन काटी ७ सय ६० जनाबाट एक करोड ३७ लाख रुपैयाँ बढी बाँकी बक्यौता रकम संकलन गरेको कार्यालयका प्रमुख रामु श्रेष्ठले जानकारी दिए ।

“प्राधिकरणले ६० दिन कटेका सेवाग्राहीको लाइन काट्ने अभियानअन्तर्गत वक्यौता रकम असुली गरिएको हो उनले भने तीन हजार चार सय बढी सेवाग्राहीको ६० दिनभन्दा बढीको वक्यौता रहेको छ । ”

अभियान सुरु भएसँगै एक हजार पाँच सय सेवाग्राहीले लाइन काट्नुभन्दा अघि नै वक्यौता तिरेको उनले बताए । अभियानअन्तर्गत लाइन काट्न थालेपछि बक्यौता नतिर्ने सेवाग्राहीको सङ्ख्या घटेको छ । अहिले वक्यौता नतिर्ने सेवाग्राहीको सङ्ख्या नौ सय ८१ मा झरेको प्रमुख श्रेष्ठले बताए ।

मिटर रिडिङ्को समयले ४० दिनसम्म पनि विद्युत् महसुल नबुझाउँदा थप २५ प्रतिशत दस्तुर लाग्ने उनले बताए । मिटर रिडिङ गरेको एक साताभित्र विद्युत् महसुल बुझाएमा दुई प्रतिशत छुट पाइने नियम छ ।

लाइन काटेको छ महिनासम्म पनि महसुल नबुझाउने सेवाग्राहीलाई कालोसूचीमा राखी असुली प्रक्रिया अघि बढाउने उनले । तिहारपछि लाइन काट्ने प्रक्रियालाई अझै तीव्ररुपमा अघि बढाउने प्रमुख श्रेष्ठले जानकारी गराए।

दसैँअघि पाँच महिनाभन्दा बढी अवधिसम्म महसुल नबुझाउने तीन हजार ४ सय बढी ग्राहक रहेकोमा लाइन काट्ने महाअभियान सुरु गरेको १० दिनमै ९८१ मा झरेको भरतपुर वितरण केन्द्रले जानकारी गराएको छ । लाइन काटिने डरले एक हजार ५०० बढी ग्राहकले आफैँ विद्युत महसुल बुझाएको प्राधिकरणले जनाएको छ ।।

https://ujyaalonepalnews.com/archives/33088

उपरथी पाण्डेद्वारा राजीनामा

काठमाडौँ- नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।

पाण्डेले दिनुभएको राजीनामा नेपाली सेनाको मुख्यालयले रक्षा मन्त्रालयसमक्ष पठाइएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/33087

विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड संशोधन गर्ने मन्त्रिपरिषद्‍को निर्णय

काठमाडौं- सरकारले विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड संशोधन गर्ने भएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सञ्चार मन्त्री रेखा शर्माले यस्तो जानकारी गराउनुभएको हो ।

सरकारले संयुक्त राष्ट्रको खाद्य तथा कृषि सङ्गठनको आयोजनमा मिति २०८० मङ्सिर २० देखि २२ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना हुने कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. चन्द्रकान्त राउतलाई सहभागी हुन स्वीकृत प्रदान गर्ने निर्णय पनि बैठकले गरेको जानकारी दिनुभयो ।

त्यस्तै, उहाँले एसियाली विकास बैंकबाट बजेट सहायताको रुपमा प्राप्त हुने १० करोड अमेरिकी डलर करिब १३ अर्ब २६ करोड रुपियाँ बराबर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने, सशस्त्र प्रहरी बल नेपाल मातहतका विभिन्न कार्यलयका लागि तराईमा ६ बिघा ८ कठ्ठा र पहाडमा तीन रोपनी क्षेत्रफल जग्गा प्राप्त गर्न स्वीकृत दिने निर्णय भएको बताउनु भयो ।

हिजो बिहिबार बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० परिमार्जनसहित स्वीकृत गर्ने निर्णय गरेको छ ।।

https://ujyaalonepalnews.com/archives/33086

मुटुरोग विशेषज्ञ डा ओममूर्तिद्वारा विश्व रेकर्ड कायम

काठमाडौँ- मुटुरोग विशेषज्ञ डाक्टर ओममूर्ति अनिलले विश्व रेकर्ड कायम गर्नुभएको छ ।
चिकित्सक एवं लेखक उहाँले विश्व मुटु दिवसका अवसरमा गत असोज १२ गते आफ्नो फेसबुक पेजबाट मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक प्रत्यक्ष प्रसारणबाट विश्व रेकर्ड कायम गर्नुभएको हो ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत फेसबुकमार्फत प्रत्यक्ष प्रसारणमा ‘कार्डियोभास्कुलर स्वास्थ्य सचेतनाका लागि सबैभन्दा बढी दर्शक’ भन्ने शीर्षकमा गिनिज वल्र्ड रेकर्ड कायम गरेको डा ओममूर्तिले जानकारी दिनुभयो ।
“गिनिज वल्र्ड रेकर्डको प्रमाणपत्र प्राप्त गर्न भने केही समय लागेको हो । व्यक्तिगत क्षमता, सीप र पहिचानभन्दा भिन्न उद्देश्य बोकेको यस कीर्तिमानले संसारभरका मानिसका लागि प्रेरणाको स्रोत सावित हुने आशा गरेको छु”, उहाँले भन्नुभयो, “यो कीर्तिमानले अन्तर्राष्ट्रियस्तरमा स्वास्थ्य सचेतनाका लागि सामाजिक सञ्जालको भूमिका र उचित प्रयोगको बारेमा उदाहरणीय बन्ने आशा छ ।”
असोज १२ गते साँझ ७ः१५ बजेदेखि सुरु भएको आधा घन्टा लामो उक्त प्रस्तुतिमा ११ हजार दुई सय १२ जनाले एकैपटक प्रत्यक्ष प्रसारण हेरेका थिए । उक्त फेसबुक प्रत्यक्ष प्रसारणलाई नौ हजार जनाले शेयर गरेका थिए भने २० हजार लाइक र १८ हजार कमेन्ट प्राप्त भएका थिए ।
फेसबुकमार्फत प्रत्यक्ष प्रसारण सम्पन्न हुँदासम्म एक लाख ५० जनाले हेरेका थिए । प्रत्यक्ष प्रसारणपछि ‘गिनिज वल्र्ड रेकर्ड’का सम्पूर्ण मापदण्ड पूरा गरी डा ओममूर्ति अनिलले विश्व रेकर्ड कायम भएको दाबी पेश गर्नुभएको थियो ।
डा ओममूर्ति अनिलले मुटुरोगको रोकथामका निम्ति लामो समयदेखि फेसबुकमार्फत जनचेतनामूलक अभियान सञ्चालन गर्दै आउनुभएको छ ।
उहाँले यो दोस्रो पटक विश्व रेकर्ड मार्च २०२३ मा बनाउनुभएको थियो । सन् २०१३–१४ मा इमेज एफएम १०३ दशमलव ६ मेगाहर्जबाट अतिथि वक्ताका रुपमा लगातार ४४ सातामा ‘मुटु स्वास्थ्य जागरुकता’ रेडियो कार्यक्रममा अतिथि वक्ताको रूपमा भाग लिनुभएको थियो ।

https://ujyaalonepalnews.com/archives/33085

उपराष्ट्रपतिको एक महिनाको पारिश्रमिक भूकम्पपीडितलाई

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितको सहयोगार्थ एक महिनाको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको छ ।

त्यसैगरी, उहाँको स्वकीय सचिवालयमा कार्यरत विज्ञ (सल्लाहकार)हरुबाट १५ दिनको पारिश्रमिक, प्रमुख स्वकीय सचिव र सहायक स्वकीय सचिव वा सोसरहको कर्मचारीबाट सात दिन, स्वकीय उपसचिव र अधिकृत वा सोसरहको कर्मचारीबाट पाँच दिन र राजपत्राङ्कित वा सोसरहको कर्मचारीबाट तीन दिनको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/33084

‘एकद्वार प्रणालीबाट राहत वितरण भइरहेको छ’: सञ्चारमन्त्री शर्मा

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमलगायत जिल्लामा स्थानीय तहको सहमतिका आधारमा एकद्वार प्रणालीमार्फत राहत वितरण भइरहेको बताउनुभएको छ ।

नेपाल सरकारद्वारा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता शर्माले सङ्घीयताको असली मर्मअनुरुप स्थानीय तहले पहिलो पङ्क्तिमा रहेर उद्धार र राहत कार्यक्रम भइरहेको जानकारी दिनुभयो ।

मन्त्री शर्माले भूकम्प गएको भोलिपल्ट बिहानै प्रभावित क्षेत्रमा प्रधानमन्त्री पुगेर निर्देशन दिएअनुरुप तत्काल आवश्यक समन्वयका साथ उद्धार कार्य प्रभावकारीरुपमा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “राहत र उद्धारमा जे गर्न सकिन्थ्यो त्यो कार्य भइरहेकोछ, राहत र पुनःस्थापनाका विषयमा आएका गुनासालाई सरकारले गम्भीरताकासाथ लिएको छ ।”

विगतको भूकम्पको घटनाबाट पाठ सिकेर स्थानीय तहको अगुवाइमा सर्वदलीय सहमतिका आधारमा एकद्वार प्रणालीका आधारमा राहत वितरणको व्यवस्था गरिएको जनाउँदै मन्त्री शर्माले जात, समुदाय, भूगोल होइन आवश्यकताका आधारमा राहत वितरण भइरहेको बताउनुभयो ।

मन्त्री शर्माले भन्नुभयो, “पीडामा परेका जनतालाई राहत उपलब्ध गराउनेमा पक्षपातसम्बन्धी विषय सोच्न र कल्पना गर्नसमेत सकिन्न ।” पुनःनिर्माणका समयमा नेपाली परम्परा बोकेको रैथाने घर, अरु सामाजिक र सांस्कृतिक सम्पदा संरक्षणमा ध्यान पुर्‍याइने उहाँले स्पष्ट पार्नुभयो ।

https://ujyaalonepalnews.com/archives/33083

मुद्रास्फीति वाञ्छित सीमा बाहिर, विप्रेषण र विदेशी मुद्रा सञ्चिती बढ्यो

काठमाडौँ- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थिति विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरणअनुसार गत असोज मसान्तसम्ममा मुद्रास्फीतिले वाञ्छित सीमा नाघेको छ भने विप्रेषण र विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार भएको देखिएको छ । त्यस्तै, शोधनान्तर स्थिती पनि बचतमा देखिएको छ ।

राष्ट्र बैंकको प्रतिवेदनअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति सात दशमलव ५० प्रतिशत छ । चालु आर्थिक वर्षका लागि सरकारले मुद्रास्फीति साढे छ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको छ । तर सरकारले राखेको मूल्यवृद्धिको अधिकतम सीमाको लक्ष्यभन्दा वास्तविक मूल्यवृद्धि एक प्रतिशत बिन्दुले बढी देखिएको हो ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति आठ दशमलव ३८ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति छ दशमलव ८१ प्रतिशत रहेको छ ।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३७ दशमलव ६३ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १८ दशमलव २२ प्रतिशत, फलफूलको १४ दशमलव ०२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२ दशमलव २३ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ११ दशमलव ९२ प्रतिशतले बढेको छ । तर, घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११ दशमलव ६१ प्रतिशतले घटेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १५ दशमलव ५५ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको १२ दशमलव ११ प्रतिशत, शिक्षाको नौ दशमलव १० प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको आठ दशमलव ०८ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरुको छ दशमलव २५ प्रतिशतले बढेको छ ।

त्यस्तै, यातायात क्षेत्रमा एक दशमलव ६२ प्रतिशतको मूल्यवृद्धि देखिएको छ । गत असोज महिनामा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १० दशमलव २३, तराईको पाँच दशमलव ६६, पहाडको सात दशमलव ३८ प्रतिशत र हिमालको १० दशमलव २४ प्रतिशत रहेको छ ।

त्यस्तै, यो अवधिमा विप्रेषण आप्रवाह ३० प्रतिशतले वृद्धि भई रू तीन खर्ब ६५ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६ दशमलव ८ प्रतिशतले बढेको थियो ।

गत असोज मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या एक लाख १३ हजार तीन सय ९७ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४९ हजार दुई सय ९७ रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमास अवधिमा सरकारको चालु खाता रू ५९ अर्ब ९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रू ३५ अर्ब २४ करोडले घाटामा रहेको थियो । त्यस्तै, वैदेशिक लगानी रू ३ अर्ब ३७ करोडले धनात्मक रहेको छ ।

असोज मसान्तसम्मको शोधनान्तर स्थिति रू ९९ अर्ब ७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रू १२ अर्ब ४३ करोडले बचतमा थियो ।

गत असार मसान्तमा रू १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति छ दशमलव सात प्रतिशतले वृद्धि भई गत असोज मसान्तसम्ममा रू १६ खर्ब ४३ अर्ब ९ करोड पुगेको छ ।

चालु आर्थिक वर्षको तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १२ दशमलव चार महिनाको वस्तु आयात र १० दशमलव तीन महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

पहिलो त्रैमासिक अवधिमा आयात एक दशमलव सात प्रतिशतले बढेको छ भने निर्यात दुई दशमलव तीन प्रतिशतले घटेको छ । कुल वस्तु व्यापार घाटा दुई दशमलव एक प्रतिशतले बढेकोछ ।

https://ujyaalonepalnews.com/archives/33082

रामेछापकोे सामूहिक घरबास प्रयोगविहीन

रामेछाप- रामेछापको खाँडादेवी गाउँपालिका–३ डप्खामा निर्माण गरिएको सामूहिक होमस्टे अझै पनि सञ्चालनमा आउन सकेको छैन ।

व्यक्तिको जग्गा यकिन नगरी घरबासको संरचना निर्माण भएपछि उत्पन्न विवादका कारण होमस्टे डेढ वर्षदेखि सञ्चालनमा आउन नसकेको हो ।

रामेछापको खाँडादेवी गाउँपालिका–३ डप्खामा माझी समुदायलाई लक्ष्य गरी निर्माण गरिएको सामूहिक होमस्टे सरकारको लापर्वाहीका कारण डेढ वर्ष बितिसक्दा पनि प्रयोगविहीन भएको हो ।

बागमती प्रदेश सरकारले कृषि पर्यटन कार्यक्रमअन्तर्गत डप्खाको माझी समुदायमा सामूहिक होमस्टे भन्दै ४२ वटा घर निर्माण गरेको थियो ।

जग्गा यकिन नगरी संरचना निर्माण गरिँदा कतिपय एउटै घर दुई व्यक्तिको जग्गामा परेको छ भने कतिपय एउटै व्यक्तिको जग्गामा तीन वटासमेत घर बनेकाले कसको जग्गामा कति वटा घर बने भन्नेसमेत यकिन छैन ।

सीमित व्यक्तिका जग्गामा घर बनेकाले जग्गा नभएका व्यक्तिले घर उपयोग गर्न पाउने कि नपाउने भन्ने आफू आफूमै अन्यौल भएका कारण यो घरबास सञ्चालनमा आउन नसकेको स्थानीय चन्द्रबहादुर माझीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “होमस्टे निर्माणस्थलमा जग्गा नभएकाले घर उपयोग गर्न जग्गा किन्नुपर्ने जग्गावालाको माग छ तर राज्यले नै जग्गा किनिदिनुपर्ने स्थानीय जग्गाविहीन गङ्गाकुमारी माझीले बताउनुभयो ।

सरकारलाई विश्वास गरेर आफ्नो जग्गामा सामूहिक होमस्टे निर्माणका लागि जग्गा दिएका स्थानीयवासी अहिले पछुताइरहेका छन् । होमस्टे सञ्चालनमा आउन नसक्दा सरकारको करोडौँ रुपैयाँ बालुवामा पानी हालेझै भएको छ । जग्गा विवाद नमिली होमस्टे सञ्चालन हुन नदिने स्थानीय नरबहादुर माझीले उल्लेख गर्नुभयो।

उत्पन्न जग्गा विवाद तथा भवन उपयोगसम्बन्धी विवाद स्थानीय सरकारले समाधान गर्नसक्ने अवस्था नरहेको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताउनुभयो ।

बागमती प्रदेश सरकारको रु दुई करोड र खाँडादेवी गाउँपालिकाको रु ७५ लाख गरी कूल दुई करोड ७५ लाखको लागतमा उक्त सामूहिक होमस्टे निर्माण गरिएको थियो ।

https://ujyaalonepalnews.com/archives/33081

भाइ मसलामा म्याद गुज्रिएका चकलेट र कुहिएका खानेकुरा !

धादिङ- धादिङका बजारमा बिक्री भइरहेका भाइ मसलाका ‘प्याकेट’मा म्याद गुज्रिएका खानेकुरा फेला परेको छ । बजारका खुद्रा तथा थोक पसलले बिक्रीका लागि राखेको थरीथरीका प्याकेटमा अखाद्य, गुणस्तरहीन र मिति गुज्रीएका सामग्री फेला परेको हो ।

व्यापारीले बिक्रीका लागि राम्रो देखाएर तयार पारेको भाइ मसलाका प्याकेटमा म्याद सकिएका र गुणस्तरहीन चकलेट, चोकोपाइ, र बिस्कुट फेला परेको बजार अनुगमन समितिका संयोजक एवं धादिङका सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले जानकारी दिनुभयो ।

तिहार लक्षित बजार अनुगमनको क्रममा व्यापारीले आफैँ तयार गरी बिक्रीका पसलमा पु¥याएको विभिन्न किसिमका भाइ मसलाका ‘प्याकेट’मा म्याद सकिएका गुणस्तरहीन खानेकुरा भेटिएपछि यस्ता खाद्य सामग्री बिक्री नगर्न सचेत गरिएको उहाँले बताउनुभयो ।

“तिहारमा प्रयोग हुने भाइ मसलामा म्याद गुज्रिएका चकलेट, किसमिस, काजु, सुपारीलगायतका सामग्री फेला परेको छ”, उहाँले भन्नुभयो, “सचेत गराउँदा अटेर गरेर बिक्री गरेको पाइए सर्वसाधारणको स्वस्थ्यमा असर पुग्ने सामग्रीको प्रयोग गरेको अभियोगमा कारबाही गर्नेछौँ ।”

व्यापारको मौका छोपेर व्यापारीले गुणस्तरहीन सामान हालेर महँगोमा भाइ मसला बनाएर बिक्री गर्न थालेको पाइएपछि जिल्लामा अनुगमनमा कडाइ गरिएको छ ।

व्यापारीले त्यस्ता सामान किनबेच गर्दा बिलसमेत लिने दिने नगरेको पाइएको घरेलु तथा साना उद्योग कार्यालय धादिङका प्रमुख मेघनाथ गौतमले बताउनुभयो । विभिन्न किसिमका सामान जम्मा गरेर आफँैले प्याकिङ गरिरहेकोसमेत फेला परेको उहाँले जानकारी दिनुभयो ।

तिहार लक्षित भाइ मसलाका सामान सदरमुकामका होलसेल पसलबाट गाउँगाउँमा समेत सप्लाइ भइसकेको हुनसक्ने भएकाले उपभोक्ता आफैँ सचेत रहन पनि आग्रह गरिएको छ ।

https://ujyaalonepalnews.com/archives/33080

मोबाइल वालेटमा जम्मा गर्ने रकमको सीमा बढाइयो

काठमाडौँ- नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा अस्थायीरुपमा बढाएको छ ।

राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनको व्यवस्थामा संशोधन गर्दै मोबाइल वालेटमा रकम जम्मा गर्ने सीमा दोब्बर बनाएको हो ।

“प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म जम्मा गर्न सकिने व्यवस्था रहेकामा कात्तिक २४ गतेदेखि मङ्सिर तीन गतेसम्मका लागि प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा २० पटकसम्म जम्मा गर्न सकिने व्यवस्था गरिएको छ”, राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै भनेको छ ।

वालेट सेवा प्रदायकले त्यो समयमा भएको कारोबारको सङ्ख्या र कारोबारको कूल रकम राष्ट्र बैंकअन्तर्गतको भुक्तानी प्रणाली विभागलाई बुझाउनुपर्नेछ ।

https://ujyaalonepalnews.com/archives/33079