Home Blog Page 127

रत्ननगरमा भाेली शनिबार देखि तिहार लक्षित पुष्प मेला हुँदै

रत्ननगर । पूर्वी चितवनकाे रत्ननगरमा भाेली शनिबार देखि तिहार लक्षित पुष्प मेला आयाेजना गरिएकाे छ । रत्ननगर नगरपालिका र रत्ननगर उद्योग बाणिज्य संघकाे सयुक्त आयाेजनामा मेला आयाेजना गरिएकाे छ ।

साैराहाचाेक र टाँडीचाेककाे बीचमा रहेकाे मिनी बसपार्कमा मेला २८ गते सम्म चल्ने छ । आयाेजकले शुक्रबार पत्रकार सम्मेलनकाे आयाेजना गरी मेला व्यवस्थापन र उद्देश्यकाे बारेमा जानकारी गराएकाे छ ।

बजारमा प्लाष्टिक जन्य बस्तुहरु विक्री वितरणमा प्रतिबद्ध लगाएकाे नगरपालिकाले स्थानीय उत्पादनकाे बजारिकरणकाे लागि पुष्प मेला आयाेजना गरकाे हाे ।

मेलामा नगर भित्रका किसानले उत्पादन गरेकाे सयपत्री फुलकाे माला र महिला उद्यमीले उत्पादन गरेका भाईटीकाका सामाग्री विक्रीका लागि राखिने मेला व्यवस्थापन समितिका संयाेजक साेहेन्द्रराज खरेलले जानकारी दिए ।

उद्यमीलाई निशुल्क र व्यवसायीलाई प्रतिस्टल ५०० रूपैया शुल्क ताेकिएकाे छ । मेलामा ३० वटा स्टल राखिएकाे छ । संघका अध्यक्ष शंकर गिरील स्थानीय उत्पादनकाे बजारिकरणकाे लागि मेला आयाेजना गरिएकाे बताए ।

मेलामा फूलकाे माला सहित भाइटीकाका सामाग्री र कपडा पसल रहने उनले जानकारी दिए । पत्रकार सम्मेलनमा कार्यबहाक मेयर पाेटबहादुर घिमिरे, बजार व्यवस्थापन समितिका संयाेजक तथा वडा नं २ का वडाध्यक्ष राजन घिमिरे, वडा नं १ का वडाध्यक्ष कुलप्रसाद सापकाेटा, रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरी, उद्यमशिल महिला समुह रत्ननगरकी अध्यक्ष गीता सिंखडा, कार्यालिका सदस्य राजेन्द्र हमाल लगायतकाे सहभागिता रहेकाे छ । रत्ननगरले फूलकाे मालाकाे मुल्य निर्धारण समेत गरेकाे छ ।

https://ujyaalonepalnews.com/archives/33077

‘बहुमूल्य सामान बोकेर भिडभाडमा नजानु’

काठमाडौँ- काठमाडौँ उपत्यका प्रहरी कार्यालयले बहुमूल्य सामान बोकेर भिडभाडमा जाने गल्ती नगर्न अनुरोध गरेको छ । उपत्यका प्रहरीले यसरी जाँदा चोरीको सम्भावना अधिक हुने भएकाले विशेष ख्याल गर्न पनि सुझाएको छ ।

तिहारलगायत चाडपर्वको समयका लागि ११ बुँदे अनुरोध सार्वजनिक गर्दै प्रहरीले आफ्नो सुरक्षामा पहिले आफैँ सचेत हुनसके धेरै घटनाबाट जोगिन सकिने जनाएको छ । तिहार, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा शान्ति र सुरक्षालाई मजबुद बनाउन उक्त कार्यालयले सर्वसाधारमा जारी गरेको अपिलमा लङ्गुरबुर्जा, जुवा र तासलगायत हारजित हुने खेल खेल्ने वा खेलाउने कार्य नगर्न र नगराउन भनेको छ ।

कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले मुख्यगरी पटाका पटकाउनेजस्ता गतिविधि, हत्या–हिंसा, चोरी, तस्करी तथा हारजित हुने गरी खेलिने खेललाई विशेष निगरानीका लागि प्रहरी टोली परिचालन गरिएको जानकारी दिनुभयो ।

साथै चाडपर्वको समय भएकाले यातायात क्षेत्रमा हुने अवाञ्छित गतिविधिलाई पनि ट्राफिकमार्फत निगरानी बढाएको जनाइएको छ । सार्वजनिक गरिएको अनुरोधमा पटाका, आतिसबाजीजस्ता विष्फोटक पदार्थको कारोबार गर्ने कार्य नगर्न, मादकपदार्थ सेवन (मापसे) र लागूपदार्थ सेवन (लापसे) गरी सवारीसाधन नचलाउन, यात्राको क्रममा अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान पनि भनिएको छ ।

नगद, बहुमूल्य सामान, गरगहना र महँगा मोबाइल फोनसहित भीडभाडमा सकेसम्म नजान, घर तथा पसल बाहिर जानुपरेमा घरको झ्याल ढोका राम्रोसँग बन्द गरेको छ÷छैन यकीन गर्न तथा सकेसम्म साइरन जडित ताल्चा जडान गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।

लामो समय घर वा पसल छोडी बाहिर जानुपरेमा छिमेकी तथा स्थानीय प्रहरीलाई खबर गर्न सकेसम्म डिजिटल प्रविधिमार्फत रकमको कारोबार गर्न, आफ्नो मोबाइल बैंकको ओटिपी कोड सुरक्षित राख्न पनि अनुरोध गरिएको छ ।

यस्तै चेकबाट कारोबार गर्नुपर्ने अवस्थामा आफ्नो रकमले खाम्ने अङ्कको मात्र चेक जारी गर्न तथा सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत तथा यात्राको विवरण अद्यावधिक गर्ने कार्य नगर्न पनि अनुरोध गरिएको छ ।

https://ujyaalonepalnews.com/archives/33075

राहत वितरण प्राथमिकताका आधारमा भइरहेको छः प्रधानमन्त्री प्रचण्ड

बाँके- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला, बालबालिका, ज्येष्ठ नागरिकका साथै सुत्केरी र गर्भवतीलाई राहत वितरणमा प्राथमिकता दिएको बताउनुभएको छ ।

रोल्पा जिल्ला अस्पताल र थबाङको मोटरेवल पुल उद्घाटनका लागि नेपालगञ्जबाट रोल्पा प्रस्थान गर्ने क्रममा पत्रकारसँग कुरा प्रधानमन्त्री दाहालले सरकारले भूकम्पपीडितका लागि राहत वितरणमा कुनै कसर बाँकी नराखेको समेत बताउनुभयो । प्रधानमन्त्रीले “राहत वितरण प्राथमिकताका आधारमा भइरहेको बताउनु भयो ।”

सो अवसरमा प्रधानमन्त्री दाहाललाई लुम्बिनी प्रदेश सांसद नमूना केसीले बाँकेको नरैनापुरस्थित प्रशासकीय भवन र अस्पताल उद्घाटनका लागि प्रस्ताव राख्नुभएको थियो । उक्त प्रस्तावमा प्रधानमन्त्रीले सकारात्मक प्रतिक्रिया जनाउनुभएको थियो ।

https://ujyaalonepalnews.com/archives/33074

संविधानको रक्षार्थ बनेको गठबन्धन सहमतिअनुसार नै अगाडि बढ्छ : नेता सिंह

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानसभाबाट जारी संविधानको रक्षार्थ वर्तमान सत्ता गठबन्धन बनेको प्रष्ट्याउँदै दलहरूबीचको सहमतिअनुसार नै गठबन्धन अगाडि बढ्ने बताउनुभएको छ ।

लौहपुरुष गणेशमान सिंहको १०९औँ जन्मजयन्तीका अवसरमा आज काठमाडौँका शोभाभगवतीमा आयोजित कार्यक्रममा उहाँले गठबन्धनभित्रका दलहरूको समझदारीअनुसार नै मुलुक अगाडि बढिरहेको बताउनुभयो ।

“गठबन्धन निर्माणको आधार बलियो छ, गठबन्धनको आवश्यकता किन भयो भन्ने सबैलाई थाहा छ । असंवैधानिकरूपमा संसद् विघटन गरेका कारण यो गठबन्धन बनेको हो”, उहाँले भन्नुभयो, “कांग्रेसको नेतृत्वमा जारी भएको संविधानमाथि प्रहार भएका कारण उक्त संविधान जोगाउन गठबन्धन बनेको हो ।”

नेता सिंहले अहिलेको सत्ता गठबन्धनका कारण तत्कालीन सदनमा बहुमत पुगेपछि अदालतबाट संसद् विघटन बदर भएको स्मरण गर्दै निर्वाचनको समयमा पनि कायम रहेको गठबन्धनको समझदारीअनुसार सरकार सञ्चालन भइरहेको बताउनुभयो ।

वर्तमान सत्ता गठबन्धन ढल्छ भन्ने कुरामा कुनै आधार नभएको दाबी गर्दै उहाँले संविधानको रक्षाका लागि गठबन्धन बनेकाले सहमतिअनुसार नै गठबन्धन अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले जनताको सङ्घर्षबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सबल बनाउन सबै राजनीतिक दल क्रियाशील हुनुपर्ने बताउनुभयो ।

“जनताको सङ्घर्षबाट प्राप्त भएको उपलब्धिलाई संस्थागत गर्न अबको ध्यान केन्द्रित हुनुपर्छ, परिवर्तनको फल सबैले पाउनुपर्छ”, नेता सिंहले भन्नुभयो, “अहिले जनताले परिणाम खोजिरहेका छन्, जनताको जीवनस्तर उठाउनेतर्फ ध्यान दिनुपर्छ ।”

सेवा प्रवाहलाई प्रभावकारी बनाउन तीनै तहका सरकारले समन्वय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “सबै दल मिलेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रामक संविधानको प्रभावकारी कार्यान्वयनमार्फत तीनै तहका सरकारबीच आवश्यक समन्वय गरेर अगाडि बढ्नुपर्छ ।”

सो अवसरमा नेता सिंहलगायत कांग्रेसका नेता, कार्यकर्ताले गणेशमानको सालिकमा माल्र्यापण गर्नुभएको थियो ।

https://ujyaalonepalnews.com/archives/33073

जाजरकोट भूकम्पः बेलायतका राजाबाट दुःख व्यक्त

काठमाडौँ- बेलायतका राजा चार्ल्सले जाजरकोट भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार सन्देश पठाउनुहुँदै भूकम्पबाट भएको जनधनको क्षतिको खबर सुनेर आफू तथा आफ्नो परिवार स्तब्ध र दुःखित् भएको उल्लेख गर्नुभएको छ ।

यस दुःखद् घडीमा आफ्नो प्रार्थना नेपाली जनतासँग रहेको उल्लेख गर्दै राजा चार्ल्सले सबै शोकसन्तप्त परिवार र प्रभावित समुदायमा समवेदना व्यक्त गर्नुभएको छ ।

उहाँले यस कठिन अवस्थामा बेलायत सरकार नेपालको आवश्यकतानुसार सहयोग गर्न तप्पर रहेको उल्लेख गर्नुभएको नेपालस्थित बेलायती दूतावासले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/33071

सामाजिक सञ्जाल दुरुपयोगको नियन्त्रण प्रयास, तीन महिनाभित्र नेपालमा सूचिकृत हुनैपर्ने

काठमाडौं- सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न सरकारले नयाँ निर्देशिका ल्याएको छ । निर्देशिका स्वीकृत भएसँगै नेपालमा सञ्चालमा रहेका सबै सामाजिक सञ्जाल कम्पनीहरू सञ्चार मन्त्रालयमा रहेको सामाजिक सञ्जाल व्यवस्थापन एकाइमा अब अनिर्वाय रूपमा सूचीकृत हुनपर्ने छ ।

नेपालमा मुख्य रूपमा फेसबुक, एक्स, युट्युब, टिकटक, इन्स्टाग्राम, स्न्यापच्याटलगायतका सामाजिक सञ्जालको प्रयोग बढ्दो छ । सबै सामाजिक सञ्जाललाई सूचीकृत हुन तीन महिनाको अवधि दिइएको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० परिमार्जनसहित स्वीकृत गरेको सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

निर्देशिकामा सामाजिक सञ्जाल प्लेटफार्म सूचीकरण हुनुपर्ने, सामाजिक सञ्जाल प्लेटफार्म सञ्चालकको जिम्मेवारी, सामाजिक सञ्जाल प्रयोगकर्ताको जिम्मेवारीलगायतका विषय उल्लेख छ ।

सरकारी संयन्त्र र राजनीतिक दल तथा सार्वजनिक क्षेत्रबाट सामाजिक सञ्जालले विकृति बढाएको र सामाजिक सद्भाव खल्बल्याउने गतिविधि सामाजिक संजालबाट बढिरहेको भन्दै नियमन र नियन्त्रणको विधि माग भइरहेको बेला सरकारले निर्देशिका ल्याएको हो ।

अब फेक आइडी सिर्जना गर्न, फेक आइडी मार्फत विषयवस्तु उत्पादन गरी सेयर गर्न वा अरूको विषयवस्तु सेयर, टिप्पणी वा कल गर्न पाइने छैन ।

बालश्रम, मानव बेचबिखन, बहुविवाह, बालविवाह जस्ता क्रियाकलाप गर्नलाई प्रोत्साहित गर्न, अरूलाइ होच्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृश्य, तस्बिर, ट्रोल बनाइ घृणायुक्त अभिव्यक्ति, गाली बेइज्जती गर्न, हेट स्पीच वा हेट स्पीच मानिने कार्य गर्न पनि नपाइने निर्देशिकामा उल्लेख गरिएको छ ।

डिजिटल माध्यमको प्रयोगबाट कुनै व्यक्तिको तस्बिर विकृत रुपले परिमार्जन गरी प्रकाशन वा प्रसारण गर्न पनि पाइने छैन । सार्वजनिक प्रकृतिका बाहेक निजी मामिलाका फोटो भिडियो अनुमतिबिना खिचेर प्रकाशन र प्रसारण गर्न नपाइने पनि निर्देशिकामा उल्लेख छ ।

https://ujyaalonepalnews.com/archives/33070

भूकम्पले खोसेको गोरख-शोभाको खुसी

कर्णाली- जाजरकोटको बारेकोट गाउँपालिका–४ जिरीका गोरख सिंह र शोभा सिंहलाई राहतभन्दा पनि खाइलाग्दो अवस्थाका दुई छोरीको निधनले आहत बनाएको छ ।

यही कात्तिक १७ गते शुक्रबार राति ११:४७ बजे बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६ दशलमलव ४ रेक्टर स्केलको भूकम्पले सिंह दम्पतीका दुई छोरी उपसना र ऊर्जाको ज्यान गयो ।

घटना भएको एक साता बित्न लागेको छ । २१ वर्षीया उपासना र १८ वर्षीया ऊर्जाको निधनले सिंह दम्पतीका आँखा ओभाएका छैनन् । पछिल्लो समय बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ मा बस्दै आउनुभएका सिंह दम्पती दुई छोरीसहित दसैँ मनाउन गत असोज २८ गते मात्र बारेकोट गाउँपालिकास्थित जिरीगाउँ उक्लिनुभएको थियो ।

दसैँ मनाएर बाबाआमासँगै बारेकोटबाट दुवै दिदी–बहिनी यही कात्तिक १० गते जाजरकोट सदरमुकाम फर्केका थिए । बुबाआमा मावली सदरमुकाम खलङ्गास्थित घरमा बस्दा उपासना र ऊर्जा शुक्रबार सानीआमाको घरमा बास बस्न गएका थिए ।

उनीहरूसँगै सानीआमाकी २५ वर्षीया छोरी मेरिना आरसीको पनि शुक्रबार राति भूकम्पमा परेर ज्यान गयो । मेरिना कुसे गाउँपालिका–९ पैंक निवासी सुष्मा र सनत आरसीका कान्छी छोरी हुन् ।

सिंह दम्पतीकी जेठी छोरी उपसना ललितपुरको सानेपास्थित एभरेष्ट इन्जिनियरिङ कलेजमा स्नातक तहको पाँचौँ सेमेस्टरमा अध्ययनरत थिइन् । उनको सपना थियो उच्च शिक्षा विदेशमा गएर लिने र पुनः नेपाल फर्केर सूचना तथा प्रविधिको पहुँचबाट बञ्चित रहेको दुर्गम कर्णालीका बस्तीमा काम गर्ने । गत कात्तिक १७ गते राति गएको भूकम्पले उनको सपना चकनाचुर बनायो ।

सिंह दम्पतीकी कान्छी छोरी ऊर्जाले नेपालगञ्जस्थित स्टी थोमस इङ्लिस माध्यमिक विद्यालयबाट विज्ञान विषयमा कक्षा १२ उत्तीर्ण गरेकी थिइन् । उनी चिकित्सा शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जाने तयारीमा थिइन् ।

उनको सपना थियो चिकित्सक बनेर समाजसेवा गर्ने । त्यसका लागि अष्ट्रेलियाको सबै तयारी गरिँदै थियो । यही डिसेम्बरको अन्तिम साता अष्ट्रेलिया उड्ने ऊर्जाको सपना पनि भूकम्पले खरानी बनायो ।

ऊर्जाले यसअघि चिकित्सक बन्न निजी मेडिकल कलेजमा नाम निकाले पनि बुबाआमालाई आर्थिक भारमा पार्न खोजिनन् । महँगो डाक्टरी शुल्क तिरेर बुबाआमाले आफूलाई पढाउन सक्ने अवस्था छैन भन्ने कुरा ऊर्जाले राम्रोसँग बुझेकी थिइन् । घरायसी अवस्थालाई राम्रोसँग बुझेकी उनले आफ्नै बलबुतामा अष्ट्रेलियाको चिकित्सा क्षेत्रको उच्च शिक्षा हासिल गर्ने लक्ष्य राखेकी थिइन् ।

सिंह दम्पती आइटी इन्जिनियर बन्ने उपासना र डाक्टर बन्ने ऊर्जाको इच्छा पूरा गर्न जस्तोसुकै जोखिम मोल्न चाहन्थे । त्यसका लागि उनीहरूको उच्च शिक्षा र त्यसमा लाग्ने आर्थिक जोहो गरिरहेका उनीहरू तिहारलगत्तै ऊर्जालाई बाहिर पठाउने ध्याउन्नमा थिए । “सबैथोक भूकम्पसँगै बिलायो, कल्पना नगरेको बज्रपात सहनुपरिरहेको छ”, आँसु झार्दै सिंह दम्पतीले पीडा पोखे ।

शोकमा डुबेको परिवारलाई समवेदना प्रकट गर्न आउने र दिवङ्गत आत्माप्रति श्रद्धाञ्जलि व्यक्त गर्ने आफन्त शुभेच्छुकलाई घरको ढोका अगाडि राखिएका उपासना र ऊर्जाको तस्वीरले धरधरी रुवाउँछ । “घरको कुनाबाट छोरीहरूले बाबा भनेको आवाज मेरो कानमा गुञ्जिरहन्छ”, बुबा गोरखले भन्नुभयो ।

सिंह पत्नी शोभा शाह भन्नुहुन्छ, “काख रित्तिएको छ । घरमा उपासना गर्ने ऊर्जा समाप्त भएको छ । राति निद्राबाट ब्यूझँदा अगाडि छोरी उभिएको देख्छु तर स्पर्श गर्न पाउँदिन । अनि डाँको छाडेर रुनेबाहेक अरु केही उपाय भेट्दिन । यस्तो पीडा कसैले भोग्नु नपरोस् ।”

कठिन दुःख गरेर उच्च शिक्षा पढाउने र छोरीहरू राष्ट्रको अब्बल जनशक्ति बनेर सेवा गरेको खुसी देख्ने चाहना थियो सिंह दम्पतीको । भूकम्पले उनीहरुको आशा र खुसी सदाका लागि खोसेको छ । उपासनाको राति एक्लै पढ्ने बानी थियो । उनी थोरै पढेर धेरै बुझ्ने तेज दिमागकी थिइन् । ऊर्जा अत्यन्तै मेहनती र इमान्दार थिइन् । बुबाआमाको आर्थिक तथा घरायसी समस्यालाई नजिकबाट बुझ्ने समझदार बानीका कारण एमबिबीएस अध्ययनका लागि छात्रवृत्तिमा नाम निकालेकी उनले आफ्नो पढाइलाई एक वर्षपछि धकेलेकी थिइन् ।

यता पोखरा विश्वविद्यालयबाट छात्रवृत्तिमा परी मेरिनाले कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट नेपालगञ्जबाट सिभिल इन्जिनियर पूरा गरेकी थिइन् । देशको अब्बल इन्जिनियर बन्ने उनको सपना ध्वस्त मात्र भएन, आमाबुवाको आशाको दीयो पनि निभ्यो ।

भूकम्पका कारण आफन्त गुमाएका सयौँ परिवारको पीडा बुझेर सिंह र आरसी दम्पतीले चित्त बुझाएका छन् । जाजरकोट भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिममा एक सय ५७ जनाको मृत्यु भएको छ । दुई सय ५० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

https://ujyaalonepalnews.com/archives/33069

उत्तरी गाजामा दैनिक चार घण्टा युद्ध स्थगित गर्न इजरायल सहमत

इजरायलले उत्तरी गाजाका नागरिकहरूलाई सो क्षेत्र छाड्न हरेक दिन ४ घण्टा युद्ध स्थगित गर्न सहमत भएको अमेरिकाले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यो कार्यलाई सही दिशामा पाइला चालेको कदम भएको बताउँदै सो क्षेत्रको सहायताका लागि वकालत गरिरहने बताएका छन् ।

यसअघि इजरायली सेनाले गाजाका नागरिकहरूको लागि मानवीय सहायताको लागि रणनीतिक तथा स्थानीय स्तरमा आक्रमण रोकेपनि युद्धविराम भने नभएको स्पष्ट पारेको छ ।

गाजाको इस्लामिक जिहाद समूहले दुई इजरायली बन्धकको भिडियो सार्वजनिक गरेको छ । सो भिडियो एक वृद्ध महिला र युवकको रहेको छ । इजरायलको सेनाले गाजा शहरको केन्द्रमा भारी आक्रमण गरिरहेको बेला हमासले यो भिडियो सार्वजनिक गरेको हो ।

गाजा शहरका दुई ठूला अस्पतालहरू वरिपरि भीषण आक्रमण गरेको समाचार छ र सो क्षेत्रमा हमासका लडाकुहरू रहेको ईजरायले जनाएको छ । ४ हजार ४ सय भन्दा बढी बालबालिका सहित १० हजार ८ सय भन्दा बढी मानिस मारिएका छन् ।

त्यस्तै इजरायलमा सोही अवधिमा मर्नेको संख्या १,४०० भन्दा बढी छ भने २ सय ४० भन्दा बढीलाई बन्धक बनाईएको छ ।

https://ujyaalonepalnews.com/archives/33068

काभ्रेबाट गैर आवासीय नेपालीलाई नागरिकता वितरण सुरु

काभ्रे- जिल्ला प्रशासन कार्यालय काभ्रेले गैर आवासीय नेपालीलाई नागरिकता वितरण सुरु गरेको छ । बनेपा नगरपालिका ९ घर भई हाल क्यानाडा बस्दै आउनु भएका श्याम कृष्ण डंगोललाई काभ्रेका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बिहीबार पहिलोपटक गैर आवासीय नागरिकता प्रदान गर्नुभएको हो ।

प्रमुख जिल्ला अधिकारीले हस्ताक्षर गरेको गैर आवासीय नागरिकतालाई प्रजिअ शर्मालेनै हस्तान्तरण गर्नुभएको थियो । डंगोलले नेपाली नागरिकता त्यागेर बिहीबार गैर आवासीय नागरिकता लिनुभएको हो ।

गैर आवासीय नागरिकता लिदै डंगोल भन्नुभयो लामो समयपछिको गैर आवासिय नेपालीको प्रतिक्षा र नेपालको संविधानले दिएको अधिकार उपयोग गर्दै एनआरएन नागरिकता लिएको छु । आवश्यक सहयोग र सहजिकरणका निम्ति जिल्ला प्रशासन कार्यालय काभ्रेप्रति हार्दिक आभार ब्यक्त गर्दछु ।’

प्रमुख जिल्ला अधिकारी शर्माले गैर आवासीय नेपालीलाई राजनीतिक तथा प्रशासनिक अधिकारबाहेकका आर्थिक, सामाजिकलगायत अधिकार हुने बताउनुभयो ।

उहाँका अनुसार नेपाल नागरिकता (तेश्रो संशोधन) नियमावली, २०८० राजपत्रमा प्रकाशित भए बमोजिम गैर आवासीय नेपालीलाई नागरिकता प्रमाणपत्र दिन थालिएको हो ।

गैर आवासीय नेपाली नागरिकतासम्बन्धी विषयहरुलाई समावेश गरी नागरिकता सूचना व्यवस्थापन प्रणाली (सीआईएमएस) अद्यावधिक गर्ने कार्य गृह मन्त्रालयबाट भइसके पनि जिल्लाबाट नागरिकता दिन प्रणाली व्यवस्थापनमा केही समय लागेको उहाँले बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/33067

‘सुशासन कायम गर्न सरकार दृढतापूर्वक लागेको छ’: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न सरकार दृढतापूर्वक अगाडि बढिरहेको बताउनुभएको छ । ‘प्रतिमान–नीमा स्मृति प्रतिष्ठान’को २०औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढेको वर्तमान सरकार देशमा विद्यमान चुनौतीलाई अवसरमा बदल्न क्रियाशील रहेको बताउनुभयो ।

“दश महिनाको अवधिमा अर्थतन्त्रको सङ्कट अन्त्य गर्दै अर्थतन्त्रमा परेको दबाब अन्त्य गर्न मेहनत गरिएको छ । अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक छन्, यद्यपि दबाब अन्त्यका लागि रणनीतिक कदम चाल्नुपर्ने आवश्यकता महसुस भएको छ”, उहाँले भन्नुभयो ।

आफ्नो भारत, इटाली, अमेरिका र चीन भ्रमणबाट नेपालको राष्ट्रिय हित प्रर्वद्धनमा योगदान भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले हालै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गर्नुभएको नेपाल भ्रमण र नेपालप्रति व्यक्त विचारले सिङ्गो विश्वको ध्यान नेपालमा केन्द्रित भएको बताउनुभयो ।

“यसले शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनको तर्जुमा, जलवायु परिवर्तनले नेपालमा पारेको बहुआयमिक प्रभावलाई कम गर्न, कार्बन उत्र्सजन नियन्त्रणबापत नेपालले प्राप्त गर्नुपर्ने ‘रोयल्टी’, जलवायु परिवर्तनका क्षेत्रमा नेपाल नेतृत्व देशका रूपमा प्रस्तुत हुने आधार प्रस्तुत गरेको छ”, उहाँले भन्नुभयो, “यो हाम्रा लागि महत्त्वपूर्ण उपलब्धि हो ।

जाजरकोट भूकम्पबाट भएको अकल्पनीय क्षतिले देश शोकमा परेकोे उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भूकम्पपछि उद्धार र राहतमा सरकारले लिएको पहलकदमीले पुनःस्थापनामा पनि प्रभावकारी र वैज्ञानिक भूमिकाको आधार तयार भएको बताउनुभयो । “सरकारले २०७२ को भूकम्पबाट शिक्षा लिएर यसपटक वैज्ञानिक र व्यवस्थितरूपमा पुनःस्थापनाको काम अगाडि बढाउने छ”, उहाँले भन्नुभयो ।

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले मुलुकको सामाजिक–आर्थिक विकासका लागि सरकारको मात्र मुख नताकी जनताले पनि खुला हृदयले पनि सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले प्राविधिक जनशक्ति उत्पादन गर्न प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा त्यसको सराहना गर्नुभयो ।

विसं २००७ को प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्याउनुभएका प्रतिमान चन्द बोहराको स्मृतिमा स्थापित उक्त प्रतिष्ठानले देशका विभिन्न स्थानमा रहेका विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

https://ujyaalonepalnews.com/archives/33066