Home Blog Page 132

भूकम्पपीडितलाई माओवादीको ५० लाख सहयोग

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) ले जाजरकोट भूकम्पपीडितका लागि रु ५० लाख राहत रकम सहयोग गरेको छ । माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरी उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा माओवादी नेताहरूले भूकम्प प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा सरकारले निर्वाह गरेको भूमिकाप्रति धन्यवाद दिँदै राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन ध्यानाकर्षण गराउनुभएको थियो ।

यसैबीच, सूर्य नेपाल प्रालिले भूकम्प प्रभावितको राहतका लागि रु एक करोडको चेक हस्तान्तरण गरेको छ । सूर्य नेपालका उपाध्यक्ष रवी केसी प्रधानमन्त्री दाहाललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो ।

https://ujyaalonepalnews.com/archives/33016

नेपालमा लगानी गर्न एसिया प्रशान्त क्षेत्रका व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ- प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुक आर्थिक समृद्धिको मार्गमा रहेकाले नेपालमा लगानी गर्न एसिया प्रशान्त क्षेत्रका व्यवसायीलाई आग्रह गर्नुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा गएको एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसङ्घका अध्यक्ष पिटर म्याकमुलिन एमसहितको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले नेपालको आर्थिक समृद्धिको यात्रामा सहयोग गर्न आग्रह गर्नुभयो ।

नेपालले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय लगानी आह्वान गरिरहेको, नेपालमा लगानीका लागि उपयुक्त कानुन र वातावरण रहेको तथा लगानीकर्तालाई सबै प्रकारका सहयोग गर्न सरकार तयार रहेको प्रधानमन्त्री दाहालले विश्वास दिलाउनुभयो ।

सो अवसरमा महासङ्घका अध्यक्ष ढकालले ३७औँ ‘क्यासी’ सम्मेलन नेपालको आर्थिक विकासका मुद्दामा केन्द्रित भएको र सम्मेलन सहयोगी हुने अपेक्षा नेपाली निजी क्षेत्रले गरेको बताउनुुभयो । एसिया प्रशान्त क्षेत्रबाट लगानी एवं प्रविधि भित्र्याउन क्यासीमार्फत महासङ्घले पहल गर्ने थप स्पष्ट पार्नुभयो ।

क्यासीका अध्यक्ष पिटरले लगानी आकर्षण एवं आर्थिक व्यावसायिक सम्बन्ध विस्तारमा सहयोग पुर्‍याउन तयार रहेको प्रतिबद्धता जनाउनुुभएको महासङ्घले जनाएको छ ।

भेटवार्तामा अर्थमन्त्री डा प्रकाशशरण महत, मुख्यसचिव डा बैकुण्ठप्रसाद अर्याल र क्यासी पदाधिकारी एवं सदस्यको उपस्थिति थियो । निजी क्षेत्रको प्रतिनिधिमुलुक संस्था नेपाल उद्योग वाणिज्य महासङ्घ यस संस्थाको संस्थापक सदस्य रहेको छ ।

https://ujyaalonepalnews.com/archives/33015

खेत खेतमा पुगेर फूल किसानको हौसला बढाउँदै कालिकाका मेयर

रत्ननगर, कार्तिक २१ । कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले नगरभित्र गरिएको सयपत्री फुलखेतीको मंगलबार अनुगमन गरेका छन् ।

वडा नं ७ मा रहेको सगुन बहुउद्देश्यीय सहकारी सस्था लि.ले गरेको फुलखेतीको मेयर रेग्मीले अनुगमन गरेका हुन । सो अबसरमा उनले तिहारमा नगरभित्र उत्पादित सयपत्री फुलको माला प्रयोग गर्न नगरबासीहरुलाई आग्रह गरेका छन् ।

मेयर रेग्मीले नगरभित्रका बजारमा प्लाष्ट्रिक जन्यमाला विक्री वितरणमा रोक लगाइएको जानकारी दिए ।

सो सहकारीले नगरपालिकाको अनुदानमा ६ कठ्ठा क्षेत्रफलमा फूलखेती गरेको संस्थाका सचिव सुवास श्रेष्ठले जानकारी दिए ।

अनुगमनपछि फूल उत्पादन र बजारिकरणको विषयमा सहकारीका सदस्य र जनप्रतिनिधि बीच अन्र्तक्रिया कार्यक्रम समेत गरिएको छ ।

कार्यक्रममा वडा अध्यक्ष कमलराज मुक्तान, वडा सदस्यहरु, सस्थापक वडा अध्यक्ष, वडा सदस्यलगायत संस्थाका शेयर सदस्यहरुको उपस्तिथि रहेको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष ज्ञान बहादुर गुरुङले सहकारीको कार्यप्रगति विवरण सहित फुलखेतीका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रम संस्थापक वडा सदस्य उमाकान्त सापकोटाले गरेका थिए ।

https://ujyaalonepalnews.com/archives/33012

सिरहामा हतियारसहित तीन जना पक्राउ

सिरहा- सिरहास्थित लाहन नगरपालिका-१ सिंगराहीबाट नौ एमएमको अटोटीक पेस्तोलसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

सश्स्त्र प्रहरी वल नेपालको ईन्टिलीजेन्स व्युरोले सप्तरीको सुरुङ्गा नगरपालिका ८ का ३२ वर्षीय अनिल राम, सुरुङ्गा ५ का ३० वर्षीय जिबान्नद चौधरी र सप्तरीकै खड्क नगरपालिकाका ३५ वर्षीय संजयप्रसाद चौधरीलाई पक्राउ गरेको हो ।

विशेष सुचनाको आधारमा खटिएको सुरक्षा टोलिले पक्राउ परेकाहरुको साथबाट दुई थान गोली लोड भएको अटोमेटीक पेस्तोल, १ लाख ८४ हजार २ सय ५३ रुपैयाँ, ४ थान मोवाईल, नेपाल टेलिकमको २२ थान सिम कार्ड, १४ थान एनसेलको सिम कार्ड, नेपाल टेलिककै ५० रुपैया दरको २६ हजारको र १ सय दरको ९६ हजारको रिचार्ज कार्डसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरु विभिन्न अपराध र फिरौतीमा संलग्न रहेको जनाएको छ । नियन्त्रणमा लिईएकाहरुलाई र बरामद पेस्तोल, नगद तथा रिचार्ज कार्डसहित आवश्यक कार्वाहीका लागि ईलाका प्रहरी कार्यालय लहानमा राखीएको ईलाका प्रहरी कार्यालय लहानका प्रवक्ता रविन्द्र राज पाण्डेले बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/33010

खोलामा डुबेर भारतीय युवतीसहित दुईको मृत्यु

लुम्बिनी- आज भएका बेग्लाबेग्लै दुई घटनामा भारतीय युवतीसहित दुई जनाको ज्यान गएको छ ।

रुपन्देही सिद्धार्थनगर नगरपालिका–९ का अन्दाजी २२ वर्षीय बिमल आचार्यको तिनाउ गाउँपालिका–३ स्थित भूतखोलामा डुबेर ज्यान गएको छ भने उनीसँगै घाइते भएकी युवती युना दाहालको उपचार भइरहेको छ । उनीहरु आज बिहान साढे दश बजेतिर खोलामा डुबेका थिए ।

उनीहरुलाई स्थानीय र दोभानस्थित प्रहरीले घाइते अवस्थामा उद्धार गरी उपचारका लागि बुटवल अस्पताल प्रालिमा पुर्‍याइएको थियो ।

आचार्यको उपचारका क्रममा आचार्यको मृत्यु भएको र घाइते दाहालको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

आजै भएको अर्को घटनामा भारतीय युवतीको मृत्यु भएको छ । भारत उत्तर प्रदेश मगहरकाजिपुरबाट शैक्षिक भ्रमणमा आएकी अन्दाजी २० वर्षीया शाहिस्ता प्रवीनको दिउँसो अन्दाजी १:३० बजे तिनाउ गाउँपालिका-३ तिनाउ खोलामा खसी मृत्यु भएको हो ।

ड्याममा फोटो खिच्ने क्रममा चिप्लिएर खोलामा खस्दा शाहिस्ताको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रनाउ श्रेष्ठले जानकारी दिनुभयो ।

खोलामा खसेर डुबेकी शाहिस्तालाई दोभान प्रहरीले उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पु¥याएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले दुवै घटनाको थप अनुसन्धान जारी रहेको पनि जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/33009

गणतन्त्रलाई सबल बनाउन भूमिका खेल्ने शीर्ष नेताको प्रतिबद्धता

काठमाडौँ- मुलुकको राजनीतिक परिवर्तनका लागि एकताबद्ध भएर सङ्घर्ष गरेका राजनीतिक दलका शीर्ष नेतृत्वले जनताको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई थप मजबुद बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सिंहदरबारमा बाह्रबुँदे सहमति, शान्ति प्रक्रिया र संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका दलका नेताबीच गणतन्त्रलाई सुदृढीकरण गर्दै अघि बढ्ने सहमति भएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

शीर्ष नेताले दलहरुबीच आपसी मतभेद भए पनि एकताबद्ध हुँदै लोकतन्त्रको सुदृढीकरण गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभएको उहाँले बताउनुभयो ।

बैठकमा सहभागी दलका नेताहरुले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामाथि भइरहेका आक्रमणको समीक्षा गर्दै प्राप्त उपलब्धिलाई सबल बनाउन आगामी दिनमा बुहपक्षीय र द्विपक्षीय छलफल गर्दै अघि बढ्ने सहमति गरेको उहाँको भनाइ छ ।

“छलफलमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति नेताहरूले बलियो प्रतिबद्धता व्यक्त गर्नुभयो, प्राप्त उपलब्धिलाई थप सबल बनाउन आ-आफ्नो तहबाट भूमिका खेल्ने उहाँहरुको सामूहिक प्रतिबद्धता थियो”, उहाँले भन्नुभयो । शीर्ष नेताले भूकम्पलगायत प्राकृतिक प्रकोपबाट पीडितलाई प्रभावकारी ढङ्गबाट राहत र उद्धारका काम अगाडि बढाउन सरकारलाई सुझाव दिनुभएको थियो ।

उहाँहरुले पछिल्ला समय सामाजिक सञ्जालबाट संविधान, लोकतन्त्र, राजनीतिक प्रणाली, नेतृत्वकाविरुद्ध भइरहेका दुष्प्रचारबारे सरकारको ध्यानाकर्षणसमेत गराउनुभएको थियो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले सरकार विद्यमान कानुनअनुसार सामाजिक सञ्जालको गलत प्रयोगलाई नियमन गरेर मर्यादित समाज निर्माण गर्न लागिपरेको बताउनुभएको थियो ।

छलफलमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलगायतका शीर्ष नेताको उपस्थिति थियो ।

https://ujyaalonepalnews.com/archives/33008

भरतपुरस्थित क्रिकेट रंगशाला अन्ततः बन्ने पक्का

चितवन- धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण सुरु गरी अलपत्र पारेको भरतपुरस्थित क्रिकेट रंगशाला अन्ततः बन्ने पक्का भएको छ ।

भरतपुर महानगर प्रमुख रेनु दाहालको विशेष सक्रियतामा उक्त रंगशाला भरतपुर महानगरपालिकाले घोषणा गरेको ‘भरतपुर भ्रमण वर्ष २०२४’ अगावै खेल्न मिल्ने गरी निर्माण गरिने भएको हो ।

मंगलबार वागतमी प्रदेश मुख्यमन्त्री कार्यालयमा वागमती प्रदेश र भरतपुर महानगरपालिकाबीच भएको छलफलबाट खेल्न मिल्ने गरी रंगशालाको काम तत्काल अगाडि बढाउने निर्णय भएको हो ।

भरतपुर महानगरपालिकाबाट तयार भएको लागत अनुमान ७५ करोड रुपैयाँमध्ये प्रदेश सरकारले ७० प्रतिशत र ३० प्रतिशत महानगरपालिकाले साझेदारी गर्ने निर्णय भएको महानगर प्रमुख रेनु दाहालले जानकारी दिनुभयो । महानगरपालिकाले पहिलो चरणमा १० हजार दर्शक अट्ने प्याराफिटसहित क्रिकेट पिच र मैदान निर्माणको काम गर्ने निर्णय भएको हो ।

उक्त बैठकले यसअघि भएका आर्थिक क्रियाकलाप र ऋणसम्बन्धी सम्पूर्ण जिम्मेवारी महानगरपालिका र संघीय सरकारले व्यवस्थापन गर्ने निर्णय गरेको छ । सो बैठकको निर्णयअनुसार छिट्टै नै ठेक्का आह्वान गरी रंगशाला निर्माणको काम अघि बढाउने बताइएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानासहितको टोलीले वागमती प्रदेश सरकारसँग गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अधुरो कार्य अगाडि बढाउने विषयमा छलफल गरेको छ ।

वागमती प्रदेश सरकार तथा मुख्यमन्त्री कार्यालय हेटौडाँमा मंगलबार मुख्यमन्त्री शालिकराम जमरकट्टेल, सामाजिक विकासमन्त्री कुमारी मोक्तान तथा आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामासहितको टोलीसँग छलफल गरेको हो । भरतपुर भ्रमण वर्ष २०२४, समग्र भरतपुरको विकासका बारेमा छलफल गर्न महानगर प्रमुख दाहालको नेतृत्वको टोली हेटौडा पुगेको हो ।

धुर्मुस–सुन्तली फाउण्डेसनद्वारा जनस्तरबाट निर्माण सुरु गरिएको रंगशाला आर्थिक अभाव देखाउँदै निर्माणकै क्रममा अलपत्र परेको थियो । सहयोगी दाताहरूले कबोल गरेको रकम नदिएको भन्दै फाउण्डेसनले रंगशाला निर्माणबाट हात झिकेकेको भए पनि फाउण्डेसनमाथि आर्थिक हिनामिना गरेको आरोप लाग्ने गरेको छ ।

रंगशाला निर्माणकै क्रममा सीताराम कट्टेल ‘धुर्मुस’ ले फिल्म निर्माण गरेको र सो फिल्म निर्माणका लागि रंगशालाको रकम हिनामिना गरिएको आरोप लाग्ने गरेको छ ।

फाउण्डेसनले अहिलेसम्म पारदर्शी हिसाबकिताब सार्वजनिक गर्न सकेको छैन भने बागमती प्रदेश सरकारसँग भएको सम्झौताअनुसार फाउण्डेसनले लगाएको ऋण तिर्ने बारे अन्योल कायमै छ ।

https://ujyaalonepalnews.com/archives/33007

आइएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई रू डेढ करोडको चेक हस्तान्तरण

काठमाडौँ- आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट र रुकुमपश्चिमलगायतका जिल्लाका भूकम्प प्रभावितका लागि घोषणा रु एक करोड ५० लाख बराबरको चेक आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गर्नु भएको छ ।

अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक लिमिटेड, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स र आइएमई लिमिटेडलगायत आइएमई ग्रुपबाट प्रवद्र्धित कम्पनी तथा आइएमई फाउन्डेसनमार्फत घोषणा गरिएको उक्त सहयोग रकमको चेक प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गर्नु भएको हो ।

सो अवसरमा अर्थमन्त्री डा प्रकाशशरण महत र मुख्यसचिव डा बैकुण्ठ अर्याल समेत उपस्थित हुनुहुन्थ्यो । यसैगरी आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी युगेशभक्त बादे श्रेष्ठ, ग्लोबल आइएमई बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल लगायतको पनि उपस्थिति थियो ।

आइएमई ग्रुपले भूकम्पका कारण मृत्यु भएका नागरिकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै, भूकम्प प्रभावित क्षेत्रमा आइएमई ग्रुप तथा आइएमई फाउन्डेसनले स्थानीय प्रशासनसँगको समन्वयमा थप राहत सहयोग समेत उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/33006

एकदिन अघिनै म्ह पूजा र भाइटीका मनाउन नगरपालिकाको निर्देशन

भक्तपुर- भक्तपुरका नेवार समुदायले यस वर्ष पञ्चाङ्ग निर्णयक समितिले निर्धारण गरेको मितिभन्दा एक दिन अगाडि म्ह पूजा र भाइटीका मनाउने भएका छन् ।

नगरपालिकाले सार्वजनिक सूचनानै जारी गरेर २७ गते म्ह पूजा र २८ गते भाइटीका मनाउन निर्देशनात्मक रुपमा आह्वान गरेको छ ।

यसवर्षको तिहार (स्वन्ती) मनाउने विषयमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा ज्योतिष डा वीरेन्द्रप्रसाद कायष्थ एवं ज्योतिष केदारप्रसाद दैवज्ञ, तलेजुका पुजारी प्रजेशराज राजोपाध्याय, महेश कर्माचार्य, पदमलोचन कर्माचार्यसहितको छलफलपछि यस्तो निर्णय गर्दै आफ्ना नागरिकका लागि सार्वजनिक सूचना जारी गरेको नगर प्रमुख प्रजापतिले बताउनुभयो ।

पञ्चाङ्ग निर्णयक समिति यसवर्ष कात्तिक २५ गते काग तिहार, २६ गते लक्ष्मीपूजा, २७ गते गाई तिहार, २८ गते गोबद्र्धन तथा म्ह पूजा र २९ गते भाइटीका एवं किजा पूजा गर्ने निर्णय गरेको थियो ।

तर भक्तपुर नगरपालिकाले भने २६ गते अपरान्ह २ बजेर १४ मिनेटपछि औंसी तिथि लाग्ने हुँदा उक्त दिन साँझ लक्ष्मीपूजा गर्ने, कात्तिक २७ गते अपरान्ह २ बजेर ४१ मिनेटपछि परेवा प्रतिपदा तिथि सुरु हुने भएकोले त्यसदिन साँझ म्हः पूजा गर्ने र कात्तिक २८ गते अपरान्ह २ बजेर ३८ मिनेटमा द्वितीया तिथि लाग्ने भएकोले सो दिन किजा पूजा अर्थात भाइटीका गरेर तिहार सम्पन्न गर्न आह्वान गरेको छ ।

https://ujyaalonepalnews.com/archives/33005

राष्ट्रपति पौडेल जाजरकोट अस्पतालमा घाइतेहरूसँग

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुग्नुभएको छ । उहाँले आज जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिनुभएको छ । घाइतेहरूले उपचार, खाद्यन्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन राष्ट्रपति पौडेलसँग आग्रह गरेका थिए ।

राष्ट्रपति पौडेलले भूकम्प प्रभावितलाई आवश्यक बसोबास, खाद्यन्नलगायत सबै कुराको प्रबन्ध हुने र त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने बताउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

राष्ट्रपतिको भनाइ उदृत गर्दै सल्लाहकार पोखरेलले भन्नुभयो, “तपाईंहरुका लागि अल्पकालीन र दीर्घकालीन आवश्यकताको पहिचान गरी सोको व्यवस्था हुन्छ । चिन्ता गर्नु पर्दैन, म सरकारसँग कुरा गर्छु ।”

सो अवसरमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भूकम्पबाट भएको क्षतिबारे राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो भने घाइतेहरूको अवस्थाबारे जिल्ला अस्पतालका चिकित्सकहरूले जानकारी गराउनुभएको थियो ।

गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकको अवस्था बुझ्न राष्ट्रपति पौडेल आज सुर्खेतबाट जाजरकोट पुग्नुभएको हो । उहाँका प्रेस सल्लाहकार पोखरेलका अनुसार राष्ट्रपति पौडेल सदरमुकाम खलङ्गा, रामीडाँडा, नलगाड तथा रुकुम पश्चिमको आठविसकोट पुगेर भूकम्पबाट प्रभावितको राहत र उद्धारको अवस्थाका बारेमा जानकारी लिनुहुनेछ ।

राष्ट्रपति पौडेलका साथमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, जाजरकोटका प्रदेश सांसद, प्रधानसेनापति सहभागी हुनुहुन्छ ।

भूकम्पपछिको अवस्था अनुकूल नभएको भन्दै राष्ट्रपति पौडेलले कात्तिक २२ गतेदेखि तय भएको आफ्नो युरोप भ्रमण सोमबार स्थगित गर्नुभएको थियो ।

https://ujyaalonepalnews.com/archives/33001