Home Blog Page 131

थाहा नगलपालिका वडा नम्बर- १२ मा खानेपानी आयोजनाको शिलान्यास

मकवानपुर- मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १२ मा खानेपानी आयोजना शिलान्यास गरिएको छ ।

थाहा नगरपालिकाका नगर उपप्रमुख भरत गोपालीले लिती खानेपानी आयोजनाको मंगलबार शिलान्यास गर्नुभएको हो । नगरपालिकाको विकास साझेदार संस्था च्वाइस नेपाल, थाहा नगरपालिका र जनश्रमदानमा आयोजना निर्माण हुन लागेको हो ।

खानेपानी आयोजनाको लागि कूल २ करोड ५९ लाख ९० हजार ५ सय ८ रुपियाँ लागत अनुमान गरिएको छ । गुणस्तरीय खानेपानीको अभावमा रहेका उक्त क्षेत्रका बासिन्दाहरुलाई ‘एक घर, एक धारा’ नीति अनुसार खानेपानी आपूर्ति गरिने थाहा नगर उपप्रमुख भरत गोपालीले बताउनुभयो ।

आयोजनाको रिजर्भ ट्यांकीमा करिब २ किलोमिटर टाढाको घट्टेखोला र मेल खोला मुहानबाट पाईपलाईन मार्फत पानी ल्याइ बितरण गरिने च्वाईस नेपालका प्रताप घिमिरेले बताउनुभयो ।

१८ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजना सम्पन्न भएपश्चात २ सय भन्दा बढि परिवार लाभान्वित हुने खानेपानी उपभोक्ता समितिका अध्यक्ष हिरामान घलानले बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/33028

होमस्टेमा बाह्य पर्यटक कोदो टिप्छन्, साग केलाउँछन्

बागलुङ- यसै साता विश्व भेगन अर्गनाइजेशनमा आबद्ध छ बाह्य पर्यटक पर्यटकीय गाउँ भकुण्डे पुगे । बागलुङको भकुण्डे गाउँको आतिथि सत्कार होमस्टे (घरबास) मा उनीहरु पाँचौँ पटक पुगेका हुन् । बाह्य पर्यटक पाहुना भएर त्यहाँ पुग्छन् र सहयोगी भएर फर्कने गरेका छन् ।

यतिबेला घरबास सञ्चालकलाई बाली थन्क्याउने चटारो छ । तर भेगनमा आबद्ध पर्यटक भने घरबास सञ्चालकलाई काममा सघाउँछन् । काम गर्न तथा कामबारे जान्नसमेत मन पराउने भएकाले घरबास सञ्चालकसँगै कतिपयले कोदो टिप्छन भने कतिले साग केलाउने गरेका अतिथि सत्कार घरबासका सञ्चालक याम थापाले बताउनुभयो ।

भेगनमात्रै होइन, बाह्य पर्यटकसमेत खेतबारीमा पुगेर काममा सघाउँछन् । हालै कोरियाबाट एउटा समूह घरबास पुगेर फर्किसकेको छ । घरबासमा बढीजसो अमेरिका, क्यानडा, दक्षिण कोरिया, चीनलगायत मुलुकबाट बढी पर्यटक आउने गरेका छन् ।

बाह्य पर्यटकले घरबासमा अग्र्यानिक खानाका परिकारको स्वाद लिने, पर्यटकीयस्थलको भ्रमण गर्ने र घरबास सञ्चालकलाई काममा सघाउने गरेका थापा बताउनुहुन्छ । “यतिबेला भकुण्डेमा कोदो भित्र्याउने चटारोमा पुगेका बाह्य पर्यटकले कोदो ठटाउने र केलाउने गरेका छन्, घरबास सञ्चालकसमेत दिउँसो कोदो काट्न पुग्छन् तर भेगनमा आबद्ध पर्यटक रमाइलो गर्न काम गर्छन्”, थापाले भन्नुभयो, “ बाह्य पर्यटकले कोदोको बाला टिप्ने, साग टिपेर केलाउने गर्नुहुन्छ, उनीहरु यसमै रमाउने गरेका छन् ।”

नेपालको खेतीपाती र कला–संस्कृतिका विषयमा बाह्य पर्यटकलाई चासो हुने भएकाले उनीहरूले परीक्षण गर्ने र खेतीपातीको विषयमा जानकारी दिनसमेत कोदोबारीमा पुगेको आफूले अनुभव गरेको घरबास सञ्चालिका इन्द्रा थापाले बताउनुभयो ।

पाँचौँ समूहअन्तर्गत अमेरिकाका चार, क्यानडा र जर्मनकीका एक–एक पर्यटक तीन दिन अतिथि घरबासमा रमाएका पर्यटन व्यवसायी महादेव शर्माले जानकारी दिनुभयो । बाह्य पर्यटकले त्यहाँका स्थानीयले गर्दै आएका हरेक क्रियाकलापमा सहभागी हुने गरेको उहाँले बताउनुभयो ।

मासु तथा मासुजन्य पदार्थ उपभोग नगर्ने भेगनमा आबद्ध विदेशी पर्यटकले त्यहाँको हरेक काममा आफैँ अग्रसर भएर सहयोग गर्दै आफूलाई त्यही काममा रमाइलो मान्ने गरेको बताउनुभयो ।

“अहिलेको बाह्य पर्यटकको समूहसँगै भकुण्डेमा पाँच समूह आइसकेको छु, उनीहरू पदमार्ग हुँदै भकुण्डे पुग्छन्”, शर्माले भन्नुभयो, “ बाह्य पर्यटक हिमाल, दृश्यावलोकन, कला–संस्कृतिसँगै आफैँ काम गरेर रमाउँछन् ।”

भकुण्डेबाट बौडैचौर हुँदै बौरसम्मको दुईदिने पदयात्रा मार्ग आफ्नै पहलमा रेखाङ्कन गरिएको शर्माको भनाइ छ । पर्यटनमैत्री पूर्वाधारको खाँचो रहेको उहाँ बताउनुहुन्छ । पुराना पदमार्गमा ढुङ्गा छापेरै जीवन्त दिनुपर्ने शर्माले बताउनुभयो । जिल्लाकै पहिलो अतिथि सत्कार घरबासमा मगर समुदायका १५ घर समावेश गरिएका छन् ।

घरबास सञ्चालनमा आएसँगै भुकण्डेले मुहारै फेरेको छ । भुकण्डेको शिरमा रहेको मुलाबारी भ्यूटावर, मध्यभागमा रहेको बराह ताल पर्यटक लोभ्याउने माध्यम बनेका छन् । घरबासमा एक रातमा ८० जना बस्न मिल्ने सञ्चालक प्रेम थापाले बताउनुभयो ।

घरबासमा पर्यटकको बसाइ लम्ब्याउन उद्यानसमेत निर्माण गरिएको छ । घरबासमा हेलिकोप्टरमार्फत विदेशी पर्यटक आउने गरेका छन् । बागलुङ बजारबाट तीन घण्टाको पैदल र डेढ घण्टाको यातयात साधनमा पुग्न सकिनछ ।

घरबास २०७३ सालमा सञ्चालनमा आएको हो । घरबास सञ्चालकले गाउँमै उत्पादित आलु, भटमास, मकै, मुला, कोदोको ढिँडो, सिस्नो, गुन्द्रुक तथा खसी र कुखुराको परिकार पाहुनाको रोजाइअनुसार खुवाउने गरेका छन् ।

https://ujyaalonepalnews.com/archives/33027

रसुवामा नक्कली नोटसहित तीन जना पक्राउ

रसुवा- प्रहरीले रसुवाबाट नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं ५ नौबिसेमा रहेको एक होटलबाट नक्कली नेपाली नोटसहित उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

पक्राउ पर्नेहरुमा नुवाकोट जिल्ला ककनी गाउँपालिका वडा नं ६ बस्ने बुद्धिबहादुर तामाङ, विदुर नगरपालिका वडा नम्बर ८ बस्ने मानबहादुर गुरुङ, दुप्चेश्वर गाउँपालिका ७ बस्ने ज्ञानेन्द्रबहादुर पण्डित रहेका छन् ।

प्रहरीले होटेलबाटै नक्कली नोटसहित उनीहरुले प्रयोग गरेको स्कुटरको डिक्की भित्र रहेको रातो रंगको छालाको झोला भित्र एक हजार र पाँच सयको नेपाली नोट राखि तल कागज तथा पत्रिकाहरू पैसाको आकारमा काटी कागज राखेर बनाईएको पैसाको विटो जस्तो देखिने बण्डल, कैची र पेपर कटर, विभिन्न बैंकहरुको चेक, मोवाईल पाँच थान र स्कुटरसहित निजहरुलाई नियन्त्रणमा लिइएको हो ।

उनिहरुलाई ठगी उद्योग मुद्दामा सात दिनको म्याद दिई मुद्रा सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/33026

जयनगर-बर्दिबास रेलमार्गको तेस्रो चरणको काम चाँडै

धनुषा- भारत सरकारको सहयोगमा निर्माण भइरहेको जयनगर–बर्दिबास रेलमार्गको तेस्रो चरणको काम चाँडै सुरु हुने भएको छ ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाका अनुसार रेल विभागले सूचना जारी गर्दै महोत्तरीको भङ्गहाबाट बर्दिबाससम्म बाँकी रेलमार्ग निर्माण हुन लागेको छ । रेलमार्गमा पर्ने जग्गामा लगाइएको बालीनाली आगामी मङ्सिर १५ गतेभित्र भित्र्याउन विभागले आग्रह गरेको छ ।

विभागले भङ्गहा (विजलपुरा)–बर्दिबास रेलमार्ग उपखण्ड एवं पूर्वपश्चिम विद्युतीय रेलमार्ग खण्डमा अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरणको काम अन्तिम चरणमा रहेको र सो खण्डमा रेलमार्गको निर्माण कार्य सुरु हुन लागेकाले अधिग्रहण गरिएको जग्गामा लगाइएको बालीनाली भित्र्याउन आग्रह गरेको हो ।

मङ्सिर १५ गतेपछि बालीनाली लगाएमा किसानलाई त्यसको क्षतिपूर्ति नदिने विभागले जनाएको छ । भारतको जयनगरबाट महोत्तरीको बर्दिबासम्म रेल सञ्चालन गर्न तीन चरणमा काम भइरहेको छ ।

पहिलो चरणमा जयनगरबाट कुर्थासम्म तथा दोस्रो चरणमा कुर्थाबाट भङ्गहासम्म निर्माण पूरा भई रेल सेवा सञ्चालनमा आइसकेको छ । तेस्रो चरणमा भङ्गहाबाट बर्दिबाससम्म मार्ग निर्माण हुन लागेको हो ।

https://ujyaalonepalnews.com/archives/33025

हमासको मुख्य पकड रहेको उत्तरी गाजा नियन्त्रणमा लिएको इजराइली सेनाको दाबी

हमाससँग प्रत्याक्रमणमा उत्रिएको इजराइल मध्य गाजामा पुगेको छ । इजराइली रक्षामन्त्री योयाभ गालान्टले इजराइली सेना गाजा शहरको मुटुमा पुगेको पुष्टि गर्नुभयो छ ।

इजरायली रक्षा सेनाले गाजा शहरमा जल, स्थल र हवाई मार्गबाट लगातार बमबारी गरिरहेको रक्षामन्त्रीको भनाइ छ । विश्व स्वास्थ्य संगठनले इजराइल र हमासबीच जारी युद्धका कारण भएको मृत्यु र पीडा सहन गर्न सक्ने तहको नभएको जनाएको छ ।

संयुक्त राष्ट्र संघीय निकायका प्रवक्ताले युद्धरत दुबैपक्षबाट मारिएकाहरु प्रति इंगित गर्दै अहिले पनि गाजामा दैनिक सरदर १ सय ६० जना बालबालिकाको मृत्यु भइरहेको बताउनुभयो ।

यसअघि दक्षिणी गाजाका शहर खान युनिस, रफाह र देर अल-बालाह सहरहरूमा इजरायली हवाई आक्रमणमा परी दर्जनौंको मृत्यु भएको बताइएको छ । इजरायली रक्षा सेनाले भने सो आक्रमणका बारेमा कुनै प्रतिक्रिया दिएको छैन ।

तर पछिल्लो भिडन्तमा हमासको मुख्य पकड रहेको क्षेत्र उत्तरी गाजा नियन्त्रणमा लिएको इजराइली सेनाको दाबी छ । इजराइल हमास युद्धका कारण हालसम्म इजराइलमा १ हजार ४ सय मारिएका छन् भने २ सय जनाभन्दा बढीलाई बन्धक बनाइएको छ ।

यसैगरी इजरायलले गरिरहेको जवाफी कारवाहीमा गाजामा १० हजार ३ सय बढी मारिएका छन् । त्यसमध्ये ४ हजार १ सयभन्दा बढी बालबालिका रहेका छन् ।

https://ujyaalonepalnews.com/archives/33024

पोल्याण्ड पठाइदिन्छु भन्दै ३८ लाख रकम ठगी गर्ने महिला पक्राउ

काठमाडौँ- वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै १७ जनाबाट रु३८ लाख रकमलिई ठगी गरेको अभियोगमा प्रहरीले एक जना महिलालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा भक्क्तपुर नगरपालिका–१० घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–६ रामकोट बस्ने ३९ वर्षीय सुनिता कर्माचार्य रहेकी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेकी कर्माचार्य समेतले मदनराज मोक्तानसमेत १७ जनालाई वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाइदिने तथा त्यसको लागि प्रतिव्यक्ति रु आठ लाख लाग्ने पोल्याण्ड पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने र मासिक रुएक लाख ५० हजारतलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी जम्मारु ३८ लाख रकम लिई सम्पर्कविहीन भई ठगी गरेको उजुरीका आधारमा आज पक्राउ गरिएको हो ।

काठमाडौँ महानगरपालिका–२४ इन्द्रचोकबाट पक्राउ परेकी महिलालाई थप अनुसन्धान तथा कारबाहीको लागि आज वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको प्रवक्ता रेग्मीले बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/33023

अफगानिस्तानलाई पराजित गर्दै अस्ट्रेलिया विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश

काठमाडौं- अफगानिस्तानलाई पराजित गर्दै अस्ट्रेलिया विश्वकप क्रिकेट–२०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ । ग्लेन म्याक्सवेलको नटआउट दोहोरो शतकको मद्दतले अफगानिस्तानविरुद्ध तीन विकेटको जित निकाल्दै अस्ट्रेलियाले सेमिफाइनलमा स्थान बनाएको हो ।

मुम्बइको वानखडे स्टेडियममा जितका लागि २ सय ९२ रनको लक्ष्य पाएको अस्ट्रेलियाले ४६.५ ओभरमा सात विकेट गुमाएर २ सय ९३ रन बनायो । म्याक्सवेल र कप्तान प्याट कमिन्सले इनिङ्स सम्हाल्नुअघि अस्ट्रेलिया सात विकेट गुमाएर ९१ रनको दयनीय अवस्थामा थियो ।

विश्वकप इतिहासकै सबैभन्दा सनसनीपूर्ण इनिङ्स खेल्दै म्याक्सवेलले कुल १ सय २८ बलको सामना गर्दै २१ चौका र १० छक्का प्रहार गरेका थिए ।

उनले कमिन्ससँग मिलेर आठौँ विकेटका लागि २ सय २ रनको साझेदारी गरे । त्यसमा कमिन्सले १२ रन बनाए । यससँगै अस्ट्रेलियाले सेमिफाइनल यात्रा तय गरेको छ । अस्ट्रेलिया सेमिफाइनल प्रवेश गर्ने तेस्रो टिम भएको छ ।

यसअघि भारत र दक्षिण अफ्रिकाले पनि प्रतियोगिताको अन्तिम चारको यात्रा तय गरिसकेका छन् । यो जितपछि अस्ट्रेलियाको आठ खेलबाट १२ अंक भएको छ र लिग तालिकाको तेस्रो स्थानमा छ । अफगानिस्तान भने ८ अंकमै सीमित रह्यो ।

त्यस अगाडि इब्राहिम जार्डनको शतकको मद्दतले अफगानिस्तानले पहिले ब्याटिङ गर्दै पाँच विकेटमा २ सय ९१ रन बनाएको थियो । ओपनरका रूपमा नटआउट रहेर २१ वर्षीय जार्डनले १ सय २९ रन बनाए ।

विश्वकपमा अफगानिस्तानका लागि यो पहिलो शतकीय प्रदर्शन हो । यस्तै विश्वकपमा यो अफगानिस्तानको अहिलेसम्मकै सबैभन्दा ठूलो स्कोर पनि हो ।

जार्डनले १ सय ४३ बलको इनिङ्समा आठ चौका र तीन छक्का प्रहार गरे । अफगानिस्तानका लागि अर्का नटआउट ब्याटर रसिद खानले १८ बलमा ३५ रन बनाए । उनले दुई चौका र तीन छक्का आफ्नो नाममा लेखाए । जार्डनले प्रत्येक विकेटका लागि साथी ब्याटरसँग मिलेर महत्त्वपूर्ण साझेदारी गरे ।

अब चौथो स्थानका लागि न्यूजिल्याण्ड, पाकिस्तान र अफगानिस्तानकै बीचमा तीव्र प्रतिस्पर्धा हुने छ । पहिलो स्थानमा रहेर भारत र दोस्रो स्थानमा रहेर दक्षिण अफ्रिकाले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् ।

https://ujyaalonepalnews.com/archives/33022

आठविसकोटका लागि विभिन्न सङ्घसंस्थाबाट राहत सामग्री सहयोग हुने क्रम जारी

रुकुम पश्चिम- रुकुम पश्चिमको आठविसकोट नगरपालिकालाई विभिन्न सङ्घसंस्थाबाट भूकम्पपीडितको लागि राहत सामग्री प्राप्त भएको छ ।

पीडितका लागि विभिन्न सङ्घसंस्थाले यतिबेला राहत सामग्री नगरपालिकामै पुर्‍याएर सहयोग गरिरहेका छन् भने केहीले सहयोगका लागि घोषणा गरिरहेका छन् । केहीले नगदसमेत हस्तान्तरण गरेका छन् । विभिन्न सङ्घसंस्थाले भूकम्प प्रभावित क्षेत्रमा पुगेर उद्धारसमेत गरिहेका छन् ।

देश तथा विदेशबाट सहयोग आउने कार्यक्रम पनि जारी छ । आइबारबाट राहत सामग्री आउन सुरु भएको थियो । भूकम्पपीडितका लागि राहत सामग्री आउने क्रम रोकिएको छैन ।

नगरपालिकालाई खाद्यान्नसँगै अन्य राहत सामग्री आइरहेका छन् । पहिलो चरणको राहत सामग्री मृतकका परिवारलाई वितरण गरिसकेको नगरपालिकाले जनाएको छ ।

मृतकका २४ घरपरिवारलाई राहतसँगै किरिया खर्चबापतको रु २५ हजार रकम उपलब्ध गराइएको आठविसकोट नगरपालिकाका उपप्रमुख धनकुमारी शाहीले जानकारी दिनुभयो ।

नगरपालिकामा घर पूर्णरुपमा क्षति भएकालाई पनि खाद्यान्नसँगै बस्नको लागि त्रिपाल वितरण गरिएको उहाँले जानकारी दिनुभयो । नगरपालिकाले शनिबार उद्धार कार्य सकेर आइतबारदेखि राहत वितरणको काम सुरु गरेको हो । राहत वितरण कार्य आज पनि जारी रहेको नगर उपप्रमुख शाहीले जानकारी दिनुभयो ।

नगरपालिकालाई देश तथा विदेशबाट सहयोग आइरहेको छ । हालसम्म नगरपालिकालाई विभिन्न ३४ वटा सङ्घसंस्था तथा व्यक्तिले राहत सामग्री हस्तान्तरण गरेको आठविसकोट नगरपालिका जिन्सी शाखा प्रमुख टेकबहादुर ओलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नगरपालिकालाई खाद्यान्नलगायत बस्नको लागि त्रिपाल टेन्ट कम्बल, स्वास्थ्य सामग्रीलगायत नगद सहयोग प्राप्त भएको छ ।

नगरपालिकालाई आर्थिक तथा खाद्यान्नलगायत राहत सामग्री आउने क्रम जारी रहेको र भूकम्प प्रभावित क्षेत्रमा राहत वितरणको काम पनि जारी रहेको नगर प्रमुख रवि केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार राहत वितरण चलिरहेको र सबै भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण गर्न नसकिएको उहाँले स्वीकार गर्नुभयो ।

गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाए गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा मानवीयसँगै भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको थियो ।

https://ujyaalonepalnews.com/archives/33020

राष्ट्रिय गौरवको आयोजनाका रुपमा क्रिकेट रङ्गशाला बनाइने

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका आयोजनाका रुपमा सरकारले क्रिेकट रङ्गशाला निर्माण गर्ने बताउनुभएको छ ।

नेपाल टी–२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा सम्मान तथा अघिल्ला प्रतियोगितामा घोषणा गरिएको पुरस्कार रकम वितरण गर्दै उहाँले भन्नुभयो, “क्रिकेट रङ्गशालालाई चाँडै राष्ट्रिय गौरवको आयोजनाको रुपमा घोषणा गर्छौँ ।”

“सबैभन्दा पहिला तपाईंहरूलाई बधाई छ । तपाईंहरुले उत्कृष्ट प्रदर्शनका साथै नेपालको प्रतिष्ठालाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्नुभएको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “दश वर्षपछि नेपाल टी–२० मा छनोट भएको छ, विश्वकपमा पनि राम्रो मेहनत गर्नुहोला ।”

नेपाली क्रिकेट टोलीले छनोट चरणको खेलमा राम्रो प्रदर्शन गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले क्रिकेटप्रति नेपाली जनता र युवाको लगाव बढेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो लगावले सरकारलाई पनि उत्प्रेरित गरेको छ । खेलाडीमा अझ बढी हौसला बढाउन, उनीहरूका लागि बढी लगानी गर्न र खेलकुदका अझ बढी पूर्वाधार विकास गर्न हामीलाई प्रेरणा मिलेको छ ।”

खेल क्षेत्र देशको प्रतिष्ठालाई बढाउनसक्ने एउटा महत्त्वपूर्ण क्षेत्र भएको बताउँदै प्रधानमन्त्रीले त्यसमा पनि क्रिकेटको भूमिका मुख्य रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अगाडि बढाउँदै छौँ, भरतपुर, मुलपानी र कीर्तिपुरको काम पनि शीघ्र अगाडि बढाइन्छ । यसरी मात्र आम नेपाली खेलप्रेमी जनसमुदायको भावनाको सम्बोधन गर्न सकिन्छ ।”

केही कानुनी र प्रक्रियागत समस्याका कारण खेलाडीलाई प्रोत्साहन स्वरुप प्रदान गरिने भनिएको पुरस्कार वितरणमा ढिलाई भएको स्वीकार गर्दै प्रधानमन्त्रीले आगामी दिनमा त्यस्तो नहोस् भन्नेमा सरकार पूर्ण सचेत हुने बताउनुभयो ।

नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले क्रिकेट खेललाई सरकारले दिएको महत्त्वबाट आफूहरु उत्साहित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो सम्मानका लागि प्रधानमन्त्री र नेपाल सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

सरकारले क्रिकेट खेललाई उच्च प्राथमिकता दिएकामा खुसी छौँ ।” उहाँले कीर्तिपुर क्रिकेट रङ्गशालामा आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न प्रक्रिया अगाडि बढाएकामा सरकारलाई कृतज्ञता ज्ञापन गर्नुभयो । “सरकारको प्रयासप्रति हामी आभारी छौँ । बाँकी काम पनि चाँडै पूरा हुनेमा विश्वस्त छौँ”, कप्तान पौडेलले भन्नुभयो ।

https://ujyaalonepalnews.com/archives/33019

पीडितसँग राष्ट्रपति पौडेलः भूकम्प पिडितलाई कुनैपनि समस्या हुन नदिन सरकारसँग राष्टपतिको आग्रह

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट र रुकुमपश्चिममा भूकम्पबाट क्षत विक्षत भएका संरचनाहरुको स्थलगत अवलोकन गर्नुभएको छ ।

आफ्नो युरोप भ्रमण स्थगित गरि भूकम्पपिडितहरुको पीडामा मल्हम लगाउन र उनीहरुको अवस्थाका बारेमा बुझ्न भूकम्प प्रभावित क्षेत्रमा पुग्नुभएका राष्ट्रपति पौडेलले आवश्यक बसोबास, खाद्यन्न लगायत सबै कुराको प्रबन्ध हुने आश्वासन दिलाउँदै भूकम्पपिडितहरुलाइ चिन्ता नलिन आग्रह गर्नुभयो ।

जाजरकोटको भेरी नगरपालिका–१ को भूकम्पमा परी घाइते भएकाहरुलाइ भेटेर राष्ट्रपति पौडेलले उनीहरुको गुनासो समेत सुन्नुभयो । यस्तै उहाँले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिनुभएको छ ।

घाइतेहरूले उपचार, खाद्यन्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन राष्ट्रपति पौडेलसँग आग्रह गरेका थिए । राष्ट्रपति पौडेलले भूकम्प प्रभावितलाई अल्पकालीन र दीर्घकालीन आवश्यकताको पहिचान गरी त्ससको व्यवस्थापन हुने र त्यसका लागि सरकारसँग कुरा गरेर आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसैगरी राष्ट्रपति पौडेलले भेरी–३ स्थित थाप्लेमा भूकम्पबाट भत्किएको संरचनाको अवलोकन गर्नुभएको छ । राष्ट्रति पौडेलले पहिले आफू सो ठाउँमा गएर बसेको स्मरण गर्दै तत्काल त्याहाँ पुनःनिर्माणको कामलाई तीव्रता दिइने बताउनुभयो ।

ठाँटीबजारबाट माथिल्लो थाप्लेस्थित भत्किएका घरको बीच बाटो हुँदै भत्किएका घरहरु तथा नलगाड नगरपालिकाको उपप्रमुख सरिता सिंह भूकम्पमा परी मृत्यु भएको थाप्लेको घरसमेत उहाँले अवलोकन गर्नुभयो ।

राष्ट्रपति पौडेलले दीर्घकालीन रुपमा सोचेर उपयुक्त ठाउँको पहिचान गरेर मात्र भत्किएका संरचनाको पुनः निर्माण गरिने तर अहिले बाँचेकाहरूलाइ जाडोयाम र वर्षाका बेलामा समस्या नहुने गरी अस्थायी बसोबासको कुरा पहिलो प्राथमिकतामा हुनुपर्ने उल्लेख गर्नुभयो ।

वास्तविक पिडितको पहिचान गरि राहत तथा उद्दारको कामलाइ पारदर्शी र प्रभावकारी बनाउन राष्ट्रपति पौडेलले स्थानीय जनप्रतिनिधिहरुलाइ आग्रह समेत गर्नुभयो ।

सो अवसरमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भूकम्पबाट भएको क्षतिबारे राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो भने घाइतेहरूको अवस्थाबारे जिल्ला अस्पतालका चिकित्सकहरूले जानकारी गराउनुभएको थियो ।

गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकको अवस्था बुझ्न राष्ट्रपति पौडेल आज सुर्खेतबाट जाजरकोट पुग्नुभएको हो ।

उहाँका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले सदरमुकाम खलङ्गा, रामीडाँडा, नलगाड तथा रुकुम पश्चिमको आठविसकोट पुगेर भूकम्पबाट प्रभावितको राहत र उद्धारको अवस्थाका बारेमा जानकारी लिनुभएको छ ।

राष्ट्रपति पौडेलका साथमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, जाजरकोटका प्रदेश सांसद, प्रधानसेनापति सहभागी हुनुहुन्थ्यो ।

https://ujyaalonepalnews.com/archives/33017