Home Blog Page 133

बाजुरामा भूकम्पको धक्का

बाजुरा- जिल्लाको पूर्वीउत्तरी भेगको हिमाली गाउँपालिकाको रया केन्द्रविन्दु भइ मङ्गलबार दिउँसो १२:५८ बजे भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार चार रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पका पराकम्प बढ्दै गएपछि गत शुक्रबार राति गएको भूकम्पका कारण चर्किएका घरहरु थप जोखिममा परेका छन् ।

यही कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पपछि लगातार पराकम्प गइरहेका छन् ।

https://ujyaalonepalnews.com/archives/33000

टिकटक लाईभमा अपाच्य हर्कत गर्ने शान्ती बराललाई माओवादीले गर्‍यो कारबाही

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले विवादित टिकटकर शान्ति बरालमाथि अनुशासनको कारबाही गरेको छ । माओवादी सैनामैना नगर समितिले एक विज्ञप्ति जारी गर्दै बराललाई सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जनाएको छ ।

उनी सैनामैना नगर समिति सदस्य तथा वाइसिएल नेतृसमेत थिइन् । चर्चित टिकटकर रहेकी उनी पछिल्लो समय अश्लील गतिविधि देखाएकोमा आलोचित भएकी थिइन् ।

बरालले पार्टीको साङ्गठनिक जिम्मेवारी, आम नेपालीको सामाजिकरसांस्कृतिक व्यवहारका विरूद्ध सामाजिक सञ्जालमा प्रस्तुत भएकाले निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

https://ujyaalonepalnews.com/archives/32997

चितवनमा ५ दिने ‘समाचार लेखन तथा सम्पादन कार्यशाला’ सम्पन्न

चितवन, २१ कार्तिक । बागमती प्रदेश अन्तर्गत सञ्चार रजिष्टारको कार्यलयद्वारा आयोजित चितवनमा पत्रकार महिलाहरुका लागि ५ दिने ‘समाचार लेखन तथा सम्पादन कार्यशाला’ हिजो सोमबार समापन गरिएको छ ।

बागमती प्रदेशमा क्रियाशिल पत्रकार महिलाहरुका लागि आयोजित ‘समाचार लेखन तथा सम्पादन कार्यशाला’को बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले २०८० कार्तिक १६ गते उद्घाटन गर्नु भएको थियो ।

हिजो सोमबार समापन कार्यक्रममा सहभागी पत्रकार महिलाहरुलाई प्रमाणपत्र वितरण गर्दै सञ्चार रजिष्टार रेवती प्रसाद सापकोटाले यस ५ दिने सिकाइ कार्यशालाले आगामी दिनमा उहाँहरुलाई समाचार लेखन तथा सम्पादनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

कार्यशाला समापनका क्रममा सञ्चार रजिष्टार सापकोटाले अघिल्लो वर्ष पनि पत्रकार महिलाहरुका लागि यस्तै लेखन तथा सम्पादन कार्यशाला मकवानपुरको दामनमा पनि सञ्चालन गरिएको जानकारी दिनु भयो । उहाँले बागमती प्रदेशमा पत्रकारितालाई गुणस्तरीय बनाउन प्रयास जारी रहेको पनि बताउनुभयो ।

चितवनको चम्पा नगर, हवेलीमा सुरु भएको उक्त ५ दिने कार्यशालामा बागमती प्रदेशका १३ वटै जिल्लाबाट विभिन्न मिडियामा कार्यरत ३१ जना पत्रकार महिलाहरुको सहभागिता रहेको थियो । सो ५ दिने ‘समाचार लेखन तथा सम्पादन कार्यशाला’ मा प्रशिक्षकद्वय विनोद ढुंगेल र सुरेन्द्र पाण्डेले प्रशिक्षण दिनु भएको थियो ।

https://ujyaalonepalnews.com/archives/32994

चितवनमा सयपत्री र मखमली फूलको मूल्य तोकियो: एक लाख माला अपुग हुने अनुमान

भरतपुर । फ्लोरिकल्चर एसोसिएसन नेपाल चितवन शाखाले जिल्लामा सयपत्री र मखमली फूलको मूल्य तोकेको छ । एसोसिएसनले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी फूलको मूल्य तोकिएको जानकारी दिएको हो । यसवर्ष तिहारमा बिक्री हुने सयपत्री फूलको खुद्रा मूल्य प्रतिमाला सय रूपैयाँ र प्रतिकिलो ५०० रूपैयाँ तोकिएको एसोसिएसनले जनाएको छ । मखमली फूलको खुद्रा मूल्य प्रतिमाला ८० देखि १०० रूपैयाँ तोकिएको छ ।

गत वर्षको तिहारमा सयपत्री फूलको खुद्रा मूल्य प्रतिमाला ८० देखि १०० रूपैयाँ तोकिएको थियो । यसवर्ष तोकिएको भन्दा बढी मूल्य लिएको पाइए नियमन गर्न एसोसिएसनले स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ । त्यसैगरी, जिल्लाको उत्पादनले तिहारमा एक लाख माला अपुग हुने एसोसिएसनको अनुमान छ ।

जिल्लामा तीन लाखवटा मालालाई पुग्ने फूल उत्पादन हुने देखिएको फ्लोरिकल्चर एसोसिएसन नेपाल चितवन शाखाका अध्यक्ष तेजेन्द्र सापकोटाले बताए । माला र सजावटका लागि भने चार लाख माला आवश्यक पर्ने आकलन गरिएको उनको भनाइ छ । लक्ष्मीपूजाको दिन र भाइटीकाको दिनका लागि फूलको माग उच्च हुन्छ ।

‘चितवनको मालाले पुगेन भने दाङलगायतका जिल्लाबाट ल्याएर पनि यहाँको माग पूर्ति गर्नुपर्ने हुन्छ । भारतीय मालाचाहिँ सकेसम्म झिकाउँदैनौँ’, उनले भने, ‘डेकोरेसनमा अलि बढी फूल प्रयोग भयो भने नपुग्न सक्छ ।’

एसोसिएसनका अनुसार जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीले लगाएको समेत गरी करिब ५० बिघामा सयपत्री फूल लगाइएको छ । रास्वपाले मात्रै १० बिघामा फूल लगाएको जनाएको छ । गत वर्ष जिल्लामा ३५ बिघामा सयपत्री फूल लगाइएको एसोसिएसनका सचिव सुलभ श्रेष्ठ बताउँछन् । यसवर्ष तिहार केही पछाडि धकेलिएकाले जिल्लामा गत वर्षभन्दा धेरै फूल उत्पादन भएको उनी बताउँछन् ।

फूल टिपेर एउटा माला तयार गर्दामात्रै २० रूपैयाँ खर्च हुने पुष्प व्यवसायी बताउँछन् । एउटा बोटमा सामान्यतः तीनवटा मालाका लागि पुग्ने फूल फुल्ने र एउटा मालामा किसानले १५ रूपैयाँमात्रै नाफा कमाउने उनीहरु बताउँछन् । जिल्लामा फूल आफैँ उत्पादन गरेर व्यावसायिकरुपमा पुष्प व्यवसाय गर्ने करिब सात जनामात्रै छन् ।

https://ujyaalonepalnews.com/archives/32990

माधवपुरमा कौडा खेलिरहेका १३ जना पक्राउ

उज्यालो नेपाल,कात्तिक २१- पूर्वी चितवनको रत्ननगर १५ माधवपुरमा कौडा खेलिरहेको अवस्थामा ८० हजार ५०० रुपैयाँसहित १३ जना व्यक्ति पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायव उपरीक्षक अनिल कुमार खड्काको टोलीले सोमबार राती १०ः४५ बजे रत्ननगर नगरपालिका–१५ माधवपुरस्थित सुदिप गुरुङको बंगुरको खोरबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका–११ का दुई जना, रत्ननगर–१५ का सात जना, रत्ननगर–२ का एक जना, कालिका नगरपालिका–८ का दुई जना र कालिका–६ का एक जना रहेका छन् ।

https://ujyaalonepalnews.com/archives/32989

राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित क्षेत्रमा जानुहुँदै

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल आज भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाँदै हुनुहुन्छ ।

गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित क्षेत्रका नागरिकको अवस्था बुझ्न राष्ट्रपति पौडेल आज त्यस क्षेत्रमा जान लाग्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

भूकम्पपछि मुलुकमा आाइपरेको प्राकृतिक विपत्तिको अवस्थामा मुलुक बाहिर जानु उपयुक्त नभएकाले राष्ट्रपति पौडेलले यही कात्तिक २२ गतेदेखि तय भएको आफ्नो युरोप भ्रमण स्थगित गर्नुभएको छ ।

https://ujyaalonepalnews.com/archives/32988

ढोरपाटनमा ट्याक्सी दुर्घटना, दुई जनाको मृत्यु

बागलुङ- बागलुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकातर्फ जाँदै गरेको ध१ज ९९४ नम्बरको ट्याक्सी गए राति मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन–२ मलकटिबाङमा दुर्घटना भएको हो ।

दुर्घटनामा ट्याक्सीमा सवार बागलुङको ढोरपाटन नगरपालिका–२ पाखुटेका २८ वर्षीय होमबहादुर पुन र बडिगाड–६ छिसफाँटका ३२ वर्षीय अस्विन परियारको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो ।

ट्याक्सी सडकबाट एक सय मिटर तल खसेको थियो । दुवै जनाको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/32987

जाजरकोट भूकम्प: पीडितलाई विभिन्न निकायको सहयोग

काठमाडौँ- जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा देशभरका विभिन्न निकायले राहत सामग्री एवं मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेका तथा पठाएका छन् ।

काठमाडौँका विभिन्न सङ्घसंस्था, राजनीतिक दल एवं विभिन्न स्थानीय निकायले नगद एवं सहायता सामग्री प्रभावित क्षेत्रमा पठाउने निर्णय गरेका हुन् ।

मध्यपश्चिम विश्वविद्यालयको राहत

कर्णाली: मध्यपश्चिम विश्वविद्यालयले जाजरकोट तथा रुकुमपश्चिमका भूकम्पपीडितहरुलाई रु १२ लाख बराबरको राहत सहयोग गरेको छ ।

विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, ऊर्जामन्त्री शक्ति बस्नेत, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, पूर्वमुख्यमन्त्री जीवनबहादुर शाह, आर्थिक मामिलामन्त्री बेदराज सिंह र जाजरकोका समन्वय प्रमुखको रोहवरमा जाजरकोटका भूकम्प प्रभावितका लागि प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई रु चार लाख ४० हजारको चेक हस्तान्तरण गर्नुभयो ।

बाँकी रु दुई लाखको लत्ताकपडा, भाडाँवर्तन र खाद्यान्नलगायत जिन्सी सामग्री हस्तान्तरण गरिएको उपकुलपति प्राडा सिंहले जानकारी दिनुभयो ।

त्यसैगरी, विश्वविद्यालयले रुकुमपश्चिमका भूकम्पपीडितलाई रु पाँच लाख ४७ हजार पाँच सय ३२ बराबरको राहत सहयोग हस्तान्तरण गरेको छ । जसमा विश्वविद्यालय परिवारबाट सङ्कलित रु तीन लाख ४७ हजार पाँच सय सातको चेक रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तलाई हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार बाँकी र दुई लाख २५ को लत्ताकपडा, खाद्यान्न, भाडाँवर्तनलगायत आधारभूत सामग्री सहयोग गरिएको छ ।

मध्यपश्चिम विश्वविद्यालयमा अध्यापनरत प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक र कर्मचारीहरुको एक दिनको तलब काटेर सङ्कलन गरिएको रकमबाट भूकम्प प्रभावितलाई राहत सहयोग गरिएको उहाँले जानकारी दिनुभयो ।

बाँकेको बैजनाथ गापको राहत सामाग्री हस्तान्त्तरण

कोहलपुर: भूकम्पमा परेका जाजरकोट र रुकुम (पश्चिम)का भूकम्पपीडितका लागि बाँकेको बैजनाथ गाउँपालिकाले तत्कालका लागि दुई लाख ५० हजार बराबरको राहत सामग्री जिल्ला विपद् व्यवस्थापन समिति बाँकेलाई हस्तान्तरण गरेको छ ।

सो राहत सामग्रीहरुमा २५ थान ठूला त्रिपाल र एक सय थान ब्ल्याङ्केट रहेका छन् । विपद् व्यवस्थापन समितिका संयोजक जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले हस्तान्तरण गर्नुभयो ।

बाँकेको नेपालगञ्ज विमानस्थल परिसरमा स्थापना गरिएको अस्थायी गोदाम घरमा राहत सामग्री राखिएको छ । राहत सामग्री हस्तान्तरणपछि अध्यक्ष शाहीले भूकम्पले जनताको ठूलो जनधनको क्षति भएकाले मानवीय धर्मअनुसार बैजनाथ गाउँपालिकाले तत्कालका लागि त्रिपाल र ब्ल्याङ्केट सहयोग गरेको बताउनुभयो ।

भूकम्प प्रभावित क्षेत्रमा सशस्त्रका दुई स्वास्थ्य टोली

काठमाडौँ: जाजरकोट जिल्लाको बारेकोट रामिडाँडा केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पमा परी घाइते तथा अङ्गभङ्ग भएका नागरिकको उपचारका लागि सशस्त्र प्रहरी बल नेपालले दुईवटा स्वास्थ्य टोली परिचालन गरेको छ ।

सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काका अनुसार डा रोशन पराजुली र डा निश्चल घिमिरेको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको जानकारी दिनुभयो ।

उहाँले पाँच सयभन्दा बढीको सुरक्षा फौजले खोज, उद्धार, राहत तथा पुनःस्थापनाको कामलाई निरन्तरता दिएको र छुट्टै चिकित्सकको टोलीले स्वास्थ्य सेवा थालिसकेको जानकारी दिनुभयो ।

नेपाल एपिएफ अस्पताल बलम्बु काठमाडौँबाट डा रोशन पराजुलीको नेतृत्वमा नौजना रुकुमपश्चिमका लागि र सशस्त्र प्रहरी बल नेपाल नं ६ महेश्वरी वाहिनीका डा निश्चल घिमिरेको नेतृत्वको चारजनाको टोलीले जाजरकोटमा पुगेर सेवा थालेका छन् ।

डा रोशनको टोली रुकुमपश्चिमको मिसन अस्पताल चौरजहार र डा निश्चलको टोली जाजरकोट जिल्ला अस्पतालमा रहेर स्वास्थ्य सेवा प्रदान गरिरहेका पनि उहाँले बताउनुभयो । यसअघि सशस्त्र प्रहरी बल नेपालको १० हजार टेन्टसहित पाँचवटा ‘डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर’ भूकम्प प्रभावित क्षेत्रमा पुगिसकेको छ ।

डिएलएको आर्थिक सहयोग

डेमोक्रेटिक लयर्स एसोसिएसनले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई रु एक लाख ११ हजार एक सय ११ आर्थिक सहयोग गर्ने भएको छ ।

एसोसिएसनको आइतबार बसेको बैठकले भूकम्पपीडित जनताको पुनःस्थापना र राहतका लागि सरकारले स्थापना गरेको राहत कोषमा उक्त रकम सहयोग गर्ने निर्णय गरेको एसोसिएसनका अध्यक्ष, वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिनुभयो ।

डिएलएले भूकम्पजस्तो दैवी प्रकोपका कारण उत्पन्न भएको उक्त परिस्थितिबाट सयौँको सङ्ख्यामा घाइते भएका नागरिकको तत्काल उद्धार गरी शीघ्र उपचारको व्यवस्था गर्न तथा भौतिक रुपमा क्षतिग्रस्त भई बासस्थानको भएकाका लागि तत्काल बसोबास र जीविकोपार्जनको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ ।

भूकम्प प्रभावित क्षेत्रमा एमाले

नेकपा (एमाले)ले आफ्ना जनवर्गीय सङ्गठनलाई भूकम्प प्रभावित क्षेत्रमा खटाउने निर्णय गरेको छ ।

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको जनसङ्गठन समन्वय संयन्त्रको बैठकले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र पश्चिम रुकुममा गई उद्धार र राहतमा वितरणमा खटाउन निर्णय गरेको सयन्त्रका संयोजक भानुभक्त ढकालले बताउनुभयो ।

उहाँले भूकम्प प्रभावित क्षेत्रमा सबै जनवर्गीय सङ्गठनलाई गई भूकम्पपछि फैलन सक्ने महामारीप्रति सचेत हुँदै काम अघि बढाउने निर्णय गरेको बताउनुभयो ।

भूकम्पपीडितलाई कामपाको सहयोग

काठमाडौँ महानगरपालिकाले गत शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पपीडितका लागि राहत सामग्री पठाएको छ ।

कामपाले नेपाली सेनाको हेलिकप्टरमार्फत जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितका लागि राहत सामग्री पठाएको कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो । उहाँका अनुसार भूकम्पका कारण पीडित भएकाहरुका लागि पहिलो प्याकेज आवश्यक सामग्री पठाइएको हो र थप आज पठाउने तयारी छ ।

पठाइएको सामग्रीमा ओढ्नका लागि कम्मल दुई हजार थान, त्यसैगरी दुई हजार थान खाद्य सामग्री र दुई हजार थान सरसफाइका सामग्री र केही आधारभूत औषधी पठाइएको बताइएको छ । यससँगै थप इन्जिनियर तथा प्राविधिकको सहयोग चाहिएमा कामपालाई सम्बन्ध भएका निकायले सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।

हलेसी तुवाचुङको एघार लाख ५१ हजार नगद

खोटाङ: हलेसी तुवाचुङ नगरपालिका खोटाङका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले जाजरकोट र रुकुमका भूकम्पपीडित परिवारका लागि राहतस्वरुप आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा शिक्षक गरी सात सय चारजना व्यक्तिले नियमित पाउने दुई दिनको तलब भत्ता नगरपालिकाका तर्फबाट कटाएर रु ११ लाख ५१ हजार एक सय भूकम्पपीडितका लागि राहतस्वरुप आर्थिक सहयोग रकम उपलब्ध गराएको हो ।

भूकम्पपीडितका लागि राहतस्वरुप सङ्कलन गरिएको रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको नगरप्रमुख विमला राईले जानकारी दिनुभयो । “यो संवेदनशील घडीमा नगर कार्यपालिकाको कात्तिक १९ गते बसेको बैठकको निर्णयअनुसार जनप्रतिनिधि, कर्मचारी र शिक्षकले पाउने दुई दिनको तलब भत्ता कटाएर भूकम्पपीडितका लागि राहतस्वरुप रु ११ लाख ५१ हजार रकम उपलब्ध गराइएको छ”, नगरप्रमुख राईले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ ।

एमालेले रु एक करोडको राहत सामग्री

काठमाडौँ: नेकपा (एमाले)ले जाजरकोट–भूकम्पका कारण पीडितलाई रु एक करोड बराबरको राहत सामग्री पठाउने तयारी गरेको छ ।

सो पार्टीको सामाजिक सेवा केन्द्रले भूकम्प पीडितका लागि पार्टीका तर्फबाट खरिद गरेर राहत सामग्री जाजरकोट र पश्चिम रुकुम पठाउने तयारी गरेको केन्द्रका प्रमुख एवं एमालेका केन्द्रीय सदस्य मोतिलाल दुगडले जानकारी दिनुभयो । सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गर्न आग्रह गरेकाले एमालले आवश्यक समन्वय गरी वितरण गर्ने जनाइएको छ ।

केन्द्रले भूकम्पपीडितका लागि चामल, दाल, चाउचाउ, विस्कुट, नुन जस्ता खाद्य सामग्री तथा कम्बल र टेन्ट पनि वितरण गर्न लागेको छ । दुई चरणमा गरेर एमालले करिब रु एक करोड बराबरको राहत सामग्री पठाउने छ ।

भूकम्प पीडितलाई देवघाटको रु पाँच लाख

दमौली: जाजरकोट भूकम्पपीडितलाई तनहुँको देवघाट गाउँपालिकाले रु पाँच लाख सहयोग गर्ने भएको छ । गाउँपालिका विपद् व्यवस्थापन समितिको बैठकले भूकम्प पीडितलाई रु पाँच लाख सहयोग गर्ने निर्णय गरेको हो ।

विपद् व्यवस्थापन कोषबाट भूकम्पपीडितको सहयोग र राहतका लागि उक्त रकम उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले जानकारी दिनुभयो । गाउँपालिकाले भूकम्पपीडितका लागि थप सहयोग गर्न वडा नं २ का अध्यक्ष मीनबहादुर रानाको संयोजकत्वमा राहत सङ्कलन समितिसमेत गठन गरेको छ ।

गाउँपालिकाका अध्यक्ष थापाले भन्नुभयो, “सहयोग गर्न इच्छुकलाई सहयोगका लागि आह्वान गरेका छौँ । सबै वडाबाट स्वतस्फूर्त रुपमा सहयोग सङ्कलन गरिनेछ ।”

तुलसीपुर नगर जेसीजले न्यानो कपडा वितरण

दाङ: तुलसीपुर नगर जेसिजले भूकम्पबाट प्रभावित जाजरकोट र पश्चिम रुकुम जिल्लाका भूकम्प प्रभावितका लागि राहतस्वरुप सिरक तथा रेडिमेड फेन्सी कपडा हस्तान्तरण गरेको छ ।

तुलसीपुर नगर जेसिजका अध्यक्ष शालिकराम वलीले रुकुमस्थित आठबिसकोट नगरपालिकाका निमित्त प्रशासकीय प्रमुख इन्द्रबहादुर विष्टलाई ६५ थान फाइबर सिरक, चार सय थान बढी फेन्सी कपडा लगायतका सामग्रीहरु हस्तान्तरण गर्नुभयो ।

https://ujyaalonepalnews.com/archives/32986

कर्णाली सरकारको सबै संयन्त्र भूकम्प प्रभावित क्षेत्रमा

सुर्खेत- कर्णाली प्रदेश सरकारले आफ्ना सबै संयन्त्र भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गरेको छ । मुख्यमन्त्री राजकुमार शर्मा आफ्नो गृह जिल्ला रुकुममा हुनुहुन्छ भने आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंह पनि गृह जिल्ला जाजरकोटमा हुनुहुन्छ ।

सामाजिक विकासमन्त्रीसहितका अन्य मन्त्रीहरू पनि भूकम्प प्रभावित क्षेत्रमा खटिएका छन् भने प्रदेशका कर्मचारीहरू पनि जाजरकोट र रुकुम पश्चिम केन्द्रित भएका छन् ।

यसैबीच, प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले जाजरकोटको अति प्रभावित नगरपालिका नलगाड र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा भूकम्पपीडितलाई राहत वितरण गरेको छ ।

उद्धार क्षेत्रमा रहनुभएका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार विसीले अति प्रभावित नागरिकले न्यानो कपडा नपाएको गुनासो गरेको भन्दै सहयोगका लागि आग्रह गर्नुभयो ।

भूकम्पपश्चात् पहिलोपटक प्रभावित क्षेत्रमा राहत वितरणको अनुगमनमा पुग्नु भएका मन्त्री विसीले बढ्दो जाडो र बारम्बार आउने परकम्पको धक्काले नागरिकलाई थप त्रसित बनाएको बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/32985

भूकम्पपीडितलाई राहत वितरणमा एकरुपता कायम गर्न रास्वपाको माग

काठमाडौँ- जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट प्रभावितलाई राहत वितरणमा एकद्वार प्रणाली कार्यान्वयन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ ।

सो पार्टीका उपसभापति डोलप्रसाद अर्याल नेतृत्वको टोलीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर विगतमा राहतको नाममा कुहिएको चामल दिने तथा कसैले दोहोरो, तेहोरोसम्म राहत प्राप्त गरेकोमा यस पटक पीडितले खानयोग्य राहत समयमै पाउने गरी वितरण गर्न रास्वपाले सरकारको ध्यानाकर्षण गराएको हो ।

रास्वपाले सरकारलाई सडक पहुँच राम्रो नभएको ठाउँलाई प्राथमिकतामा राखेर राहत वितरण गर्न सुझाव दिएको छ । त्यस्तै उद्धार र राहत वितरणमा सरकारलाई आवश्यक परेमा पार्टी संयन्त्रको उपयोग गर्न सकिने पनि रास्वपाले जनाएको छ ।

जाडोयाममा भूकम्प प्रभावितको जनजीवन थप कष्टकर हुन सक्नेतर्फ ध्यान दिई तत्काल बसोबासका लागि आवश्यक प्रबन्ध गर्न सम्बन्धित निकायलाई सचेत गराउन रास्वपाले अनुरोध गरेको छ । विगतमा भूकम्प प्रभावितको पुनःस्थापना तथा पुनःनिर्माणमा भएको ढिलासुस्ती नदोहो¥याउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

भूकम्प प्रभावितका लागि स्वदेश तथा विदेश, सरकारी तथा गैरसरकारी क्षेत्रबाट प्राप्त राहत सामग्रीको वितरण लक्षित जनतासम्म पुर्‍याउने कामको अनुगमन गर्नसमेत प्रधानमन्त्रीलाई रास्वपाले अनुरोध गरेको छ ।

https://ujyaalonepalnews.com/archives/32984