Home Blog Page 135

भूकम्प पीडित भन्दछन् ‘अहिलेसम्म राहत पाएको छैन’

जाजरकोट- शुक्रबार राति अकल्पनीय रुपमा गएको भूकम्पले नलगाड नगरपालिका–६ गराग्लीका शेरबहादुर रावलले परिवारका चार सदस्य अकालमा गुमाउनुपर्‍यो ।

आमा सितली, भाउजू कल्पना, छोरी गुन्जन र छोरा टाइजनलाई एकै पटक गुमाउनुपर्दाका पीडामा उहाँ हुनुहुन्छ । दिनभरिको कामको थकानले सबै सुतिरहेको समयमा एक्कासि आएको भूकम्पमा परेर उहाँले अधिकांश परिवारका सदस्य गुमाउनुपर्‍यो ।

उहाँको सात जनाको परिवारमध्ये तीन जना मात्र मृत्युको मुखबाट बाँच्न सफल भएको छ । शेरबहादुरका पिता कृतिबहादुर, छोरी स्मृति गम्भीर घाइते भएका छन् भने दाजु विवश घर बाहिर भएका कारण ज्यान बचेको छ ।

शेरबहादुरले भन्नुभयो “मैले अहिलेसम्म राहत पाएको छैन ।” घर भत्किएर तहसनहस भएपछि किरिया पुत्रीसमेत खुला आकाशमै बस्नुपरेको छ । कुनै पनि निकायबाट अहिलेसम्म पाललगायतका सामग्री नपाएको उहाँले बताउनुभयो । उहाँले दुखेसो पोख्नुभयो ,“सबै निकायलाई समस्या बताउँदा पनि कुनै पनि सहयोग पाएको छैन ।”

त्यस्तै नलगाड नगरपालिकामा सात हजारभन्दा बढी पालको आवश्यक पर्ने भए पनि हालसम्म मुस्किलले दुई सय ५० मात्र पुगेको जनाइएको छ । नगरपालिकाको योजना शाखाका प्रमुख नारायण खत्रीले पालको आवश्यकता भएको बताउनुभयो ।

एकद्वार प्रणालीको नाममा सदरमुकाममा राहत सामग्री थन्क्याएर राख्ने तर पालिकासम्म नदिँदा पीडितले राहत पाउन नसकेको अवस्था रहेको जनाइएको छ । नलगाड नगरप्रमुख डम्बर रावतले भन्नुभयो, “नगरपालिकाले सक्ने काम गरिरहेको छ, हाम्रो क्षमताभन्दा बाहिर हामी कसरीसक्छौँ ।”

नलगाड नगरपालिकाको १ देखि ७ वडासम्म भूकम्पले धेरै क्षति पुर्‍याएको छ । तीन दिन बित्न लाग्दासम्म पीडितलाई त्रिपालसम्म पाउन सकिएको छैन नलगाड नगरपालिका–६ कि किशोर रावलले गुनासो गर्नुभयो ।

“मिडियामा राहत व्यापक आयो भन्ने छ, तर यहाँ केही पुगेको छैन । हामी हल्लाले बाँच्ने होइन बरु, मर्ने सम्भावना बढ्यो ।” अहिलेसम्म नलगाड नगरपालिकाको तथ्याङ्क अनुसार ६८ घाइते भएको र ५४ जनाको मृत्यु भएको जनाइएको छ ।

भूकम्पको केन्द्रविन्दु बारेकोट गाउँपालिका–१ रामीडाँडा भए पनि नलगाड नगरपालिकामा बढी क्षति हुन पुगेको छ । भूकम्प पीडित बस्तीमा सञ्चार सेवासमेत प्रभावकारी नहुँदा काम गर्न निकै मुस्किल भएको नगरप्रमुख रावतले बताउनुभयो । धेरै पटक टावर माग गरियो तर अहिलेसम्म सुनुवाइ नभएको उहाँको भनाइ छ ।

त्यस्तै भूकम्पको केन्द्रविन्दु बारेकोट गाउँपालिका–१ रामीडाँडा सिर्पाचौर बस्तीका ५१ वर्षीय दलबहादुर घर्ती शुक्रबार मध्यरातको मिठो निद्रामा हुनुहुन्थ्यो । त्यही राति ११ः४७ मा रामीडाँडालाई केन्द्रविन्दु बनाएर आएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पको झट्काले दलबहादुरसँगै सिङ्गो बस्तीको निद्रा बिथोलियो ।

भूकम्पको कम्पन नसकिँदै दलबहादुर जोगाउन झ्यालबाट हाम फालेर भागेको सुनाउनुभयो । परिवारका सबै सदस्य कताबाट बाहिरियो आफूलाई अत्तोपत्तोसमेत नभएको उहाँको भनाइ छ । वर्षौंदेखि बसिआएको पुर्खौली घर एकाएक तहसनहस भयो ।

भूकम्पको केन्द्रविन्दु रामीडाँडा क्षेत्रका अधिकांश बासिन्दाको अवस्था दलबहादुरको जस्तै छ । केन्द्रविन्दु भएर पनि मानवीय क्षति भएको छैन । भौतिक क्षति पनि जाजरकोटकै नलगाड र रुकुम पश्चिमको आठविसकोटको भन्दा कम छ ।

बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरी तुलनात्मक हिसाबले अन्य ठाउँको भन्दा केन्द्रविन्दु भनिएको ठाउँमा कम क्षति भएको बताउँनुभयो । “केन्द्रविन्दु नजिकैको बस्ती सिर्पाचौरमा भूकम्पबाट सात जना घाइते भएका छन् । त्यसमध्ये अवस्था गम्भीर भएका तीन जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको छ । बाँकीको स्थानीय स्वास्थ्यचौकीमा नै उपचार भइरहेको छ”,

अध्यक्ष गिरीले भन्नुभयो, “घर ढलेका छैनन् भनेर हेर्ने हो भने क्षति कम छ । तर कुनै पनि घर बस्न लायक छैनन् । अहिले यहाँ करिब एक हजार घर परिवार विस्थापित भएका छन् । उनीहरूको व्यवस्थापन मुख्य चुनौती हो ।”

उहाँले करिब एक सय वटा घर पूर्णरुपमा भत्केका र चारभन्दा बढी घर चर्किएका बताउनुभयो । “यसरी हेर्दा क्षतिभन्दा जोखिम धेरै छ”, उहाँले भन्नुभयो, “घर उभिएका मात्रै छन् । चर्किएका घर भत्किएका छैनन् भन्ने मात्रै हो ।” भूकम्पले घरमा चिरा पारेपछि बारीको कान्लामा टालेको पुरानो पाल टाँगेर रात कटाइरहेकी ६१ वर्षीया रामकुमार घर्तीले बताउनुभयो ।

“हामीलाई त्रिपालको समस्या छ । गाई राति नै वनतिर धपाइदियौँ । अहिले बाख्रा कहाँ राख्ने भन्ने समस्या भएको छ”, उहाँले भन्नुभयो, “आफू त पाल टाँगेर बसौँला । गाई कहाँ राख्ने, बाख्रा कहाँ राख्ने ? अब हिउँ पर्ने बेला भयो, चिसो बढेको छ । बाँच्ने कसरी, बचाउने कसरी ? चिन्ता लागेको छ ।”

उहाँ जस्तैजस्तै सिर्पाचौरका अधिकांश बासिन्दाले आफ्ना गाईवस्तुलाई जङ्गलतिर धपाएका छन् । खुला चौर र बारीको कान्लामा टाँगेको पालभित्र खाना बनाएर खान्छन् र त्यहीँभित्र निदाउँछन् ।

बारम्बार भूकम्प आइराख्ने हुँदा घरभित्र छिर्ने अवस्था छैन । उद्धारकर्मीले क्षतिको प्रारम्भिक विवरण सङ्कलन गरिसकेका छन् । तर जाजरकोटकै नलगाड र रुकुम पश्चिमको आठविसकोटलगायत क्षेत्रमा क्षति धेरै भएकाले उद्धारकर्मी त्यतै केन्द्रित भएका छन् ।

मानवीय क्षति कम भए पनि भौतिक क्षतिले तहसनहस बनाएपछि चिसोमा रात कटाइरहेका रामीडाँडाका प्रभावित अहिले राहत र पुनः स्थापनाको प्रतीक्षामा छन् । हालसम्मको भूकम्पबाट जाजरकोटमा एक सय पाँच जनाको मृत्यु भइसकेको छ । भौतिक संरचनाको क्षतिको विवरण अझै आउन सकेको छैन ।

https://ujyaalonepalnews.com/archives/32967

मुग्लिन पोखरा सडक: डुम्रे–छिर्कने खण्डमा कालोपत्र गर्न थालियो

दमौली- पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको डुम्रे–छिर्कने खण्डमा कालोपत्र थालिएको छ ।

मुग्लिन पोखरा सडकलाई चार लेनमा विस्तार गर्ने योजनाअनुरुप बन्दीपुर गाउँपालिका–१ डुम्रेको नालादेखि छिर्कनेसम्म सडक कालोपत्रको काम सुरु भएको हो । तिहारअघि नै सक्ने गरी डुम्रेको नाला पुलबाट छिर्कनेतर्फको तीन किलोमिटर सडक कालोपत्र सुरु भएको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । तिहारपछि भने नालापुलबाटै छिर्कनेसम्मको करिब छ किलोमिटर खण्ड कालोपत्र हुनेछ ।

उहाँले भन्नुभयो, “यस खण्डमा ‘अस्फाल्ट प्रविधि’मा कालोपत्र सुरु गरिएको छ । सडक आवागमनलाई सहज बनाउन अहिले एकतर्फी मात्रै काम भइरहेको छ ।”

यसअघि आयोजनाले आँबुखैरेनी खण्डमा कालोपत्र गरेको थियो । आँबुखैरेनी गाउँपालिका–१ बरादीमा डेढ किलोमिटर सडक कालोपत्र भइसकेको जनाइएको छ । पृथ्वी राजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा धमाधम काम भइरहेको छ ।

आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा काम तीव्र गतिमा अगाडि बढेको पाण्डेको भनाइ छ । पूर्वी खण्डमा सडक फराकिलो बनाउने, पक्की पुल तथा कल्भर्ट निर्माणको कामले पनि गति लिएको छ । यो खण्डमा हालसम्म ३६ प्रतिशत काम सकिएको छ ।

राजमार्ग विस्तारका लागि पूर्वी खण्डमा घरटहरा हटाउने काम चलिरहेको छ । यस खण्डमा छ सय ३१ घरटहरा भत्काइनेछ । यसका लागि रु २२ करोड ४५ लाख मुआब्जा वितरण गरिनेछ । पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो ।

४१ दशमलव ४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ ।

पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ । पश्चिम खण्डको काम भने सुस्त छ ।

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।

चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५-२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।

https://ujyaalonepalnews.com/archives/32966

गुल्मीमा व्यवसायीक रुपमै फूल खेती गरेका प्रेमलाई बिक्री गर्ने चिन्ता

गुल्मी- गुल्मी जिल्लामा व्यवसायीक रुपमा फूल खेती नहुँदा तिहारलगायत ठूला मेला महोत्सवमा फूलका निम्ती बुटवल लगायत अन्यत्र शहरको भर पर्नुपर्ने अवस्था रहेको थियो । तर यसवर्षदेखि जिल्लामै फूल खेती गर्न केहि युवाहरु लागि परेका छन् ।

गुल्मी जिल्लाका ग्रामीण वस्तीमा व्यवसायीक फूल खेती सुरु हुन थालेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिकाको वडानम्बर ६ मा प्रेम नेपालीले फूल खेती गर्दै आउनु भएको छ ।

नेपालीले रेसुङ्गा नगरपालिका वडानम्बर ६ र धुर्कोट गाउँपालिकाको वडानम्बर ४ का दुई स्थानमा फूल खेती गर्दै आउनु भएको छ । गतवर्ष सामान्य रुपमा फूल खेती गरेका नेपालीले यसवर्ष फूल खेतीको व्यवसायलाई बिस्तार गर्नुभएको छ ।

पछिल्लो समय कृषिलाई आफ्नो व्यावसाय बनाएर लागेका नेपालीले तरकारी खेतीसँगै फूल खेती गर्दै आउनु भएको हो । नेपालीले आर एन पि नवोदय बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर रेसुङ्गा र धुर्कोटमा १ सय २० रोपनी जग्गा भाडामा लिएर बिगत ९ वर्षदेखि तरकारी खेती गर्दै आउनु भएको छ ।

तिहार पर्वलाई मध्यनजरमा राखेर २ वर्षदेखि सामान्य रुपमा फूल खेती गरेका नेपालीले यसवर्ष ४ रोपनी क्षेत्रफलमा बिस्तार गर्नुभएको छ । नेपालीको फर्ममा यतिबेला तिहार पर्वलाई लक्षित गरेर फूलहरु फूलिरहेका छन् ।

तर उत्पादित फूलहरु कहाँ बेच्ने भन्ने समस्या पनि उत्तिकै रहेको छ । उहाँले मुख्य गरेर धुर्कोट गाउँपालिका र तम्घास बजारलाई लक्षित गरेर फूल उत्पादन गर्नुभएको छ । तर माग भए तम्घास बाहिर बुटवलमा पनि पठाउने नेपालीको भनाइ छ ।

तिहार पर्वमा व्यवपारीहरुले कृत्रिम फूलका माला ल्याएर बिक्री गर्दा यहाँका फूलहरु बिक्री गर्न समस्या रहेको नेपाली बताउँछन् । कतिपयले यी फूलहरुलाई महत्व नदिने गरेको पाइन्छ ।

नेपालीको फर्ममा यतिबेला लकत्ते टेनिस, पहेलो र सुन्तला कलरको फूल उत्पादन भइरहेको छ । आगामी वर्ष नेपाली फूलहरु गोदावरी, मखमली लगायत विभिन्न जातका फूलहरुसँगै क्षेत्रफल पनि बिस्तार गर्ने योजना नेपालीको रहेको छ ।

थोरै उत्पादन गर्दा बिक्री हुने गरेपनि धेरै उत्पादन भएकाले यसवर्ष फूल बिक्री गर्न समस्या रहेको उहाँको भनाइ छ । यसवर्ष करिब २ लाखको फूल उत्पादन भएको नेपालीको अनुमान रहेको छ ।

मालाको हिसाबले ३५ वटा फूलको एउटा माला तयार हुने गर्दछ । उहाँले यसको फुटकर मुल्यमा प्रतिमाला २ सयमा बिक्री गर्ने गर्नु भएको छ ।

सबै फूल होलसेल मूल्यमा किन्ने आए बिक्री गर्ने नेपालीको भनाइ छ । तिहार पर्वलाई लक्षित गरेर असारमा फूल रोपिन्छ । फूल खेती गर्न अरु खेतीमा जस्तो मेहनत गर्नु पर्दैन । कृत्रिम माला विस्थापित गर्नका लागि फूल खेती गरेका नेपालीलाई कुनै पनि निकायले सहयोग गरेको छैन् ।

जिल्लाका केहि स्थानिय तहले मेला पर्वमा कृत्रिम फूलका मालाहरु निषेध गरेका छन् । गाउँमा फुलको खेती पनि नगर्नु र केहि आँफै उम्रेका फूलहरुको भरमा चाडपर्व टार्नुपर्ने भएका कारण पनि फुलको सट्टा कृतिम फूलमा आश्रित हुनु परेको थियो ।

तर यसवर्ष जिल्लामै व्यवसायीक फूल खेती गर्नुले कृत्रिम फूल मालामा भर पर्नुपर्ने अवस्था छैन् । तिहारको पाँचौ भाइटिकाको दिन टिकासँगै फूलका माला लगाउने प्रचलन रहि आएको छ । त्यसैका लागि फूल आवश्यक पर्दछ ।

https://ujyaalonepalnews.com/archives/32961

गुल्शन झा उत्कृष्ट युवा खेलाडी घोषित

काठमाडौँ- टी-२० विश्वकप एसिया क्षेत्र अन्तिम छनोटमा नेपालका तीब्रगतिका बलर तथा अलराउन्डर गुल्शन झा उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको अन्तिम खेलमा नेपाल सुपर ओभरमा पराजित भए पनि नेपाली खेलाडी झाले उक्त अवार्ड पाएका हुन् ।

गुल्शनले विश्वकप एसिया क्षेत्र छनोट खेलमा पाँच खेल खेलेका थिए । जसमा उनले ७९ रन बनाउनुका साथै पाँच विकेट लिएका थिए । त्यस्तै आइतबार भएको अन्तिम खेलमा गुल्शनले सर्वाधिक ५४ रनको योगदान दिएका थिए । यस उपाधिसहित उनले एक थान पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् ।

त्यस्तै प्रतियोगितामा ओमानका अलराउण्डर अकिब इतियास सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । ओमानलाई उपाधि जिताउन उनले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

त्यस्तै ओमानका बिलाल खान प्रतियोगितामा उत्कृष्ट बलर चुनिए । उनले ५ खेलमा ११ विकेट लिएका थिए । नेपालका कुशल भुर्तेल प्रतियोगितामा उत्कृष्ट ब्याटर चुनिए । कुशलले ५ खेलमा एक अर्धशतकसहित कूल एक सय ८५ रन बनाएका थिए ।

नेपाल र ओमानले आगामी सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टि २० विश्वकप खेल्न पाउनेछन् । नेपालले सेमिफाइनलमा युएईलाई पराजित गर्दै विश्वकमा छनोट भएको थियो भने ओमानले बहराइनलाई हराउँदै विश्वकपमा स्थान बनाएका हो ।

उक्त प्रतियोगिताको विजेता टोलीलाई प्रधानमन्त्री पुष्पकल दाहाल (प्रचण्ड), युवा तथा खेलकुदमन्त्री डीगबाहदुर लिम्बू, नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्द, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

https://ujyaalonepalnews.com/archives/32960

जाजरकोट भूकम्पः मृतक १५७ जनाको शव परिवारलाई बुझाइयो, ९ सय १० घर पूर्ण क्षति

काठमाडौँ- गृह मन्त्रालयले जाजरकोट भूकम्पमा मृत्यु भएका एक सय ५७ जनाको शव सनाखत गरी आफन्तलाई बुझाइएको छ ।

मन्त्रालययका प्रवक्ता नारायणप्रसाद भट्टराईले खोज, उद्धार तथा राहत व्यवस्थापनमा सरकारका सबै निकाय सक्रिय रहेका जानकारी दिँदै घाइतेहरु उपचारपछि घर फर्कन थालेका बताउनुभयो ।

प्रवक्ता भट्टराईका अनुसार भूकम्पमा परी ९९ महिला र ५८ पुरुषको मृत्यु भएको छ । जाजरकोटमा ७२ महिला र ३३ पुरुष गरी एक सय पाँच तथा रुकुम पश्चिममा २७ महिला र २५ पुरुष गरी ५२ जना रहेका छन् ।

भैँचालोमा घाइते दुई सय ५६ मध्ये एक सय ४६ जना उपचारपछि घर फर्किएका छन्भने एक सय १० जना उपचाररत छन् ।

नौ सय १० घर पूर्ण क्षति

यसैबीच, प्रहरी प्रधानकार्यालयले जाजरकोट भूकम्पमा अहिलेसम्म नौ सय १० वटा घरमा पूर्ण क्षति भएको छभने दुई हजार आठ सय ६१ घरमा आंशिक क्षति भएको छ ।

https://ujyaalonepalnews.com/archives/32959

अमेरिका भ्रमण फलदायी भएको परराष्ट्रमन्त्रीको दाबी

काठमाडौँ- परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले आफ्नो संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमण फलदायी भएको बताउनुभएको छ ।

अमेरिका भ्रमण पूरा गरी आइतबार साँझ स्वदेश फर्केपछि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चारकर्र्मीसँग कुरा गर्दै मन्त्री साउदले आफ्नो भ्रमण नेपाल–अमेरिका सम्बन्धलाई थप उचाइमा पुर्‍याउन सफल भएको बताउनुभयो ।

“यो भ्रमणबाट नेपाल र अमेरिकाबीचको आपसी मैत्री, समझदारी र सहयोगमा अभिवृद्धि भई द्विपक्षीय सम्वन्ध अझ सुदृढ भएको छ । अमेरिकी समकक्षी एन्टोनी ब्लिङ्केनसँगको भेटवार्तामा दुवै पक्षबीच सहकार्यलाई घनीभूत बनाउने प्रतिबद्धता व्यक्त भएको छ,” मन्त्री साउदले भन्नुभयो ।

अल्पविकसित मुलुकबाट स्तरोन्नतिको प्रक्रियामा रहेकाले नेपालको विकासका प्राथमिकतामा वैदेशिक सहयोग महत्त्पूर्ण हुने चर्चा गर्दै परराष्ट्रमन्त्री साउदले नेपाललाई सूचना प्रविधिको विकास, खाद्य सुरक्षा, कृषिको विकास, बजार पहुँच, लगानी र व्यापारलगायत क्षेत्रहरूमा अमेरिकी सरकारबाट सहयोग बढाउन आग्रह गरेको जानकारी दिनुभयो । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)अन्तर्गतका परियोजना समयमै कार्यान्वयनको महत्त्वमा जोड दिएको उहाँको भनाइ थियो ।

आफूले अमेरिकी विदेशमन्त्री ब्लिङ्गेनलाई नेपालको औपचारिक भ्रमणका लागि निमन्त्रणा गरेको मन्त्री साउदले जानकारी दिनुभयो । उहाँ यही कात्तिक १२ गते काठमाडौँबाट अमेरिका प्रस्थान गर्नुभएको थियो ।

भ्रमणका क्रममा मन्त्री साउदले युएसएआइडीका प्रशासक समन्था पावर, सिनेटर क्रिस भान होलान तथा युएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पाेरसनका प्रमुख कार्यकारी अधिकृत स्कोट नाथनसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।

त्यसैगरी त्याँहास्थित नेपाली दूतावासमा एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइट, अमेरिकी विदेश मन्त्रालयकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार मामिला हेर्ने उपविदेशमन्त्री उज्रा जेया, अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ डाइरेक्टर आइलीन लाउवाकरसँग पनि छुट्टाछुट्टै भेटवार्ता भएको थियो ।

https://ujyaalonepalnews.com/archives/32958

सामाजिक सञ्जालको गलत प्रयोग गरे कारबाही हुने चेतावनी

काठमाडौँ- गृह मन्त्रालयले टिकटकलगायत सामाजिक सञ्जालको मर्यादित रुपमा प्रयोग गर्न सम्बद्ध पक्षसँग आग्रह गरेको छ ।

गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी सामाजिक सञ्जालमा सम्प्रेषण गरिएका गलत सामग्रीले व्यक्ति र समाजमा नकारात्मक प्रभाव पार्नाका साथै व्यक्तिको चरित्र हत्या हुने, शान्तिसुरक्षाको अवस्थामा प्रभाव पार्ने, जातीय, भाषिक, धार्मिक सद्भाव खल्बल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने भएकाले त्यस्ता सामग्री सञ्जालमा नराख्न अनुरोध गरेको हो ।

मन्त्रालयले सामाजिक सञ्जालको दुरुपयोग रोक्न तथा दोषीउपर कानुनी कारबाही गर्न र गलत सामग्री सञ्जालबाट स्वतः हट्ने व्यवस्था मिलाउन सिङ्गापुरस्थित टिकटक कार्यालय र नेपाल प्रहरीको साइबर ब्यूरोलगायत सरकारी निकायहरुबीच सहकार्य बढाउने उद्देश्यले गत शुक्रबार गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सुरक्षा निकाय, सरकारी निकाय एवम् टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिबीच भएको छलफल भएको जनाउँदै सामाजिक सद्भाव बिगार्ने, विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरुको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने र अश्लील गतिविधि तथा सामग्री हटाउने र त्यस्ता सामग्री सञ्जालमा राख्ने व्यक्ति पत्ता लगाई कानुनी दायरामा ल्याउन सहज हुने भएकाले कानुनी कारबाही गर्ने जनाएको छ ।

मन्त्रालयले जिम्मेवार नागरिकका रुपमा कानुनसम्मत् शिक्षामूलक र सामाजिक सद्भाव नबिगार्ने सामग्री मात्र सामाजिक सञ्जालमा राख्न अनुरोध गर्दै गैरकानुनी काम गरेमा कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।

https://ujyaalonepalnews.com/archives/32956

विद्यालयमै प्रधानाध्यापक झुण्डिएको अवस्थामा मृत फेला

सिरहा- सिरहामा एक सामुदायिक विद्यालयका प्रधानाध्यापक झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

गोलबजार नगरपालिका-३ स्थित सरस्वती माध्यमिक विद्यालय – तेतरिया जमदहका प्रधानाध्यापक सञ्जीवकुमार साह विद्यालयमै झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

मिर्चैया नगरपालिका-६ का बासिन्दा साहको मोटरसाइकल विद्यालयमै भेटिए पनि उनी नभेटिएपछि लामो समयसम्म खोजी भएको थियो । खोजतलास गर्ने क्रममा बिहान ११ बजेतिर विद्यालयको तेस्रो तल्लामा निर्माणाधीन सभा हलमा सलको पासोमा झुन्डिएको अवस्थामा साहलाई भेटिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा केही रगतका टाटा देखिएकाले घटना शंकास्पद रहेको आरोप परिवारजनले लगाएका छन् ।

https://ujyaalonepalnews.com/archives/32955

भूकम्प पीडितलाई पर्वतारोहण सङ्घबाट रु ३१ लाख सहयोग

काठमाडौँ- नेपाल पर्वतारोहण सङ्घले भूकम्प पीडितलाई सहयोग पु¥याउने उद्देश्यले रु ३१ लाख ११ हजार एक सय ११ सहयोग गर्ने निर्णय गरेको छ । सङ्घको आज सम्पन्न केन्द्रीय कार्यकारी बोर्ड बैठकले भूकम्पपीडितलाई सो सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

सङ्घको आन्तरिक स्रोतबाट उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गर्ने निर्णय भएको सङ्घका महासचिव मोहन लम्सालले जानकारी दिनुभयो ।

उहाँले प्रधानमन्त्रीलाई भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरिने बताउनुभयो । बैठकले नेपालमा भूकम्प पीडितलाई सहयोग जुटाउन विश्वभरका अल्पाइन क्लबहरुलाई आग्रह गर्ने पनि निर्णय गरेको छ ।

यसैबीच आरजु राईस मिलले भूकम्प पीडित क्षेत्रका लागि पाँच सय बोरा चामल पठाएको छ । उक्त कम्पनीले विज्ञप्ति जारी गर्दै करिब दस टन चालम भूकम्प पीडित क्षेत्रमा पठाइएको जनाएको हो । आरजु राईस निजी क्षेत्रको ठूलो हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयर मातहतको संस्था हो ।
–––

https://ujyaalonepalnews.com/archives/32954

हमाशको आक्रमणमा परी मृत्यु भएका दुई विद्यार्थीको शव एक महिना पछि डोटी आइपुग्यो

डोटी- प्यालेस्टाईनी विद्रोही समूह हमाशको आक्रमणमा परी मृत्यु भएका दुई विद्यार्थीको शव डोटी आईपुगेको छ । नेपाली सेनाको स्काई एम्बुलेन्स एनए ०६४ मार्फत आइतबार दिउँसो करिब ३ बजे डोटी शिखर नगरपालिका-६ चुँडीका राजन फुलारा र आदर्श गाउँपालिका-५, पीडका पदम थापाको शव डोटीको दिपायल विमानस्थलमा पुगेका हुन् ।

विमानस्थलमा दुवै शवहरू आफन्तले बुझेका छन् । शव बुझ्नका लागि आफन्तहरुसंगै शिखर नगरपालिकाका नगर प्रमुख दिर्घवहादुर बलायर र आदर्श गाउँपालिकाका अध्यक्ष गणेशबहादुर खड्का डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल प्रहरी प्रमुख विमानस्थल पुगेका थिए ।

मृतकहरूका शवलाई प्रहरी निरीक्षकको टोलीले स्कटिङ्ग गरी घरसम्म पुर्‍याएको थियो । दुवै शवको भोली सोमवार मात्रै दाह संस्कार हुने आफन्तहरूले जानकारी दिएका छन् । थापाको आदर्श गाउँपालिका ५ तलारास्थित सेती नदीमा र फुलाराको शिखर नगरपालिका ६ अडेउलस्थित सेती नदीमा दाह संस्कार हुनेछ ।

सुदूरपश्चिमाञ्चल बिश्वबिद्यालयको टिकापुर कृषि क्याम्पसमा स्नातक तह आठौँ सेमेस्टरमा अध्ययनरत थापा र फुलारा सिक्दै कमाउँदै कार्यक्रम अन्तरगत भाद्र २६ गते इजरायल पुगेका थिए । उनीहरूको असोज २० गते आक्रमणमा परी मृत्यु भएको भएको थियो ।

https://ujyaalonepalnews.com/archives/32951