Home Blog Page 138

भूकम्प अपडेट : १५७ जनाको मृत्यु, १९७ घाइते

काठमाडौँ- भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ९७ जना घाइते भएका छन् ।

सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा एक सय ५ जनाको तथा रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ ।

यसैगरी भूकम्पबाट जाजरकोटमा एक सय ५, रुकुम पश्चिममा ८५, दैलेख र बैतडीमा तीन-तीन तथा रोल्पामा एक जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज, काठमाडौँ तथा अन्य ठाउँमा ल्याउने क्रम जारी छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुटेको छ । प्रभावित क्षेत्रमा यसका लागि एक हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार तथा राहतका लागि पाँचवटा हेलिकप्टर तथा जहाजको प्रयोग गरिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

गए राति ११:४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ ।

https://ujyaalonepalnews.com/archives/32919

नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर छ: अमेरिकी दूतावास

काठमाडौँ- यहाँस्थित संयुक्त राज्य अमेरिकी दूतावासले गएराति जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूको खबरप्रति दुःख व्यक्त गरेको छ ।

यस भूकम्पको क्षतिपछिको पुनर्लाभ हासिल गर्न नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर रहेको दूतावासले जनाएको छ ।

जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दू भएर शुक्रबार राति ११ः४७ बजे गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पका कारण ठूलो जनधनको क्षति भएको छ । भूकम्पका कारण हालसम्म एक सय ३८ जनाको ज्यान गइसकेको छ भने ठूलो मात्रामा भौतिक क्षति भएको छ ।

https://ujyaalonepalnews.com/archives/32918

विपद्का समयमा गरिने सूचना सम्प्रेषणको महत्व र संवेदनशीलता बुझौँ: मन्त्री शर्मा

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विपद्का समयमा गरिने सूचना सम्प्रेषणको महत्व र संवेदनशीलता बुझ्न सबै सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ ।

सञ्चार मन्त्रालयअन्तर्गतको ‘इमरजेन्सी टेलिकम्युनिकेशन क्लस्टर’ (इटिसी) को आज बसेको बैठकमा उहाँले भूकम्पको समाचार सम्प्रेषणमा थप संवेदनशील बन्न आग्रह गर्नुभएको हो ।

यस्तो विपद्का समयमा सरकार मातहतका सञ्चारमाध्यमको विशेष भूमिका र दायित्व रहने भन्दै मन्त्री शर्माले राष्ट्रिय समाचार समिति, गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनलाई निर्देशन दिनुभयो ।

मन्त्री शर्माले भन्नुभयो, “हुनतः सूचनाको महत्व सधैँ छ यहाँहरुले बुझी नै रहनुभएको छ । तर पनि यस्तो विपद्का बेलामा सम्प्रेषण हुने सही समाचारले विपद् न्यूनीकरणलाई सघाउँछ र भ्रमपूर्ण समाचारले पीडितलाई थप पीडा पुग्नुका साथै उद्धारको कामलाई उल्टो प्रभावित पार्छ । त्यसैले यस्तो बेलामा समाचार सम्प्रेषण गर्दा थप संवेदनशील हुनुपर्छ ।”

सत्यतथ्य र सही समाचारको सम्पे्रषणले राहत तथा उद्धारमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी तथा सरकारलाई पनि सहज हुने भन्दै प्रभावित क्षेत्रका पीडित नागरिकलाई सहायता पुग्ने र उद्धारकर्मीलाई सहज हुनेगरी सत्यतथ्य सूचना सम्प्रेषण गर्न आग्रह गर्नुभएको हो ।

यस्तो विपद्का बेला पनि कहीँकतै भ्रमपूर्ण र आधारहीन सूचना सम्प्रेषण हुने गरेका र यसबाट विपद्मा परेकाको सहयोग र उद्धारको सट्टा उल्टै भ्रम सिर्जना भई पीडितमा थप पीडा पुग्ने भएकाले यसतर्फ सजग रहन पनि उहाँले सरकार मातहतका सञ्चारमाध्यमलाई विशेष निर्देशन दिनुभयो ।

त्यसैगरी भूकम्पपछिको ७२ घण्टा सतर्क रहनुपर्ने समय भनिएकाले सोहीबमोजिम आ–आफ्ना सेवालाई निरन्तर राख्दै नागरिकलाई सूचनाका माध्यमबाट सतर्कता अपनाउने वातावरण निर्माण गर्न उहाँले निर्देशन दिनुभयो ।

उहाँले सामाजिक सञ्जालमा नागरिक तर्सिने खालका भ्रमपूर्ण प्रकृतिका सूचना आएमा त्यसलाई निस्तेज पार्नेगरी सही र पीडितको राहत र उद्धारका काममा सहयोग पुग्ने खालका सूचना निर्माण गरी प्रभावकारीरुपमा सम्प्रेषण गर्न निर्देशन दिनुभयो ।

मन्त्री शर्माले जाजरकोट र रुकुमपश्चिममा सञ्चार अवरुद्ध हुन नदिन, सञ्चारमा नेटवर्कको समस्या देखियो भने तत्कालै समाधान गर्नका लागि प्राविधिक टोली खटाउन र त्यहाँ भूकम्पको उद्धारसम्मका लागि सञ्चारको निःशुल्क र चुस्तदुरुस्त बनाउन नेपाल टेलिकमलाई निर्देशन दिनुभयो ।

त्यसैगरी प्रभावित जिल्लामा विद्युत् सेवा अवरुद्ध हुन नदिनका लागि पनि सम्बद्ध निकायसँग आवश्यक समन्वय गर्न पनि उहाँले निर्देशन दिनुभएको थियो । मन्त्री शर्माले तत्कालका लागि उद्धारको काम जारी रहेकाले त्यसमा ध्यान दिन र त्यसपछि राहतका काममा पनि सम्बद्ध सबै निकाय तथा व्यक्ति परिचालन हुने कार्यलाई सहजीकरण गर्न नेपाल सरकारका सबै निकायले आआफ्ना स्थानबाट पहल कदमी दिन पनि आग्रह गर्नुभयो ।

सञ्चार मन्त्रालयअन्तर्गतको ‘इमरजेन्सी टेलिकम्युनिकेशन क्लस्टर’ (इटिसी) को बैठक आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बसेको थियो । सो बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतका विभाग तथा कार्यालयका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।

https://ujyaalonepalnews.com/archives/32917

भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको संख्या १३८ पुग्यो, १५४ जना घाईते

रुकुम- शुक्रवार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको संख्या १३८ पुगेको छ । मृत्यु हुनेमा महिला ८८ र ५० जना पुरुष रहेका छन् भने १५४ जना घाईते भएका छन् ।

कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार प्रदेशका जाजरकोट, रुकुम पश्चिम, जुम्ला र दैलेखमा गरी घाईते हुनेको संख्या १६० पुगेको हो । जाजरकोटमा ६९ महिला र ३१ पुरुष गरी १०० जना मृत्यु भएको छ भने ८१ जना घाईते भएका छन् ।

त्यस्तै रुकुम पश्चिममा १९ महिला र १९ पुरुष गरी ३८ जनाको मृत्यु भएको छ भने ७३ जना घाईते भएका छन् । यसैगरी जुम्लामा २ महिला र १ पुरुष घाईते भएका छन भने दैलेखमा ३ जना पुरुष घाइते भएको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिनु भयो ।

उहाँका अनुसार सख्त घाईतेमध्ये जाजरकोटका १३ जना प्रदेश अस्पताल सुर्खेतमा र २२ जना नेपालगञ्ज मेडिकल कलेजमा उपचार भईरहेको छ । त्यस्तै रुकुम पश्चिमका ६ जनाको नेपालगञ्ज मेडिकल कलेजमा र १२ जनाको प्रदेश अस्पताल सुर्खेतमा उपचार भईरहेको छ ।

यसैगरी दैलेखका घाईतेहरुको जिल्ला अस्पताल दैलेख र जुम्लाका घाईतेहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भईरहेको छ । संघ सरकारसँगको समन्वयमा कर्णली प्रदेश सरकारले नेपाली सेनाका तीन वटा हेलिकप्टरबाट घाईतेहरुको उद्दार गरी उपचारका लागि सुर्खेत र नेपालगञ्ज पुर्‍याउने काम गरिरहेको मन्त्री जिसीले जानकारी दिनु भयो ।

उहाँले काठमाडौदेखि नेपाली सेना र सशस्त्र प्रहरी बलको स्वास्थ्य टोलीसँगै कर्णाली प्रदेशका स्वास्थ्यकर्मीहरुलाई घाइतेहरुको उपचारमा परिचालन गरिएको बताउनु भयो । उहाँका अनुसार भूकम्प प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्दारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसँगै विभिन्न संघ संस्थाहरु परिचालन भएका छन् ।

सुर्खेतबाट भूकम्प प्रभावितहरुका लागि आज विहान ७ ट्रक खाद्यान्न तथा त्रि–पाल, कपडालत्ता पठाईएको छ । त्यसैगरी खाद्यान्न तथा लत्ताकपडालगायतका राहत सामाग्रीहरु नेपाली सेनाको स्काई ट्रकबाट भूकम्प प्रभावित क्षेत्र पठाउने काम युद्धस्तरमा जारी राखिएको मन्त्री जिसीको भनाइ छ ।

https://ujyaalonepalnews.com/archives/32916

भूकम्प पीडितलाई बागमती सरकारको सहयोग

मकवानपुर- जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितलाई बागमती प्रदेश सरकारले एक करोड ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

भुकम्प पिडितहरुको तत्काल प्रभावकारी उद्धार, उपचार, राहत तथा पुर्नस्थापनाका लागि बागमती प्रदेश सरकारले कर्णाली प्रदेश सरकारलाई सहयोग उपलब्ध गराउने भएको हो ।

आपतकालिन अवस्थामा रहेको कर्णालीलाई उक्त रकम उपलब्ध गराउने निर्णय भएको प्रदेश सरकारद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

बागमती प्रदेश सरकार विपद्को घडीमा कर्णली प्रदेश सरकार सँगसँगै रहने बागमती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

भुकम्पका कारण ठूलो मात्रामा धनजनको क्षती पुगेकोमा दुःख व्यक्त गर्दै नागरिक समाज, विभिन्न गैरसरकारी संस्थालाई आवश्यक सहयोगका लागि प्रदेश सरकारले आग्रह समेत गरेको छ ।

https://ujyaalonepalnews.com/archives/32914

बिदामा रहेका कर्मचारीलाई यथाशीघ्र कार्यालयमा हाजिर हुन मन्त्रालयको निर्देशन

काठमाडौँ- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूकम्प प्रभावित जिल्लाका स्थानीय निकायमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीलाई यथाशीघ्र कार्यालयमा हाजिर हुन निर्देशन गरेको छ ।

मन्त्रालयले सूचना जारी गर्दै बिदामा रहेका सम्बन्धित स्थानीय निकायका प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीलाई यथाशीघ्र आफ्नो कार्यालयमा हाजिर भई कामकाजमा खटिनु हुन र तत्काल बिदामा नरहन हुन निर्देशन गरेको हो ।

मन्त्रालयले भूकम्पबाट मृत्यु भएका नागरिकको खोजी एवं घाइतेको राहत तथा उद्धार, स्वास्थ्य उपचारसहित अन्य सबैपक्षको व्यवस्थापन प्रत्यक्ष एवं अप्रत्यक्ष सघाउ पु¥याउन अग्रसरता देखाई कार्य प्रवाह गर्न गराउन हुन प्रभावित जिल्लामा सबै स्थानीय निकाय तथा स्थानीय निकायका पदाधिकारी तथा कर्मचारीलाई अनुरोधसमेत गरेको छ ।

शुक्रबार मध्यराति जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु बनाई आएको ६ दशमलव चार रेक्टर स्केलको भूकम्पबाट जाजरकोट, रुकुमपश्चिम र रुकुमपूर्व र सल्यानलगायतका जिल्लामा मानवीय र भौतिक क्षति भएको छ ।

https://ujyaalonepalnews.com/archives/32913

लुम्बिनी सरकारले भूकम्प पिडितलाइ १ करोड ५० लाख दिने निर्णय

दाङ- लुम्बिनी प्रदेश सरकारको आकस्मिक मन्त्री परिषदको बैठक तुल्सीपुरमा सम्पन्न भएको छ ।

मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको अध्यक्षतामा भएको मन्त्री परिषदको आकस्मिक बैठकले कर्णाली प्रदेश सरकारलाई राहत स्वरुप १ करोड ५० लाख दिने निर्णय गरेको निमित्त प्रमुख सचिव सुमन घिमिरेले जानकारी दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/32912

घाइतेको उद्धार र राहतमा कमी हुन नदिन उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन

काठमाडौँ- जाजरकोटलाई केन्द्रविन्दु बनाएर गए राति गएको ६ दशमलव ४ रेक्टरको भूकम्पमा परी घाइते तथा वेपत्ता भएकाको उद्धार र खोजी तीव्र पारिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सबै सुरक्षा निकायको समन्वयमा स्थानीय जनप्रतिनिधि र नागरिकको समेतको सहयोगमा उद्धार जारी रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म भूकम्पमा परेर एक सय २९ को मृत्यु भइसकेको छ भने एक सय ४० जना घाइते भएको विवरण प्राप्त भएको छ । अहिले प्रभावित क्षेत्रमा विभिन्न ठाउँबाट सुरक्षाकर्मी परिचालन भएको पनि उहाँले बताउनुभयो ।

कडायतका अनुसार रुकुम पश्चिमबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा तीन सय २० जनाको प्रहरी टोली परिचालन गरिएको छ । जाजरकोटमा प्रहरी नायव उपरीक्षकको कमाण्डमा चार सय ५० जनाको सुरक्षा फौज परिचालन भएको छ ।

कर्णाली प्रदेश प्रहरी गण सुर्खेतबाट ३६ जना जाजरकोटका लागि र चौरजहारी बेसक्याम्पबाट १० जना रुकुम पश्चिमका लागि पठाइएको छ । यस्तै डिआइजिपी डा गोपेश ठाकुरको नेतृत्वमा ११ जनाको मेडिकल टोलीसमेत खटाइसकिएको प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

यस्तै नेपाली सेनाका ११ जनाको उद्धार टोली हेलिकप्टरमार्फत पनि पुगिसकेको कडायतले बताउनुभयो । अहिले भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार कार्यलाई तीव्र बनाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज विहान प्रभावित क्षेत्रमा उद्धार र मेडिकल टिमसहित पुग्नुभएको छ । उहाँले त्यहाँ पुगेर उद्धार र राहतमा जुट्न आह्वानसमेत गर्नुभएको छ ।

https://ujyaalonepalnews.com/archives/32911

पार्टीको नाम र झण्डा प्रयोग नगरी राहत तथा उद्धारमा परिचालित हुन रास्वपाको निर्देशन

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूकम्प प्रभावितको राहत तथा उद्धारमा सक्रिय हुँदा कुनै पनि सदस्यले पार्टीको नाम, झण्डा वा कुनै प्रकारको सङ्केत प्रयोग नगर्न निर्देशन दिएको छ ।
पार्टीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्पले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गरेको छ । भूकम्प प्रभावितको राहत तथा उद्धारमा राज्यका सम्बन्धित संयन्त्रसँग आवश्यक समन्वय गर्दै सक्रियरुपमा परिचालित हुन आह्वान गरेको छ ।
पार्टीले भूकम्प प्रभावित क्षेत्रमा कुनै किसिमको कमीकमजोरी नहुने गरी पीडितको उद्धार तथा घाइतेको उपचार र राहतका लागि तत्काल राज्यका सबै संयन्त्र सक्रिय बनाई परिचालन गर्न सरकारसँग मागसमेत गरेको छ ।
पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालका अनुसार राहत तथा उद्धारका लागि पार्टीकातर्फबाट सांसद सुमना श्रेष्ठलाई व्यवस्थापनको जिम्मवारी दिइएको छ ।
साथै सांसद डा तोसिमा कार्की र डा प्रभात अधिकारीले स्वास्थ्य उद्धार तथा विष्णुकुमार श्रेष्ठले राहत तथा उद्धार र केन्द्रीय सदस्य प्रतिभा रावलले टिम व्यवस्थापन एवं अन्य समन्वय समितिको जिम्मेवारीसहित परिचालन गरिएको छ । पार्टीले पाल्पा, गुल्मी र अर्घाखाँचीका लागि तय गरेका खुलासभा तत्कालका लागि स्थगित गरेको  छ ।

https://ujyaalonepalnews.com/archives/32910

डडेल्धुराका पालिकाद्वारा भूकम्पपीडितलाई सहयोग गर्ने घोषणा

डडेल्धुरा- डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले भूकम्पपीडितलाई दुई लाख दिने घोषणा गरेको छ । गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर कार्कीका अनुसार पीडितको उद्दार तथा राहातको लागि सहयोग स्वरुप गन्यापधुरा गाँउपालिकाको तर्फबाट दुई लाख दिने घोषणा गरिएको हो ।

त्यस्तै डडेल्धुराको नवदुर्गा गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई सहयोग गर्ने भएको छ । गाउँपालिकाका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

अवस्थीले सामाजिक सञ्जाल फेसबुकमार्फत जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई सहयोगस्वरुप नवदुर्गा गाउँपालिकाको तर्फबाट एक लाख ५० हजार सहयोग गर्ने जानकारी दिनुभएको छ ।

डडेल्धुराको परशुराम नगरपालिका मेयर भरत जोशीले भूकम्प पीडितलाई सहयोग गर्ने घोषणा गर्नुभएको छ । उहाँले आफूले पाउने सुविधावापतको एकलाख रकम जाजरकोट तथा रुकुमपश्चिमका भूकम्प पीडितलाई दिने घोषणा गर्नुभएको हो ।

‘यस दुःखद घटनामा पीडित जनतालाई साथ दिन मैले नगरपालिकाबाट नियमानुसार पाउने सेवा सुबिधा तथा ब्यक्तिगत खर्च कटौती गरि सानो सहयोग स्वरूप १ लाख दिने प्रतिबद्धता व्यक्त गर्दछु’ उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

गएराति ११ बजेट ४७ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर गएको भूकम्पले जाजरकोट सदरमुकाम खलंगासहित नलगाड गाउँपालिका, बारेकोट गाउँपालिका तथा रुकुमपश्चिमका आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा ठुलो क्षति गरेको छ ।

https://ujyaalonepalnews.com/archives/32909