Home Blog Page 139

सरकारले भूकम्प प्रभावित क्षेत्रमा निशुल्क टेलिफोन, एसएमएस र ईन्टरनेट सेवा प्रदान गर्ने

दाङ- सरकारले भूकम्प प्रभावित क्षेत्रमा निशुल्क टेलिफोन, SMS र ईन्टरनेट सेवा प्रदान गर्ने भएको छ । सूचना तथा संचार प्रविधि मन्त्री रेखा शर्माले सिंहदरबार डाकेको बैठकले यस्तो निर्णय गरेको हो ।

नेपाल दूरसंचार प्राधिकरणमार्फत वितरण हुने सम्पुर्ण सेवा पाँच दिनसम्म जाजरकोट, पुर्वी रुकुम र पश्चिम रुकुममा निशुल्क प्रदान गरिने मन्त्री शर्माले जानकारी दिनुभयो ।

जाजरकोट र पश्चिम रुकुमको अबरुद्ध टेलिफोन र संचारसेवा सुचारू गर्न संचार मन्त्रालयले आकस्मिक बैठक बोलाउनु भएको थियो । गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट त्यस वरपरको टेलिफोन र ईन्टरनेट सेवा अबरुद्ध छ ।

लामो समयसम्म संचार सेवा विच्छेद हुदा घाईतेहरुको उपचार र उद्वारमा समस्या हुँदै आएकोले छिटोभन्दा छिटो टेलिफोन सेवा मर्मत गरि सुचारु गर्न दूरसंचार प्राधिकरणलाई मन्त्री शर्माले निर्देशन दिनुभएको छ ।

https://ujyaalonepalnews.com/archives/32907

भूकम्प प्रभावित क्षेत्रमा तत्काल बिजुली उपलब्ध गराउन मन्त्री बस्नेतको निर्देशन

काठमाडौँ- भूकम्प प्रभावित क्षेत्रमा तत्काल सहजरुपमा बिजुली उपलब्ध गराउनका लागि आवश्यक जनशक्तिसहितको स्रोतसाधन परिचालन गर्न ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिनुभएको छ ।

गए राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले रुकुम पश्चिम र जाजरकोटको विद्युत् आपूर्तिमा अवरोध पैदा भएको थियो । सूचना तथा सञ्चारका लागि बिजुली अत्यावश्यक भएकाले तत्काल साधन र स्रोत परिचालन गर्न प्राधिकरणलाई मन्त्री बस्नेतले निर्देशन दिनुभएको हो ।

भूकम्पका कारण प्राधिकरणको संरचनामा के कति क्षति भयो भन्नेबारेमा समेत आवश्यक विवरण सङ्कलन तथा सहज बिजुली आपूर्तिका लागि मन्त्री बस्नेतले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिनुभएको हो । मन्त्री बस्नेत प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत हुनुहुन्छ ।

रुकुम पश्चिम वितरण केन्द्रका प्रमुख शिव साहले स्थानीय राडीबजार अस्पतालमा बिजुली उपलब्ध भइसकेको जानकारी दिनुभयो । भूकम्पका कारण खम्बा ढलेर अवरुद्ध भएका प्रसारण तथा वितरण लाइन मर्मतसम्भारमा सम्पूर्ण जनशक्ति परिचालित भएको उहाँको भनाइ छ । आज साँझसम्म भूकम्प प्रभावित सबै स्थानमा बिजुली उपलब्ध गराउने र नजिकका कार्यालयबाट समेत जनशक्ति परिचालित गरिएको साहले जानकारी दिनुभयो ।

भूकम्पबाट क्षतिग्रस्त भएका घर तथा अन्य संरचनाको लाइन काटेर अवस्थाको मूल्याङ्कन गरेर जोडनका लागि विभिन्न समूह नै बनाएर टोली परिचालन गरिएको छ । भूकम्पबाट क्षतिग्रस्त संरचनाको यथार्थ विवरण नलिइ लाइन जोड्दा थप दुर्घटना हुने भएकाले त्यसलाई विशेष ख्याल गरिएको कार्यालयको भनाइ छ ।

प्राधिकरण जाजरकोटका प्रमुख अभिषेकप्रसाद कलवारका अनुसार रुकुम पश्चिम र जाजरकोट जोड्ने रिम्नाको पुलमा ११ केभी क्षमताको प्रसारण लाइन र खम्बामा क्षति पुगेको छ । सो स्थानमा प्राविधिकसहितको कर्मचारी, खम्बा र तारसहित जनशक्ति परिचालन गरिएको छ ।

बिजुलीको अभावमा टेलिफोनको टावरसमेत नचल्ने तथा स्वास्थ्योपचारमा समेत समस्या हुने भएकाले आवश्यक व्यवस्थाका लागि प्राधिकरणको कर्णाली प्रादेशिक कार्यालयलेसमेत आवश्यक सहजीकरण गरिरहेको छ ।

प्राधिकरण कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख शम्भु कुसियत यादवले सुरुमा अस्पतालमा विद्युत आपूर्ति गरिएको बताउनुभयो ।

यादवले घर भत्किएको ठाउँमा उद्धार जारी रहेको र यस्तो अवस्थामा विद्युत् लाइन दिँदा थप दुर्घटना हुने भएकाले त्यहाँ आपूर्ति बन्द गरिएको उल्लेख गर्नुभयो । उहाँले धेरै घर भत्किएका क्षेत्रमा मात्र लाइन काटिएको र अन्य स्थानमा विद्युत् नियमितरुपमा आपूर्ति भइरहेको बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/32906

बस दुर्घटनामा ३४ जना घाइते

तनहुँ- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज भएको बस दुर्घटनामा ३४ जना घाइते भएका छन् ।

उदयपुरको कटारीबाट पोखरातर्फ आउँदै गरेको ना५ख १७५२ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकमा पल्टिँदा बसमा सवार ३४ जना घाइते भएका हुन् ।

दुर्घटनामा घाइते बस चालकसहित यात्रुलाई उद्धार गरी विभिन्न अस्पताल पठाइएको प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिनुभयो ।

घाइतेमध्ये केहीको उपचारपश्चात् डिस्चार्ज भएको र केहीको पोखरा र दमौलीमा उपचार भइरहेको छ ।

https://ujyaalonepalnews.com/archives/32905

भूकम्प अपडेटः मृत्यु हुनेको संख्या एक सय ३३ पुग्यो, एक सय भन्दा बढी परकम्प

जाजरकोट- शुक्रवार राति जाजरकोट जिल्लाको रामिडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टरस्केलको भूकम्पमा परी मृत्यु हुनेको संख्या एक सय ३३ पुगेको छ ।

भूकम्पबाट सबैभन्दा बढी प्रभावित जाजरकोटमा ९५ जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ । यसैगरि दुबै जिल्लामा गरी एक सय ६० जना भन्दा बढी घाइते भएका छन् ।

दूर्गम र विकट ठाउँ भएका कारण कतिपय गाउँसम्म सडक सम्पर्क टुटेको र सञ्चार सम्पर्क समेत विच्छेद भएका कारण क्षतिको यकिन विवरण अहिलेसम्म सार्वजनिक हुन सकेको छैन ।

भूकम्पमा परी नलगाड नगरपालिकाकी उपप्रमुख रसिता सिंहको समेत मृत्यु भएको छ । शुक्रवार राति ११ बजेर ४७ मिनेटमा गएको भूकम्पपछि पटक त्यहाँ भूकम्पको परकम्पहरु गएको र यस्तो परकम्पको संख्या एक सय भन्दा बढी भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/32904

भूकम्प : उद्धारमा जारी, जनप्रतिनिधि र सुरक्षाकर्मी परिचालित

काठमाडौँ- जाजरकोटलाई केन्द्रविन्दु बनाएर गए राति गएको ६ दशमलव ४ रेक्टरको भूकम्पमा परी घाइते तथा वेपत्ता भएकाको उद्धार र खोजी तीव्र पारिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सबै सुरक्षा निकायको समन्वयमा स्थानीय जनप्रतिनिधि र नागरिकको समेतको सहयोगमा उद्धार जारी रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म भूकम्पमा परेर एक सय २९ को मृत्यु भइसकेको छ भने एक सय ४० जना घाइते भएको विवरण प्राप्त भएको छ । अहिले प्रभावित क्षेत्रमा विभिन्न ठाउँबाट सुरक्षाकर्मी परिचालन भएको पनि उहाँले बताउनुभयो ।

कडायतका अनुसार रुकुम पश्चिमबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा तीन सय २० जनाको प्रहरी टोली परिचालन गरिएको छ । जाजरकोटमा प्रहरी नायव उपरीक्षकको कमाण्डमा चार सय ५० जनाको सुरक्षा फौज परिचालन भएको छ ।

कर्णाली प्रदेश प्रहरी गण सुर्खेतबाट ३६ जना जाजरकोटका लागि र चौरजहारी बेसक्याम्पबाट १० जना रुकुम पश्चिमका लागि पठाइएको छ । यस्तै डिआइजिपी डा गोपेश ठाकुरको नेतृत्वमा ११ जनाको मेडिकल टोलीसमेत खटाइसकिएको प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

यस्तै नेपाली सेनाका ११ जनाको उद्धार टोली हेलिकप्टरमार्फत पनि पुगिसकेको कडायतले बताउनुभयो । अहिले भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार कार्यलाई तीव्र बनाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज विहान प्रभावित क्षेत्रमा उद्धार र मेडिकल टिमसहित पुग्नुभएको छ । उहाँले त्यहाँ पुगेर उद्धार र राहतमा जुट्न आह्वानसमेत गर्नुभएको छ ।

https://ujyaalonepalnews.com/archives/32903

प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा

जाजरकोट- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प प्रभावित जिल्ला जाजरकोटमा पुगेर त्यहाँको स्थलगत अवस्थाको बारेमा अवलोकन गरी स्थानीय प्रशासनसँग थप जानकारी लिनु भएको छ ।

घाइतेको उद्धार, तथा पीडितहरूका लागि राहतको व्यवस्था गर्ने बारेमा प्रधानमन्त्री प्रचण्डले प्रमुख जिल्ला अधिकारी सुरेश सुनारसँग जानकारी लिनु भएको हो ।

प्रधानमन्त्री भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि नेपाली सेनाका १६ जना चिकित्सक र उपचारका सामग्रीसहित त्यसतर्फ जानुभएको हो ।

शुक्रवार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठुलो मानवीय क्षति मात्र नभएर करोडौँको धनमाल समेतमा क्षति पुर्‍याएको छ ।

भूकम्पमा परी १२८ जनाले ज्यान गुमाई सकेका छन् भने सयौँको सङ्ख्यामा घाइते भएका छन् । अझै पनि विवरण आउन बाँकी रहेकाले धेरैको सङ्ख्यामा मानवीय क्षति पुगेको हुनसक्ने अनुमान गरिएको छ ।

https://ujyaalonepalnews.com/archives/32899

घाइतेको उद्धार र उपचारमा सबै खट्न अध्यक्ष ओलीको आग्रह

काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गए राति गएको भूकम्पमा परी घाइते भएकाहरुको उद्धार र उपचारमा खट्न सबैलाई आग्रह गर्नुभएको छ ।

अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत उद्धारमा खटिन आग्रह गर्नुभयो । “भूकम्प रातको समयमा गएकाले उद्धार प्रभावकारी हुन सकेको छैन होला । मैले बिहान त्यहाँका केही साथीहरुसँग टेलिफोनमा कुराकानी गरेँ ।

यतिबेला त्यहाँ उद्धार गर्ने र घाइतेको उपचारमा तत्काल लाग्ने स्वास्थ्यकर्मीको धेरै खाँचो छ । सबै साथीहरु उद्धारमा खटौँ”, उहाँले भन्नुभएको छ, “भूकम्प प्रभावित क्षेत्रभन्दा बाहिरकाले सहयोग पुर्‍याउने र त्यहाँकाले धैर्य र सावधानी राख्नुपर्ने समय हो ।”

गए राति जाजरकोट केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी हालसम्म एक सयभन्दा बढीको ज्यान गएको छ भने सयौँको सङ्ख्यामा घाइते भएका छन् ।

https://ujyaalonepalnews.com/archives/32898

भूकम्प अपडेट: जाजरकोट र रुकुम पश्चिममा १२८ जनाको मृत्यु

काठमाडौं- भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय २८ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा एक सय ५५ जना घाइते भएका छन् ।

सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन् । यस्तै रुकुम पश्चिममा भूकम्पबाट ३६ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् ।

प्रहरी नायव उपरीक्षक थापाका अनुसार भूकम्प प्रभावितको उद्धारमा जाजरकोटस्थित आश्रिम गुल्मबाट सशस्त्र प्रहरी नायव उपरीक्षक विकाश थापाको नेतृत्वमा ६७ जनाको टोली खटिएको छ । यस्तै रुकुम पश्चिमस्थित नं ४७ गुल्मबाट सशस्त्र प्रहरी निरीक्षक झक्कुप्रसाद शर्माको नेतृत्वमा २४ जना तथा नं ४७ गुल्मबाट सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षक बलबहादुर थापाको नेतृत्वमा ११ जनाको टोली भूकम्प प्रभावित क्षेत्रमा खटिएको उहाँले जानकारी दिनुभयो । भूकम्पका कारण रोल्पामा एक जना घाइते भएका छन् । त्यहाँ मानवीय क्षति भएको छैन ।

भूकम्प प्रभावितको उद्धार तथा मद्दतका लागि सशस्त्र प्रहरी बल नं ३२ गण सुर्खेतबाट ३५ जनाको टोली जाजरकोट प्रस्थान गरेको छ । यस्तै नं ६ बाहिनी सुर्खेतबाट एम्बुलेन्ससहित चिकित्सक टोली जाजरकोटमा खटिएको छ । प्रहरी नायव उपरीक्षक थापाका अनुसार नं २९ गण दाङ र आश्रित गुल्म पूर्वी रुकुमबाट पनि टोली प्रमभावित क्षेत्रमा खटिएको छ ।

यस्तै बाँकेस्थित न. ४२ रिजर्भ गणबाट २५ जनाको टोली जाजरकोटमा खटिएको छ । नेपाल एपिएफ अस्पताल बलम्बु बाट डा रोशन पराजुलीसहितको नौ जनाको चिकित्सक टोली नेपाली सेनाको स्काइ ट्रकमार्फत जाजरकोट पठाइएको सशस्त्र प्रहरी बलले जनााएको छ ।

यसैगरी जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाको टोली उद्धार तथा राहत कार्यमा खटाइएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

गए राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडामा केन्द्र विन्दु बनाई ६ दशमलव ४ म्याग्निच्युडको भुकम्प गएको थियो ।

https://ujyaalonepalnews.com/archives/32894

भुकम्पको धक्काले जुम्लाका घरहरुमा पनि क्षति

जुम्ला- गएराती जाजरकोट आसपास केन्द्रबिन्दु बनाएर गएको भुकम्पको धक्काले तातोपानी गाउँपालिका वडा नं ४ निवासी हरि बहादुर खत्रीको घरमा क्षति भएको छ ।

सुतेकै कोठाको पर्खाल भत्किएपछि निद्रामै घर बाहिर निस्किएर मानविय क्षति हुनबाट बचेको खत्रीले बताउनुभयो । पर्खाल भत्किनुका साथै केहिभाग चर्किएको छ ।

भौतिक क्षति भएपनि मानवीय क्षति नभएको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताउनु भयो ।

यता प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जुम्लामा भुकम्पले गरेको क्षतिबारे कुनै सूचना नआएको बताउनु भयो । भुकम्पले जाजरकोट र रुकुम पश्चिममा ठुलो जनधनको क्षति भएको छ ।

https://ujyaalonepalnews.com/archives/32893

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ- बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत हिजो र आज भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाउन थालेको हो ।

स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले देशभरिका महिला स्वास्थ्य स्वयंसेविकाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन थालेको जानकारी दिनुभयो । आर्थिक वर्ष २०८०÷८१ को नियमितरूपमा पहिलो चरणमा यही कात्तिक २ र ३ गते खुवाउँदै आएको भिटामिन ‘ए’ कार्यक्रम दसैँ परेकाले आज र भोलि खुवाउन थालिएको हो ।

स्वास्थ्य मन्त्रालयले भिटामिन ‘ए’ कार्यक्रम सफल बनाउनका लागि सातवटै प्रदेश सरकारअन्तर्गतका सामाजिक विकास मन्त्रालय र स्थानीय तहलाई यसअघि नै परिपत्र गरिसकेको छ । यस आवको पहिलो चरणमा आज र भोलि तथा दोस्रो चरणमा भिटामिन ‘ए’ कार्यक्रम वैशाखमा महिनामा सञ्चालन गरिन्छ ।

भिटामिन ‘ए’ करिब २७ लाख बालबालिका र जुकाको औषधि करिब २४ लाख बालबालिकालाई खुवाइने शाखाले जनाएको छ । सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यून गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो । सरकारले प्रत्येक आर्थिक वर्षमा कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ ।।

https://ujyaalonepalnews.com/archives/32892