Home Blog Page 137

टि-२० विश्वकप एशिया छनोटको फाइनलमा आज नेपाल र ओमान भिड्दै

काठमाडौं- टि-२० विश्वकप एशिया छनोटको फाइनलमा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । आगामी वर्ष अमेरिका र वेष्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुन लागेको टि-२० विश्वकप खेल्न एशिया क्षेत्रबाट छनोट भएका यी दुवै टोली आज उपाधिका लागि भिड्न लागेका हुन् ।

नेपालको आफ्नै मैदानमा भइरहेको छनोट खेलबाट आयोजक नेपाल र पाहुना टोली ओमान विश्वकप खेल्न छानिएका हुन् । यो खेल ११ बजे किर्तिपुरस्थित टियु मैदानमा हुनेछ । समूह चरणमा एकै समूहमा रहेका नेपाल र ओमानबीच जारी प्रतियोगितामै भएको खेलमा नेपाल ५ रनले पराजित भएको थियो ।

नेपाल र ओमान सहित युएइ, मलेसिया, सिंगापुर, हङहङ, कुवेत र बहराइन सहभागी रहेको छनोट खेलको फाइनलमा पुग्दै नेपालले विश्वकपमा स्थान बनाएको हो । अब आजको खेल जित्दै विजेता बनेर विश्वकप खेल्न जाने लक्ष्य दुवै टोलीको छ ।

टि-२० विश्वकप खेल्ने २० टोलीहरु मध्ये १८ टोलीको छनोट भइसकेका छन् भने यसै महिना भित्र अफ्रिका क्षेत्रबाट छानिने बाँकी दुई टोलीको पनि टुङ्गो लाग्नेछ । टि-२० विश्वकप क्रिकेट प्रतियोगिता सन् २०२४ को जुनमा आयोजना हुदैछ ।

https://ujyaalonepalnews.com/archives/32934

चीनले जाजरकोट भूकम्प पीडितलाई १० करोड बराबरको सहायता सामग्री उपलब्ध गराउने

काठमाडौं- चीनले जाजरकोट भूकम्पपीडितका लागि १० करोड रुपैयाँ बराबरको सहायता सामग्री उपलब्ध गराउने घोषणा गरेको छ ।

नेपालका लागि चीनका राजदूत छन सङले सामाजिक सञ्जाल एक्समा सो रकम बराबरका आपत्कालीन सहायता सामग्री प्रदान गर्ने घोषणा गर्नुभएको हो ।

त्रिपाल, कम्बललगायत राहत सामग्री चीनबाट नेपालतर्फ पठाइएको र केही दिनभित्रै ती सामग्री नेपाल सरकारमार्फत पीडितलाई प्रदान गरिने जनाइएको छ ।

https://ujyaalonepalnews.com/archives/32933

कांग्रेसको छवि धूमिल भएकामा नेता कोइराला चिन्तित

धादिङ- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेताहरुको व्यक्तिवादी चरित्रले नेपाली कांग्रेसमा किचलो बढेको आरोप लगाउनुभएको छ ।

कांग्रेस राष्ट्रिय राजनीतिको मियो बन्नुपर्नेमा आन्तरिक झगडामा रुमल्लिनु दुःखद् भएको नेता कोइरालाले बताउनुभयो ।

बिपी कोइरालादेखि सुशील कोइरालाको नेतृत्व रहँदासम्म कांग्रेसको वरिपरि नेपालको राजनीति घुमेको उल्लेख गर्दै कोइरालाले नेताहरुकै कमजोरीका कारण कांग्रेसको छवि धूमिल भएकामा चिन्ता व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेस धादिङको प्रथम जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै नेता कोइरालाले अब हुने सबै निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उक्त सम्मेलनलाई संस्थापन पक्षका नेताले बहिष्कार गरेका थिए ।

https://ujyaalonepalnews.com/archives/32932

नितिगत अस्पष्टताको कारणले खेलाडि पुरस्कृत गर्न सकिएनः खेलकुद मन्त्री लिम्बू

धनकुटा- संघीय सरकारका युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बुले नितिगत अस्पष्टताको कारणले सरकारले खेलाडिलाई पुरस्कृत गर्न नसकेको बताउनु भएको छ ।

धनकुटामा शनिबार नेपाली कांग्रेश धनकुटाले आयोजना गरेको कार्यकर्ता तथा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री लिम्बुले नेपालले पटक पटक घोषणा भएका पुरस्कार तथा प्रोत्साहन रकम दिन नसकेको बताउनु भएको हो ।

उहाँले सरकार त्यस्ता नितिगत अस्पष्टतालाई अन्त्य गरि खेलाडिलाई पुरस्कार तथा प्रोत्साहन रकम निकासा गर्ने तयारी सरकार रहेको बताउनु भएको छ । मन्त्री लिम्बूले नेपाली क्रिकेट टिमले सर्वाधिक सफलता चुमेकाले सरकारले क्रिकेट रंगशाला बनाउन राष्ट्रिय गौरबको आयोजनामा समावेश गरेर काम गर्ने बताउनु भयो ।

मन्त्री लिम्बूले कांग्रेश नेतृत्वले बेलैमा निर्णय नगर्दा कोशी प्रदेशको सरकारको नेतृत्वको विषयमा विद्रोह गर्नुपरेको बताउँदै अब कोशी प्रदेशले स्थीर सरकार पाउने बताउनुभयो ।

उहाँले कांग्रेशको भागमा परेको मुख्यमन्त्री माओवादीलाई पार्टी नेतृत्वले बुझाउँदा विद्रोह भएको बताउनु भयो । कोशी प्रदेशको मुख्यमन्त्रीमा जे भयो त्यसले पार्टी नेतृत्वले चेतेर संवादको बाटो अंगाल्नुपर्ने बताउनु भयो ।

उहाँले चाडबाड तथा विभिन्न प्राकृतिक प्रकोपका कारण सरकार सुस्तगतिमा रहेको भएको भएपनि चाडबाड पछि सरकारले गति लिने बताउनु भयो । सरकार सार्वजनिक विदा घटाउन लागेको भएपनि विविध कारणले नसकएिको मन्त्री लिम्बूको भनाइ छ ।

https://ujyaalonepalnews.com/archives/32931

भूकम्पपीडित भन्छन्, ‘भाग्यले बाँचे’

बाँके- जाजरकोट भेरी नगरपालिका–३ खलङ्गाका ४८ वर्षीय विमलकुमार कार्की भूकम्पमा परी घाइते हुनुभएको छ । उहाँ गएरातिको भूकम्पबाट घर भत्किएपछि च्यापिनुभएको थियो ।

उद्धारपछि कार्कीले भन्नुभयो, “भाग्यले बाँचे ।” दुईतले कच्ची घरमा राति एक्लै सुतिरहेका बेला एक्कासी भूकम्प गएको र ब्युँझिएर अत्तालिएर घरबाट बाहिर निस्कन खोज्दा घर गर्ल्याम्म ढल्दा माटोले च्यापिएर घाइते भएको उहाँले सुनाउनुभयो ।

घाइते कार्कीले आफ्ना दुःख सुनाउँदै भन्नुभयो, “एक्कासी भूकम्प आएको थाहा पाएर झ्यालबाट बाहिर निस्कन खोज्दा झ्यालसँगै तल खसेँ र माटोले मेरो दुईवटै खुट्टा च्यापियो ।

रातिको समय थियो, एकछिन होसहवास गुम्यो, पछि होस आउँदा म बेस्सरी कराएँ । आधा घण्टापछि भतिज मन्दीप कार्की आयो । राति साढे १ बजे अस्पताल पुगेँ ।”

काका एक्कासी चिच्चयाएको आवाज सुनेर म दौडेर पुगेको घाइते कार्कीका भतिज मन्दीपले बताउनुभयो । उहाँले भन्नुभयो, “म पुगेपछि वरिपरिका मानिसलाई बोलाएर स्टेचरमा बोकेर जाजरकोट अस्पताल पुर्‍याऔँ र त्यहाँ पनि घटनाका घाइतेको ठूलो भीडभाड रहेछ, डाक्टरले उहाँलाई राति साढे ३ बजे नेपालगञ्ज सिफारिस गर्नुभयो ।”

मन्दीपले काकालाई बिहान साढे ७ बजे एम्बुलेन्समा राखेर भेरी अस्पतालमा ल्याइपुर्‍याउनुभएको हो । घाइतेमध्ये विमलकुमार नै पहिलो बिरामी उपचारमा आउनुभएको अस्पतालले जनाएको छ ।

अस्पतालका चिकित्सकले परीक्षण गर्दा विमलकुमारको दाहिने खुट्टाको दुई भाग भाँचिएको अस्पतालले जनाएको छ । २२ वर्ष पुरानो दुईतले कच्ची घरले झनै ज्यान बचाएको घाइते उहाँले बताउनुभयो ।

विमलकुमारको घर नजिकै ससुरालीमा रहेकाले श्रीमती र तीन छोरी बाँचेको बताउनुभयो । राति घरमा उहाँ एक्लै हुनुहुन्थ्यो । उहाँकी श्रीमती र छोरी ससुराली गएकाले बाँचे नत्र घटनामा परेर बाँच्थेन होला विमलकुमारले भन्नुभयो ।

भगवान्‌ले हाम्रो परिवारलाई जोगाएको घाइते विमलकुमारकी श्रीमती चन्द्रसिंहले बताउनुभयो । उहाँले म घटनाको बारेमा थाहा पाउनैबित्तिकै श्रीमान्‌लाई खोज्दै जाजरकोट अस्पताल पुगेको बताउनुभयो । उहाँले भूकम्प गएपछि छोरीलाई उठाएर बाहिर भागेर ज्यान बचाएको सुनाउनुभयो । उहाँ बसेको घर भूकम्पले सामान्य भत्किएको र चिरा परेको बताउनुभयो ।

चन्द्रसिंहले घटनालाई सम्झेर यस्तो ठूलो विपद्ले हामी त सदरमुकामकालाई यस्तो भयो, भूकम्पको केन्द्रबिन्दु भएको क्षेत्रका मानिसको अवस्था के होला भनेर प्रश्न गर्नुभयो ।

जाजरकोट केन्द्रबिन्दु भएर गए राति गएको भूकम्पमा परी गम्भीर घाइते भएकालाई थप उपचारका लागि नेपालगन्ज ल्याउने क्रम जारी रहेको छ ।

हालसम्म ३२ जना घाइतेलाई ल्याइएको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पवनजङ्ग रायमाझीले बताउनुभयो । उहाँका अनुसार ३२ घाइतेमध्ये दुई जनाको अवस्था जटिल रहेको छ । अस्पतालका मेसु डा रायमाझीले अस्पतालका सम्पूर्ण चिकित्सकसहितका कर्मचारीलाई उपचारकार्यमा खटाइएको भन्दै घाइते सबैको निःशुल्क उपचार भइरहेको बताउनुभयो ।

भूकम्पमा परी गम्भीर घाइतेहरूको उपचारका लागि नेपालगन्जको भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज, कोहलपुर शिक्षण अस्पतालमा उपचारको व्यवस्थापन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो । उहाँका अनुसार घाइते तथा घाइतेका आफन्तका लागि सहजताका लागि स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठलाई तोकिएको छ ।

भूकम्पपीडितका लागि राहत सङ्कलन

जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितका लागि राहतस्वरुप बाँकेमा सहयोग सङ्कलन अभियान सुरु भएको छ । बाँकेका चारवटा स्थानीय तहले रु १० लाख बढीको सहयोग गर्ने निर्णय गरेका छन् ।

स्थानीय तहहरूले खाद्यान्न र गैरखाद्य सहयोगसँगै स्वास्थ्यकर्मीको टिम परिचालन गर्ने निर्णय गरेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा पालिकाले गर्ने सहयोगबारेमा निर्णय गरेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।

नेपालगन्ज उपमहानगरपालिकाले रु चार लाख बराबरको खाद्यान्न, त्रिपाल, झुलसहित सामग्री र मेडिकल टिम परिचालन गर्ने भएको छ । कोहलपुर नगरपालिकाले रु दुई लाख बराबरका औषधि र खाद्यान्न उपलब्ध गराउने जनाएको छ ।

राप्तीसोनारी गाउँपालिकाले रु एक लाख बराबरको औषधि, रु ५० हजार बराबरको खाद्यान्न र एक जना चिकित्सकसहित स्वास्थ्यकर्मीको टिम परिचालन गर्ने भएको छ । राप्तीसोनारीले २० थान कम्बल र २० थान त्रिपाल सहयोग गर्ने प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले बताउनुभयो ।

खजुरा गाउँपालिकाले रु तीन लाख बराबरको औषधि सहयोग गर्ने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले १० थान टेन्ट, ५० थान त्रिपाल, ५० थान कम्बल उपलब्ध गराउने, केमिकल एण्ड मेडिकल एशोसिएसन सप्लायर्स सर्जिकल प्रालिबाट तीन सय ५० केजी चिउरा र नौ सय प्याकेट चाउचाउ उपलब्ध गराएको छ ।

यसैगरी केयर नेपाल र एडब्लुओ संस्थाको सहयोगमा दुई सय परिवारका लागि त्रिपाल, दुई सय परिवारका लागि त्रिपाल, म्याट्रेस कम्बल सहयोग गर्ने, नेपालगन्ज ग्रिन सिटीकातर्फबाट २५ बोरा चामल, दुई सय किलो चिउरा र ४० पेटी चाउचाउ सहयोग गरिएको छ ।

https://ujyaalonepalnews.com/archives/32930

जाजरकोट भूकम्प: रुकुम पश्चिममा उद्धार सकियो, ५२ जनाको मृत्यु

रुकुम पश्चिम- रुकुम पश्चिममा भूकम्पपीडितको उद्धार सकिएको छ । शनिबार रातिदेखि सुरु भएको उद्धार साँझ सकिएको हो ।

भूकम्पमा परी जिल्लाभर ५२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो ।

निरीक्षकक खड्काका अनुसार ५२ जनाको शव परीक्षणपश्चात परिवारलाई हस्तान्तरण गरिने छ । भैँचालोबाट अधिक प्रभावित आठबीसकोट नगरपालिकामा ४२ र सानीभेरी गाउँपालिकामा १० गरेर ५२ जनाको मृत्यु भएको हो । घाइते भएका एक सय ७४ जनाको अस्पतालबाट घर फर्केका छन् ।

भूकम्पबाट घाइते भएका २७ जनाको हेलिकप्टरबाट उद्धार गरी नेपालगञ्ज, प्रादेशिक अस्पताल सुर्खेत र काठमाडौँ पठाएको थियो । अन्य २६ जनाको भने जिल्ला अस्पताल सल्ले र नगर अस्पताल राडीमा उपचार चलिरहेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो ।

आठबीसकोट नगरपालिकाको प्रभावित क्षेत्र वडा नम्बर ११, १२, १३ र १४ र सानीभेरी गाउँपालिका–२ मा ठूलो मानवीय क्षतिसँगै भौतिक संरचना पनि क्षति भएको छ । मानवीय क्षति भएको ठाउँको खोजी सकिएकाले अब भोलिदेखि राहत सामग्री वितरण गरिने आठबीसकोट नगरप्रमुख रवि केसीले राससलाई जानकारी दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/32929

‘प्रधानमन्त्री उद्धारमा खटिएपछि पीडित र सरकारी निकायले अभिभावकत्व महसुस गरे’

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै प्रत्यक्षरूपमा भूकम्पपीडितको राहत र उद्धारका लागि प्रभावित क्षेत्रमा पुगेपछि राज्यका सबै निकायले अभिभावकत्व महसुस गरेको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको प्रतिक्रिया छ ।

आफ्नो गृहजिल्ला जाजरकोट नै भूकम्पको ठूलो चपेटामा परेपछि दिनभर उद्धार र उपचारमा खटेर काठमाडौँ आइपुगेपछि मन्त्री बस्नेतले भन्नुभयो, “मुलुकको प्रधानमन्त्री नै प्रत्यक्षरूपमा प्रभावित क्षेत्रमा पुग्नुभएपछि सरकारी निकाय, सुरक्षा संयन्त्र तथा स्थानीय स्वयंसेवकलाई बल मिल्यो । सोही कारण उद्धारको काम छोटो समयमा पूरा भयो भने उपचारको पनि सहज प्रबन्ध हुनसक्यो ।”

विपद्को समयको पहिलो दायित्व उद्धार र उपचार हो । सरकारले सो कामलाई दिनभरमा पूरा गरेको छ । त्यसका लागि सरकारले शुक्रबार रातिदेखि नै आवश्यक तयारी गरेको थियो । सिंहदरबार र बालुवाटारमा बसेर निर्देशन दिएकै भरमा भूकम्पपीडितको उद्धार हुँदैन भन्ने ठानेर प्रधानमन्त्रीको नेतृत्वमा आफूहरू प्रभावित क्षेत्रमा पुगेको मन्त्री बस्नेतको भनाइ छ ।

स्थानीय प्रशासनले, भूकम्पपीडित सबैले सरकार आफ्नै घरगाउँमा आएको र आफ्नो पीडामा साथै रहेको अनुभव गर्न पाएको उहाँको भनाइ छ । केहीले प्रधानमन्त्री प्रचण्ड नगएको भए पनि हुन्थ्यो भनेर गरेको टिप्पणीलाई उहाँले नकारात्मक सोचको उपज भएको तर्क गर्दै मन्त्री बस्नेतले भन्नुभयो, “विपद्को समयमा राज्यका निकायलाई पूर्ण क्षमतामा परिचालन गर्नु प्रमुख दायित्व हुन्थ्यो । हामीले त्यही गर्यौँ । सरकार प्रमुख नै प्रभावित क्षेत्रमा पुग्दा सबै निकायको मनोबल उच्च हुन पुग्यो । सोही कारण समयमै उद्धार र उपचारको प्रबन्ध गर्न सक्यौँ ।”

मन्त्री बस्नेतले विपद्को पहिलो काम पूरा भएकाले आजदेखि राहतको काम सुरु हुने जानकारी दिनुभयो । त्यसका लागि प्रधानमन्त्री प्रचण्डले आज बिहान मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ । सोही बैठकले राहतको उपयुक्त निर्णय गर्नेछ ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा गएको भूकम्पका कारण जाजरकोटका अधिकांश घरमा क्षति पुगेको छ । भेरी नगरपालिका, नलगाड, बारेकोट नगरपालिकामा धेरै क्षति भएको छ । ती स्थानीय निकायका धेरैजसो घरमा क्षति पुगेको छ । सग्ला रहेका घरमा समेत बसोबास गर्न नहुने भएका छन् ।

भूकम्पका कारण भेरी नगरपालिकामा मात्र ४२ जनाको निधन भएको छ । यस्तै ८१ जना घाइते भएका छन् । नलगाड नगरपालिकामा ५५ जनाको मुत्य भएको छ । कुशे गाउँपालिकामा सात, छेडागाड नगरपालिकामा एक जना गरी कुल एक सय पाँच जनाको निधन भएको छ ।

यस्तै रुकुम पश्चिमको आठबिसकोट नगररपालिका, सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिका बढी प्रभावित भएको छ । ती स्थानीय तहका अधिकांश घर तथा आवासमा क्षति पुगेको छ । सग्ला रहेका घर पनि सानो धक्काले ढल्ने अवस्थामा रहेकाले जोखिम छ ।

जाजरकोट सदरमुकाम रहेको खलङ्गाका अधिकांश घरमा क्षति पुगेको पाइएको मन्त्री बस्नेतले जानकारी दिनुभयो । पुराना घर भएकाले पनि धेरै घर भत्किएको हुनसक्ने अधिकांशको अनुमान छ ।

मन्त्री बस्नेतले भूकम्प लगत्तै आफूले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई फोन गरेर उद्धारमा जुट्न र उपचारको प्रबन्ध गर्न निर्देशन दिएकोसमेत स्मरण गर्नुभयो । उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय सङ्घसंस्थाका प्रतिनिधि भूकम्प गएलगत्तै परिचालित भएका थिए ।

प्रधानमन्त्रीको नेतृत्वमा मन्त्री बस्नेत, पूर्वअर्थमन्त्री जनार्दन शर्मा, चिकित्सकसहितको टोली खलङ्गा पुगेपछि त्यसले थप बल दिएको मन्त्री बस्नेतको भनाइ छ । प्रधानमन्त्रीको टोलीले जाजरकोट अस्पतालमा पुगेर घाइतेलाई नआत्तिन र सरकार साथमा रहेको बताउँदा अधिकांशले सरकार आफ्नै साथमा भएको अनुभूति गरेका थिए ।

प्रधानमन्त्री नै प्रभावित क्षेत्रमा पुगेपछि राज्यका अधिकांश निकाय समयमै पुगेर उद्धारको काम गरेका छन् । स्वास्थ्यकर्मी पनि पुगेका छन् । मध्यरात गएको भूकम्पका कारण हजारौँ घरमा क्षति पुगेको छ ।

विशेषगरी जाजरकोट र रुकुम पश्चिममा सरकारको तर्फबाट पहिलो चरणको काम सम्पन्न गरेको छ । प्रधानमन्त्री प्रचण्डले पनि नेपालगन्ज विमानस्थलमा त्यसको जानकारी दिनुभएको थियो । सरकारको तर्फबाट जे गर्नुपर्ने थियो त्यो भएको र आज मन्त्रिपरिषद्को बैठकले राहतको बारेमा आवश्यक निर्णय गर्ने उहाँको भनाइ थियो ।

मध्यरातमा सपना जसरी आएको भूकम्पले दिएको पीडामा रहेका नागरिकलाई सरकारले विश्वास दिलाएर फर्केको जानकारी दिँदै मन्त्री बस्नेतले राहत र पुनःनिर्माणको काम पनि सोही गतिमा गर्ने बताउनुभयो । उहाँले सहज सञ्चारका लागि बिजुलीको सहज उपलब्धताका लागि आज बिहानै नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको र सोहीअनुसार काम भएकोसमेत उल्लेख गर्नुभयो ।

https://ujyaalonepalnews.com/archives/32925

राहत र उद्धारमा जुट्न पूर्व राष्ट्रपति यादवको आग्रह

काठमाडौँ- पूर्व राष्ट्रपति डा. रामवरण यादवले जाजरकोट भूकम्पबाट भएको जनधनको क्षतिबाट आफू अत्यन्त दुःखी भएको बताउनुभएको छ ।

उहाँले तीनै तहका सरकार, राजनीतिक दल, सामाजिक कार्यकर्ता र स्थानीयवासी सबैलाई उद्धार र राहत कार्यमा जुट्न अपिल पनि गर्नुभएको छ ।

पूर्व राष्ट्रपति यादवले भन्नुभएको छ, ‘‘जाजरकोट भूकम्पबाट निधन हुने र घाइतेको सङ्ख्या बढ्दै गर्दा म निकै मर्माहत र दुःखी भएको छु ।

निधन भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । साथै तीनै तहका सरकार, राजनीतिक दल, सामाजिक कार्यकर्ता र स्थानीयवासी सबैलाई उद्धार र राहत कार्यमा जुट्न अपिल पनि गर्दछु ।’’

शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या १५७ पुगेको छ । भने १९० भन्दा धेरै जना घाइते भएका छन् ।।

https://ujyaalonepalnews.com/archives/32924

रत्ननगरमा वडा स्तरीय फटवलकाे उपाधि वडा नं ९ ले जित्याे

रत्ननगर । रत्ननगर वडा नं ८ स्थित बाघमरा खेलमैदानमा आयाेजना गरिएकाे वडा स्तरीय फुटवलकाे उपाधि वडा नं ९ ले जितेकाे छ ।

शनिवार सम्पन्न पाइलन प्रतिस्पर्धामा वडा नं १४ लाई शुन्यका विरुद्ध एक गाेल अन्तरले पराजित गर्दै वडा नं ९ ले उपाधि जित्न सफल भएकाे हाे ।

उपाधि हात पारेकाे वडा नं ९ ले ५० हजार नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ । वडा नं ९ काे जितका लागि सुचित चाैधरीले निर्णायक गाेल गरेका थिए ।

प्रतियाेगितामा दाेस्राे भएकाे वडा नं १४ ले २५ हजार नगद सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकाेटा र खेलकुद विकास समितिका संयाेजक कृष्ण चाैधरीले उपाधि हस्तान्तरण गरेका थिए ।

साे अबसरमा मेयर सापकाेटाले मेयर कप फूटवलकाे लागि वडा स्तरीय फुटवल आयाेजना गरिएकाे भन्दै खेलाडीकाे बृद्धिविकासकाे लागि याेजना बनाएर काम गरिरहेकाे बताए ।

नगर खेलकुद विकास समितिकाे व्यवस्थापनमा रत्ननगर नगरपालिकाले मेयर कपका लागि खेलाडी छनाेट गर्न साे प्रतियाेगिता आयाेजना गरेकाे हाे । प्रतियाेगितामा १६ टिमकाे सहभागिता रहेकाे थियाे । समापन कार्यक्रम संयाेजक चाैधरीकाे अध्यक्षतामा भएकाे थियाे ।

https://ujyaalonepalnews.com/archives/32922

उद्धारमा परिचालन भएका जहाजलाई निगमको निःशुल्क इन्धन

https://ujyaalonepalnews.com/archives/32920