Home Blog Page 31

कालिकाका मेयर विनोद रेग्मी अमेरिकी भ्रमणमा, अन्तर्राष्ट्रिय सम्मेलन र उच्चस्तरीय भेटवार्तामा सक्रिय

चितवन — कालिका नगरपालिका, चितवनका मेयर विनोद रेग्मी अमेरिका भ्रमणमा छन्। मेयर रेग्मी फ्लोरिडा राज्यको अर्लान्डो सहरमा आयोजित १०७औं लायन्स इन्टरनेशनल कन्भेन्सनमा सहभागी हुन अमेरिका गएका हुन्। विश्वभरिका लायन्स क्लबका प्रतिनिधिहरूको उपस्थिति रहने उक्त सम्मेलनमा उनले नेपाल र कालिका नगरको प्रतिनिधित्व गरेका छन्।

यात्राको सिलसिलामा मेयर रेग्मीले अमेरिकाको राजधानी वासिङ्टन डिसीस्थित नेपाली दूतावासमा नेपालका लागि अमेरिकी राजदूत लोकदर्शन रेग्मीसँग शिष्टाचार भेट गरेका छन्।

उक्त भेटमा समसामयिक राजनीतिक अवस्था, नेपाल–अमेरिका सम्बन्ध, स्थानीय तहको विकास र आपसी सहकार्यका सम्भावित क्षेत्रहरूबारे छलफल भएको थियो।

त्यस्तै, उनले पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि अमेरिकामै भेटघाट गरेका छन्। भेटका क्रममा नेपालको वर्तमान राजनीतिक अवस्था, विदेशमा रहेका नेपालीहरूको भूमिका र स्थानीय तहका समृद्धि अभियानबारे कुराकानी भएको जनाइएको छ।

मेयर रेग्मीको यो भ्रमणले अन्तर्राष्ट्रिय स्तरमा नेपाल र कालिका नगरको पहिचान प्रवर्द्धन गर्नुका साथै अन्तरसंस्थागत सम्बन्ध विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

पिठुवामा ट्र्याक्टरको ठक्करबाट एकजनाको मृत्यु

उज्यालो नेपाल- रत्ननगरको वडा नं. १६ पिठुवा दोबाटो बजारमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ।

खैरहनी नगरपालिकातर्फबाट दोबाटो बजारतर्फ आइरहेको ना ३ त ७४३० नं को ट्र्याक्टरले साइकललाई ठक्कर दिँदा साइकल यात्री रत्ननगर १६ सेवाकेन्द्र टोल निवासी अन्दाजी वर्ष ७० को कृष्णबहादुर पन्तको मृत्यु भएको हो।

ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका पन्तलाई वडाध्यक्ष हेमराज थापा सहित स्थानीयको सहयोगमा उपचारको लागि रत्ननगर बकुलर अस्पताल लगिएकोमा बिहान १०:२२ बजे डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख डीएसपी रन्जन अवाले जानकारी दिए।

मृतकको शवलाई पोस्टमार्टमको लागि भरतपुर सरकारी अस्पतालमा पठाइएको छ।।

भरतपुर अस्पतालको सेफ्टी ट्याङ्कीमा खसेकी बालिकाको उपचारको क्रममा मृत्यु

चितवन, २०८२ असार ३२ । भरतपुर महानगरपालिका–१० स्थित भरतपुर सरकारी अस्पतालको प्राङ्गणभित्र रहेको सेफ्टी ट्याङ्कीम खसेकी एक बालिकाको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला चितवन, भरतपुर–१० निवासी तथा सोही अस्पतालमा कार्यरत कर्मचारी विकास मगरकी ५ वर्षीया छोरी अन्जना मगर असार ३० गते दिउँसो ३:५० बजे अस्पताल प्राङ्गणमै खेल्ने क्रममा सेफ्टी ट्याङ्कीमा खसेकी थिइन् ।

खसेपछि तत्काल उद्धार गरी अस्पतालमै उपचार थालिएको थियो । तर अवस्था गम्भीर हुँदै गएपछि उपचारकै क्रममा असार ३१ गते साँझ ६:४० बजे बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सौराहा चोकमा बेहोस अवस्थामा फेला परेका व्यक्तिको उपचारका क्रममा मृत्यु

रत्ननगर, चितवन — रत्ननगर नगरपालिका–१ सौराहा चोकमा एक पुरुष बेहोस अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार असार २९ गते आईतबार साँझ करिब ५:३० बजे अन्दाजी ४०–४५ वर्ष उमेरका एक अज्ञात पुरुष बेहोस अवस्थामा फेला परेका हुन्।

उक्त व्यक्तिलाई तत्कालै उपचारको लागि स्थानीय बकुलहर अस्पताल टाँडीमा पुर्‍याइएको थियो। अस्पतालमा लगिएको केही समयपछि, साँझ ५:४५ बजे डाक्टरले उनलाई मृत घोषणा गरेका हुन्।

हालसम्म मृतकको नाम, थर र वतन खुल्न सकेको छैन। शव हाल भरतपुर सरकारी अस्पतालमा राखिएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

रत्ननगरको सार्वजनिक सुनुवाई विवादमा : माओवादी केन्द्रको कडा निन्दा

रत्ननगर, असार २८ ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रत्ननगर नगर समितिले रत्ननगर नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रमप्रति गम्भीर आपत्ति जनाएको छ। नगरपालिकाले कुनै पनि राजनीतिक दललाई निमन्त्रणा नगरी एकलौटी रूपमा कार्यक्रम गरेको भन्दै माओवादी केन्द्रले यसलाई कमजोरी, बेथिति र अनियमितता ढाकछोप गर्ने प्रपञ्चको रूपमा लिएको जनाएको छ।

पार्टीले जारी गरेको प्रेस विज्ञप्तिमा रत्ननगर नगरपालिकाको उक्त कदमलाई नगर प्रमुखको अलोकतान्त्रिक, निरंकुश, विभेदपूर्ण र गैरजिम्मेवार व्यवहारको पराकाष्ठा भएको उल्लेख गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय सरकारले नीति, कार्यक्रम र बजेटमा सरोकार राख्ने राजनीतिक दलहरूसँग समन्वय र छलफल गर्नु कर्तव्य हो। तर, रत्ननगर नगरपालिकाले सबै राजनीतिक दललाई वेवास्ता गरी एकलौटी रूपमा कार्यक्रम गरेको छ, जुन लोकतान्त्रिक चरित्रसँग मेल खाँदैन।’

माओवादी केन्द्रले १० वर्षे जनयुद्ध र २०६२/०६३ को जनआन्दोलनबाट प्राप्त गणतान्त्रिक उपलब्धिको रक्षा गर्नु आफ्नो कर्तव्य भएको उल्लेख गर्दै यस्ता अव्यवहारिक, निरंकुश र अपारदर्शी कार्यको घोर भर्त्सना गरेको छ। साथै, आगामी दिनमा यस्ता कार्य दोहोरिन नदिन नगरपालिकालाई चेतावनी दिएको छ।

विज्ञप्तिमा नगरपालिकालाई लोकतान्त्रिक मूल्य-मान्यता कायम राख्न, जनताप्रति जवाफदेही हुन र सबै सरोकारवाला पक्षसँग समन्वय गरेर अघि बढ्न आग्रह गरिएको छ। विज्ञप्ति पार्टीका अध्यक्ष मेघनाथ पौडेल र सचिव मोहन प्रसाद भट्टराईद्वारा हस्ताक्षरित छ।

रत्ननगर–१६ को वार्षिक खर्च विवरण सार्वजनिक ९९.८८ प्रतिशत योजनाहरु सम्पन्न

चितवन — रत्ननगर नगरपालिका वडा नं. १६ ले आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक बजेट, नीति तथा कार्यक्रम अन्तर्गत चालु तथा पुँजीगत योजनाहरूको कार्यान्वयन ९९.८८ प्रतिशतले सम्पन्न भएको जानकारी दिएको छ।

वडामा सञ्चालित विकास निर्माण, सेवा प्रवाह, कार्यक्रम कार्यान्वयन लगायतका कार्यहरूमा स्थानीय बासिन्दाको सक्रिय सहभागिता, समन्वय र सहकार्यको फलस्वरूप योजनाहरू सफलतापूर्वक सम्पन्न भएको वडाले जनाएको छ।

सूचनामा जनाइए अनुसार चालु तथा पुँजीगत खर्च शीर्षकमा रु.९६ लाख ९१ हजार विनियोजन गरिएकोमा रु.९६ लाख ७९ हजार खर्च भई ९९.८८ प्रतिशत कार्यान्वयन भएको हो।

यस सफलताको श्रेय वडा कार्यालय, नगरपालिकाको कार्यालय, सम्पूर्ण टोल विकास संस्था, उपभोक्ता समिति, संघ–संस्था, निर्माण व्यवसायी, विभिन्न विकास साझेदार, अनुमगनकर्ता, नागरिक समाज, वडा कार्यालयका कर्मचारी, सञ्चारकर्मी तथा वडा नं. १६ का सम्पूर्ण नागरिकलाई दिइएको छ। वडाले आगामी आर्थिक वर्षहरूमा पनि यसैगरी सहयोग, सहकार्य र सक्रिय सहभागिता जारी रहने विश्वास व्यक्त गरेको छ।

वडा अध्यक्ष हेमराज थापाले हस्ताक्षरित सूचनामा सबैलाई निरन्तर साथ र सहकार्यका लागि विशेष धन्यवाद ज्ञापन गरिएको छ। यसरी वडा स्तरको वित्तीय विवरण सार्वजनिक गर्ने यस वडा रत्ननगरकै पहिलो वडा हो।

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

चितवन। पूर्वी चितवनको मध्यवर्ती कुमरोज सामुदायिक वनमा आज बिहान बाघको आक्रमणबाट एक स्थानीय पुरुषको मृत्यु भएको छ। मृतक खैरहनी नगरपालिका–१३ सिमरेनी निवासी अन्दाजी ६० वर्षीय मगर बुढा रहेका छन्।

स्थानीय पत्रकार रामेश्वर रिजालका अनुसार मगर बुढा बिहान घाँस काट्न जंगल गएका थिए। त्यही क्रममा बाघले आक्रमण गर्दा घटनास्थलमै उनको ज्यान गएको हो। मृतकको शव अझै पनि जंगलमै रहेको र बाघ छेउमै बसिरहेको जानकारी उनले दिएका छन्। शव उद्धारका लागि प्रहरी टोलीसहित हात्तीसमेत परिचालन गर्ने तयारी गरिएको छ ।

कुमरोज क्षेत्रमा पनि यस्ता बाघ लगायतका जंगली जनावरको आक्रमणबाट स्थानीयको मृत्यु हुने घटना दोहोरिँदै आएका छन्।

कालिकाको आव २०८१-०८२ को बजेट : ७६.७३ प्रतिशत खर्च

रत्ननगर । चितवनको कालिका नगरपालिकाले चालू आर्थिक वर्ष २०८१-०८२ को खर्च विवरण सार्वजनिक गरेको छ । नगरपालिकाले यो आर्थिक वर्षमा कुल ७६.७३ प्रतिशत बजेट खर्च भएको जनाएको छ ।

चालूतर्फ ८६.६१ प्रतिशत र पुँजीगततर्फ ६५.४४ प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंले जानकारी दिए । यो वर्ष ४९ करोड ५७ लाख एक हजार छ सय रूपैयाँ (५३.३१) प्रतिशत विनियोजन भएकोमा ४२ करोड ९३ लाख ४९ हजार नौ सय ६० रूपैयाँ २४ पैसा (८६.६१) प्रतिशत खर्च भएको चौलागाईंले बताए । पुँजीगततर्फ ४३ करोड ४० लाख ७२ हजार चार सय रूपैयाँ (४६.६९) प्रतिशत विनियोजन भएकोमा २८ करोड ४० लाख ७५ हजार आठ सय ९६ रूपैयाँ ८९ पैंसा (६५.४४) प्रतिशत खर्च भएको उनले बताए ।

आर्थिक वर्ष २०८१-०८२ मा चालू र पुँजीगततर्फ गरी कुल ९२ करोड ९७ लाख ७४ हजार विनियोजन भएकोमा ७१ करोड ३४ लाख २५ हजार आठ सय ५७ रूपैयाँ १३ पैसा (७६.७३) प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत चौलागाईंले जानकारी दिए ।

कालिका नगरपालिकाको बजेट चालूभन्दा पुँजीगत (६.६२) प्रतिशतले बढी छ । प्रमुख प्रशासकीय अधिकृत चौलागाईं र वरिष्ठ लेखा अधिकृत ऋषिप्रसाद कडुवालले एक सूचना जारी गर्दै खर्च विवरण सार्वजनिक गरेका हुन् ।

जारी सूचनामा बजेट कार्यान्वयन गर्न सहयोग गर्ने टोल विकास संस्था, उपभोक्ता समिति, संघसंस्था, निर्माण व्यवसायी, विकास साझेदार सरोकारवाला सरकारी कार्यालय, सञ्चारकर्मी, नागरिक समाज, कर्मचारी सबैलाई धन्यवाद दिँदै आगामी बजेट कार्यान्वयनमा पनि सक्रिय सहयोग, समन्वय र सहभागिता रहने विश्वास गरिएको छ ।

पौडी खेल्ने क्रममा बेपत्ता भएका रत्ननगरका बालकको शव भेटियो।

उज्यालो नेपाल- रत्ननगर वडा नं. ७, पडेरिया पुल नजिकै बूढीराप्ती खोलामा बेपत्ता भएका १५ वर्षीय बालक अनमोल लम्सालको शव फेला परेको छ।

रत्ननगर नगरपालिकाको नगरप्रहरी टोलीले शुक्रबार बिहान ५:१८ बजे पडेरिया पुलबाट करिब २ किलोमिटर चित्रसारीतर्फ बाँसघारी नजिक उनको शव फेला पारेको हो।

रत्ननगर-१५, माधवपुर निवासी लम्साल बिहीबार दिउँसो २ बजे पौडी खेल्ने क्रममा बूढीराप्तीमा बेपत्ता भएका थिए।

रत्ननगर-७, पडेरियास्थित मामाघर गएका बेला उनी नदीमा पौडी खेल्न गएका थिए। बेपत्ता भएको १५ घण्टापछि उनको शव फेला परेको प्रहरीले जनाएको छ।

घटनाकाे मुचुल्का उठाई बालककाे शव पाेष्ट माटमकाे लागि भरतपुरकाे सरकारी अस्पताल पठाईएकाे ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडी प्रहरी प्रमुख डिएसपी रञ्जित अवाले जानकारी दिए ।

प्रधानमन्त्रीको स्पेन भ्रमण बारे भ्रामक तथा तथ्यहीन सामग्री प्रचार गरियो- परराष्ट्र मन्त्रालय

काठमाडौँ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण बारे भ्रामक तथा तथ्यहीन सामग्री प्रचार गरिएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै स्पेनको सेभिया सहरमा आयोजित ‘विकासका लागि वित्त’ चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी नेपाली प्रतिनिधिमण्डलका विषयमा भ्रामक तथा तथ्यहीन सामग्री प्रचार भएको प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले गत ३० जुनदेखि ४ जुलाई २०२५ सम्म सम्पन्न सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी भएको र सो प्रतिनिधिमण्डलका सम्पूर्ण सदस्यहरू स्वदेश फर्किसकेको उल्लेख गरेको छ ।

मन्त्रालयले भनेको छ- ‘द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा नेपालको प्रतिनिधित्व आवश्यक परेको अवस्थामा अन्तर्राष्ट्रिय प्रचलन, सरकारको दायित्व एवम् भूमिका, राष्ट्र हितको प्रवर्द्धन र मितव्ययितासमेतका आधारमा स्थापित व्यवस्थाअनुरुप नेपाल सरकार (मन्त्रिपरिषद्) बाट निर्णय हुने गरेको व्यहोरा अवगतै छ ।’

सम्मेलनमा नेपालको सहभागिता, विभिन्न सत्रमा नेपालको सक्रिय नेतृत्व र योगदान साथै द्विपक्षीय तथा बहुपक्षीय भेटघाट र उपलब्धिहरूसम्बन्धी विस्तृत विवरणहरू परराष्ट्र मन्त्रालय र अन्य आधिकारिक स्रोतहरूबाट पहिले नै सार्वजनिक भइसकेको उल्लेख गर्दै मन्त्रालयले सर्वथा भ्रामक र आधारहीन सामग्रीमा विश्वास नगर्न र यस्ता गलत प्रचारप्रति सजग रहन सम्बन्धित सबैलाई आग्रह गरेको छ ।