Home Blog Page 30

पिठुवा नहरमा डुबेर एकजनाको मृत्यु

उज्यालो नेपाल। रत्ननगरको पिठुवा नहरमा डुबेर एकजनाको मृत्यु भएको छ। शुक्रबार बिहान रत्ननगर १६ हात्तीगाडे स्थित नहरमा डुबेर एकजना वृद्धको मृत्यु भएको हो।

मृत्यु हुनेमा रत्ननगर १६ मुनालटोल निवासी वर्ष ७५ का कर्ण बहादुर गुरुङ रहेको वडाध्यक्ष हेमराज थापाले जानकारी दिए। घटना बारे थप विवरण आउन बाँकी छ।

रत्ननगरको शान्तिचोकमा भएको दुर्घटनामा कालिकाका कँडेलको ज्यान गयो।

चितवन, साउन ९ – चितवनको रत्ननगर नगरपालिका–३ शान्तिचोकमा बोलेरो गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको छ।

साउन ९ गते राति करिब १२:३० बजेको समयमा पूर्व–पश्चिम राजमार्गमा टाँडीबाट खैरहनीतर्फ जाँदै गरेको प्रदेश नं. २–०२–००१ च ०५१० नम्बरको तरकारी बोक्ने बोलेरोले जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख ३३६५ नम्बरको नाइट बसलाई ओभरटेक गर्ने क्रममा विपरित दिशाबाट आइरहेको बा.प्र.०६–००१ प ३५०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

ठक्करबाट मोटरसाइकल चालक कालिका नगरपालिका–२ का ३५ वर्षीय मुकुन्द कंडेल गम्भीर घाइते भएका थिए। उनलाई घाइते अवस्थामा एम्बुलेन्समार्फत भरतपुर अस्पताल लगिएकोमा राती १:१९ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा बसमा सामान्य क्षति पुगेको छ भने बसलाई पुनः गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ। दुर्घटना गराउने बोलेरो गाडी चालक कास्की जिल्ला लेखनाथ नगरपालिका–२७ का ३० वर्षीय हुमेश लामगाले र गाडीका साहु माछापुछ्रे गाउँपालिका–३ का ३४ वर्षीय ध्रुवराज पोखरेलको बाँया हातमा सामान्य चोट लागेको छ।

हाल बोलेरो गाडी, चालक र गाडीका साहु इलाका प्रहरी कार्यालय टाँडीको नियन्त्रणमा रहेका छन्। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दश दिनदेखि हराईरहेका कृष्णबहादुरको शव शक्तिखोर जंगलमा भेटियो

सांकेतिक तस्विर

चितवन, साउन ७– चितवनको कालिका नगरपालिका–९ स्थित शक्तिखोर जंगलमा एक पुरुषको शव फेला परेको छ। राप्ती नगरपालिका–११ का ५७ वर्षीय कृष्ण बहादुर प्रजा मृत अवस्थामा फेला परेको चितवन प्रहरीले जानकारी दिएको छ।

गत असार २८ गते शक्तिखोर बस्ने आफ्नी छोरीलाई भेट्न भन्दै घरबाट निस्किएका प्रजा त्यसपछि सम्पर्कविहीन भएका थिए। उनी हराएको भन्दै असार ३१ गते उनका आफन्तले जुटपानी प्रहरी चौकीमा उजुरी दिएका थिए।

बेपत्ता भएको करिब एक साता बितिसकेपछि खोजी गर्ने क्रममा शक्तिखोर जंगलमा सडेको अवस्थामा प्रजाको शव फेला परेको हो। मृतकले लगाएको कपडाबाट पहिचान खुलेपछि उनका आफन्तले शवको सनाखत गरेका थिए।

घटनाको जानकारी पाएपछि जुटपानी प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक यमप्रसाद सापकोटाको कमाण्डमा टोली खटिएको थियो। शव फेला परेको स्थान प्रहरी चौकीबाट करिब १९ किलोमिटर उत्तरतर्फ पर्छ। स्थानीय जनप्रतिनिधिको रोहबरमा शवलाई थप अनुसन्धान तथा पोस्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको प्रहरी स्रोतले जनाएको छ।

चितवनको खैरहनीमा सवारी दुर्घटनामा एकजनाको ज्यान गयो

चितवन, साउन ६ । चितवनको खैरहनीमा सवारी साधनको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका– ११ का ३१ वर्षीय राम अवतार रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सोमबार राति झन्डै सवा ८ बजेको समयमा खैरहनी नगरपालिका– १ शाहीचोकमा ना३च ६६१० नम्बरको बलेरोले पैदलयात्री अवतारलाई ठक्कर दिएको थियो ।

बोलेरोको ठक्करबाट गम्भीर घाइते उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा राति नै मृत्यु भएको हो । ठक्कर दिने बोलेरो र चालकलाई प्रहरीको नियन्त्रणमा लिएको छ ।

क्यानडाको ब्राम्पटनमा मेयर विनोद रेग्मीको उच्चस्तरीय भेटवार्ता, भगिनी सम्बन्ध स्थापना गर्न छलफल

चितवन। साउन ६- क्यानडाको भ्रमणमा रहेका कालिका नगरपालिका, चितवनका मेयर विनोद रेग्मीले क्यानडाको ब्राम्पटन नगरका मेयर प्याट्रिक ब्राउन र डेपुटी मेयर हरकिरत सिंहसँग मैत्रीपूर्ण भेटघाट गरेका छन्।

ब्राम्पटन नगरको कार्यालयमा आयोजित उक्त भेटघाटमा दुबै नगर बीच भगिनी सम्बन्ध स्थापना गर्ने विषयमा छलफल भएको बताइएको छ।

मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यका साथ दुबै नगरका प्रतिनिधिहरूले विकासको मोडल आदान–प्रदान गर्ने, अनुभव बाँड्ने र पालिकाबीच अध्ययन तथा भ्रमण आदान–प्रदान गर्ने सहमति पनि बनेको मेयर रेग्मीले क्यानाडाबाट जानकारी दिएका छन्।

सो अवसरमा कालिका नगरपालिकाको तर्फबाट ब्राम्टन नगरपालिकालाई नेपाल भ्रमणको निमन्त्रणा पनि प्रदान गरिएको छ।

कार्यक्रममा क्यानडा कन्जरभेटिभ पार्टीका नेता विजय पौडेल, प्रवासी नेपाली मञ्च क्यानडाका अध्यक्ष रमेश धिताल, एनआरएन क्यानडाका पूर्व अध्यक्ष तथा नेपाल हाउसका सभापति गोपिकृष्ण काफ्ले, प्रवासी मञ्च क्यानडाका सदस्यहरू शुदर्शन अधिकारी, विकास डल्लाकोटी, जगन सापकोटा लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

भेटघाट र छलफलको यो अवसरले नेपाल र क्यानडाबीचको स्थानीय तहको सहकार्यलाई थप बलियो बनाउने विश्वास गरिएको छ।

विदेश पढ्न चाहनेका लागि अवसर: चितवनमा ‘ग्लोबल एजुकेशन एक्सपो’ भोलि हुँदै

चितवन- एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनमा भोलि मंगलबार ५० भन्दा बढी युनिभर्सिटी तथा कलेजका प्रतिनिधिलाई प्रत्यक्ष भेट्न पाइने भएको छ । वर्षकै ठूलो शैक्षिक मेला ‘द एक्सपर्ट एज : ग्लोबल एजुकेशन एक्सपो’ मा पाँच देशबाट ती युनिभर्सिटी तथा कलेजका प्रतिनिधि उपस्थिन हुने छन् ।

भरतपुर–१०, स्थित एक्सपर्ट बेस क्याम्पमा हुने उक्त मेलामा अष्ट्रेलिया, क्यानडा, युके, न्युजिल्याण्ड र अमेरिकाका सर्वोत्कृष्ट युनिभर्सिटी तथा कलेजका प्रतिनिधि आउने छन् । बिहान १० देखि दिउँसो ३ बजेसम्म चल्ने मेलामा विद्यार्थीहरूले प्रत्यक्ष कुराकानी गरेर वैदेशिक अध्ययन र भिजा प्रोसेसिङका बारेमा सबै जानकारी लिन सक्ने एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ब्याचलर्स, मास्टर्स तथा रिसर्च लेभलका विभिन्न प्रोग्राममा पढ्न विदेश जान चाहने विद्यार्थीका लागि मेला फलदायी हुनेछ । यति धेरै प्रतिनिधि सहभागी हुने यो मेला वर्षकै ठूलो भएको उहाँले बताउनुभयो । ‘युनिभर्सिटीका प्रतिनिधिबाट प्रत्यक्ष लिइएको जानकारी आधिकारिक र प्रभावकारी हुने भएकोले उपस्थित भएर मौकाको फाइदा उठाउन आग्रह गर्दछु’–अधिकारी भन्नुभयो ।

एक्सपर्टले २१ वर्षदेखि शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आइरहेको छ । यहाँबाट अष्ट्रेलिया, क्यानडा, युके, युएसए, न्युजिल्याण्ड तथा आयरल्याण्डका विश्वविख्यात युनिभर्सिटी तथा कलेजमा अध्ययन गर्न जानका लागि शैक्षिक परामर्श प्रदान गरिन्छ । साथै एक्सपर्ट चितवनमा भाषा परीक्षाहरू आइइएलटिएस, पिटिई र स्याट तयारी कक्षा पनि सञ्चालन भइरहेका छन् ।

वाशिङ्टनमा मेयर रेग्मीको उपस्थितिमा ‘नेपालमा स्थानीय सरकार र विकासको मोडल’ विषयक गोष्ठी

निराजन घिमिरे, रत्ननगर- नेपालमा स्थानीय सरकार र विकासको मोडलबारे अन्तरक्रिया तथा गोष्ठी कार्यक्रम अमेरिकाको वाशिङ्टन डीसी नजिकैको फेयरफ्याक्स शहरमा सम्पन्न गरिएको छ।

गोष्ठीमा कालिका नगरपालिकाका मेयर विनोद रेग्मी प्रमुख अतिथि रहेका थिए। कार्यक्रमले प्रवासी नेपाली समुदायमा नेपालमा भइरहेको स्थानीय विकासप्रति चासो र सहकार्यको वातावरण निर्माण गरेको मेयर रेग्मीले जानकारी दिए।

कार्यक्रममा ‘स्मार्ट ठेगाना प्रणाली’ विकासको लागी कालिका नगरपालिकामा हालै सुरू गरिएको योजनाको प्रस्तुतीकरण गरिएको थियो। नेपालमा पहिलोपटक अमेरिकाको राजधानी वाशिङ्टन डीसीको जस्तै सडक नामकरण र घर नम्बर प्रणाली चितवनको कालिका नगरपालिकाको पदमपुर क्षेत्रबाट सुरु गरिएको उल्लेख गर्दै, सो योजनाबारे अमेरिका निवासी आईटी तथा साइबर सेक्युरिटी विज्ञ डा. रामहरी सुवेदीले विस्तृत कार्यपत्र प्रस्तुत गरेका थिए। सो अवसरमा उनले हालसम्मको प्रगति र आगामी योजनाका बारेमा सहभागीहरुलाई जानकारी गराए।

सो अवसरमा प्राध्यापक डा. विष्णु घिमिरेले २१औँ शताब्दीको स्थानीय विकास प्रविधिमैत्री हुनुपर्नेमा जोड दिँदै, शहरमुखी नगरपालिकाहरुले प्रविधिको अधिकतम प्रयोग गरी आफूलाई नमुना नगरको रूपमा स्थापित गर्न सक्ने धारणा व्यक्त गरे।

कार्यक्रमका प्रमुख वक्ता मेयर विनोद रेग्मीले कालिका नगरपालिकामा हाल सुरु गरिएको स्मार्ट ठेगाना प्रणाली केवल एक योजना नभएर भविष्यको परिकल्पना भएको स्पष्ट पारे। उनले जीपीएस प्रणालीमार्फत नगरको नक्सांकन, सडक रेखांकन र नामकरण, मुख्य चोकहरूमा दिशा–निर्देश बोर्ड जडान, घरहरूमा नामांकन (नम्बरिङ) लगायतका कार्यहरू थालिएको जानकारी गराउँदै यो अभियानलाई ‘स्मार्ट प्रशासन, सुशासन र पारदर्शिता’ मा रूपान्तरण गर्ने दीर्घकालीन दृष्टिकोण रहेको बताए।

उनले स्थानीय सरकारको भूमिका अब सीमित पूर्वाधार निर्माणमा मात्र सीमित नरही, प्रविधि, नवप्रवर्तन र डिजिटल पहुँचलाई प्राथमिकतामा राख्दै नागरिकसँगको सम्बन्ध अझ नजिक बनाउने दिशामा अघि बढिरहेको स्पष्ट पारे। उनले प्रवासी नेपालीहरूलाई पनि ज्ञान, अनुभव र स्रोतको साझेदारीमार्फत आफ्नो नगरपालिका र देशको विकासमा योगदान पुर्‍याउन आह्वान गरे।

कार्यक्रममा एनआरएनए एनसीसी युएसए भिए च्याप्टर अध्यक्ष विशाल कार्की, पूर्व अध्यक्ष कृष्ण सादगी भण्डारी, डा. श्याम थापा, डा. देशराज संयोग, डा. योगेन्द्र पनेरु लगायतका विशिष्ट व्यक्तिहरूले आ–आफ्नो धारणा राख्दै कालिकाको यो पहलप्रति प्रशंसा गर्दै प्रविधिमैत्री विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

अमेरिकामा आयोजना गरिएको ‘मिट एण्ड ग्रिट विथ मेयर रेग्मी’ शीर्षकको कार्यक्रमले नेपालमा स्थानीय सरकारको क्षमता, प्रविधिको प्रयोग र प्रवासी समुदायको भूमिका बारे सकारात्मक बहस सिर्जना गरेको सहभागीहरूले जनाएका छन् ।

रत्ननगर टाँडीकी दिलिजा रुवाली ‘द भ्वाइस अफ किड्स सिजन ४’ को लाइभ राउण्डमा

चितवन — गायन क्षेत्रमा सानैदेखि सक्रिय हुँदै आएकी दिलिजा रुवाली ‘द भ्वाइस अफ किड्स नेपाल सिजन ४’ को लाइभ राउण्ड अर्थात् भोटिङ चरणसम्म प्रवेश गर्न सफल भएकी छिन्।

धादिङ जिल्ला त्रिपुरासुन्दरी–०३ स्थायी घर भई हाल चितवनको टाडिमा बसोबास गर्दै आएकी दिलिजा, पिता दिनेश रुवाली र माता गीता भट्ट रुवालीकी सुपुत्री हुन्। उनले प्रारम्भिक चरणमा प्रभावशाली प्रस्तुति दिँदै ‘ब्लाइन्ड राउण्ड’ मा चारै जना कोचहरूको कुर्सी घुमाउन सफल भएकी थिइन्। आफ्नो पहिलो रोजाइका रूपमा उनले कोच सत्यराज आचार्यलाई चयन गरेकी थिइन्।

‘ब्याटल राउण्ड’ मा तीन प्रतियोगीबीचको प्रतिस्पर्धामा उनी सत्यराजको टिमबाट बाहिरिए पनि, कोच खेम सेन्चुरीले उनको स्वर र सम्भावनालाई चिनेर ‘स्टिल बटन’ प्रयोग गर्दै आफ्नो टिममा समावेश गरे। यसरी दिलिजा अहिले ‘टीम खेम’ बाट लाइभ राउण्डमा पुग्न सफल भएकी हुन्।

सानैदेखि विभिन्न गीत प्रतियोगितामा सहभागी हुँदै आएको दिलिजाले थुप्रै सम्मान र पुरस्कारहरू प्राप्त गरिसकेकी छन्। उनको स्वर, भाव, प्रस्तुति र आत्मविश्वासले दर्शक र निर्णायक दुवैलाई प्रभावित पार्दै आएको छ।

अब भने निर्णायकको जिम्मेवारी दर्शकको हातमा आएको छ। चितवन, धादिङ, र देश–विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई दिलिजा रुवालीलाई भोट गरेर जिताउन परिवारले अनुरोध गरेको छ।

भोटिङ प्रक्रिया बारे जानकारी आगामी एपिसोडमार्फत सार्वजनिक गरिने कार्यक्रम स्रोतले जनाएको छ। त्यसैले कार्यक्रम हेरी, जानकारी लिएर दिलिजालाई जिताउन सबैलाई आ–आफ्नो ठाउँबाट योगदान पुर्‍याउन उनका बाबु दिनेश रुवालीले आग्रह गरे।

सबैको साथ र सहयोगले नै दिलिजालाई ‘द भ्वाइस अफ किड्स नेपाल सिजन ४’ को उपाधि दिलाउन सकिनेछ।

रोपाइँमा दही–चिउरा खाजा खाएका एकै घरका छ जना बिरामी

उज्यालो नेपाल– मकवानपुरको बकैया गाउँपालिका–७ रानिदमारमा खाजाको रुपमा दही–चिउरा खाँदा एकै घरका ६ जना बिरामी परेका छन्। स्थानीय इन्द्रबहादुर भोलनको खेतमा रोपाइँको क्रममा खाजाका लागि घरमा बनाइएको दही र चिउरा खाएपछि उनीहरू बिरामी परेका हुन्।

घटनामा भोलन परिवारका छ जना बिरामी भएका थिए। तीमध्ये चार जना सामान्य उपचारपछि घर फर्किएको मकवानपुर प्रहरीले जनाएको छ। भोलनकी १७ वर्षीया छोरी सुनिता भोलनलाई उपचारको लागी हेटौंडा अस्पतालमा भर्ना गरिएको छ।

यस्तै, भोलनका एक वर्षीय नाति समिर भोलनलाई भने प्रारम्भिक उपचारपछि चितवनको पुष्पाञ्जली अस्पतालमा रिफर गरिएको छ। दहि चिउरा खाएका व्यक्ति किन बिरामी भए भन्ने बारेमा अनुसन्छधान भईरहेको प्रहरीले जनाएको छ ।

चितवनमा आज शैक्षिक हडताल

रत्ननगर, साउन २ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) चितवनले आज साउन २ गते शुक्रबार चितवनका शिक्षण संस्थाहरू बन्द (शैक्षिक हडताल) गर्ने घोषणा गरेको छ। यो कार्यक्रम शिक्षा क्षेत्रमा आमूल परिवर्तन, निःशुल्क, समान र वैज्ञानिक शिक्षा प्रणाली स्थापना गर्ने मागसहित आयोजना गरिएको हो।

संस्थाका जिल्ला अध्यक्ष किरण गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको भाग २ धारा ३१ मा प्रत्येक नागरिकलाई आधारभूत तहसम्म अनिवार्य र निःशुल्क शिक्षा तथा माध्यमिक तहसम्म निःशुल्क शिक्षा पाउने मौलिक हकको व्यवस्था भए पनि राज्यले शिक्षालाई व्यापार र व्यवसायको रूपमा सञ्चालन गर्न प्रोत्साहन दिएको छ, जुन संविधान र जनताको मौलिक हकविरुद्ध छ।’

अखिल (क्रान्तिकारी) ले २०२८ सालको शिक्षा ऐन खारेज गरी संविधानअनुरूप जनपक्षीय नयाँ शिक्षा ऐन जारी गर्न र शिक्षाको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने माग राख्दै आएको छ। यसका लागि संगठनले २०८२ असार २० गतेदेखि चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। साउन २ गतेको शैक्षिक हडताल सोही आन्दोलनको एक हिस्सा हो।

विज्ञप्तिमा निजी शिक्षण संस्थाहरूको जिम्मेवारी राज्यले लिनुपर्ने र निश्चित प्रक्रियामार्फत निजी शिक्षालयमा गरिएको लगानी फिर्ता तथा त्यहाँ कार्यरत जनशक्तिको व्यवस्थापन गर्नुपर्ने माग पनि राखिएको छ। ‘निःशुल्क, समान र वैज्ञानिक शिक्षा प्रणाली सबैको हितमा छ,’ विज्ञप्तिमा उल्लेख छ।

अध्यक्ष गौतमले सम्पूर्ण शिक्षण संस्थाहरू, विद्यार्थी, शिक्षक र अभिभावकहरूलाई साउन २ गतेको शैक्षिक हडतालमा सहभागी भई जनपक्षीय शिक्षा ऐनको पक्षमा उभिन अपिल गरेका छन्। उनले यो संघर्षमा सबैको साथ र समर्थन रहने विश्वास व्यक्त गरेका छन्।