Home Blog Page 33

कालिका नगरपालिकाको दोश्रो कार्यकालको सातौँ नगरसभा ( फोटो फिचर)

रत्ननगर कालिका नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । असार ४ गते बुधबार आयोजित सो नगरपालिकाको दोस्रो कार्यकालको सातौँ नगरसभाबाट ९५ करोड सात लाख २० हजारबराबरको बजेटसहित शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणलाई जोड दिएर बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो । नगरसभामा मेयर विनोद रेग्मीले नीति तथा कार्यक्रम र उपमेयर विमला तामाङले बजेट प्रस्तुत गरेकी हुन् ।

तस्बिरमा हेर्नुहोस नगरसभाको झलक

कालिकाको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक : बजेट ९५ करोड ७ लाख

रत्ननगर । पूर्वी चितवनको कालिका नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

बुधबार आयोजित सो नगरपालिकाको दोस्रो कार्यकालको सातौँ नगरसभाबाट ९५ करोड सात लाख २० हजारबराबरको बजेटसहित शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणलाई जोड दिएर बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो । नगरसभामा मेयर विनोद रेग्मीले नीति तथा कार्यक्रम र उपमेयर विमला तामाङले बजेट प्रस्तुत गरेकी हुन् ।

मेयर रेग्मीले विपन्नलाई आवास, एक घर दुई बिरूवा, कृषि व्यवसायमा कर छूट, नगर खानेपानी बोर्ड स्थापना, सडक मर्मत कोष निर्माण, रैथाने बाली जोगाउन अधिकतम अनुदानलगायतका योजना नीति तथा कार्यक्रममा समेटिएको बताए । आर्थिक अभावका कारण झुप्रोमा बस्दै आएको विपन्न वर्गका लागि एक वर्षमा ५० वटा घर निर्माण गर्ने गरी आवास निर्माण कार्यक्रम ल्याइएको मेयर रेग्मीले बताए ।

नगरपालिकाले अवलम्बन गरेको नीति र कार्यक्रमहरुलाई आत्मसात् गर्दै आगामी आव ०८२/०८३ का लागि राजस्च तथा अनुदान प्राप्तिको अनुमानका आधारहरुमा कुल बजेट रकम ९५ करोड सात लाख २० हजार विनियोजन गरेको राजस्व परामर्श समितिकी संयोजकसमेत रहेकी उपमेयर तामाङले जानकारी दिइन् ।

बजेटमा संघीय सरकारतर्फ समानीकरण अनुदान १३ करोड ८५ लाख, सशर्त अनुदान २५ करोड ५८ लाख, विशेष अनुदान दुई करोड ८५ लाख, समपूरक अनुदान ७३ लाख र राजस्व बाँडफाँट १२ करोड ४६ लाख ९४ हजार र बागमती प्रदेश सरकारतर्फ समानीकरण अनुदान एक करोड ४० लाख १६ हजार प्राप्त हुने अनुमान गरिएको छ ।

त्यसैगरी, सशर्त अनुदानतर्फ दुई करोड ५५ लाख २५ हजार, विशेष अनुदान ६५ लाख, समपूरक अनुदान दुई करोड ३२ लाख, राजस्व बाँडफाँटमा पाँच करोड ७६ लाख ८५ हजार, आन्तरिक आयतर्फ सात करोड, जनसहभागिताबाट एक करोड ५० लाख सडक बोर्डबाट ४० लाख, मालपोत रजिष्ट्रेसनबापत पाँच करोड र नदीजन्यबाट दुई करोड तथा चालू वर्षको जिम्मेवारी सर्ने ११ करोडसमेत समावेश गरी जम्मा ९५ करोड सात लाख २० हजारको बजेट प्रस्तुत गरिएको छ ।

नगरसभामा चालू वर्षको आर्थिक गतिविधि तथा बजेट कार्यान्वयनको समीक्षा गरिएको छ । चालू आर्थिक वर्षमा छ करोड राजस्व सङ्कलन हुने अनुमान गरिएकोमा ज्येष्ठ मसान्तसम्म चार करोड ६७ लाख २३ हजार प्राप्त भएको हुँदा चालू आर्थिक वर्षको अन्त्यसम्ममा लक्ष्यअनुसारकै राजस्व सङ्कलन हुने अनुमान गरिएको छ ।

कुल खर्च ९२ करोड ९७ लाख ७४ हजार रूपैयाँ हुने अनुमान गरिएकोमा सघीय सरकार तथा बागमती प्रदेश सरकारबाट हालसम्म ७१ करोड २८ लाख ६३ हजार छ सय ६० प्राप्त भएको छ । चालू आर्थिक वर्षको जेष्ठ मसान्तसम्म चालू खर्चतर्फ ४९ करोड ७१ लाख ६४ हजारमध्ये ३५ करोड ९६ लाख ४२ हजार अर्थात् ७२.३४ प्रतिशत खर्च र पुँजीगततर्फ ४३ करोड २६ लाख नौ हजारमध्ये १८ करोड ५० लाख ४० हजार अर्थात् ४२.७७ प्रतिशत खर्च भएको तथा कुल खर्च रकम ५४ करोड ४६ लाख ८२ हजार अर्थात् ५८.५८ प्रतिशत भएको छ ।

सो नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा घुम्ती शिविरमार्फत नगरवासीको घरदैलोमा सेवा प्रदान, भ्रष्टाचारविरूद्ध शून्य सहनशीलता, उत्कृष्ट काम गर्नेलाई सम्मान, मेयर केयर कार्यक्रमलाई निरन्तरता, एक वडा एक खेल मैदान, नगरस्तरीय आधुनिक पुस्तकाल निर्माण, कालिका अस्पतालमा इन्डोर सेवा सञ्चालन, २०८३ असोजसम्म बालमैत्री नगर घोषणा, बालबालिकासँग उपमेयर कार्यक्रम, सामूहिक खेती गर्नेलाई अनुदान दिने मेयर रेग्मीले बताए । मीठोमसिनो, पोसिलो खाऊँ तर खाना नफालौँ भन्ने नारालाई आत्मसात् गरेको नगरपालिकाले रैथाने बाली जोगाउन फापर, कोदो, अदुवा, हलेदो, पिँडालुको बीउमा अनुदान दिने घोषणा गरेको उनले बताए ।

नगरसभाले संस्थागत तथा सुशासन समितिका संयोजक दीपकबहादुर भट्टराईले प्रस्तुत गरेको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण, करार कर्मचारीको म्याद थपसम्बन्धी प्रस्ताव पारित भएको नगर प्रवक्ता लक्ष्मण पौडेलले जानकारी दिए ।

नगरसभामा सामाजिक विकास समिति संयोजक मकरमान श्रेष्ठ, पूर्वाधार विकास समितिका संयोजक लक्ष्मण पौडेल, वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक वीरेन्द्र तामाङ, आर्थिक विकास समितिकी सदस्य सम्झना परियार, लेखा समिति संयोजक टीकाराम रेग्मीले विषयगत समितिको प्रतिवेदन प्रस्तुत गरेको प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंले जानकारी दिए ।

अन्तरजातीय विवाहको चोट खेप्दै मनिका परियार, घरबाट निकालिएको गुनासो

गोरखा,असार १२- असारको हपहपी गर्मी, एउटा ढोका मात्र भएको, बिनाझ्यालको एक कोठे टहरो । जस्ताले छाएको होचो अनि साँगुरो खोपीभित्र घामको रापले उखरमाउलो गर्मी छ । सकसलाग्दो यो कालकोठरीभित्र खलखल पसिना काढ्तै ओत लाग्दै छन्, महिना दिनकी सुत्केरी मनिका परियार र उनका नवजात शिशु । आफ्नो नाममा नङमा लाउने माटो पनि नभएको उनी काकी नाता पर्ने पार्वती परियारले ओत लाग्न दिएको यो टहरोलाई सुविधासम्पन्न दरबार मान्न बाध्य छिन् ।

सहिदलखन गाउँपालिका–१ बक्राङ समिडाँडाकी २१ वर्षीया मनिकाको आशा र भरोसाको त्यान्द्रो एक महिने छोरा यही टहरोभित्र हुर्कँदै छ । जुन शिशु गर्भमा आएदेखि आफू पतिबाट र घरबाट लखेटिइन्, माइतीबाट पनि एक्लिइन्, उनै शिशुलाई उनले गत जेठ १० गते गोरखा अस्पतालमा जन्माएकी थिइन् ।

“अनि बाबुको नाम चाहिँ के राखिदिनुभयो त रु”, यो प्रश्नले मनिकालाई झन भारी चोट दियो । उत्तर दिन नसकेर छाँगाबाट खसेजस्तै भइन् र फेरि सम्हालिँदै भनिन्, ‘खोइ दिदी, बाबु एक महिनाको भइसक्यो तर नाम के राख्ने केही सोचेकी छैन । न्वारान गरेको भए पो नाम राख्नु ।” मनिकाले २०८० साल मङ्सिरमा धादिङको गजुरी गाउँपालिका–२ छेपाङका २३ वर्षका मिलन श्रेष्ठसँग बिहे गरेकी थिइन् । अन्तरजातीय विवाह भएकाले मिलनको घर परिवारले सहजै स्वीकार गर्ला भन्ने आशा मनिकालाई थिएन । “तपाईँ नेवारको छोरो, म दमाइकी छोरी । तपाईँको घरपरिवारले मान्दैन, नबोलौँ भन्थेँ म । उ ९मिलन० भने साह्रै जिद्दी, मलाई फकाएर, घुक्याएर अनि एकपटक त तीन तले घरको छतबाट हाम्फालेर माया जालमा फँसायो”, मनिकाले भनिन्, “जीवनमा कहिले कसैको माया नपाएकी म, उसको कुरामा सजिलै फँसिहालेँ । उसले मलाई घरमा बाहुनी हो भनेर धुमधामले भित्र्यायो । इष्टमित्र, छरछिमेक बोलाएर भोजभतेर पनि ग¥यो । मैले नढाटौँ भनेकी थिएँ तर उसले बिहे भइसकेपछि जसरी पनि मान्छन्, चिन्ता नगर भन्थ्यो । मैले पनि उसले भनेजस्तै गरेँ ।”

बिहेपछि उनीहरू चितवनको कार्यथलो फर्किएका थिए । उनीहरू दुवैजना चितवनको भरतपुर महानगरपालिका–१ गोद्राङस्थित कोकाकोला फ्याक्ट्रीमा काम गर्दथे । “हामी चितवन आएपछि मिलनको घरमा मेरो जात थाहा भएछ । मिलनको आमा–बाले हामीलाई फोन गरेर तिमीहरू मर्‍यौँ, अब यहाँ नआउनु भन्नुभयो । त्यसपछि उसको घर जाने कुरै भएन”, मनिकाले भक्कानिँदै भनिन् । उनलाई आज पनि त्यही ग्रहण लागेका दिनहरूको याद आयो । विसं २०७५ मा १४ वर्षको उमेरमा गाउँको एकजना चिनेजानेको दिदीको पछि लागेर चितवन पसेकी थिइन । उनै दिदीले मनिकालाई कोक फ्याक्ट्रीमा काम लगाइदिएकी हुन् । उनी भन्छिन्, “म गाउँको महेन्द्रशक्ति माविमा पढ्थेँ । आठ कक्षामा फेल भएँ । सँगैको साथीहरू माथिल्लो कक्षा पुगे । म लाज लागेर पढ्न गइनँ । मेरो घरको आर्थिक अवस्था पनि राम्रो थिएन, अभावै अभाव थियो । त्यसैले दुईचार पैसा कमाउँछु भन्ने सोचेर चितवन पसेकी थिएँ ।”

कोक फ्याक्ट्रीमा काम गर्ने क्रममा उनको मिलनसँग भेट भयो । सँगै काम गर्ने क्रममा उनीहरू नजिकिन थाले । “काम गर्दै जाँदा चिनजान भयो । एकदिन, दुईदिन बोल्दै जाँदा ऊ मसँग धेरै नै नजिक हुन थाल्यो, पछिपछि त बिहे नगरे आत्महत्या गर्छु भन्दै धम्की दिन थाल्यो”, उनले भनिन्, “म सानो मान्छे, अभावै अभावमा हुर्किएको, घरपरिवारबाट पनि माया नपाएकी । उसले त्यस्तो गर्दा माया गर्छ होला नि त भन्ने लाग्यो । फ्याक्ट्रीमा काम गर्ने अरु दिदीबहिनीले पनि यो त पागल छ तेरो लागि, केही गरिहाल्यो भने गाल पर्छ भन्थे त्यसैले, पनि बिहे गरेकी हुँ ।”

मनिका र मिलनले काम गर्ने कोक फ्याक्ट्रीले गत वर्ष चैतमा उनीहरूसँगै अरु थुप्रै कर्मचारीलाई कामबाट हटायो । चितवनको ठाउँ, बिना काम दुईजना कोठामा बस्न खान समस्या भएपछि उनीहरू वैशाख ९२०८१०मा रोजगारीको खोजीमा काठमाडौँ पुगे । काठमाडौँमा मिलनले मासु पसलमा काम पायो । मनिका भने सानोतिनो कामको खोजीमा थिइन् ।

“काम खोज्दै थिएँ, मङ्सिरमा बच्चा बस्यो । मेरो सोच त बच्चा नराख्ने नै थियो । उमेर पनि धेरै भाको छैन, दुईजनाको राम्रो कमाइ छैन । खाने बस्ने ठेगान पनि थिएन”, उनले भनिन्, “मिलनले भने जसरी पनि पछि पाउनु परिहाल्छ । बच्चा राख्नी भन्यो । उसैको करले बच्चा राखेँ । जसोतसो दुःख गरेर बच्चा हुर्किएला भन्ने सोचेर हामीले बच्चा राखेका थियौँ ।” गर्भवती भएपछि मनिकालाई डेङ्गीको सङ्क्रमण भयो । डेङ्गीले धेरै नै थलिएपछि डाक्टरले गाउँमा गएर बस्न सुझाव दिएको उनको भनाइ छ ।

“डेङ्गी लागेपछि काठमाडौँ बस्न गाह्रो भयो मलाई, गजुरी जाने कुरै भएन त्यसैले यहीँ माइतमा आएर बसेँ । मिलनलाई उतै काम गर्नु भनेर म यता आको । पछि त, ऊ पनि काम छाडेर मैसँग आयो”, उनले भनिन् । दुवैजना बक्राङ आएर बसेको केही समयपछि उनले मिलनलाई काम गर्न झापा पठाइन् । बक्राङकै दाजुभाइहरूसँग पैसा सरसापटी गरेर मिलनलाई काम गर्न झापा पठाएको उनी बताउँछिन् ।

“यहाँ गाउँमा खासै काम पाइन्न । बच्चा जन्मिएपछि पैसा चाहिन्छ भनेर मिलनलाई गएको पुसमा यतै गाउँको दाजुभाइमार्फत झापा पठाएँ । त्यतिबेला मसँग मोबाइल थिएन । मिलन झापा गएपछि हाम्रो खासै फोन सम्पर्क पनि भएन । उता गएपछि ऊ धेरै परिवर्तन भएछ”, त्यसपछि सुरू भएको कालो दिनको स्मरण गर्दै उनले भनिन्, “ऊ झापा गएपछि गाउँका दिदीहरूले तेरो बुढाले फेसबुकमा अरू केटीको फोटो हालेको छ भन्न थाले । मैले पनि अरुसँग मोबाइल मागेर हेरेँ । फोन गरेँ तर उसले मसँग झगडा मात्र गर्न थाल्यो । मैले धेरै नै बोलाएपछि बल्लबल्ल फागुनको १६ गते यहाँ आयो । मेरो लागि मर्न तयार भएको मिलन थिएन, यतिबेला अर्कै भइसकेको रहेछ । उसको चारपाँच दिन बसाईमा हामीबीच सय पटक झगडा भए । त्यसपछि ऊ निस्केर गयो, त्यसयता उसको कुनै खबर छैन ।”

यति कुरा गर्दासम्म मनिकाको आँखामात्र आँसुले भिजेका थिएनन्, गालामा डामपार्दै छातीतिर गुडुल्किरहेका थिए । उनका अनुसार मिलन गएको फागुनमा आउँदा आमाले घरमा बोलाको छ भनेर निस्केका थिए । मिलन गएको केही दिनपछि मनिकाको काकी पार्वतीलाई मिलनको गाउँले भाइको फोन आयो । फोन गर्ने मान्छेले मिलनले घरमा अर्को केटी लिएर आएको खबर दिएको मनिकाले बताइन् । “यहाँबाट गएपछि पहिलाको बूढीले छोडेर गई भन्दै फेरि अर्को केटी घर लगेछ । दोस्रो केटी पनि अर्कै जातको लगेपछि दुवैजनालाई घरबाट लखेटिदिएको रे भन्ने उसको गाउँको एकजना भाइबाट थाहा भयो”, मनिकाले गहँभरि आँसु पार्दै भनिन्, “मेरो पेटमा उसको बच्चा छ अनि, उ चाँहि यो सबै गर्दै हिँडेको छ भन्ने थाहा पाए पछि म छाँगाबाट खसेजस्तै भएँ । यो सबै सुन्ने बित्तिकै म केही नसोची काकीसँग रु १००सापट मागेर खैरेनी पुगेँ ।

पैसा थिएन, गहनाको नाममा एउटा चाँदीको सिक्री र सानो चाँदीको औँठी थियो । खैरेनीमा त्यही बेचेँ । मसँग फोन पनि थिएन त्यसैले खैरेनीबाट मामाको छोरीलाई लिएर गजुरी गएँ । गजुरी पुगेर दिदीको फोनबाट मिलनलाई कति फोन म्यासेज गरे तर उठेन । म त पागलजस्तो कहाँ जाने कसलाई भन्ने भएँ । गजुरीमा एउटा पुलिसचौकी रहेछ । त्यहाँ उजुरी दिन गाको पैसा लाग्छ भन्नुभयो । मसँग फर्किनको लागिमात्र पुग्ने पैसा थियो । पैसाको यतिसम्म अभाव थियो कि पानी किनेर खाने पैसा समेत थिएन । पेटमा बच्चा छ, गाडीमा अरुले पानी खाको देखेर थुक निल्दै गजुरीबाट खैरेनी फर्कियौँ । सिक्री बेचेको पैसाले दिदी र मलाई आउन जान मात्र ठिक्क भयो । खैरेनी आएर एकरात मामाघर बसेँ । मनको पीडा कसलाई सुनाउनु, भोलिपल्ट घर फर्किएँ । कुकुरले नपाएको दुःख पाउनु भनेको यसलाई नै भन्छ होला है दिदी ।” यति भनिरहँदा उनको भक्कानो फुटिसकेको थियो ।

मिलन सम्पर्कविहीन भएपछि उनलाई गाउँका दिदीबहिनीहरूले यस्तो अवस्थामा छस् पक्कै आउँछ होला भन्दै सान्त्वना दिन्थे । “मिलन सम्पर्कविहीन भएको पनि तीन महिना बितिसक्यो । यसबीचमा मैले जे जति दुःखकष्ट भोगेँ त्यो सम्झँदा अब मलाई कोही चाहिन्न जस्तो लाग्छ”, उनी भन्छिन्, “जेठ ६ गतेको डेट थियो मेरो । तर, बच्चा पाउने सुरसार भएन । ९ गते बिना पैसा गोरखा अस्पतालमा भर्ना हुन गएँ । बच्चा पनि छ घण्टा अड्कियो । बल्लतल्ल बच्चा त जन्मियो । तर, बच्चालाई जन्डिस र थाइराइड देखिएछ । मलाई गोरखा अस्पतालमा राखेर बच्चालाई थप उपचार गर्न भरतपुर सरकारी अस्पताल लग्यो । बच्चालाई भरतपुर अस्पतालमा तीन दिन एनआइसियुमा राख्यो । मेरो उपचार, बच्चाको उपचार, सुत्केरी हुँदाको सबै खर्च खानापिना अहिलेसम्म सबै सहयोग जुटाएको पैसाले जसोतसो धानेको छु । गाउँको शिव विक ९दाइ० र मन्दिरा विक ९भाउजु०ले सबै सहयोग गर्नुभयो । गाउँमा अरुले पनि सहयोग जुटाएर सबै उपचार खर्च टारेको छु ।”

श्रीमान्को साथको खाँचो हुँदा एक्लै परेकी मनिकालाई अब कसैसँग कुनै आशा छैन । “यस्तो अवस्थामा छोडेर जाने पापीसँग के आशा राख्नु रु मेरो लागि त मरिसक्यो ऊ । अब आएर छोरालाई नाम दिए, उसको हकअधिकार दिलाइदिए हुन्छ । मचाहिँ अब यस्तै हो, आमाको अभाव बुझेकी छु । दुःखसुख गरेर बाबुलाई ठूलोमान्छे बनाउनु नै मेरो जीवनको लक्ष्य छ”, उनले भनिन् ।

“के बनाउने लक्ष्य छ नि बाबुलाई रु”, थोरै हाँस्दै मनिकाले भनिन्, “अञ्जानमा सम्बन्ध भयो, भविष्य पनि जानेको छैन त्यसैले उसको बाउ नआए पनि नाम अञ्जन राखिदिन्छु । के बन्छ त अब उसको भाग्यको कुरो हो, जे होस् यसको बाउ जस्तोचाहिँ नहोस् । असल, ठूलो मान्छे होस् ।”

मनिका आफू सात वर्षको हुँदा आमा बितेको बताउँछिन् । “आमाको त केही सम्झना नै छैन । बुबा इण्डियातिर हुनुहुन्थ्यो आमा बित्दा । भाइ जम्मा दुई वर्षको थियो । म र भाइलाई हजुरआमाले हुर्काउनुभएको हो”, उनले भनिन्, “आमा बितेको धेरै वर्षपछि मात्र बुबा घर आउनुभयो । बुबाले दोस्रो बिहे त गर्नुभएन तर हाम्रो हेरविचार पनि गर्न सक्नुभएन । गाउँमा यस्तै त हो । पैसाको अभाव, फेरि बुबा बूढो हुनुहुन्छ अरूले जस्तो काम पनि गर्न सक्नुहुन्न ।” बुबाले आफू आठ कक्षामा पढ्दापढ्दै पढाइ छोड्दा, चितवनमा काम गर्न जाँदा, कलिलो उमेरमै बिहे गर्दा र अहिले बच्चा जन्माउँदा समेत केही नभनेको मनिका सुनाउँछिन् ।

“बुबाले त केही भन्नुहुन्न, धेरै बोल्नु पनि हुन्न । त्यही भएर नै म र मेरो १९ वर्षको भाइ अहिले अलपत्र परेका हौँ । भाइ पनि अहिले पोखरातिर गाको छ पढाइ छाडेर । तर, बुबालाई केही मतलब हुन्न । सायद आमा भइदिएको भए हामीलाई सम्झाउनुहुन्थ्यो होला, मेरो यस्तो अवस्था आउँदैन थियो होला । यदि यही अवस्थामा पनि आमा भइदिएको भए मेरो स्याहारसुसार गर्नुहुन्थ्यो होला”, गहँभरि आँसु पार्दै मनिकाले भनिन् ।

दुःखको रहरमा पौडिएर हुर्केको अहिले झन ठूलो दुःखको सागरमा डुब्नुपरेको दुखेसो गर्दै उनले भनिन्, “मेरो जिन्दगी हाँडीबाट उछिट्टिएर भुङ्ग्रोमा परेको माछोझैँ भयो ।” रासस

गैंडाले आक्रमण गर्दा चितवनमा एकजनाको ज्यान गयो

चितवन — चितवनमा गैंडाले आक्रमण गर्दा एकजनाको ज्यान गएको छ। राष्ट्रिय निकुञ्ज आडको मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका ५२ वर्षीय सनिश्चरा दराईको बिहीबार बिहान गैंडाले आक्रमण गर्दा ज्यान गएको हो ।

निकुञ्ज कार्यालयका सूचना अधिकारी रहेका संरक्षण अधिकृत अविनाश थापा मगरका उनी राप्ती नगरपालिका–६ स्याउली टोलका हुन् । राप्ती एकता मध्यवर्ती सामुदायिक वनको भसामाडी तल्लो ताल क्षेत्रमा घाँस काट्न गएका बेला सनिश्चरालाई गैंडाले आक्रमण गरेको चितवन निकुञ्जको खगेन्द्रमल्ली मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नवराज पाठकले बताए । उनको घटनास्थलमै ज्यान गएको हो ।

बिहान ६ बजेतिर उनलाई गैंडाले आक्रमण गरेको थियो । घटनास्थलमा हसियाँ, एउटा खाली बोरा र एक मुठा घाँस पनि रहेको उनले बताए । ‘बिहान घाँसको जोहो गर्न गएका बेलामा घटना भएको हो,’ अध्यक्ष पाठकले भने ।

जंगली जनावर ओहोरदोहोर गर्ने क्षेत्रमा सावधान भएर क्रियाकलाप गर्न निकुञ्ज प्रशासनले अपिल गरेको छ । चार जिल्ला जोडिएको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघ, गैंडा, जंगली हात्ती, बँदेल, गोहीजस्ता जंगली जनावरको आक्रमणमा परेर बर्सेनि ५ देखि २५ जनासम्मको ज्यान जाने गरेको छ ।

काकाकुल माधवपुरलाई पानी खुवाउने दिगदर्शन खानेपानी पुन: सुचारु

रत्ननगर- कुनै समय काकाकुल जस्तै बनेको साबिक पिठुवाको वडा नं. ७,८ र ९, हाल रत्ननगरको वडा नं. १५ माधवपुरलाई पानी खुवाएको दिगदर्शन खानेपानी पुन: सुचारु गरिएको छ । वि.स २०६६ सालताका एकगाग्रो खानेपानीकै लागी जुटपानीको तिनधारे र चारधारेमा घन्टौ लाईनमा बस्नुपर्ने बाध्यता झेलेका माधवपुरेका घर अगाडी पानीको धारो झारिदिने सो खानेपानी अनियमित भएको केहि समय पश्चात पुन: सुचारु गरिएको हो ।

माधवपुरका १५२ घरधुरीले प्रयोग गर्दै आईरहेको सो खानेपानीले १९ वटा धारा मार्फत सेवा प्रदान गर्दै आईरहेको थियो। पछिल्लो समय सो खानेपानीका अधिकांस उपभोक्ताले पिठुवा खानेपानी मार्फत सेवा लिइरहेका छन् । घरघरमा निजि धारा जडान भएपछी दिगदर्शन खानेपानी उपेक्षामा परेको थियो ।

“उपभोक्ता नै निष्क्रिय बनेपछि संचालक समितिले मात्रै चाहेर खानेपानी संचालन गर्ने अवस्था नरहेको”, संस्थाका अध्यक्ष गोपाल नेपालले जानकारी दिए । उनका अनुसार संचालक समिति र सल्लाहकार समितिको निर्णय बमोजिम संस्थामा रहेको मौजात रकम उपभोक्तालाई नै फिर्ता गरेर अचल सम्पती सहित पिठुवा खानेपानी संग ‘समाहित’ हुने निर्णय गरिएको थियो ।

सो निर्णय कार्यान्वयन नहुँदै अर्को उपभोक्ता समिति मार्फत ‘खानेपानी नियमित’ गरिएको हो । बागमती प्रदेश सरकारले आ.व २०८१/८२ मा सो खानेपानीको लागी ५ लाख बजेट विनियोजन गरेको थियो । सोहि योजना कार्यान्वयन गर्न स्थानीय हरि प्रसाद ढकालको अध्यक्षतामा बनेको उपभोक्ता समितिले नै ‘खानेपानी नियमित’ गरेको हो ।

प्रदेश सरकारको बजेटबाट समितिले मुहान संरक्षणको कार्य सम्पन्न गरेको छ । गत शनिबार आयोजित उपभोक्ताहरुको एक भेलाले सो योजनाको खर्च सार्वजनिक गरेको थियो । विनियोजन भन्दा केहि रकम घटेर भएको सम्झौता अनुसार प्रदेश सरकारको कुल ३ लाख त्रिसठ्ठी हजार र जनश्रमदान ४० हजार गरि झन्डै ४ लाख ४ हजार बराबरको कार्य सम्पन्न गरिएको छ ।

भेलामा वडाध्यक्ष आसिक तामाङले ‘अप्ठेरो अवस्थामा पानी खुवाएको’ यस्ता ग्रामिण खानेपानीको संरक्षण गर्नुपर्नेमा जोड दिए । प्रविधि र आधुनिकतामा निर्भर खानेपानी संस्थाको सेवा कुनैपनि बेला अवरुद्ध हुनसक्ने भन्दै तामाङले प्राकृतिक मुहानबाट संचालन हुने दिगदर्शन खानेपानीको संरक्षणको लागी स्थानीय सरकार सधै साथमा रहने बताए ।

कार्यक्रममा वडा सदस्य ईमप्रसाद पन्त, संस्थाका संस्थापक अध्यक्ष प्रभु लामिछाने, पुर्व अध्यक्ष भोजराज लामिछाने, पिठुवा खानेपानीका सचिव रुपेश तिवारी लगायतले मन्तव्य राखेका थिए ।

दिगदर्शन सामुदायिक भवनमा भएको सो कार्यक्रम उपभोक्ता समिति सचिव हेमप्रसाद पन्तले संचालन गरेका थिए ।

रत्ननगरका महिलालाई आयआर्जनसंग जोड्न बाटेको धुप बनाउने तालिम

रत्ननगर, असार ११ गते । रत्ननगर नगरपालिका –१६ नम्बर वडाका महिलाहरुका लागि धूप बनाउने पाँचदिने तालिम सञ्चालन गरिएको छ । यहाँका महिलाको आय आर्जनमा वृद्धि गर्ने उद्देश्यले तालिम संचालन गरिएको वडाध्यक्ष हेमराज थापाले बताए ।

थापाका अनुसार बि.जी. टी इन्स्टिच्युट ईच्छाकामनाको समन्वय र रत्ननगर नगरपालिकाको आयोजनामा महिलाहरुको लागि ५ दिने वनस्पति युक्त बाटेको धूप बनाउने तालिम सञ्चालन गरिएको हो ।

तालिमको बुधबार एक कार्यक्रमका बीच समापन गरिएको छ। समापन कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख यादव पाठकले तालिममा सिकेको सीप व्यवहारमा उतार्न सहभागीलाई सुझाव दिए ।

कार्यक्रममा पिठुवा सिंचाईका अध्यक्ष देवबहादुर राना, पिठुवा सिकाई केन्द्रका अध्यक्ष नेत्र घिमिरे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
सो अवसरमा वडा सदस्यहरू ज्ञानेन्द्र रेग्मी, चिजकुमार श्रेष्ठ, सरिता गुरुङ, वडा सचिव मञ्जु पौडेल लगायतको उपस्थिति थियो।

तालिममा वडाका विभिन्न टोल र समुदायको प्रतिनिधित्व गर्दै झण्डै ६५ जना महिला सहभागी भएका थिए । सहभागीहरुलाई प्रशिक्षक अप्सरा तिमल्सिनाले सहजीकरण गरेकी थिइन्।

वडा सदस्य ज्ञानेन्द्र रेग्मीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम बि.जी. टी इन्स्टिच्युटका प्रतिनिधि कुलबहादुर गुरुङले सञ्चालन गरेका थिए।

रत्ननगर नगरपालिकाकाे नगर सभा : एक अर्ब ५४ कराेड ६५ लाख बजेट विनियाेजन

रत्ननगर । रत्ननगर नगरपालिकाले आर्थिक बर्ष २०८२/८३ काे लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेकाे छ । मंगलबार आयाेजना गरिएकाे १७औ नगर सभाले आगामी आर्थिक बर्षकाे लागि एक अर्ब ५४ कराेड ६५ लाख बराबरकाे बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हाे ।

नगर सभामा मेयर प्रलाद सापकाेटाले नीति तथा कार्यक्रम र उपमेयर यादवप्रसाद पाठकले बजेट प्रस्तुत गरेका थिए । मेयर सापकोटाले पर्यटन मार्फत राेजगारी सृजना गर्ने गरि शिक्षाा, स्वास्थ्यलाई प्राथमिकता दिइएकाे नीति तथा कार्यक्रम तथा उपमेयर पाठकले एक अर्ब ५४ कराेड ६५ लाख ७३ हजार बराबरकाे बजेट प्रस्तुत गरेका हुन ।

संघीय समानिकरण अनुदान १७ कराेड ८९ लाख, संघीय राजश्व बाँडफाँड  १३ कराेड ४० लाख,संघीय सर्सत अनुदान चालू तर्फ ३६ कराेड ८२ लाख, संघीय सर्शत पूजिगत २ कराेड ८८ लाख, संघी विशेष अनुदान ६८ लाख, संघीय समपुरक अनुदान ५५ लाख, प्रदेश समानिकरण अनुदान १ कराेड ८९ लाख आम्दानी हुने अनुमान गरिएकाे छ ।

त्ससैगरी प्रदेश राजश्व वाँडफाँड ६ कराेड २२ लाख, प्रदेश सर्शत चालू ३ कराेड ५६ लाख, प्रदेह सर्शत पूजिगत १ कराेड ५० लाख, प्रदेश विशेष अनुदान ६५ लाख, प्रदेश समपुरक अनुदान १ कराेड ७७ लाख, स्थानीय राजश्व बाँडफाँड घरजग्गा रजिष्टेशन दस्तुर ९ कराेड, आन्तरिक स्राेत १४ कराेड ५२ लाख, मौज्दात रकम १० कराेड, सामाजिक सुरक्षा ३२ कराेड ५० लाख, सडक बोर्ड ८० लाख आम्दानी हुने अनुमान गरिएकाे छ ।

१७ शीर्षकमा आम्दानी हुने अनुमान गरिएकाेमा विनियाेजित बजेटबाट २० वटा शीर्षकमा खर्च गरिने प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए ।

भद्रकाली माविमा नेपाली सेनाको राष्ट्रिय सेवा दल तालिम सुरु

रत्ननगर-रत्ननगर स्थित भद्रकाली माध्यमिक विद्यालयमा नेपाली सेनाले सञ्चालन गर्ने राष्ट्रिय सेवादल (एनसिसी) तालिम सुरु भएको छ । रत्ननगरको वडा नं. १६ हात्तिगाडेमा रहेको सो विद्यालयमा सोमबारबाट सुरु भएको तालिमको नयाँ सबुज गण भरतपुरका सेनानी जित बहादुर थापा र वडाध्यक्ष हेमराज थापाले संयुक्त रुपमा उद्घाटन गरे।

उद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष थापाले अनुशासित विद्यार्थीले देशको भविष्य सुन्दर बनाउन सक्ने भन्दै अनुशासनलाई प्राथमिकतामा राखेर तालिम पुरा गर्न सहभागीहरुलाई आग्रह गरे ।

कार्यक्रमका सभाध्यक्ष सेनानी जित बहादुर थापाले युवामा अनुशासित, बफादारिता तथा इमान्दारिताका साथै राष्ट्रिय एकताको भावना विकास गर्न सेनाले तालिम सञ्चालन गर्दै आएको जानकारी दिए ।

कार्यक्रममा उपसेनानी विशाल जिसिले तालिमको महत्व र उद्देश्य बारे प्रकाश पारेका थिए। युवामा व्यक्तित्व विकास तथा क्षमता अभिवृद्धि गरी असल नागरिक बनाएर राष्ट्र विकासमा सहयोग पुगोस भन्ने उद्देश्यले तालिम संचालन गरिएको उनले बताए ।

कुल १०० दिन सञ्चालन हुने तालिम ७९ दिनसम्म विद्यालयमा सञ्चालन हुनेछ भने त्यसपछिको २१ दिन राष्ट्रिय सेवा दलको मध्य तालिम शिक्षालयमा नवलपरासी हात्तीखोरमा सञ्चालन हुनेछ ।

उद्घाटन कार्यक्रममा वडा सदस्यहरू ज्ञानेन्द्र रेग्मी, सरिता गुरुङ, रिता वि. क, चिजकुमार श्रेष्ठ, एकीकृत कृषक साकोसका अध्यक्ष, विष्णुप्रसाद अर्याल, भद्रकाली डेरिका अध्यक्ष युवराज थापा, मेलमिलाप समिति संयोजक दिलबहादुर थापा, वडा सचिव मञ्जु पौडेल लगायतको उपस्थिति रहेको थियो।

विद्यालयका प्रधानाध्यापक चिरञ्जीवी खनालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम सहायक प्रअ दिलीप खनियाँले सञ्चालन गरेका थिए।

चितवन दुर्घटना अपडेट: मृतकको संख्या ७ पुग्यो। को को परे? हेर्नुहोस् पूरा विवरण

चितवनको राप्ती नगरपालिका वडा नम्बर ४ स्थित पूर्व-पश्चिम राजमार्गको डडुवामा भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।

धनगढीबाट काँकडभित्तातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ३५८३ नम्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ ज २९९ नम्बरको इलेक्ट्रिक गाडी आज बिहान १०:१५ बजे ठोक्किँदा यो दुर्घटना भएको हो।

प्रहरीका अनुसार घाइतेहरूको अवस्था सामान्यदेखि गम्भीरसम्म रहेको छ। घाइतेहरूलाई भरतपुर अस्पताल, एलाईभ अस्पताल, पुरानो मेडिकल कलेज र नयाँ मेडिकल कलेजमा उपचारका लागि लगिएको छ।

भरतपुर सरकारी अस्पतालमा मृत्यु हुनेहरूमा मकवानपुर हटिया-३ का ५५ वर्षीय सोम प्रसाद रुपाखेती, हेटौंडा-५ की ५३ वर्षीया मैया कुमारी न्यौपाने पहाडी, नामथर खुल्न नसकेकी १८/१९ र २४/२५ वर्षीया दुई महिला, २२/२३ वर्षीय पुरुष, ३०/३५ वर्षीया गर्भवती महिला र ३५/४० वर्षीय पुरुष रहेका छन्।

एलाईभ अस्पतालमा उपचाररत घाइतेहरूमा मकवानपुरका सक्षम थापा (१६), सिंहबिर घलान (३२), विष्णु लम्साल (३१) र गंगा घलान (३४) छन्। पुरानो मेडिकल कलेजमा झापा गौरादह-९ की सुशीला बराल (६५), उमा बराल (६७), कञ्चनपुर बेलौरी-४ का वीरबहादुर जैसी (४८) र रुकुम पश्चिम आठबिस्कोट-९ का सन्देश ओली (३०) को उपचार भइरहेको छ। नयाँ मेडिकल कलेजमा १० जनाको उपचार भइरहेको छ, जसको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दुर्घटनास्थलमा दुवै सवारी साधन रहेकाले दुईतर्फी राजमार्ग अवरुद्ध भएको छ। प्रहरीले क्रेनको सहायताले बाटो खुलाउने प्रयास गरिरहेको र डाइभर्सनमार्फत सवारी सञ्चालन भइरहेको जनाएको छ।

पूर्वीचितवनमा भीषण सवारी दुर्घटना; पाँच जनाको ज्यान गयो

चितवन –चितवनको राप्ती नगरपालिका–४ डडुवा क्षेत्रमा भएको एक भयानक सवारी दुर्घटनामा पाँच जनाको ज्यान गएको छ। इभी माइक्रोबस र यात्रुवाहक बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार बिहान भएको उक्त दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ भने अन्य घाइतेहरुको उद्धार गरी उपचारका लागि भरतपुरतर्फ लगिएको छ। मृतकमध्ये अधिकांश इभी माइक्रोमा सवार रहेका यात्रु भएको अनुमान गरिएको छ। थप विवरण आउन बाँकी छ।