Home Blog Page 68

एमाले अध्यक्ष ओलीप्रति धनराज गुरुङ आक्रामक

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीमाथि कांग्रेस सांसद धनराज गुरुङ आक्रामक रूपमा प्रस्तुत भएका छन् ।

बिहीबार साँझ ६ बजे बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएपछि एमाले र कांग्रेस सांसदबिच धकेलाधेकल भएको थियो ।

सो क्रममा एमाले अध्यक्ष ओली र कांग्रेस उपसभापति गुरुङ आमने सामने भएका थिए । धकेलाधकेलका क्रममा गुरुङ अध्यक्ष ओलीमाथि जाइलागेका थिए ।

एमाले सांसदहरू महेश बर्तौला, ठाकुर गैह्रे लगायतले गुरुङलाई छेकेका थिए । संसदमा तनावको अवस्था आएपछि सभामुख देवराज घिमिरेले भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

सत्तारुढ नेकपा एसको निर्णय- ‘सहकारीको बचत अपचलनबारे छानबिन समिति गठन हुनुपर्छ’

काठमाडौँ — सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले सहकारीको बचत अपचलनबारे छानबिन समिति गठनको माग गरेको छ । सत्तारुढ अन्य दलहरू छानबिन समिति बनाउन तयार नभइरहेको बेला सत्तारुढ घटक नेकपा एसको केन्द्रीय कमिटी बैठकले नै छानबिन समिति गठनको माग गरेको हो ।

केन्द्रीय कमिटीका निर्णय बिहीबार पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गर्दै नेकपा एसले सहकारीको बचत अपचलनमा गृहमन्त्री समेत संलग्न भएको कुरा बाहिर आउनु दु:खद भएको उल्लेख गरेको छ ।

कतिपय सहकारी संस्थाले अधिकारको दुरूपयोग गरी सर्वसाधारण जनताको बचत अपचलन गरेर ठूलो धनरासी दुरूपयोग गरी आर्थिक तथा वित्तीय अपराध गरेको दुःखद घटनाहरू सार्वजनिक भईरहेका छन् ।

यस सम्बन्धमा गृहमन्त्रीको समेत संलग्नताको समाचार प्रकाशित भएको छ ।

यो बैठक समग्र समस्या समाधानको लागि छानविन समिति गठनगरी दोषिमाथि कडा कारबाही गरियोस् भन्ने माग गर्दछ’ केन्द्रीय कमिटीको बैठकको निर्णयमा छ ।

चितवनमा अज्ञात समूहले किसानका ५ सय केराका बोट काटे

चितवन- पूर्वी चितवनमा अज्ञात समूहले करिब ५ सय केराका बोट काटेर नष्ट गरेको छ। रत्ननगर १२ का किसान कृष्ण रेग्मीको खैरहनी ३ मा रहेको केरा बगानमा पसेर अज्ञात समूहले केरा नष्ट हो ।केरा उत्पादक संघ चितवनका महासचिव जनकराज पन्तका अनुसार २ लाख ५० हजार मुल्य बराबरको केरा नष्ट भएको बताए । ८ बिगाहा क्षेत्रफलमा गरिएको केरा खेती अज्ञात समूहले सुनियोजित ढंगले नष्ट गरेको पन्तले बताए ।

यसैबिच, चितवन केरा उत्पादक संघले विज्ञप्ती जारी गर्दै घटनाप्रति गंभिर ध्यानाकर्षण भएको भन्दै घटना प्रति घोर भर्त्सना गरेको छ । संघका अध्यक्ष माधव प्रसाद घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तीमा विगतमा पनि यस्ता घटना घटिरहेको र घटनामा संलग्न व्यक्तीलाई कार्बाही नगर्दा पटक पटक यस्ता घटना घटेको लेखिएको छ ।

नेपालमै बसि केरा खेतीको माध्यमबाट रोजगारीको सृजना गरी नेपाललाई केरामा आत्मनिर्भर बनाउन लागि परेका कृषकहरुलाई यस्ता व्यक्तिहरुबाट हतोत्साहित गर्ने र किसानलाई कृषि पेशाबाट पलायन गर्ने काम भएको विज्ञप्तामा उल्लेख गरिएको छ ।

संघले कृषि पेशालाई सम्मानित र सुरक्षित बनाउनका लागि यस्ता घटनामा संलग्न भएका अपराधिहरुको छिटो भन्दा छिटो खोजि गरी कडा भन्दा कडा कार्वाहि गरी पिडित किसानलाई सामाजिक सुरक्षाको अनुभुति गराई आवश्यक क्षतिपूर्तिको लागि माग गरेको छ ।

दुई दशकदेखि बेपत्ता शमशेरबहादुर जब घर फर्किए…

मोरङ । दुई दशकदेखि बेपत्ता मोरङको बेलबारी नगरपालिका–११, का शमशेरबहादुर कटुवाल घर फर्किएका छन् । स्थानीय तहको सक्रियतामा उनलाई घर फर्काइएको हो । शमशेरबहादुर फर्किएपछि कटुवाल परिवारमा खुसियाली छाएको छ ।

बेलबारी नगरपालिका–११, लक्ष्मीमार्गस्थित वडा कार्यालयमा ६६ वर्षीय कटुवाललाई सोमबार स्थानीय तहका जनप्रतिनिधिले उनको परिवारको जिम्मा लगाएको छ ।

कटुवाल भोजपुरको जरायोटारबाट २०६१ सालमा बेपत्ता भएका थिए । “श्रीमान् भेटिनुहुन्छ भन्ने कल्पना नै गरेकी थिइनँ, उहाँ जिउँदो हुनुहोला भन्ने आश मरिसकेको थियो,” शमशेरबहादुरकी श्रीमती सीताले भनिन् ।

शमशेरबहादुर र सीताको २०५० सालमा विवाह भएको थियो । दुवै जनाबाट ६ सन्तान जन्मिए । “कान्छो छोरा १० महिनाको हुँदा श्रीमान् बेपत्ता हुनुभयो, म एक्लैले ६ सन्तान हुर्काएँ,” सीताले भनिन् ।

यसबीचमा परिवारको साथ नपाएपछि उनी माइतीको सहारामा झापाको केचना हुँदै हाल बेलबारीमा बस्दै आएकी छन् ।

शमशेरबहादुर बोल्न सक्दैनन् । उनी घाँटीको क्यान्सर रोगबाट पीडित छन् । आर्थिक अवस्था कमजोर भएकाले उनको उपचार के कसरी गर्ने भन्नेबारे कटुवाल परिवार चिन्तित छ ।

कटुवालको उपचार गराउन सहयोग जुटाउन थालेको स्थानीय लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतम बताउँछन् ।

बिरामी भएपछि कटुवाल सम्पर्कमा आएका हुन् । धेरै मेहनतपछि उनलाई घर फिर्ता ल्याउन सकिएको वडाध्यक्ष विक्रम राईले बताए । “कटुवाललाई क्यान्सरबाट मुक्त गर्न सहयोग जुटाउने काम भइरहेको छ,” उनले भने । रासस

पेटभित्र निलेर करिब ८ करोडको कोकिन तस्करी

काठमाडौं । प्रहरीले करिब ८ करोड मूल्य बराबरको लागुऔषध कोकिनसहित तीनजना विदेशी महिलालाई नियन्त्रणमा लिएको छ ।

लागुऔषध नियन्त्रण ब्युरोले बिहीबार पत्रकार सम्मेलन गर्दै काठमाडौंका विभिन्न स्थानबाट २ किलो ६५४ ग्राम कोकिनसहित तीन महिलालाई पक्राउ गरेको जानकारी दिएको हो ।

वैशाख ३० गते कतारबाट काठमाडौं आएकी युगान्डाकी ४४ वर्षीया केभिना मुगाला सिनामंगलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । उनको पेटभित्र लागुऔषध रहेको शंका लागेपछि प्रहरीले प्रहरी अस्पताल लगेर पेटबाट १ किलो २६० ग्राम कोकिन निकालेको थियो ।

यस्तै जेठ २ गते धोबीचौरबाट पक्राउ परेकी  युगान्डाकै लिलयान सु्सनसाथबाट १ किलो ३९४ ग्राम कोकिन बरामद भएको थियो। यसैगरी भारतीय नागरिक ३३ वर्षीया दिवा जनी पाल जेठ २ गते पक्राउ परेकी थिइन् । उनको साथबाट ३९४ ग्राम कोकिन बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनैजना अन्तर्राष्ट्रिय गिरोहका सदस्य रहेको प्रहरीले जनाएको छ ।

कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह : समिति बनाउँछौं, गृहमन्त्रीलाई बोल्न दिनुस्

३ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिन कांग्रेसलाई आग्रह गरेका छन् । त्यसपछि समिति बनाउने उनको आश्वासन छ ।

सहकारी अनियमिततामा गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ । आज पनि ४ बजे संसद् बैठक छ ।

तर समिति गठन नभएसम्म बैठक चल्न नदिने कांग्रेस अडानमा छ । प्रधानमन्त्री प्रचण्डले समिति बनाउन आफूहरू तयार रहेको भन्दै गृहमन्त्रीलाई बोल्न दिन कांग्रेसलाई आग्रह गरेका छन् ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘प्रधानमन्त्रीजीले समिति बनाउँछौं, गृहमन्त्रीलाई बोल्न दिनुस् भन्नु भएको छ ।’

सत्तारुढ प्रमुख घटक नेकपा एमाले भने अहिलेसम्म समिति गठनको विपक्षमा देखिएकाले के गर्ने भन्ने छलफलमा कांग्रेस छ ।

ओलीलाई शेखरको जवाफ- धम्कीले कांग्रेस डराउँदैन

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कुनै राजनीतिक दलको धम्कीले कांग्रेस नडराउने टिप्पणी गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कोइरालाले कुनै पनि राजनीतिक दलले कांग्रेसलाई धम्क्याउन नसक्ने बताएका हुन् ।

राजाको धम्कीबाट कांग्रेस नडराएको भन्दै कोइरालाले अहिले कुनै पनि राजनीतिक दलको धम्कीबाट आफूहरू नडराउने बताए।

बुधबार एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेप्रति आरोप लगाउँदा हेक्का राख्न भन्दै नेपाली कांग्रेसलक्षित चेतावनी दिएका थिए । सोही विषयलाई लिएर कोइरालाले आफ्नो पार्टी कसैको धम्कीले नडराउने बताएका हुन् ।

‘कुनै पनि राजनीतिक दलले नेपाली कांग्रेसलाई जुन धम्कीको भाषा आइरहेको छ, राजाको धम्की नेपाली कांग्रेसले डराएन भने कुनै राजनीतिक दलको धम्कीमा हामी डराउँदैनौँ,’ कोइरालाले भने।

देशको राजनीतिक परिस्थिति जटिल अवस्थामा गइरहेको कोइरालाले बताए। ‘अहिले देशको राजनीतिक परिस्थिति यति जटिल अवस्थामा गइरहेको छ । भोलि के हुन्छ हामी भन्न सक्ने अवस्थामा छैनौँ । त्यस्तो अवस्थाबाट नेपालको राजनीति गइरहेको छ,’ उनले भने ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आफ्नो धारणा राख्न दिने तर कांग्रेसलाई चित्त नबुझे आफ्नो कुरा राख्ने भन्दा सत्तारुढ दलहरू नमानेको उनको दाबी छ ।

‘साथीहरूले एउटा कुरा भन्नुभयो, तपाईंहरूले गृहमन्त्रीलाई बोल्न दिनुभएन । बोल्न दिन हुन्छ की हुँदैन, त्यो आफ्नो ठाउँमा छ, डा.रामशरण महतलाई दिइयो दिइएन, त्यो आफ्नो ठाउँमा छ, भरतमोहन अधिकारी, जनार्दन शर्मालाई बोल्न दिइयो की दिइएन त्यो आफ्नो ठाउँमा छ । तर हामीले बोल्न नदिने भनेको छैन, यो क्लियर हुनुपर्छ,’ कोइरालाले भने, ‘हामीले गृहमन्त्रीले आएर रोष्टममा बोल्नुहुन्छ, बोल्नुस् । हामीलाई चित्त बुझ्यो भने ठीक छ, बुझेन भने हामी त्यसपछि बोल्छौँ भन्दा न गृहमन्त्रीले स्वीकार गर्नुभएको छ न त एमालेले स्वीकारेको छ । यो क्लियर हुनुपर्छ । हामीले संसद अवरुद्ध गर्ने कारण यही हो ।’

सहकारी प्रकरणमा बारम्बार नाम जोडिएपछि संसदीय छानबिन समिति बन्नुपर्छ भन्दा सत्तारुढ दलहरू नमान्नु गम्भीर प्रकृतिको विषय बनेको कोइरालाले तर्क गरे । आफूहरूले गृहमन्त्री रवि लामिछानेको राजीनामा पनि नमागेको उनले बताए ।

चितवनमा भोली राइटपाथको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’, सम्पूर्ण तयारी पूरा

रत्ननगर, जेठ ३ । शैक्षिक परामर्शदाता राइटपाथ करियर काउन्सिलिङले चितवनमा गर्ने ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ को तयारी पूरा भएको छ ।

बिहीवार रत्ननगरमा पत्रकार सम्मेलन गर्दै शुक्रवार (भोलि) हुने ‘ग्रान्ड एजुकेसन कन्क्लेभ-२०२४’को सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

राइटपाथले काठमाडौं र धनकुटामा भव्यरूपमा सम्पन्न गरिसकिएको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ बिहीवार (आज) हेटौँडा र शुक्रवार (भोली) आफ्नै कार्यालयमा आयोजना गर्दैछ ।

राइटपाथ करियर काउन्सिलिङ चितवनका प्रमुख सुरज पौडेलका अनुसार कन्क्लेभमा एप्लिकेसन प्रोसेसिङमा शत प्रतिशत अफर रहने छ भने खैरहनीको पर्सामा रहेको म्याङ्गो हलमा फ्रिमुभी टिकेट र आर्कषक गिफ्ट ह्याम्फरको व्यवस्था छ ।

यसैगरी यूएस लक्षित २५ हजार सम्मको स्कलरसिप अफरदेखि ६ हजार लाग्ने आएल्स २ हजार ८१ रुपियाँ मै गर्न सकिने छ ।

कन्क्लेभमा २० भन्दा धेरै विश्वविद्यालयका प्रतिनिधिलाई विद्यार्थीले एकै छानामुनि भेट्न सक्नेछन् ।

राइटपाथका निर्देशक बिपिन शर्मा आचार्यले युनिभर्सिटीका रेप्रिजेन्टेटिभबाटै विद्यार्थीले सत्य तथ्य जानकारी पाउने कार्यक्रमको उद्देश्य रहेको बताए । कार्यक्रमले विद्यार्थीको रिसर्चमा पनि मद्दत पुर्‍याउने उनको विश्वास छ ।

ब्रेकिङ … सन्दीपले पाए सफाई

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो ।

गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो ।

उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए । हिजो र आज दिनभरि दुवै पक्षको बहस सुनेपश्चात उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गर्‍यो ।

उच्च अदालतको फैसलापछि सन्दीप फेरि क्रिकेटमा फर्किन योग्य भएका छन् । जिल्ला अदालतले दोषी ठहर्‍याएपछि नेपाल क्रिकेट संघले उनलाई निलम्बनमा राखेको थियो ।

उच्चको फैसलापछि क्यानले निलम्बन तत्काल फुकुवा गरेर टी-२० विश्वकपमा खेलाउने बाटो खुलेको छ ।

सन्दीप लामिछानेको मुद्दा : बहसमा समय निर्धारण, आजै फैसला सुनाउने तयारी

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्ध दायर भएको जबरजस्ती करणीसम्बन्धी मुद्दाको उच्च अदालत पाटनमा बहस जारी रहेको छ। न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस भइरहेको छ ।

सरकारका तर्फबाट सह-न्यायाधिवक्ता रत्नकेशरी महर्जन र उप न्यायाधिवक्ता प्रकाश घिमिरेले बहस गरेका छन् । उनीहरूपछि लामिछानेका कानुन व्यवसायीहरूले बहस थालेका थिए ।

न्यायाधीशद्वयले यो मुद्दामा आजै बहस सक्नुपर्ने भन्दै वरिष्ठ अधिवक्ताहरूलाई समेत बहसमा समय निर्धारण गर्दै कडाइ गरिरहेका छन् ।

हालसम्म लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ,कृष्ण सापकोटा, मुरारी सापकोटा,सरोजकृष्ण घिमिरे, रामनारायण विडारी र रोशनी पौडेल लगायतले बहस गरेका छन् ।

लामिछाने निर्दोष भएको र उनले जबरजस्ती नभई सहमतिमै शारीरिक सम्बन्ध राखेको दाबी उनीहरूले गरेका छन् । उनीहरूको बहस सकिएपछि जाहेरवालाका तर्फबाट आश्मा आचार्यले बहस थालेकी छन् ।

जाहेरवालाका तर्फबाट मोहना अन्सारी दिनेश त्रिपाठी लगायतले बहस गर्ने तयारी गरेका छन् । उनीहरूको बहसपछि फेरि सरकारी वकिलहरूले जवाफी बहसका लागि समय पाउने छन् । सरकारी पक्षको जवाफ पछि न्यायाधीशहरुले आज नै फैसला सुनाउने तयारी गरेका छन् ।

यसअघि जिल्ला अदालत काठमाडौँले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै ८ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो । उक्त फैसलामा चित्त नबुझाउँदै सरकार र लामिछाने दुवै उच्च अदालत पाटन आएका थिए ।