चितवन । भरतपुर महानगरपालिका–११ मा बाथरुममा लडेर एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतेको फलेवास घरभई छोरी विमला लम्सालको घरमा बस्दै आएका ८६ वर्षीय शसीधर पाध्य रहेका छन् ।
मंगलवार बिहान करिब साढे ७ बजे बाथरुममा नुहाउने क्रममा लडेर घाइते भएका पाध्यको उपचारको लागि भरतपुर अस्पताल लगिएको थियो ।
सोहि दिन बिहान ८ बजे चिकित्सकले पाध्यलाई मृत घोषणा गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जानकारी दिएको छ ।
८ जेठ, काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले जानकारी दिए ।
सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा नागरिकता दुरुपयोगको उजुरी परेको थियो । १६ वैशाख २०८१ मा प्रहरीमा परेको जाहेरीमा सिरोहिया गैरनेपाली नागरिक रहेको र नागरिकताको दुरुपयोग गरिरहेको आरोप थियो ।
आफूविरुद्ध प्रहरीमा जाहेरी परेपछि सिरोहियाले आफूमाथि धरपकड हुन सक्ने भन्दै सर्वोच्च अदालतमा प्रतिषेधको रिट दायर गरेका थिए ।
उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले गृह मन्त्रालयसँग सिरोहियामाथि अनुसन्धान गर्नुपर्ने कारण माग गरेको थियो ।
चितवन । माइक्रो बस र टिपर एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार मुग्लिनबाट काठमाडौँतर्फ गइरहेको बा३ख ६६१० नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आइरहेकोे बा४ख ६४१७ नम्बरको टिपर पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ कुरिनटारमा आज बिहान एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार १३ जना घाइते भएका हुन् ।
घाइते दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेमध्ये १२ जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर र एकजनालाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
माइक्रोबस ‘ओभरटेक’ गर्ने क्रममा टिपरसँग ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनापछि केहीबेर अवरुद्ध भएको राजमार्ग खुलेको छ ।
रत्ननगर । रत्ननगर नगरपालि वडा नं. ५ को झुवानी माध्यामिक विद्यालयमा सोमबार विद्यार्थीहरुको रक्त समुह पहिचान गर्न रक्त नमुना संकलन गरिएको छ ।
नगर स्वास्थ्य केन्द्र टरौलीले निःशुल्क रुपमा विद्यार्थीहरुको रक्त समुह पहिचान गर्न वडा कार्यालयको सहयोगमा रक्त नमुना संकलन गरेको हो ।
मानिसको जन्मदेखि मृत्यु सम्म अतिआवश्यक पर्ने रगत र त्यसको पनि समुह पहिचान गर्न कार्याक्रम सुरु गरिएको वडाध्यक्ष बालकृष्ण चापागाईँले बताए ।
विद्यालय स्वास्थ्य कार्यक्रम मार्फत विद्यालय स्तरमै यस प्रकारको कार्यक्रम सञ्चालन गरिएको भन्दै वडाध्यक्ष चापागाईँले विद्यार्थीहलाई सानै उमेरदेखि आफ्नो स्वास्थ्य प्रति सचेत रहन सहयोग पुग्ने बताए ।
नगर स्वास्थ्य केन्द्र टरौलीका स्वास्थ्यकर्मी र वडा स्थित स्वास्थ्य स्वयमसेविकाको उपस्थितिमा विधार्थीहरुको रगतको नमुना संकलन गरिएको स्वास्थ्य केन्द्रका प्रमुख सिनियर अहेब गोविन्द प्रसाद शर्माले बताए ।
मानव जीवनमा अतिनै आवश्यक पर्ने रगत त्यसमा पनि रक्त समुह पहिचान गर्न विद्यालय रक्त समुह संकलन शिविर सञ्चालन गर्नु निकै उपयोगिता रहेको विद्यालयका प्रध्यानाध्यापक नविनचन्द्र भट्टराईले बताए ।
उनले विद्यालयका ४६० विधार्थी मध्य करिब ३ सय विद्यार्थीको रक्त समुह पहिचान गर्ने लक्ष्य रहेको जानकारी दिए ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति तथा गृहमन्त्री रवि लामिछानेले आफू मिडिया मिलाउन नसक्ने बताएका छन्।
सोमबार सामाजिक सञ्जालमा एक स्टाट्स लेख्दै गृहमन्त्री लामिछानेले कान्तिपुर दैनिक पत्रिकाले फेरि भ्रम छरेको र आफू मिडिया मिलाउन नसक्ने बताएका हुन्।
‘फेरि भ्रम छापेछ कान्तिपुरले। म मिडिया मिलाउन सक्दिनँ, त्यसैले भ्रमको विरुद्ध सत्यको लडाइँ आफैँ लड्नु पर्छ। सर्ट टर्म लोन को मतलब सहकारीको पैसा हो? कान्तिपुरले लुकाएको यो डकुमेन्ट हेर्नु होला। र, त्यसपछिको वर्षको अडिट रिपोर्ट पनि हेर्नु होला। उक्त सर्ट टर्म लोनको स्रोत जीबी राई हुन् भनेर प्रष्ट लेखेको छ।
त्यस पछिको वर्षको अडिट रिपोर्टमा डाइरेक्टर लोन भनेर झन् प्रष्ट लेखिएकै छ, ’ उनले आजको कान्तिपुर दैनिकमा छापिएको समाचारलाई लिएर लेखेका छन्, ‘यही कागज बोकेर काँग्रेस समिति-समिति भन्दैछ भन्ने मलाई थाहा थियो।
जस्तो समिति बनाएपनि मेरो आपत्ति छैन भनेर हिजै भनिसके। म तयार छु। सदनलाई बन्धक नबनाउनुस्, सुचारु गर्नुस्। मिडिया मिडिया धाउनै पर्दैन। यस्तै यस्तै प्रमाण बोकेर उफ्रनु भएको हो भने भयो, अब पुग्यो, बस्नुस्। म मिडिया मिलाउन सक्दिन।’
यस्तै, गृहमन्त्री लामिछानेले हिजो प्रतिनिधि सभा मार्फतपनि सहकारीबाट आफूले लोन नलिएको दाबी गर्दै मिडियामा आएजस्तो नभएको बताएका थिए। त्यसका लागि आफू मिडिया मिलाउन नसक्ने उनको तर्क थियो।
चितवन । मकवानपुरको मनहरीमा दुईजना मानिसको ज्यान लिएको नरभक्षी बाघ मरेको छ । सिकार गर्न नसक्ने अवस्थामा मानिसमाथि आक्रमण गरेपछि मनहरीबाट उद्धार गरी सौराहा ल्याइएको पोथी बाघ मरेको हो
शनिबारदेखि बिरामी परेको बाघ आाइतबार मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । दश वर्षीया सो बाघ सौराहास्थित खोरमा राखिएको थियो ।
बाघलाई गत मङ्सिरमा खुट्टामा चोट लागेको अवस्थामा उद्धार गरी ल्याइएको थियो । त्यसयता खोरमा बाघको उपचार भइरहेको थियो ।
चालु आर्थिक वर्षमा चितवनमा सातवटा बाघ मरेका छन् । सन् २०२२ को गणनाअनुसार नेपालमा तीन सय ५५ बाघ रहेकोमा चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा रहेका छन् । –रासस
निराजन घिमिरे, जेठ ५- चितवनको रत्ननगर पिठुवामा रहेको पिठुवा सिंचाईको मूल नहर अतिक्रमणको मारमा पर्दै गएको छ । साबिकको पिठुवा गाविसको झन्डै १३५० हेक्टर जमिनमा व्यवस्थित सिंचाई सुबिधा उपलब्ध गराउन वि.स. २०३० सालमा निर्माण गरिएको नहरको दायाँबायाँ क्षेत्रमा अनाधिकृत रुपमा निर्माण तथा जग्गा प्लटिंगको कार्य नरोकिंदा नहर अतिक्रमणको मारमा पर्दै गएको हो ।
नहर रत्ननगरकै वडा नं. १६ को भुत्याहा देखि वडा नं. १४ को मध्य भागसम्म कायम छ । निर्माणको समयदेखि नै ठाउँ अनुसार १६ मिटर देखि १२ मिटर सम्म चौडाईमा फैलिएको नहर अहिले अतिक्रमणको चपेटामा पर्दै गएको हो ।
नहरको डिल मासेर निर्माण गरिएको पक्की संरचना
यस्तै मूल नहर मात्र नभई शाखा नहरहरू समेत अतिक्रमणको चपेटामा परेका छन् । विशेष गरि वडा नं. १५ को लागी लगिएको नगरमा तीव्र अतिक्रमण बढेको छ । केहि वर्ष अगाडी सम्म ४ देखि ५ मिटर चौडाईमा फैलिएको सो नहरको दायाबाँया हाल पानी बग्ने भाग बाहेक १/१ मिटर पनि नराखी कटान गरिएको छ । यसले पूर्ण क्षमतामा नहर संचालन हुने समयमा नहर नै फुट्ने जोखिम बढेको छ ।
तिब्र बसाईसराईको कारणले जनघनत्व बढ्दै गएपछि नहरको दायाँबायाँ क्षेत्र अतिक्रमण हुँदै गईरहेको हो । हाल नहरको दायाबाँया डिलमा कब्जा जमाएर ठुला निर्माण कार्य भएका छन् भने खनजोत गरेर खेती गर्ने, चौपाया बाध्ने, पराल थुपार्ने, निर्माणजन्य पदार्थ भण्डारण गर्ने जस्ता कार्य भैरहेका छन् । यस्ता कार्य नगर्न नगराउन पटकपटक आग्रह गर्दापनि बेवास्ता हुँदै आएको पिठुवा सिंचाई जल उपभोक्ता संस्थाका सचिव मदन भुजेलले बताए ।
जग्गा प्लटिंग गर्न कटान गरिएको डिल पुर्ववास्थामा फर्काइदै
संस्थाको पटकपटकको आग्रह बेवास्ता गरेर निर्माण संरचना नहटाउने माथि अब निर्मम हुने नीति लिईएको संस्थाका अध्यक्ष देवबहादुर रानाले जानकारी दिए। सोहि अनुसार शनिवार पिठुवा डेरी नजिकैको क्षेत्रमा कटान गरिएको नगरको डिल पुर्वावास्थामा फर्काईएको छ । सो कार्य गर्दा लागेको सम्पूर्ण खर्च समेत सम्बन्धित जग्गा धनीबाट असुल उपर गरिने अध्यक्ष रानाले बताए । नहर संरक्षणको कार्यमा उपभोक्ता समिति, किसान र स्थानिय सरकारको त्रिपक्षीय भूमिका अत्यावश्यक रहेको उनको धारणा छ ।
वडाध्यक्ष हेमराज थापा अतिक्रमित नहर संरक्षणको लागी वडा कार्यालयमै पटकपटक सरोकारवालाहरु संग छलफल गरिएको बताउँछन् । अतिक्रमण बारे गुनासो आउना साथ् आफुले व्यक्ति पहिचान गरि सचेत गराएपनि यस्ता कार्य पूर्ण रुपमा नियन्त्रणा आउन नसकेको उनले बताए ।
भुत्याहाको अस्थाई बाँधबाट सुरु भएर झन्डै पाँच किलोमिटर लम्बाईमा फैलिएको नहरबाट २३ वटा शाखा संचालन गरि हाल १२०० हेक्टर बढी जमिनमा सिंचाई गरिंदै आईएको छ । वर्षको आठ महिना सो क्षेत्रमा सहज रुपमा सिंचाई सुविधा दिने उक्त नहरले पानीको श्रोतको अभावमा बाँकी समयमा भने माग अनुसार पानी वितरणमा समस्या भोग्दै आएको छ ।
यहि समस्या समाधान गर्न तथा समग्र पुर्वि चितवनलाई नै सिंचाई सुविधा पुर्याउन आर्थिक वर्ष २०६८/६९ को वार्षिक विकास कार्यक्रम मार्फत त्रिशुली- शक्तिखोर डाइभर्सन अघि बढाउने घोषणा सरकारले गरेको छ । विधुत समेत उत्पादन गर्नेगरी पहिचान गरिएको बहुउद्देशीय उक्त आयोजनाको निर्माणको लागी विभिन्न स्तरबाट पहल भईरहको छ ।
गत चैत्रमा कालिकाका मेयर विनोद रेग्मीले उक्त आयोजना निर्माणको लागी प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका छन् भने सांसद हरि ढकालले आगामी बजेटमा उक्त आयोजना समाबेश गराउन अर्थ मन्त्रालयमा दबाब बढाएका छन् । चैत्र ३१ गते पुर्विचितवनका विभिन्न कार्यक्रममा सहभागी भएका प्रचण्डले सो आयोजना आगामी बजेटमा समावेश हुने प्रतिबद्दता व्यक्त गरेका छन् ।
नहरमा पानी थप गर्न ठुला आयोजना कार्यान्वयनको चरणमा जानै लाग्दा नहर नै अस्तव्यस्त हुनेगरी अतिक्रमण बढ्दा चिन्ता थपिएको सामाजिक अगुवा रामहरी पनेरुले बताए । त्रिशुली- शक्तिखोर डाइभर्सन निर्माणको चरणमा जाने हो भने अबको केहि वर्षमा नै सो नहर मार्फत रत्ननगरका धेरै क्षेत्रमा बार्है महिना पूर्ण क्षमतामा सिंचाई सुविधा उपलब्ध हुनेछ ।
यस्तो अवस्थामा हाल कायम नहर भन्दा अझ फराकिलो र ठूलो क्षमताको नहर निर्माण गर्नुपर्ने हुन्छ। भईरहेको नहरलाई मात्र जोगाउन सक्ने हो भनेपनि भविष्यमा ठूला परियोजना सञ्चालन गर्न सहज हुनेछ।
रत्ननगर, जेठ ४ । शैक्षिक परामर्श दाता संस्था राइटपाथ करियर काउन्सिलिङले चितवनमा आयोजना गरेको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ- २०२४’ सम्पन्न भएको छ । शुक्रवार नारायणगढको लायन्सचोक स्थित संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा १ हजार ५ सय भन्दा बढी विद्यार्थी र अभिभावकको प्रत्यक्ष सहभागितामा सम्पन्न भएको हो ।
अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीलाई विभिन्न आकर्षक अफरहरूसहित संस्थाले कन्क्लेभ आयोजना गरेको थियो । बिहान १० बजेदेखि लागेको विद्यार्थीहरूको भिड साँझ समापन गर्दासम्म उत्तिकै मात्रामा देखिएको थियो । कन्क्लेभमा सहभागी विद्यार्थीहरूले विदेश अध्ययन सम्बन्धी विज्ञहरूबाट महत्वपूर्ण ज्ञान हासिल गरेका छन् ।
अस्ट्रेलिया, बेलायत, क्यानडा र अमेरिकाका २० भन्दा बढी विश्वविद्यालयहरूका प्रतिनिधिलाई एउटै छानामुनि राखेर राइटपाथले यसअघि काठमाडौं, धनकुटा र हेटौँडामा भव्यरूपमा ‘ग्रान्ड एजुकेसन कन्क्लेभ- २०२४’ आयोजना गरेको थियो ।
कार्यक्रममा सहभागी भएका प्रत्येक विद्यार्थीले राइटपाथबाट खैरहनीको पर्सामा रहेको म्याङ्गो हलमा फ्रि मुभी टिकेट र आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । त्यस्तै, विदेश अध्ययन आवेदन शुल्कमा शत प्रतिशतसम्मको अफर दिइएको छ ।
राइटपाथकी ब्रान्ड एम्बेस्डर समेत रहेकी पूर्व मिस नेपाल अस्मी श्रेष्ठ तथा चर्चित गायिका अञ्जु पन्तको उपस्थितिले कन्क्लेभको रौनकता अझै बढेको थियो । यी दुई प्रसिद्ध व्यक्तित्वहरूसँग फोटो खिच्न सहभागी विद्यार्थीहरू झुम्मिएका थिए ।
भर्खर प्लस टु को परीक्षा दिएका देखि भाषा परीक्षा तयारी गरिरहेका, त्यस्ता परीक्षामा आवश्यक अंक प्राप्त गरिसकेकादेखि आफ्नो रुचि र क्षमता अनुसारको विषय पढाउने शैक्षिक संस्था छानिरहेकासम्मका विद्यार्थीहरू कन्क्लेभमा भाग लिएका थिए ।
सहभागी विश्वविद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधिहरू पनि राइटपाथको एजुकेसन कन्क्लेभमा लागेको घुइँचो देखेर उत्साहित थिए । केही प्रतिनिधिहरूलाई आफूसँग परामर्श लिने विद्यार्थीहरूको चाप व्यवस्थापन गर्न मुस्किल परेको थियो ।
‘ग्रान्ड एजुकेसन कन्क्लेभ २०२४’ को चितवनमा भव्य सफलतापछि प्रतिक्रिया दिँदै राइटपाथ करियर काउन्सिलिङ चितवनका प्रमुख सुरज पौडेलले सहभागी विद्यार्थीलाई धन्यवाद दिए । उनले अपेक्षा गरेभन्दा निकै राम्रो सहभागिता देखिएको प्रतिक्रिया दिए । गुणस्तरीय शिक्षाका लागि उचित परामर्श भन्ने नारा बोकेको राइटपाथले आफ्ना हरेक गतिविधिहरूमा विद्यार्थीको अधिकतम हितलाई केन्द्रमा राख्दै आएको हुँदा कार्यक्रमबाट विद्यार्थीले अधिकतम लाभ लिने उनको भनाइ थियो ।
कन्क्लेभलाई देशका प्रमुख सात शहरहरूमा पु¥याउने राइटपाथको तयारी छ । बैशाख ३१ गते काठमाडौं र धनकुटा, जेठ ३ गते हेटौँडा र जेठ ४ गते आज (शुक्रवार) चितवनको नारायणगढमा सम्पन्न भएको छ । यस्तै, जेठ ५ गते बुटवल, जेठ ६ गते दाङमा कन्क्लेभ सञ्चालन हुनेछ ।
काठमाडौँ — तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत लेनडाँडा सुरुङ शुक्रबार छिचोलिएको छ । काठमाडौंबाट निजगढतर्फ जाने १ हजार ४३० मिटर लामो सुरुङ छिचोलिएको हो ।
त्यस्तै असारभित्र लेनडाँडा र धेद्रे सुरुङ छिचोल्ने तयारी रहेको सैनिक प्रवक्ता एवं सहायक रथी गौरवकुमार केसीले बताए । उनका अनुसार धेद्रे सुरुङ १ हजार ६३० मिटरमध्ये १ हजार ५०६ मिटर खनी सकिएको छ । अब १ सय २४ मिटर मात्र खन्न बाँकी छ ।
त्यस्तै महादेवटार सुरुङको ३ हजार ३५५ मिटर मध्ये २ हजार १५८ मिटर खनीसकिएको छ । सबैभन्दा लामो रहेको यो सुरुङ अब १ हजार १९७ मिटर मात्र खन्न बाँकी छ ।
२ हजार २५० मिटरको चन्द्राम भिर, १ हजार मिटरको देविचौर र ३ सय ९० मिटर दूरीको सिसौटार सुरुङ डिजाइनको क्रममा रहेको सैनिक प्रवक्ता केसीले बताए । यसको निर्माण व्यवस्थापनको जिम्मा मन्त्रिपरिषद् निर्णयले ०७४ वैशाख २१ मा सेनालाई दिएको हो ।
जसअनुसार ०८१ मंसिर भित्र निर्माणको काम सक्किनुपर्ने थियो । तर उक्त अवधीमा निर्माण नसकिने भएपछि ०८३ चैतसम्म म्याद थप गरिएको छ ।
७०.९७७ किमिमध्ये ६४.४७७ किलोमिटरमा ठेक्का व्यवस्थापन भएको छ । खोकना खण्डको जग्गा विवाद भने अझै टुंगिएको छैन । जसले गर्दा यो खण्डको ६.५ किमी क्षेत्रमा ठेक्का व्यवस्थापनको काम हुन सकेको छैन । यो खण्डलाई अन्तिम ११ नम्बर प्याकेजमा राखिएको छ । अहिलेसम्म समग्र आयोजनाको भौतिक प्रगति ३३.९९ प्रतिशत छ ।
उज्यालो नेपाल, जेठ ४- पुर्विचितवनको विभिन्न क्षेत्रमा भोली शनिवार विधुत अवरुद्ध हुने भएको छ ।
खैरहनीको पर्सा सब-स्टेसनमा मर्मत, उपकरण बदली तथा सुदृढ़ीकरणको कार्य गर्नको लागी चैनपुर फिडर अन्तर्गतको क्षेत्रहरुमा विधुत अवरुद्ध गर्न लागेको टाँडी वितरण केन्द्रले बताएको छ।
भोली शनिवार विहान ६ बजे देखि साँझ ६ बजे सम्म टाँडी फिडर, सौराहा फिडर र चैनपुर १-२ फिडर बन्द रहने छ ।
सो फिडर अन्तर्गत शिवालयचोक, पदमपुर, पर्सा, ध्रुबचोक, सिमलढाप, हात्तीगाड़े, शक्तिखोर, जिरौना, पन्चकन्या, लौरीघोल, ज्यामिरे, सौरहाचोक, भक्तिनीबगैचा, चित्रसारी लगायतका क्षेत्रहरु पर्ने प्राधिकरणले जनाएको छ ।