Home Blog Page 71

साईलेज़ बनाउने मेसिनमा बेरिएर रत्ननगरमा एकजना घाइते

उज्यालो नेपाल। चितवनमा मकैको ढोड काट्ने मेसिनमा च्यापिएर एकजना घाइते भएका छन्।

रत्ननगर नगरपालिका वडा नं. १६ दोबाटो बजार नजीकै मकैको ढोड काट्ने क्रममा मेसिनमा च्यापिएर बुधबार सोही स्थानका ३५ वर्षीय हरि अधिकारी घाइते भएका हुन्।

प्रहरीले दिएको जानकारी अनुसार घाइते अधिकारीको अवस्था गम्भीर छ। उनको कम्मर मुनिको भागमा गम्भीर चोट लागेको छ।

उनलाई उपचारको लागि भरतपुरको एलाईभ अस्पतालमा लगिएको छ। अधिकारी दोबाटो टोलका रामकुमार श्रेष्ठको जग्गामा कमल थापाले लगाएको मकैको ढोड काट्न गएका थिए।

साइलेज बनाउनको लागी ढोड टुक्राउने क्रममा उनी मधेश प्रदेश–०३–००१ त ८१०८ नम्बरको ट्याक्टरमा जडित घाँस काट्ने हार्वेस्टर मेसिनमा अड्किन पुगेका थिए।

ट्याक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

मजदुरलाई सम्मान गर्दै साना निर्माण व्यवसायी संघ चितवनले मनायो श्रमिक दिवस

रत्ननगर, वैशाख १९ । साना निर्माण व्यवसायी संघ जिल्ला समन्वय समिति चितवनले “विश्वका मजदुर एक हौं” “मजदुरको पसिनाको मुल्यको सम्मान गरौं” भन्ने नाराका साथ १३५औं अन्तराष्ट्रिय श्रमिक दिवस मनाएको छ ।

oppo_1024

व्यवसायी संघले रत्ननगर नगरपालिकामा एक कार्यक्रमको अयोजना गर्दै बुधवार दिवस मनाएको हो ।

उक्त कार्यक्रममा बोल्दै रत्ननगरका नगर उपप्रमुख यादव प्रसाद पाठकले सर्वप्रथम आफुले गरिरहेको पेशा प्रति आफुले सम्मान गर्नुपर्ने बताएकाछन् । आफुले गरिरहेको कामको बारेमा खुलेर भन्न र गर्वका साथ गर्न सबै भन्दा पहिला आफुमा आत्मसम्मान हुन जरुरी रहेको उपप्रमुख पाठकको भनाईछ ।

उनले भने, “निर्माण कम्पनीमा काम गर्ने लेबरलाई हप्काएर काम लगाउने गरेको पाईन्छ, उनीहरुलाई पनि सम्मान गर्नुपर्छ, काम सानो, ठूलो हुदैन, सबैको पेशा प्रति सम्मान गर्नुपर्छ ।”

कार्यक्रममा जीवन थापा लामा, श्याम कृष्ण श्रेष्ठ, मानवहादुर शाही ठकुरी सहित तीन जना निर्माण मजदुरहरुलाई नगद सहित सम्मान गरिएको थियो ।

साना निर्माण व्यवसायी संघ जिल्ला समन्वय समिति चितवनका अध्यक्ष केदारनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष होमनाथ सापकोटा, निर्माण व्यवसायी संघ चितवनका वरिष्ठ सल्लाहकार प्रलाद ठाकुर, साना निर्माण व्यवसायी संघ जिल्ला समन्वय समिति चितवन उपाध्यक्ष मदन पासवान, पूर्वी चितवन भवन निर्माण व्यवसायी
संघका अध्यक्ष याम बहादुर श्रेष्ठ, सदस्य ओम प्रकाश रेग्मी, चितवन स्वरोजगारका अध्यक्ष कृष्ण वहादुर श्रेष्ठ लगाएतले मन्तव्य राखेका थिए ।

महासचिव पूर्ण वहादुर राईले सञ्चालन गरेको कार्यक्रममा साना निर्माण व्यवसायी संघ जिल्ला समन्वय समिति चितवनका निवर्तमान अध्यक्ष उत्तम घिमिरेले स्वागत मन्तव्य राखेका थिए ।

रत्ननगरमा जेसीज सप्ताह सुरु : मैत्रीपूर्ण फुटबलमा पत्रकार विजयी

रत्ननगर । रत्ननगर जेसीजले आयोजना गरेको जेसीज सप्ताह २०८० बुधबार उद्घाटन गरिएको छ ।

जेसीज सप्ताहको उद्घाटन तथा रत्ननगर जेसीज र पूर्वी चितवन पत्रकार मञ्च बीच मैत्रीपूर्ण फुटबल आयोजना गरिएको थियो ।

जेसीज सप्ताहको रत्ननगरका मेयर प्रलाद सापकोटाले उद्घाटन गरेका थिए । जेसीज सप्ताह उद्घाटन लगतै नेपाल माविको खेलमैदानमा आयोजित मैत्रीपूर्ण फुटबलमा पूर्वी चितवन पत्रकार मञ्च विजयी भएको छ ।

पूर्वी चितवन पत्रकार मञ्चले रत्ननगर जेसीजलाई ३–४ गोल अन्तरलेपछि पार्दै विजयी हासिल गरेको हो । मञ्चको तर्फबाट राजनदिल गुरुङले दुईगोल, केदार शर्मा र विलबहादुर अधिकारी एक एक गोल गरेका थिए ।

रत्ननगर जेसीजको तर्फबाट जेसीजबाट सुरेशजंग पाण्डे दुईगोल र रामप्रसाद शर्मा एक गोल गरेको भएपनि त्यो जीतका लागि प्रयाप्त हुन सकेन । कार्यक्रमका प्रमुख अतिथि मेयर सापकोटाले रत्ननगर जेसीजले गरेको सामाजिक कामको प्रशंसा गर्दै सप्ताहमा जेसीजले आयोजना गरेको आर्थिक विकासको सम्भावना सम्बन्धी कार्यक्रम फलदायी हुनेमा विश्वास व्यक्त गरे ।

खेलकुदको माध्यमबाट पर्यटन विकासको योजना अघि सारिएको भन्दै मेयर सापकोटाले त्यसका लागि पूर्वाधार निर्माणलाई जोड दिएको बताए । सेन्ट्रल कलेजका सञ्चालक यज्ञविलास पौडेलले सेन्ट्रल कलेज सामाजिक उत्तरदायित्व बहन गर्दै सामाजमा सकरात्मक प्रभाव पर्ने कामहरु गर्दै आएको बताए ।

रत्ननगर जेसीजका अध्यक्ष नरहरि पुरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं २ का वडाध्यक्ष राजेन्द्र प्रसाद घिमिरे, रत्ननगर जेसीजका पूर्व अध्यक्ष सुन्दरलाल श्रेष्ठ, नेपाल माविका प्रध्यानाध्यापक रामहरि भण्डारी लगायतले मन्तव्य राखेका थिए ।

खेल संयोजक सुरेशजंग पाण्डेले सञ्चालन गरेको कार्यक्रम सप्ताहका संयोजक रामप्रसाद पाण्डेले स्वागत मन्तव्य राखेका थिए ।

जेसीज सप्ताह अन्तर्गत वैशाख २० गते नेतृत्व विकास तालिम, २१ गते मानसिक स्वास्थ्य शिविर, २२ गते रत्नविज समिट, २३ गते वृक्षरोपण, २४ गते लागूऔषध दुव्यर्सनसम्बन्धी सचेतना, २५ गते अन्तरमावि वक्तृत्वकला र सोही दिन जेसीज सप्ताह समापन तथा रजत जयन्ती समारोह हुने छ ।

जेसीज सप्ताह जिल्लाको आर्थिक विकासको खोजी गर्दै सामाजिक काम गरेर मनाउन थालिएको भन्दै अध्यक्ष पुरीले समाजले युवाहरुको भूमिका खोजिरहेको बेला युवाहरुलाई समाजमा जोड्ने गरी कार्यक्रम तय गरिएको बताए ।

इलाममा रास्वपा उम्मेदवार मिलन लिम्बूसहित १६ उम्मेदवारको जमानत जफत

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम–२ मा सम्पन्न उपनिर्वाचनमा १६ जना उम्मेदवारको जमानत जफत भएको छ । आज बिहान निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बूसहित १६ उम्मेदवारको जमानत जफत भएको हो ।

निर्वाचनमा सदर मत ६८ हजार चार सय ७२ को १० प्रतिशत छ हजार आठ सय ४७ भन्दा कम सदर मत पाएका १० राजनीतिक दलका र छ स्वतन्त्र उम्मेदवारको जमान जफत भएको हो । चौथो स्थानमा रहेका रास्वपाका लिम्बूले पाँच हजार ५० मतमात्र पाउनुभएको थियो ।

जमानत जफत हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का जितबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपालका धनराज रानामगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाह, राप्रपा नेपालका गणेशबहादुर चौहान र नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली छन्। यसैगरी, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्यालको जमानत जफत भएको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा “निर्वाचन प्रणालीअन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ”, भनिएको छ ।

रत्ननगर- १५ मा गर्भवती र सुत्केरी महिलालाई पोषण सामग्री वितरण

बैशाख १७ । रत्ननगर वडा नम्बर १५ का गर्भवती र सुत्केरी महिलालाई पोषण सामग्री वितरण गरिएको छ । सोमवार वडा कार्यालयले वडा भित्रका १० जना गर्भवती र सुत्केरी महिलालाई सामग्री वितरण गरेको हो ।

सुरक्षित मातृत्व अन्तर्गत गर्भवती र सुत्केरी आमालाई पोषण तथा सरसफाई सामग्री वितरण गरिएको वडा अध्यक्ष आशिक तामाङले जानकारी दिए । पोषण सामग्री अन्तर्गत कुखुराकाे भाले, अण्डा, घ्यू, ब्रस, मन्जन, लगायत सरसफाईका सामग्री वितरण गरिएको तामाङले बताए ।

आर्थिक वर्ष २०८०/०८१ मा वडाले ३० जना गर्भवती तथा सुत्केरी महिलालाई पोषणका सामग्री बितरण गरेकाे जानकारी दिए । बाँकी रहेकाे १६ जनालाई चाडै बितरण गर्ने तयारी भईरहेकाे उनकाे भनाईछ ।

पोषण सामग्री वितरण गर्दै वडाध्यक्ष तामाङले गएको वर्षदेखी वडाले पोषण सामग्री वितरण गर्दै आइरहेको भन्दै गर्भवती र सुत्केरी महिलाको स्वास्थ्यप्रति वडाले ध्यान दिदै सामग्री वितरण सँगै नियमित स्वास्थ्य जाँच गराइरहेको बताए ।

आगामी आर्थिक वर्ष २०८१/०८२ मा समेत सुरक्षित मातृत्व कार्यक्रमलाई निर्नतरता दिने वडा अध्यक्ष तामाङकाे भनाई छ ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका सामाजिक विकास समितिका संयाेजक तथा वडा नं. ५ का वडा अध्यक्ष बालकृष्ण चापागाईले वडा बासिलाई प्रत्यक्ष लाभ पुग्ने किसिमका कार्यक्रम ल्याएकाेमा धन्यवाद व्यक्त गरे ।

वडा नं. १५ ले गर्ने विभिन्न किसिमका कार्यहरूमा नगरपालिकाले सहयाेग गर्ने उनले प्रतिवद्ता जनाए ।

कार्यक्रममा वडा सदस्य शिव तिवारी, लिलादेवी पोखरेल, रुकमाया परियार, वडा सचिव सुर्य प्रसाद ढुङ्गाना लगायतको उपस्थिती रहेको थियो ।

आधारभूत स्वास्थ्य सेवा केन्द्र रत्ननगर- १५ की इन्चार्ज रोजीना गिरीले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि, एमाले ७६७७, कांग्रेस ५३९५

इलाम, बैशाख १७ । इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् ।

उनले ७ हजार ६७७ मतका साथ अग्रता कायमै राखेका हुन् ।

सुहाङलाई कांग्रेसका उम्मेदवार डम्बर खड्काले पछ्याइरहेका छन् ।

कांग्रेसका खड्काले ५ हजार ३९५ मत ल्याएका छन् । एमाले र कांग्रेसका उम्मेदवारको मतान्तर २२ सय ८२ रहेको छ ।

तेस्रो स्थानमा रहेका पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ४ हजार ५८ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ११ सय ६२ मत पाएका छन् ।

इलामको फाकफोकथुम र चुलाचुली १,२,३ को मत गणना सकिँदा एमालेले अग्रता बढाउँदै गएको हो ।

इलाम २ मा शनिबार उपनिर्वाचन भएको हो ।

वित्तिय अनुशासन कायम हुन नसक्दा आर्थिक संकट : सिईओ पाण्डे

रत्ननगर,बैशाख १६- नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेले वित्तिय अनुशासन कायम हुन नसक्दा देशमा आर्थिक संकट देखा परेको बताएका छन।

रत्ननगर उद्योग बाणिज्य संघले आईतवार आफ्नै स्वागतको लागि राखेको कार्यक्रममा बोल्दै उनले कोरोनापछि वित्तीय अनुशासनमा बस्न नसक्दा आर्थिक संकट पैदा भएको बताएका हुन।

कार्यक्रममा बोल्दै उनले अनुत्पादक क्षेत्रमा लगानी हुँदा समेत मुलुकमा आर्थिक संकट पैदा भएको बताएका छन् ।

कोरोनापछि सरकारले वित्तीय औजार प्रयोग गर्न नसकेको भन्दै उनले त्यसको प्रत्यक्ष मार मुलुकको आर्थिक क्षेत्रले भोग्नु परेको बताए।

एकातिर राजनीतिक अस्थिर र अर्को तर्फ कोरोना महामारीको असरले आर्थिक सन्तुलन कायम हुन नसकेको उनले बताए ।

कोरोनाले थलिएका विश्वका अन्य देशहरुले वित्तीय औजारको रुपमा व्यक्तिको खाता खातामा पैसा हालेको भन्दै उनले नेपाल सरकारले भने कुनै पनि प्रकारको वित्तीय औजार प्रयोग गर्न नसकेको उनको भनाई छ ।

कोरोनापछि बैंकबाट ऋण लिएर उत्पादनशिल क्षेत्रमा लगानी हुँन नसक्दा अर्थतन्त्रमा समस्या देखिएको प्रमुख कार्यकारी अधिकृत पाण्डेले बताए । बैंकबाट ऋण लिएर घरजग्गा र शेयर बजारमा लगानी गरियो उनले भने पैसा जग्गा र शेयरमा गएर जाम भयो, त्यसको असरले मुलुक थलिएको छ ।

बजारमा हल्ला गरेजस्तो आर्थिक संकट नरहेको भन्दै उनले मौद्रिक नीतिमा सुधार गरे संकट अन्त्य हुने दावी गरे । उनले नेपाल बैंकले आर्थिक कारोबारको अलवा समाजप्रति उत्तिकै उतरदायी रहेको बताए ।

बैंकलाई समाजसंग नजोडी सफलता प्राप्त गर्न नसकिने भन्दै समाजको आवश्यकता पहिचान गरी सामाजिक उत्तरदायित्वका गतिविधि गर्र्दै आएको पाण्डेले बताए । बैंक र ग्राहकको सम्बन्धलाई ऋणिको रुपमा नहेरी सहयात्रीको रुपमा लिन उनले आग्रह गरे । कार्यक्रममा संघका अध्यक्ष शंकर गिरीले पाण्डेलाई स्वागत गरेका थिए ।

सो अबसरमा गिरीले संकटको अबस्थामा व्यवसायीलाई पलायन हुन नदिन बैंकहरुले व्याज, किस्ता र अन्य जटिलतामा लचकता हुनुपर्ने बताए । व्यवसायीहरु ऋण तिर्न प्रतिबद्ध रहेको भन्दै अध्यक्ष गिरीले शंकटको अबस्था विर्सिएर बैंक तथा वित्तीय संस्थाले ऋणिलाई धरपकट गर्न नहुने बताए । उनले व्याजदर समायोजन र सहज कर्जाको व्यवस्था मिलाउन आग्रह समेत गरेका थिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा उवा संघ रत्ननगरका निवर्तमान अध्यक्ष अनिलकृष्ण श्रेष्ठ, संघका संस्थापक अध्यक्ष हरिशरण पाठक, संघका उपाध्यक्ष हरिप्रसाद अधिकारी, केरा उत्पादक महासंघका संयोजक विष्णुहरि पन्त लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम संघका बरिष्ठ उपाध्यक्ष निराजन खनालले सञ्चालन गरेका थिए । कार्यक्रममा नेपाल बैंक टाँडी शाखाका प्रमुख सरोज खनाल,संघका पूर्वअध्यक्षहरु, पदाधिकारी तथा कार्यसमिति सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

सन्दीप लामिछानेको पुनरावेदनमाथि सुनुवाई हुँदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एवं लेग स्पिनर सन्दीप लामिछानेमाथिको बलात्कार सम्बन्धी मुद्दाको सुनुवाई आज हुँदैछ ।

उच्च अदालत पाटनमा परेको पुनरावेदनमा आज सुनुवाई हुन लागेको हो । यसअघि अदालतले हेर्न नभ्याइने भन्दै मुद्दाको पेशी आजलाई सारेको थियो ।

सन्दीप पक्षका वकीलहरुले मुद्दालाई प्राथमिकतामा राखेर हेर्नुपर्ने बताउँदै आएका छन् ।

बागलुङ कालिकामा चैते दसैंको भेटी गत वर्षभन्दा ११ लाख घट्यो

१५ वैशाख, बागलुङ (गलकोट) । गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठका रुपमा रहेको बागलुङ कालिका मन्दिरमा चैते दसैंको अवसरमा ४० लाख रुपैयाँ भेटी सङ्कलन भएको छ ।

कालिका मन्दिरमा बडादसैं र चैते दसैंमा सबैभन्दा बढी भेटी सङ्कलन हुँदै आएको छ । कालिका मन्दिरमा यस पटकको चैते दसैं (नवरात्री)को अवसरमा ४० लाख ७२ हजार ५५८ रुपैयाँ भेटी सङ्कलन भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।

उनका अनुसार गत वर्षको चैते दसैंको अवसरमा सङ्कलित भेटीको तुलनामा यस पटक ११ लाख कम सङ्कलन भएको छ । गत वर्षको चैते दसैंमा ५१ लाख रुपैयाँ भेटी सङ्कलन भएको थियो ।

नवरात्र सुरु भएपछि चैते दसैं अवधिभर पाँच लाखभन्दा बढी दर्शनार्थीले कालिका मन्दिर दर्शन गरेका थिए । उनीहरुले चढाएको भेटी, नगद सहयोग, बलि लगायतबाट उक्त रकम भेटी चढाएका छन् ।

चैते दसैंको अवसरमा कालिका भगवती मन्दिरमा यस पटक बलिको सङ्ख्या घटेकाले अघिल्लो चैते दसैंको तुलनामा ११ लाख रुपैयाँ कम भेटी सङ्कलन भएको खड्काको भनाइ छ ।

‘यस पटकको चैते दसैंमा दर्शनार्थी बढेको तर बलि घटेको पाइएको छ, बलि घट्नासाथ भेटीमा कमी आएको हो, तर धार्मिक पर्यटकको सङ्ख्या क्रमशः बढ्दै आएको हामीले पाएका छौँ, चैते दसैंमा पाँच लाख भन्दा बढी धार्मिक पर्यटक मन्दिरमा आएका छन्’, खड्काले भने, ‘चैते दसैंको नवरात्र अवधिभरमा सबैभन्दा बढी भेटी चैत्राष्टमी (चैते दसैं)को दिनमा नौ लाख १८ हजार रुपैयाँ भेटी सङ्कलन भएको छ ।’

मन्दिर आसपासमा रहेका सटरबाट मन्दिरले मासिक रु तीन लाख १४ हजार भाडा असुल गर्दै आएको छ । त्यसबाहेक मन्दिरमा चढाइने अक्षता, बोका तथा कुखुराको टाउकोबाट पनि कमाइ हुने गरेको छ ।

परेवा उडाउनेले तिर्ने शुल्क, विवाह र व्रतबन्ध शुल्क, मन्दिरमा आउने पण्डितले बुझाउने दस्तुरसमेतबाट आम्दानी जोडिने गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव निशान खड्काले जानकारी दिए ।

पाल्पामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१५ वैशाख, पाल्पा । पाल्पामा टिपरको ठक्करले मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका-६ जुठापौवाका ४६ वर्षीय जगबहादुर बलाल रहेको प्रहरीले जनाएको छ ।

शनिबार बेलुका सिद्धार्थ राजमार्गको दोभानदेखि तिनाउ गाउँपालिका–१, कचलको सर्वोत्तम चुनढुंगा खानीतर्फ जाँदै गरको लु २ ख ८७४ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको लु १७ प १५२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बलालको घटनास्थलमै मृत्यु दोभान प्रहरी चौकीले जानकारी दिएको छ ।

मोटरसाइकल ओरालोमा पल्टिएको र विपरीत दिशाबाट गएको टिपरले चालकलाई ठक्कर दिएको हुनसक्ने प्रहरीले जनाएको छ । टिपर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।