Home Blog Page 92

सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

काठमाडौं : सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल फेसबुक र युट्युबमा नाम, ठेगाना र तस्विर सार्वजनिक गरी दु:ख हैरानी तथा मानसिक आघात पुर्‍याएको भन्ने पीडितको उजुरीको आधारमा संखुवासभा चिचिला गाउँपालिका-२ का ३२ वर्षीय केशरमान राईलाई पक्राउ गरेको हो।

साइबर व्यूरोबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा राई संलग्न भएको पाइएपछि उनलाई व्यूरोको टोलीले मंगलबार संखुवासभाबाट पक्राउ गरेको हो ।

उनीउपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जसले एकैवर्षमा लोकसेवाको पाँच परीक्षा उत्तीर्ण गरिन्…

गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती) ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एकवर्ष भित्रमा उत्तीर्ण गरेकी छिन्। धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा उत्तीर्ण गरेकी हुन्।

उनले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, बागमती प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह र सङ्घीय लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह उत्तीर्ण गरेकी हुन्।

उनले भनिन्, ‘सानैदेखि नर्सिङ विषय पढ्ने रहर थियो। छात्रवृत्तिमा स्टाफ नर्स अध्ययन पूरा गरी करिब पाँच वर्ष करार सेवामा काम गरेँ।’ परिश्रमका कारण आफूलाई सफलता मिलेको उनको बताइन्। उनले एक महिना मात्र तयारी गरेर परीक्षा उत्तीर्ण हुन सफल भएको जानकारी दिइन्।

‘स्टाफ नर्स उत्तीर्ण गरेपछि विदेश जानेको लर्को लाग्छ’, उनले भनिन्, ‘रुचि र इच्छा भयो भने नेपालमै सम्भव छ, विदेशमा कामलाई खर्चिने समय नेपालमै खर्चिएमा सफल हुन सहज छ।’ उनले पढाइमा सहयोग गर्ने परिवारका सबै सदस्यलाई धन्यवाद दिइन्।

उनले स्टाफ नर्स मेडिटेक नर्सिङ कलेज बुटवलबाट विसं २०७५ मा उत्तीर्ण गरेकी हुन्। यसपछि उनले करारमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा तीन वर्ष र धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा दुई वर्ष काम गरिन्।

उनले माध्यामिक शिक्षा परीक्षा गाउँकै निन्युखर्क माध्यमिक विद्यालयबाट उत्तीर्ण गरेकी छिन्। उनी हाल बुटवल कालिका क्याम्पसमा स्नातक तह शिक्षा सङ्कायमा अध्ययनरत पनि छिन्। रासस

संविधान दिवसमा असल चालचलन भन्दै छुटेका व्यक्ति चोरी आरोपमा समातिए

३ माघ, काठमाडौं । गएको संविधान दिवसमा असल चालचलन भएको भन्दै कारागारबाट छुटेका व्यक्ति फेरि चोरी आरोपमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसएपी शेखर खनालका अनुसार, झम्सिखेलको एक घरमा भएको चोरीमा दोलखाको शैलुङ गाउँपालिका–४ का ४० वर्षका रघुनाथ बस्नेत पक्राउ परेका छन् ।

खनालका अनुसार, बस्नेत चोरी कसूरमा जिल्ला कारागार दोलखामा कैद सजाय भुक्तान गरिरहेका थिए । तर, २०८० साल असोज ३ गते संविधान दिवसका बेला असलचालचलन भएको भन्दै छुटेका थिए ।

‘छुट्नेवित्तिकै उनी फेरि चोरीमा संलग्न भएको देखिन्छ’, एसएसपी खनालले भने, ‘उनलाई यसअघि चोरीमा १२ वर्षसम्म जेल सजायको आदेश भएको थियो ।’

प्रहरीका अनुसार, बस्नेतविरुद्ध हालसम्म १२ वटा मुद्दा दर्ता भएको देखिन्छ । तीमध्ये ९ वटा चोरीसम्बन्धी कसूरका छन् भने ३ वटा अभद्र व्यवहार सम्बन्धी कसूरमा छ ।

‘ललितपुरमा ४, काठमाडौंमा २, काभ्रेमा २, भक्तपुरमा एक र दोलखामा ३ वटा मुद्दा दर्ता भएको देखिएको छ’, खनालले भने ।

एसएसपी खनालका अनुसार, उनले चोरीका लागि अनौठो तरिका प्रयोग गर्ने गरेको खुलेको छ । ‘प्रायः विदेशी बस्ने घरलाई टार्गेट गर्ने गरेको देखिन्छ भने चोरी गर्न छिर्दा र बाहिर निस्किँदा फरकफरक लुगा लगाउने गरेको देखिएको छ’, खनालले भने, ‘प्रहरीलाई अनुसन्धान गर्दा गाह्रो होस् भनेर उनले यसो गर्ने गरेको देखिन्छ ।’

उनले प्रहरीबाट बच्नका लागि चोरी गरेर फर्किँदा समेत सिधै घर नजाने गरेको पाइएको प्रहरीले जनाएको छ ।

‘भक्तपुरको निकोसेरा डेरा भएकामा उनी चोरी गरेर निस्किएर काठमाडौंका विभिन्न स्थान डुलेर कहिले साइकल कहिले पठाओ चढेर घरसम्म पुगेको देखिएको छ’, एसएसपी खनालले भने, ‘धेरै पटक पक्राउ परिसकेको भएर होला उनको अपराध शैली अलि फरक देखिएको छ ।’

प्रहरीले थप अनुसन्धान गरिरहेको छ भने चोरीका अन्य घटनामा पनि उनको संलग्नता हुनसक्ने आशंका छ ।

१५ लाख घुससहित वडाध्यक्ष पक्राउ

काठमाडौँ । १५ लाख घुससहित अख्तियारको टोलीले एक वडाध्यक्षलाई पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि रु १५ लाख घुस लिएको आरोपमा बनेपा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नृपेश बादेलाई पक्राउ गरेको हो।

उनलाई घुस लिइसकेको अवस्थामा मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ३ स्थित गठ्ठाघरबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

आरोपी अध्यक्षसँगै आएका बा ७ च १२९ नम्बरका कार चालक बाह्रबिसे घर भई भक्तपुरको दुवाकोट बस्ने पदम बहादुर प्रधानलाई समेत नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

जिबी राई र रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी दर्ता

काठमाडौँ । सहकारी ठगी प्रकरणमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन एमडी रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी दर्ता भएको छ । सहकारी ठगी प्रकरणमा राई र लामिछाने मुछिएको भन्दै आवश्यक छानबिन र कारबाहीको माग गर्दै नेपाली नागरिकका तर्फबाट युवराज सफलले उजुरी दर्ता गराएका हुन् ।

‘सहकारी ऐनभन्दा बाहिर गई कारोबार गरी सहकारी सम्बन्धी कसुरमा संलग्न उल्लेखित सहकारीका पदाधिकारी, सञ्चालक र गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन ग्यालेक्सी टिभीका सञ्चालक र गोरखा मिडिया नेटवर्कका एमडी रवि लामिछानेलाई कानुन बमोजिम हदैसम्मको कारबाही गर्न यो निवेदन पेस गरेको छु’, निवेदकको माग छ ।

साथै निवेदकले सहकारीबाट कर्जा लिँदा दिँदा गरिएका कर्जा सम्झौता कागज, कर्जा प्रवाह गर्दा गरिएका सहकारीको निर्णय कर्जा लिनेबारे कम्पनीले गरेको निर्णयको प्रतिलिपि वा सक्कल कागज नै झिकाई आवश्यक अनुसन्धान गर्न समेत सहकारी मन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

‘निजहरूले कुनै लिखित सम्झौता बिना कर्जा लिने दिने कार्य गरेका रहेछन् भने पनि संगठित अपराध, जालसाजी ,षड्यन्त्र गरी सहकारीको पैसा लगी हिनामिना गरेको हुँदा यस सम्बन्धी आवश्यक अनुसन्धान गर्नको लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमा पत्राचार गर्नुहुन पनि रजिष्ट्रार ज्यूको ध्यानाकर्षण गराउन चाहन्छु’, निवेदकले भनेका छन् ।

गौशाला-२६ को गोपनियता भङ्ग गरेको आरोपमा एक पक्राउ

काठमाडौँ- गौशाला-२६ को व्यक्तिगत गोपनियता भङ्ग गरेको आरोपमा प्रहरीको केन्द्रीय साइबर ब्यूरोले एक जनालाई पक्राउ गरेको छ ।
गत पुस २६ गते गौशाला–२६ ले दिएको जाहेरीका आधारमा गोपनियता भङ्ग गरेको आरोपमा सङ्खुवासभाका ३२ वर्षीय केशरमान राईलाई प्रहरीले आज पक्राउ गरेको हो ।
ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले भन्नुभयो, “राईलाई आजै सङ्खुवासभा प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौँ ल्याइएको र आजै काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।”
सामाजिक सञ्जालमा आफ्नो नाम र तस्बीर सार्वजनिक गर्नेविरुद्ध कारबाहीको माग गर्दै गौशाला–२६ ले ब्यूरोमा उजुरी दिइएकी थिइन् ।
बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट गौशाला–२६ पीडित भएकी युवती हुन् । काठमाडौँ जिल्ला अदालतले लामिछानेलाई उक्त मुद्दामा आठ वर्ष जेल तथा जरिवाना र क्षतिपूर्तिस्वरुप रु पाँच लाख तिर्नुपर्ने फैसला गरेको थियो ।

रत्ननगर महोत्सवमा दैनिक हजारौं दर्शकको भीड, परम्परागत शैलीका घरहरु रोजाइमा

चितवनको टिकौली चौरमा जारी रत्ननगर महोत्सवमा परम्परागत शैलीमा निर्माण गरिएका घरहरु अवलोकनकर्ताको रोजाइमा परेका छन् । निकै आकर्षक शैलीमा निर्माण गरिएका घरहरु महोत्सवमा पुग्नेहरुले निकै रोचक मानेर हेर्ने र तस्विर खिच्ने गरेका छन् ।

आज मात्र १५ हजार बढी दर्शकले अवलोकन गरेको टिकट व्यवस्थापन समितिका संयोजक विनोद घिमिरेले नारायणी अनलाइनलाई जानकारी दिए । माघ १ गते ३५ हजार दर्शक र माघ २ गते २० हजार बढी दर्शकले अवलोकन गरेको उनले बताए । उनको अनुसार महोत्सव अपेक्षा गरे भन्दा बढीले अवलोकन गरेका छन् ।

घिमिरेले महोत्सवमा रहेका जनजातिका सांस्कृतिक घरहरु धेरै दर्शकहरुले रुचाउने गरेको जानकारी दिए । उनले भने, ‘ ती घरमा फोटो, भिडियो खिच्नेको भीड लाग्ने गर्छ । हरेक घरमा उनीहरुको संस्कृतिअनुसारको सामग्री राखिएकोले दर्शकको रोजाइमा परेको छ । यसबाट अहिलेको पुस्ताले पुरानो जातजाति र संस्कृतिको बारेमा जान्ने अवसर पाएका छन् ।’

नेपालको मैलिकता झल्काउने चार वटा घरमा परम्परागत रुपमा नेपाली समाजमा प्रयोग हुँदै आएका सामानहरु राखिएको छ । जसमा हलो, जुवा, जातो, ढिकी, लाल्टिन, ढोको, नाम्लो, गुन्द्री बुन्ने तानलगायतका सामग्री प्रर्दशनमा राखिएको छ । यहाँ थारु,गुरुङ, मगर,तामाङ जातिको संस्कृति झल्कने घर निर्माण गरिएको छ ।

थारु कल्याण कमिटी क्षेत्र नं ८ का क्षेत्रीय अध्यक्ष रामेश्वर महतोले थारु संस्कृति संरक्षण र प्रवद्र्धनका लागि थारु घर बनाएर प्रर्दशनमा राखिएको बताए । थारु घरमा टुकी, लाल्टिन, आँगनमा देउतालगायत सामग्री राखिएको अध्यक्ष महतोले सुनाए । उनले भने, ‘घरको छानोमा टुकी झुन्ड्याएर राखिएको छ ।

जसलाई थारु भषामा डिबरी भन्ने गरिन्छ । डिबरीबाट बिस्तारै विकास हुँदै लाल्टिन र लाल्टिनबाट बिजुली बत्ती बाल्न थालिएको छ ।’ घरको आगनमा देउता राखिएको उनको भनाइ छ । जसलाई भ्रह्मस्थान भनिन्छ । धान मकै तोरीलगायतको अन्नबाली उत्पादन गरी ब्रह्मस्थानमा चढाउने उनले जानकारी दिए । उनले थारु घर निर्माण गर्न उद्योग वाणिज्य संघले ७० हजार रुपैँया दिएको बताए ।

यस्तै गुरुङ जातिको संस्कृति झल्काउने घरमा गुरुङ पहिरनमा रहेकी कुमारी गुरुङले आफनो संस्कार संस्कृति जोगाउन महोत्सवमा परम्परागत शैलीको घर निर्माण गरिएको बताइन् । उनले गुरुङ घरमा ढिँकी, जाँतो, गुन्द्री बुन्ने तान, हलो जुवा, मौरीको घारलगायत सामग्री प्रर्दशनमा राखिएका सुनाइन् ।

उनले गुरुङको रीतिरिवाजमा यी नै सामग्री प्रयोग हुने बताइन् । उनले भनिन्, ‘अहिले कतिपय मानिसलेआफ्नो चालचलन रीतिरिवाज के हो भन्ने बिर्सिसकेका छन् । जसकारण महोत्सवमा यसरी गुरुङ समुदायको घर निर्माण गर्दा धेरैलाई थाहा हुन्छ । गुरुङ समुदायको घर यस्तो हुदो रहेछ ।’ घर प्रदर्शनमा राख्दा यस्तो पो हुँदो रहेछ हाम्रो संस्कृतिका घर सामग्रीहरु भनी अहिलेको बालबालिकालाई थाहा हुने उनको भनाइ छ ।

नेपाल मगर संघ नगर समितिका अध्यक्ष भुवनसिहं मगरले मगरको संस्कृति झल्कने घरमा जाँतो, झ्याल, रक्सी पार्ने चुलो, ढिकी र गुन्द्री बुन्ने तान राखिएको बताए । अध्यक्ष मगरले रत्ननगर उद्योग वाणिज्य संघले नेपाल मगर संघ नगर समितिलाई मगर घर निर्माण गर्ने जिम्मेवारी दिएको बताए ।

उनले संघले जिम्मेवारी दिएसँगै नौँ दिन लगाएर घर निर्माण गरिएको सुनाए । उनले पुर्खाहरुले प्रयोग गर्दै आएको परम्परागतशैलीको घर सामाग्रीप्रदर्शनमाराखिएको बताए । उनले भने, ‘पुर्खाहरुले प्रयोग गर्दै आएको परम्परागत शैलीको घर सामाग्रीप्रदर्शनमा राखिएको छ ।

अब आउने नयाँ पिढीले आफ्नो रीतिरिवाज, संस्कृति बिर्सिन्छन् कि भनेर मगर घर निर्माण गरी प्रदर्शनमा राखिएको छ । उनले अहिलेको पिँढीले आफ्नो रीतिरिवाज, संस्कृतिजोगाउनको लागि र पुस्ता हस्तान्तरण गर्नको लागि मगर समुदायको घर निर्माण गरि प्रर्दशनमा राखिएको सुनाए । उनले प्रदर्शनमा राखिएको सामाग्री रत्ननगर–११ मङगलपुरमा रहेको सङ्ग्रहालयबाट ल्याएको र महोत्सव सकिएपछि फेरि त्यही सङ्ग्रहालयमा राखिने जानकारी दिए ।

महोत्सवमा चितवनको कृषि र पर्यटनलाई प्राथमिकता दिइएको छ । महोत्सवमा मकैको उत्पादनलाई जोड दिँदै बजारीकरणलाई समेत ध्यान दिइएको छ । मकै बालीको संरक्षण र प्रवद्र्धनका लागि महोत्सव स्थलमा मकै बाली स्थापना तथा मकैको स्टाच्यु निर्माण गरिएको छ ।

महोत्सवमा रामपुर मकै बाली अनुसन्धान केन्द्रबाट २० प्रजातिका मकैको बारेमा जानकारी दिइएको छ । महोत्सव स्थलमा मकै बाली, केरा बगान, च्याउको टनेल र माछा पोखरी निर्माण गरिएको छ । माघ ८ गतेसम्म चल्ने महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीयकला र संस्कृतिसहित राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा बहुराष्ट्रिय गरी करिब ४५० स्टलहरु रहेका छन् । यसपटकको महोत्सवमा तीन लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करिब २५ करोडभन्दा बढीको कारोबार हुने अपेक्षागरिएको छ ।

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं, माघ ३ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दै छ । पार्टीको आर्थिक र प्रशासनिक नियमावली, विभागीय नियमावली, विभागहरूको कार्य प्रगति विवरण लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

महामन्त्री मुकुल ढकालका अनुसार आज दिउँसो ३ बजे केन्द्रिय कार्यालयमा बस्ने बैठकमा पार्टीले गर्न लागेको विकास आयोजनामा पदयात्राका विषयमा पनि छलफल हुनेछ ।

रास्वपाले २१ विकास आयोजनामा पदयात्रा गर्ने तयारी गरिरहेको छ । विकास निर्माणका कार्यमा सरकारलाई दबाब दिन पदयात्रा गर्न लागिएको नेताहरूले बताएका छन् ।

आज देशभर कहाँ- कहाँ हुँदैछ वर्षा ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ।

साथै लुम्बिनी प्रदेशका एक वा दुई स्थान तथा मधेश र कोशी प्रदेसका तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो कोशी, बागमती ,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।

कोशी, बागमती , गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती भने कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती , गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

ह्याट्रिकसहित सूर्य तामाङले ६ विकेट चट्काएपछि मधेशविरुद्ध बागमती प्रदेशको शानदार जित

काठमाडौं,२ माघ । युवा बलर सूर्य तामाङले ह्याट्रिक विकेटसहित ६ विकेट चट्काएपछि प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटमा बागमती प्रदेशले मधेश प्रदेशलाई हराउँदै पहिलो जित निकालेको छ ।

बागमतीले दिएको १९१ रनको विजयी लक्ष्य पछ्याएको मधेश २९ ओभरमा १०४ रनमा अलआउट भएपछि बागमतीले ८६ रनको फराकिलो जित निकालेको हो ।मधेशका लागि पवन सर्राफले ४५ र निरज यादवले १५ रन जोड्नुबाहेक अन्य खेलाडीले राम्रो पदर्शन गर्न सकेनन् ।

मधेशलाई निराश बनाउनेक्रममा बागमतीका लागि सूर्य तामाङले घातक बलिङ गरे । सनसनीपूर्ण बलिङ गरेका तामाङले ९ ओभरमा १९ रन दिएर ६ विकेट चट्काए ।

उनले २९ ओभको पहिलो दोस्रो र तेस्रो बलमा लगातार रुपेश सिंह, राजेश यादव, र संसद अन्सारीलाई आउट गरे । तामाङले सोहि ओभरको अन्तिम बलमा रञ्जित कुमारलाई एलबीडब्लूमा पारेर आउट गर्दै टिमलाई पहिलो जित दिलाए ।

तामाङले जारी प्रतियोगिताको तीन खेलमा १२ विकेट लिँदै विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा रहेका छन् । त्यस्तै प्रतिश जिसिले पनि २ विकेट लिए ।

यसअघि प्रतिश जिसिले आक्रामक ब्याटिङ गर्दै अर्धशतक हिर्काएपछि बागमती प्रदेशले मधेश प्रदेशलाई १९१ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो ।

माथिल्लो मूलपानी मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको बागमती ४९ दशमलव २ ओभरमा अलआउट हुँदै १९० रनमा समेटियो । बागमतीका लागि प्रतिशले ५९ रनको अर्धशतकीय पारी खेले । ५५ बलको सामना गरेका उनले समान ४ छक्का र चौका हिर्काए ।

त्यस्तै रविन जोशीले २१ रन थपेको खेलमा इशान पाण्डेले १५, विपीन आचार्यले १३, रित गौतमले १२ र रिजन ढकालले ११ रन थपे । बागमतीले ३८ रन अतिरिक्तरुपमा पाएको छ ।

बलिङतर्फ मधेशका रुपेश सिंह र अरनिको यादवले समान २ तथा राजेश यादव, रञ्जित कुमार, पवन सर्राफ र कप्तान हरिशंकर साहले समान १ विकेट लिए ।