वुहानमै रोकिएका ६ नेपालीको स्वास्थ्य सामान्य

कोरोना भाइरस फैलिएको चीनको वुहानमा रोकिएका सबै ६ जना नेपालीको स्वास्थ्य सामान्य देखिएको छ। उनीहरुको स्वास्थ्य जाँच रिपोर्टमा कोरोना (कोभिद १९) संक्रमण नदेखिएको बेइजिङस्थित नेपाली दूतावासका अधिकारीले जनाएका छन्।
 
गत शनिबार राति नेपाल प्रस्थानअघि एयरपोर्टमा ६ जना नेपालीहरुको तापक्रम बढी देखिएपछि उनीहरुलाई शंकास्पद भनी उतै रोकिएको थियो। त्यसपछि उनीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो।
 
‘६ जनाले स्वास्थ्य परीक्षण रिपोर्टमा मंगलबारसम्म कोरोना संक्रमण नदेखिएको हामीलाई जानकारी गराउनु भएको थियो,’ चीनस्थित नेपाली दूतावासका नियोग उपप्रमुख सुशील लम्सालले बेइजिङबाट नेपालखबरसँग भने, ‘आजसम्म हामीलाई कसैले पनि पोजिटिभ भएको कुनै खबर गर्नुभएको छैन। यसको मतलब यता रोकिएका सबै नेपालीको रिपोर्ट नेगेटिभ आएको छ र उनीहरु स्वास्थ्य छन्।’
 
सरकारले हुपेई प्रान्तबाट १ सय ८५ जना नेपालीहरु शनिबार राति स्वदेश फर्काउँदै थियो। तीमध्ये ४ जनाले अन्तिम समयमा चीनमै बस्ने निधो गरेका थिए। तीन जनाको एक परिवारसहित थप ४ जना पुरुषको शरीरको तापक्रम ३७.३ डिग्री सेल्सियसभन्दा बढी देखिएपछि उनीहरुले नेपाल फर्किन पाएका थिएनन्।
 
‘तीन दिनसम्म परिक्षण रिपोर्ट आइसक्छ। आजसम्म कसैले पोजिटिभ भएको जानकारी गराएका छैनन्,’ लम्सालले थपे। ती ६ जनालाई उनीहरु बसिरहेको होस्टलमा शनिबार नै फर्काइएको थियो।
 
शंकास्पद मानिएपछि होस्टललाई नै क्वारेन्टाइनका रुपमा प्रयोग गरी उनीहरुको स्वास्थ्य जाँच पनि गरिएको थियो। अझै पनि उनीहरु क्वारेन्टाइनमै रहेकाले नेपाल फर्किने तत्काल कुनै सम्भावना नरहेको लम्सालले बताए। हुपेई प्रान्तबाट आइतबार बिहान स्वदेश ल्याइएका १ सय ७० जनालाई भने हाल खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ।
 
१४ दिन उनीहरुलाई त्यहाँ राखिएपछि कुनै कोरोना संक्रमण नदेखिएमा घर पठाइनेछ। कोरोना ग्रस्त क्षेत्रबाट आफ्ना छोराछोरीलाई ढिलै भएपनि सरकारले स्वदेश ल्याएकोमा अभिभावकसहित क्वारेन्टाइनमा राम्रो सुविधा भएकामा फर्काइएका नेपालीहरुले पनि खुसी व्यक्त गरेका छन्।

कोरोना संक्रमणबाट विश्व स्वास्थ्य संगठन नै आत्तियो, दियो यस्तो चेतावनी

Previous articleकोरोनाको त्रासपछि १ सय ४० पर्यटकलाई अमेरिका प्रवेश गर्न दिइएन
Next articleकक्षा १० मा अध्ययनरत १७ वर्षीय युवकको शव झुण्डिएको अवस्थामा भेटियो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।