अमूल्य निधि : योगी नरहरिनाथ

योगी नरहरिनाथको जन्म विक्रम संवत् १९७१ फाल्गुण १७ र स्वर्गारोहण २०५९ साल फाल्गुण १४ गते भएको थियो । नेपालका अमूल्य निधि योगीजी हाम्रो बीचमा नरहे पनि उहाँलाई नेपाली समाजले बिर्सन सक्तैन । योगिजीका कीर्ति, ऐतिहासिक खोज र अनुसन्धान नेपालको इतिहासका खोजपूर्ण स्रोत हुन पुगेका छन् । २००८ सालमा पृथ्वीनारायण शाहका दिव्य उपदेश प्रकाशित गर्नुभएको र त्यसैगरी इतिहास प्रकाशन संधिपत्र–संग्रह सात भागसम्म, शिखरिणी यात्रा, गोर्खा वंशावली, हिमवतखण्ड, नेपालका चौध अञ्चल आदि इत्यादि ग्रन्थ प्रकाशित गरी नेपालको इतिहास निर्माणमा योगीजीको ठूलो योगदान रहेको छ । सफल अन्वेषक र कुशल वक्ता योगीजी घण्टौंसम्म बोल्दा पनि थाक्नुहुन्नथ्यो । पृथ्वीनारायण शाहले ‘उप्रान्त यो राज्य दुई ढुंगाको तरुलजस्तो रहेछ, चीनको बादशाहसँग ठूलो घाहा (राम्रो सम्बन्ध) राख्नु, दषिनको समुन्द्रको बादशाहसित घाहा त राख्नु तर त्यो महाचतुर छ, देशका महाजन हाम्रा मुलुकमा आया भन्या दुनियाँ कंगाल गरी छाड्छन्’ भनी दिव्य उपदेशमार्फत् मार्गदर्शन गरेका थिए ।

योगीजी नेपाली इतिहासका सही व्याख्याता र स्वामी प्रपन्नाचार्य वेदका प्रकाण्ड विद्वान हुनुहुन्छ । प्रपन्नाचार्यले वेदमै विद्यावारिधि गर्नुभएको थियो । योगीजी र इतिहाविद् नयराज पन्त, इतिहास शिरोमणि बाबुराम आचार्य, सूर्यविक्रम ज्ञवाली, धनबज्र बज्राचार्य, शंकरमान राजवंशी, नयराज पौड्याल आदि इतिहासकार र खोजकर्तासँग नरहरिनाथको छलफल हुन्थ्यो । योगीजी भन्नुहुन्थ्यो, ‘सुनलाई कसी लगाएको जस्तै हो छलफलबाट निस्किएको निचोड ।’ पछिल्ला दिनमा योगीजीको स्वामी प्रपन्नाचायसँग संगत बढेको थियो । योगी नरहरिनाथ गाईका अत्यन्त भक्त थिए । योगीजीसँग २०५९ सालतिर उनको कुटीमा सँधै एउटा गाईको बाछा अंगरक्षकसरह रहने गथ्र्यो ।

योगीजी भन्नुहुन्थ्यो, ‘कैलास–मानसरोवरदेखि हिन्दमहासागरसम्म जसको राज्य र घर छ, त्यो हिन्दु हो । विश्व विकासको जगज्येष्ठ हिमालय हो । मानव ज्येष्ठ हाम्रो दर्शन हो । मनु यहीं जन्मेका, वेद यही जन्मेका, उपनिषद् तराईमा बनेका हुन् । हाम्रा पूर्खा कतैबाट आएका भनिन्छ, हाम्रो मूलथलो यही हिमवतखण्ड नेपाल हो । मानव सभ्यताको मूल थलो हिमालयको फेद नेपाल हो । राष्ट्रियता हाम्रो गौरव हो हामी यहीँका रैथाने हौं, भगुवा वा आगन्तुक होइनौं । आफ्नै देशलाई समृद्ध बनाउन सक्नुपर्छ, विदेशी सहायताले हामीलाई बिगार्छ । काम गर्दा सानो भइने हीन भावना राख्नुहुन्न ।’ तर, नरहरिनाथजस्तो एक अमूल्य स्रष्टा राजनीतिक उथलपुथल र परिवर्तनको कालखण्डमा मुछिनुभएकाले योगी नरहरिनाथलाई एक विवादास्पद व्यक्तिका रूपमा पनि एकपक्षले हेर्ने गरेको छ ।

२०१७ साल साउन महिनामा नेपाली कांगे्रसका कार्यकर्ता भनिएका तर गोर्खापरिषद्का व्यक्तिको नेतृत्वमा गोर्खामा ठूलै लुटपाट मच्चियो । नेपाली कांगे्रसका कार्यकर्ताको थिचोमिचो पनि बढ्दै गएको अवस्थामा कर्मवीर महामण्डलका अध्यक्ष योगी नरहरिनाथ पनि असोजतिर गोर्खा पुगेका थिए । २०१७ साल कार्तिक ९ गते दिउँसो ३ हजार जति मानिसको जुलुस कर्मवीर महामण्डलको झन्डा लिई ‘नेपाली कांगे्रस धोका हो, पक्षपाती सरकार मान्दैनौं’ भन्ने कांगे्रसविरोधी कडा नारा लगाउँदै अड्डा अगाडि जुलुस आउँदा प्रहरीसँग भिडन्त भई ढुंगामुढा लाठी चार्जपछि गोलीकाण्ड भयो जसमा सात जना मरेको र १० जना गोलीबाट घाइते र ७÷१० जनाका हातखुट्टा भाँचिएकाले सम्हालिन नसक्ने आतंकको सिर्जना भयो । यी सबै कुरा योगी नरहरिनाथको उग्रभाषणका कारण भएको भनियो । कार्तिक ९गते गोर्खाकाण्ड भयो । नरहरिनाथलाई पक्राउ गर्ने आदेश पनि भयो । ‘योगीलाई कांगे्रस मास्न राजदरबारले लिखत दिएर पठाएको छ’ भन्ने झुठा रिपोर्ट वीपीका कानमा पार्न थालेकाले वीपी पनि त्यहीँ कुरालाई विश्वास गरेर बोल्न थाले ।

राजा महेन्द्रले बेलायतबाट ल्याएका उपहार प्रधानमन्त्री पत्नी सुशीलालाई छालाको ब्याग, वीपीलाई टेपरिकर्डर, घडी, ब्रास्लेट दिए । पुस १ गतेभन्दा दुईदिन अगाडि राजाले सोधेको कुरालाई लिएर वीपीले आफ्नो आत्मवृत्तान्तमा भनेका छन्– ‘तपाईले हामीलाई किन मुछ्नु भो त्यो जोगीकाण्डमा ? बिनाप्रमाण किन वक्तव्य दिनुभयो ? हामीलाई दोष लगाउनुभयो ?’ ‘सरकार † मैले होइन जोगीले मुछेको छ । जोगीलाई कारबाही हुँदै छ ।’ ‘तपाईले त्यो कारबाही हुँदाहुँदै किन पब्लिक वक्तव्य दिनुभयो ?’ भनेर राजाले गुनासो गरेको कुरालाई लिएर वीपीले भनेका छन्, ‘महाराजाधिराजले मलाई आदेश बक्सेको छ कि यो धर्म नमान्ने प्रधानमन्त्री र त्यसको सरकारविरुद्ध विद्रोह गरे हुन्छ भनीकन ऊ हिँड्थ्यो ।’ राजा महेन्द्र र प्रधानमन्त्री कोइरालाबीचको सम्बन्धविच्छेदको अध्याय नै यहीँबाट सुरु हुन्छ ।

तर, गोरखाकाण्ड र योगी नरहरिनाथबीच वास्तविकता त्यस्तो थिएन । ‘कर्मवीर महामण्डलले गरेको अनुरोधअनुसार ५ सय चन्दा श्री ५ महाराजाधिराज सरकारबाट बक्सेको छ’ भन्ने कुरा राजा महेन्द्रका सैनिक सचिव शेरबहादुर मल्लले लेख्नुभएको कागज योगीजीले बोक्नुभएको र त्यही कागजलाई अरूले पनि देखेको हुँदा त्यसैलाई राजदरबारबाटै कांगे्रसको विरोधमा जनतालाई विद्रोह गराउन योगीलाई पत्र दिई पठाइएको थियो भन्ने भ्रम खडा गराएर वीपी कोइरालालाई पोल पु¥याइएको थियो । योगीजीलाई जति नै विवादमा उतार्न खोजेता पनि योगी विद्वान मात्रै होइन, अपितु राष्ट्रवादी, भाषाविद्, दार्शनिक तथा वैदिक वाङ्मयका चिन्तक हुनुहुन्थ्यो । चार वेदका ऋचा योगीजीलाई कण्ठस्त थियो । कुनै पनि रोगव्याधीका लागि नेपालका जडीबुटी कुन कहाँ छन् कुन जडीबुटीको के

औषधी बन्छ योगीजीमा कण्ठ थियो । योगीजी नेपाललगायत बाहिर पनि आदर र सम्मानसाथ हेरिने एक विद्वान् हुनुहुन्थ्यो ।’ योगीजीको सद्व्यवहारबाट जोकोही पनि प्रभावित हुन्थे । सिद्धहस्त योगी नरहरिनाथप्रति श्रद्धाञ्जली

The post अमूल्य निधि : योगी नरहरिनाथ appeared first on Rajdhani Daily News.

साउदी बाट ३० जुनमा हिमालय एअरलाइन्सको पाँचौ चार्टर्ड उडान बाट नेपाल फर्कनेलाई अत्यन्त जरुरी सुचना, नाम लिस्ट पनि आयो

Previous articleवास्तविक नक्सा छिट्टै सार्वजनिक गर
Next articleफेरि नेपाल पस्यो पश्चिमी वायु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।