रत्ननगर । पूर्वी चितवनको कालिका नगरपालिकाले नगरभित्रका उत्कृष्ट सामुदायिक तथा संस्थागत विद्यालय, उत्कृष्ट अङ्क हासिल गर्ने विद्यार्थी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल नगरभित्रका खेलाडीलाई बिहीबार सम्मान गरेको छ ।
नगरको शैक्षिक विकासका लागि दिवा खाना कार्यक्रमलाई प्रभावकारी, भौतिक पूर्वाधार निर्माण र शिक्षण सिकाइलाई मजबुत बनाउँदै लगेको सो नगरपालिकाले विद्यार्थी र शिक्षकलाई समेत हौसला प्रदान गर्न विद्यार्थी र विद्यालयलाई एउटै मञ्चमा सम्मान गरेको हो ।
उत्कृष्टता हासिल गरेका विद्यार्थी र राम्रो नतिजा दिन सफल विद्यालयलाई सम्मान गर्दा शैक्षिक विकासमा थप टेवा पुग्ने विश्वासका साथ विद्यार्थी र विद्यालयलाई सम्मान गरिएको मेयर रेग्मीले बताए । शिक्षाबाट नै समृद्ध कालिका बनाउने लक्ष्य पूरा गर्ने भन्दै मेयर रेग्मीले शिक्षालाई प्राथमिकतामा राखेर काम भइरहेको बताए । ‘शिक्षण सिकाइ प्रभावकारी नहुँदासम्म नतिजा राम्रो आउँदैन’, उनले भने, ‘विद्यार्थी र शिक्षकलाई हौसला प्रदान गरेर शिक्षण सिकाइलाई मजबुत बनाउने योजना छ ।’
सो नगरपालिकाले नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा उत्कृष्ट अङ्क ल्याउने सामुदायिक विद्यालयतर्फ ९ जना र संस्थागत विद्यालयतर्फ ६ जना गरी १५ जना विद्यार्थी, पाँचवटा विद्यालय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल नगरभित्रका ३१ जना खेलाडीलाई सम्मान गरिएको नगर शिक्षा अधिकारी चन्द्रा शर्माले जानकारी दिइन् । विद्यार्थी र खेलाडीलाई जनही नगद पाँच हजार रूपैयाँ पुरस्कारसहित सम्मान गरिएको उनले बताइन् ।
कक्षा ८, १० र १२ को परीक्षामा सबैभन्दा बढी विद्यार्थी उत्तीर्ण दरका आधारमा भिमोदय नमुना मावि, सिराई सनराइज इङ्ग्लिस बोर्डिङ स्कुल, राष्ट्रिय मावि समिपुर, सिद्धिविनायक मावि र पृथ्वी माविलाई सम्मान गरिएको हो । त्यसैगरी, कालिका नगरपालिकामा समावेशी शिक्षा सञ्चालनका लागि सहकार्य गरेका ह्याण्डीक्याप इन्टरनेसनल, अटिजम केयर चितवन सोसाइटी, राष्ट्रिय बहिरा महासंघ र सेन्स इन्टरनेसनलाई समेत संस्थागतरुपमा सम्मान गरिएको छ ।


