चितवन — भरतपुर अस्पतालको आइसोलेसन वार्डबाट मंगलबार बिहान भागेका एक संक्रमितलाई प्रहरीले फेला पारेको छ । उनलाई बुधबार बिहान नुवाकोटबाट नियन्त्रणमा लिइएको हो ।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सूर्य थापाले नुवाकोटको बेलकोट–५ मा स्थानीय प्रहरीले उनलाई नियन्त्रणमा लिएको बताए । ‘साइकलमा त्यहाँ पुगेको भन्ने जानकारी आएको छ । बुधबार बिहान १० बजेतिर उनी नियन्त्रणमा आएका हुन्,’ उनले भने ।

भरतपुर अस्पतालले निकालेको सूचनामा भने उनी गल्छीदेखि दुई किलोमिटर भित्र पक्राउ परेको उल्लेख छ ।
भरतपुर ठेगाना भएका १९ वर्षीय युवकलाई संक्रमित प्रमाणित भएपछि भदौ ६ गते अस्पताल ल्याइएको थियो । उनी चोरी आरोपमा प्रहरीको नियन्त्रणमा रहेका बेला संक्रमण पुष्टि भएको थियो ।


