चितवनमा कृषि र पशुपालनमा सरकारले दिएको अनुदान प्रभावकारी बन्दै

0
152

चितवन- चितवनमा कृषि र पशुपालनमा सरकारले दिएको अनुदान प्रभावकारी देखिएको छ । जसका कारण यहाँका किसानहरु आत्मनिर्भर, बजारमा विविधिकरण र उद्यमतर्फ सक्रिय बनेसगैँ सरकारले दिएको अनुदान प्रभावकारी देखिएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजना (एनएलएस आइपी) को अनुदान सहयोगले यस क्षेत्रका निर्वाहमुखी रहेको कृषि र पशुपालनमा रहेकालाई व्यवसायिक उद्यमी किसान बनेका हुन् ।

कूल लगानीको २० प्रतिशत सहकारी समूह वा व्यक्तिको, बैंक तथा वित्तीय संस्थाको अनिवार्य ३० प्रतिशत ऋण लगानी र ५० प्रतिशत आयोजनाले अनुदान दिने कार्यक्रम सफल बन्दै गएपछि यहाँका किसान उद्यमी भएका एनएलएसआईपीका कृषि अर्थशास्त्री सुशील खड्काले बताउनुभयो ।

चितवनमा परियोजना अन्तर्गत ३० वटा परियोजना सञ्चालित रहेको छ भने जसमा ३७ करोड ९२ लाख १४ हजार ३ सय ४८ रुपैयाँ लगानी गरिएको खड्काले जानकारी दिनुभयो ।

भरतपुर महानगरपालिका–६ स्थित देवनगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड विगत एक वर्षअघिबाट एनएलएस आइपीको उपआयोजनाअन्तर्गत नमूना दूध तथा दुग्धजन्य पदार्थ प्रशोधन तथा विविधिकरण एवं बजारीकरण संस्थाको स्थापना गरी आफैँ उद्यमी बनेको छ ।

यो संस्था २०५२ सालमा स्थापना भएर दूध सङ्कलन गरेर निजी दुग्ध उद्योगलाई बिक्री वितरण गर्दै आएको थियो । रु एक करोड ७७ लाखको लागत रहेको उक्त उद्योगले हाल दैनिक तीन हजार लिटर दूध सङ्कलन गर्दै आएको छ ।

संस्थाले दूध प्रशोधन गरेर बजारीकरण गर्दै आएको छ । जसबाट प्रत्यक्षरुपमा २०५ जना सेयर सदस्य लाभान्वित भएका छन् । संस्थाले उद्योगबाट दूध दही, पनिर र नौनी बनाएर बजारमा बिक्री वितरण गर्दै आएको संस्थाका व्यवस्थापक जनार्धन पौडेलले जानकारी दिनुभयो ।

एनएलएस आइपीको उपआयोजना लागू भएपछि विगतमा खासै व्यावसायिक नभएको देवनगर दुग्ध उत्पादक सहकारी संस्था हाल दुग्ध उद्योग स्थापना भएपछि कृषकलाई व्यावसायिक मार्गमा ल्याउन सफल भएको संस्थाका व्यवस्थापक पौडेल बताउनुहुन्छ ।

रत्ननगर नगरपालिका–१२ मा भैँसी तथा गाईपालन गर्दै आउनुभएका दिनेश खतिवडा आफ्नै देशमा श्रम र पसिना बगाउँ भन्ने धारणका साथमा विगत आठ वर्षदेखि यो व्यवसाय गर्र्दै आउनुभएको छ ।

विगतमा आफ्नै तरिकाले पशुपालन गर्दै आउनुभएका खतिवडाले एनएलएस आइपीको उपआयोजना लागू भएपछि हाल दैनिक ४०० लिटर दूध उत्पादन गर्नुभएको छ । पशुपालन गर्दा ब्रिड पहिचान गरी बढी उत्पादन लिन सकिने उहँको अनुभव छ ।

एनएलएस आइपीको अनुदान लिएपछि उहाँले भकारो सुधार, ब्रिड तथा नश्ल सुधार, साइलेज निर्माण तथा भण्डारणजस्ता काम गर्नुभएको छ ।

विगतमा अन्य उद्योग सञ्चालन गरेर लगानी पनि नउठेको अवस्थामा हाल विकल्प खोज्दै जाँदा कृषि व्यवसायमा हात हालेको चितवन माडीका विणुप्रसाद पङ्गेनी बताउनुहुन्छ । हाल उन्नत जातका बाख्रापालन गर्दै आउनुभएका उहाँ मासु उत्पादनमा केही योगदान दिन्छु भन्ने उद्देश्यका साथमा बाख्रापालनमा लाग्नुभएको हो ।

सुरुका दिनमा सातरआठ बाख्राबाट सुरु गर्नुभएका उहाँले एनएलएस आइपीसँग जोडिन पुगेपछि दुई सयको हाराहारीमा बाख्रापालन गर्दै आउनुभएको छ ।

विश्व बैंकको ऋण सहयोगमा आव २०७४ ७५ देखि कार्यान्वयनमा आएकोे नेपाल लाइभ स्टक सेक्टर इनोभेसन (एनएलएसआइपी) आयोजना आव २०८० ८१ मा सम्पन्न हुँदैछ । आयोजना सम्पन्न भएपछि यसअन्तर्गतका उपआयोजना स्थानीय सरकारको जिम्मामा हुनेछ । यस आयोजनाले कृषकलाई आर्थिक र प्राविधिक सहयोग गर्दै आएको छ ।

https://www.ujyaalonepalnews.com/archives/28956

Previous articleसबै सरकारी विज्ञापनलाई समानुपातिक रुपमा वितरण गर्नुपर्नेमा सरोकारवालाको जोड 
Next articleमहाकाली सिँचाइ मूल नहरमा पानी परीक्षण गरिँदै