सरकारका सकारात्मक कामको प्रचार गरौँ : मुख्यमन्त्री पोखरेल

राँझा । प्रदेश नं ५ का मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ५ कमिटीका इञ्चार्ज शङ्कर पोखरेलले सरकारका सकारात्मक कामको प्रचार गर्न पार्टीका नेताहरुलाई निर्देशन दिनुभएको छ । बाँकेको कोहलपुरमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ५ को तेस्रो पूर्ण बैठकमा उहाँले स्थानीय सरकारका काममा सहयोग तथा समन्वय गर्न पार्टीको स्थानीय तह कमिटी क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो ।

सरकारले गरेका राम्रा कामको पार्टी नेता तथा कार्यकर्ताबाटै प्रचारप्रसार गर्नमा कञ्जुस्याइँ भएको भन्दै उहाँले तीनै तहका सरकारले गरेका कामको पार्टी कमिटीले निगरानी र समन्वय गर्दै सफलता हासिल गर्नमा सहयोग गर्न आग्रह गर्नुभयो । “स्थानीय सरकारले गरेका राम्रो कामको सरकारमा नरहेका पार्टीका जिम्मेवार नेताहरुले नै आलोचना गरेर निरुत्साहित पार्ने गतिविधि हुने गरेको पाइएको छ, यो राम्रो होइन”, उहाँले भन्नुभयो । उहाँले पार्टीको केन्द्रीय निर्देशनअनुसार प्रदेश नं ५ का सबै जिल्लामा राजनीतिक अभियान सञ्चालन गरी वैचारिक, राजनीतिक, भावनात्मक एकता सुदृढ गर्दै सरकारका सकारात्मक कामको प्रचार गर्ने र जनसम्बन्ध विस्तार गर्न आग्रह गर्नुभयो ।

बैठकले प्रदेशका लागि तीनमहिने अभियानको खाका तयार गरी फागुनमा जिल्ला तहदेखि तल्लो तहसम्मका पार्टीका बैठक गर्ने, जनसङ्गठन निर्माण गर्ने, चैतमा सर्वसाधारण र कार्यकर्ताबाट सुझाव सङ्कलन गर्ने, तीन तहकै सरकारको कामको समीक्षा गर्ने, प्रचारप्रसार गर्ने र वैशाखमा बृहत् जनसभा गर्ने निर्णय गरेको नेकपा प्रदेश नं ५ का अध्यक्ष ओनसरी घर्तीले जानकारी दिनुभयो । उहाँले प्रदेश नं ५ को प्रशिक्षण र बैठकले पार्टीका नेता, कार्यकर्ता र सदस्यका बीचमा वैचारिक, सङ्गठनात्मक एवं भावनात्मक एकताको विकास गर्ने, केन्द्रीय निकाय एवं विभागको पूर्णता, सबै तहमा पार्टी तथा जनवर्गीय सङ्गठनको एकीकरण, पार्टी सदस्यको एकीकृत अभिलेख र नवीकरण, पार्टी सम्पत्तिको अभिलेख एकीकरणलगायत पार्टी एकताका बाँकी काम सम्पन्न गर्न सम्बन्धित कमिटी तथा निकायलाई सहयोग र सहजीकरण गर्नेजस्ता कार्यमा सघाउ पुगेको दाबी गर्नुभयो ।

साभार : रासस

The post सरकारका सकारात्मक कामको प्रचार गरौँ : मुख्यमन्त्री पोखरेल appeared first on Rajdhani Daily News.

कोठा लिएर बसेको मानव सेवा आश्रमका लागि भवन

Previous articleपशु स्वास्थ्य शिविर सम्पन्न
Next articleनाइजरमा खाद्यान्न वितरणका समय भागदौड मच्चिँदा कम्तीमा २० को मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।