उज्यालो नेपाल, रत्ननगर- रत्ननगरको वडा नं. १६ मा रहेको भद्रकाली माध्यमिक विद्यालयमा विद्यालयको गुणस्तर सुधारको लागी उत्प्रेरणा कार्यक्रम संचालन गरिएको छ । भूतपूर्व विद्यार्थी संघ भद्रकालीको आयोजनामा विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका विद्यार्थी, शिक्षक, शिक्षक अभिभावक संघका पदाधिकारी तथा विद्यालय व्यवस्थापन समितिको लागी उत्प्रेरणा कार्यक्रम संचालन गरिएको हो ।
अभिभावक, शिक्षक र बिद्यार्थीको सम्बन्ध सुधार्ने, सबैलाई आफ्नो दायित्वबोध गराउदै कर्तव्य पालनमा अग्रसर गराउने र विद्यार्थीको उज्वल भविष्य निर्माणमा गर्न सहयोग पुर्याउने उद्देश्यका साथ कार्यक्रम’ सञ्चालन गरिएको संघका अध्यक्ष एलिन गुरुङले बताए ।
विद्यार्थी र अन्य सहभागीको लागी छुट्टाछुट्टै सेसन संचालन गरिएको कार्यक्रममा विद्यार्थी प्रतिको दायित्व, मनोभावना बुझ्ने तरिका, शिक्षक–शिक्षिकाको हौसला बढाउने विधि, विद्यालयप्रतिको दायित्व, विद्यार्थीलाई अभिभावक र शिक्षाप्रतिको कर्तव्य र जीवनका आयाम आदि विषयमा प्रशिक्षण दिइएको थियो ।
आयोजक भूतपूर्व विद्यार्थी संघलाई धन्यवाद दिंदै वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमराज थापाले भद्रकालीलाई रत्ननगरकै उत्कृष्ट शैक्षिक धरोहरको रुपमा विकास गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने विचार व्यक्त गरे । प्रधानाध्यापक तिलक बहादुर कुँवरले उत्प्रेरणा कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रेरक वक्ता विष्णु कुमार देवकोटाले सहजीकरण गरेका थिए ।



