देउसीभैलो खेलेको पैसाले खेलाडीलाई सम्मान र विद्यार्थीलाई न्यानो कपडा वितरण

0
53

उज्यालो नेपाल, पुस ७ – रत्ननगरको वडा नं. १५ मा रहेको विन्देश्वरी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ।

विन्देश्वरी टोल विकास संस्थाले देउसीभैलो खेलेर संकलन गरेको रकम बाट विद्यालयमा आवासीय रुपमा अध्ययनरत १२० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो। विद्यालयमा कालिका, ईच्छाकामना र राप्तीका विपन्न चेपाङ समुदायका बालबालिका आवासीय रुपमा अध्ययनरत छन्।

टोल विकास संस्थाले दशैंमा टोल स्तरीय प्रतियोगितामा दोश्रो भई जितेको खसी विक्री गरी प्राप्त रकम र देउसीभैलो बाट संकलित रकम बाट विद्यार्थीलाई न्यानो कपडा, खेलाडी सम्मान, टोलका मुख्य चोकहरुमा भ्यापर लाईट जडान लगायतको कार्य गरिएको संस्थाका अध्यक्ष ज्ञान बहादुर थिङले जानकारी दिए।

विद्यालयमा शनिवार आयोजित एक कार्यक्रममा विद्यार्थीलाई न्यानो कपडा वितरण र विभिन्न प्रतियोगिताहरूमा टोलबाट प्रतिनिधित्व गर्दै खेल प्रदर्शन गर्न खेलाडीहरुलाई सम्मान गरिएको हो।

कार्यक्रममा वडाध्यक्ष आशिक तामाङ, वडा सदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि र सरोकारवालाहरुको उपस्थिति रहेको थियो।

संस्थाका कार्यसमिति सदस्य दीपक भट्टराईले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष भोजराज रेग्मीले स्वागत मन्तव्य राखेका थिए।

Previous articleहोटल व्यवसायी संघ चितवनले रैथाने फुड फेस्टिबल गर्दै, स्टल बुकिङ खुला
Next articleसमाजवादीका चितवन जिल्ला सचिव र उपसचिवद्वारा पार्टी परित्याग