उज्यालो नेपाल, चितवन- लघुवित्तीय संस्था विरुद्ध संघर्ष समितिका केन्द्रिय सचिव रमेश तमाङले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई वित्तीयसंस्था पिडितको काँधमा टेकेर राज्य व्यवस्था विरुद्ध लागेको आरोप लगाएका छन्। संघर्ष समितिको चितवन जिल्ला भेलाको पुर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनलाई सम्वोधन गदै तामाङले यस्तो आरोप लगाएका हुन्।
प्रसाईको आन्दोलन पश्चगामी रहेको उल्लेख गर्दै तामाङले, “वित्तीय दलदलमा फसेका जनतालाई ऋण मुक्त गराउने आश्वासन देखाएर प्रसाई हिन्दुराष्ट्र र राजतन्त्रको वकालतमा लागेको बताए ।” वित्तीय संस्थाले दिएको दबाब र धाकधम्कीका कारण नागरिक आत्महत्याको बाटो रोज्न बाध्य भईरहेको बेला, ‘व्यवस्था विरुद्धको आन्दोलनमा उकासेर गरिबलाई देशद्रोहको मुद्दामा फसाउने षड्यन्त्र भईरहको उनको भनाई छ ।
सरकारी वार्ता टोलीसंग भएको चारबुँदे सहमती लघुवित्तले नटेरेको भन्दै तामाङले सहमतीको वातावरण निर्माण गर्न विगत तिन महिना देखि स्थगित आफुहरुको आन्दोलन पुन: सुरु भएको बताए । कर्मचारी तहको वार्ता समितिले काम गर्न नसकेको भन्दै उनले उच्च स्तरिय आयोग वा वार्ता समति गठन गरेर आफुहरुको माग सम्बोधन गर्न सरकारसंग आग्रह गरे ।
राष्ट्रबैंकको निर्देशिका विपरित एउटै व्यक्तिलाई दर्जन बढी लघुवित्तले लाखौँ रकम विना धितो लगानी गरेको बताउँदै तामाङले निर्देशिका विपरित काम गर्ने वित्तीय संस्थालाई पनि कारबाहीको दायरामा ल्याउन माग गरे । कारबाहीको डण्डा संधै गरिब र भुईमान्छे माथि मात्र चल्ने गरेको प्रति आक्रोश व्यक्त गर्दै तामाङले संघर्ष समिति अहिले राष्ट्रबैंक केन्द्रित आन्दोलनमा लागेको बताए ।
अर्थतन्त्र भित्रभएका विकृति र विसंगतीको उन्मुलनको लागी संघर्ष समिति ,अर्थव्यवस्था र अर्थनीति नै सुधार्नेगरी आर्थिक क्रान्तिको तयारीमा लागेको उनले जानकारी दिए । खाएको ऋण तिर्न नसकेर आन्दोलन गरेको भ्रम फैलाईएको भन्दै उनले “गरिब किसानहरु खाएको ऋण तिर्न तयार रहेको तर अन्यायपूर्ण ऋण तिर्न असमर्थ रहेको”, उनले बताए ।
लघुवित्त संस्थाले गलत नीति अबलम्बन गर्दै अत्यधिक ब्याज असुल्ने, ऋण तिर्न नसक्दा विभिन्न गालीगलौज, धम्की दिने गरेपछि महिलाहरु भूमिहीन, सुकुम्बासी र विस्थापित हुनेक्रम बढिरहेको संघर्ष समितिका बागमती प्रदेश संयोजक क्षेत्रबहादुर मोक्तानले बताए।
संघर्ष समिति कि चितवन जिल्ला अध्यक्ष सुधा पाठकले लघुवित्तका कर्मचारीले थर्काउने, धम्काउने, गालीगलौज गर्ने, घरमा भएका पशुचौपाया, जिन्सी, गरगहना समेत जबरजस्ती लैजाने गरेको बताईन् । “वेश्यावृति गरेर भएपनि ऋण नतिरी सुख पाउँदिनस्” भनेर लघुवित्तका कर्मचारीहरुले आफ्नो आत्मसम्मानमा चोट पुर्याएको पिडित महिलाहरुले बताए ।
मङ्सिर पाँच देखि सुरु भएको संघर्ष समितिको देशव्यापी कार्यक्रम अन्तर्गत चितवनमा जिल्ला भेला तथा पुनर्गठन कार्यक्रम आयोजना गरिएको हो । सरकारसंग वार्ताको वातावरण निर्माण गर्न केहि महिना देखि स्थगित आन्दोलनलाई पुनर्उठानको लागी जिल्ला भेला आयोजना गरिएको हो ।

