चितवनमा आजदेखि आदिवासी जनजाति साँस्कृतिक महोत्सव सुरु हुदैँ

0
41

चितवन : नारायणी नदी किनारमा आजदेखि आदिवासी जनजाति सांँस्कृतिक महोत्सव सुरु हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय परिषद् चितवनको आयोजनामा आजदेखि चैत १८ गते सम्म महोत्सव हुने भएको हो ।

महोत्सवको उद्घाटन पूर्व शुक्रबार बिहान नारायणगढको क्याम्पाचौरबाट झाँकीसहितको बृहत् ¥याली निकालिने महोत्सव मूल आयोजक समितिका संयोजक महेन्द्र दुराले जानकारी दिए । उनका अनुसार नारायणी नदी किनारमा मध्यान्न १२ बजे महोत्सवको उद्घाटन हुने छ ।

महोत्सवमा विभिन्न जातजातीका घरहरु निर्माण गरिएको छ । नदी किनारमै बनाइएको गाउँमा चितवनका ११ वटा आदिवासी जनजाति समुदायको जातीय पहिचानसहितको गाउँ निर्माण गरिएको हो। नदी किनारको गाउँमा गुरूङ, दुरा, थारू, चेपाङ, भुजेल, कुमाल, राई, दराई, मगर, बोटे र तामाङ समुदायले घर बनाएका छन्।

चितवन जिल्लामा १७ वटा आदिवासी जनजाति समुदाय संगठित भए पनि हाललाई ११ वटा जातिले घर निर्माण गरेर नारायणी नदी किनारमै आदिवासी जनजाति समुदायको साझा गाउँ बनाएको संयोजक दुराले बताए।

आदिवासी जनजाति समुदायको गाउँ प्रमुख आकर्षणको केन्द्र बन्ने उनको भनाई छ । उनले अगाडी भने, “एकै ठाउँमा सबै जातिको घरसहित संयुक्त गाउँ नै बनेको छ, जनजातीहरुको घर र आददिवासी जनजातीहरुले प्रयोग गर्ने परम्परागत सामाग्री तथा औजारहरु प्रमुख आकर्षण बन्ने छ ।”

महोत्सवको प्रवेशद्वार नजिकै बनाइएको मिनी चितवनमा प्रवेश गरिसकेपछि मौलिक घरमात्र नभई आदिवासी जनजाति समुदायले प्रयोग गर्ने सरसामान समेत राखिएको छ। यसले समग्रमा महोत्सवलाई नै आदिवासी जनजाति समुदायको साँस्कृतिक सङ्ग्रहालयको परिचय दिनेमा आयोजक समिति विश्वस्त छ।

नेपालमै पहिलोपटक यो तहको महोत्सव आयोजना गरेर चितवनका आदिवासी जनजाति समुदायले इतिहास कायम गर्ने प्रयास गरिएको संविधानसभाका सदस्य एवम् नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले बताए । यस महोत्सवले आदिवासी जनजाति समुदायका मौलिक परम्परा हराउँदै गएको अवस्थामा नयाँ पुस्तालाई आफ्नो जाति र समुदायबारे परिचित गराउने उनको भनाई छ ।

Previous articleफिफा विश्वकप छनोटमा नेपाल बहराइनसँग ५–० काे फराकिलाे अन्तरले पराजित
Next articleकृष्णबहादुर महरा हाजिरी जमानतमा छुटे