Home Uncategorized जसले डेब्यू प्रशिक्षकत्वमै क्लब च्याम्पियन बनाए

जसले डेब्यू प्रशिक्षकत्वमै क्लब च्याम्पियन बनाए

दशरथ रंगशालामा शनिबार मछिन्द्र क्लब नयाँ च्याम्पियनका रुपमा उदाउँदा प्रवेश कटुवाल सहिद स्मारक ए डिभिजन लिगको डेब्यू सिजनमै उपाधि उचाल्ने भाग्यमानी प्रशिक्षक बने।

क्लबमा हेभिवेट खेलाडी भित्र्याएर उपाधि अभियान शुरु गरेको मछिन्द्र व्यवस्थापनले ती खेलाडीहरुको मार्ग दर्शकका रुपमा यिनै झापाली प्रशिक्षकलाई चुनेको थियो। शीर्ष डिभिजनको फुटबलमा साढे दुई महिनाको उतार चढावमै उनले टोलीलाई च्याम्पियन बनाए।

‘खुशी व्यक्त गर्ने सीमै छैन’, उपाधि उचालेपछि कटुवालले भने, ‘कम्तिमा शीर्ष तीनमा रहने लक्ष्य थियो। लक्ष्य अनुरुप च्याम्पियन बन्यौं’, उनी सुनाउँछन्, ‘मेरा लागि पनि यो पहिलो लिग हो। पहिलो पटक मै च्याम्पियन बन्न पाएँ खुशी व्यक्त गर्ने सीमै छैन।’

यस पटकको लिगको उपाधि उचाल्ने लक्ष्यसहित मछिन्द्र क्लबले राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जनसँगै १३ औं दक्षिण एसियाली खेलकुद (साग)को स्वर्ण विजेता नेपाली टिमका कप्तान सुजल श्रेष्ठ, मिडफिल्डर विशाल राई, गोलकिपर विशाल श्रेष्ठ, गत सिजनका उत्कृष्ट मिडफिल्डर हेमन गुरुङ, दीपक राई, देबेन्द्र तामाङ, अभिशेक रिजाल, अफ्रिकी मूलका एडेलेजा सोमिडे, पिटर सेगुन, विजय धिमाल, रन्जित धिमाल र बुद्ध चेम्जोङ जस्ता हेभिवेट खेलाडीलाई भित्र्याएको थियो।

यस पटक स्टार अनुहारहरुले भरिएको टिम भएकाले कटुवाललाई केही फाइदा थियो। त्यतिकै हेभिवेट खेलाडीहरुलाई व्यवस्थापन गर्न चुनौती पनि।

‘स्टार खेलाडीलाई प्रशिक्षण गराउँदा गाह्रो त हुन्छ। हाम्रोमा कसैलाई नखेलाए भने रुष्ट हुने परम्परा छ’, कटुवालले थपे, ‘तर, मैले सबैलाई मिलाएर खेलाए। सबैलाई बराबर मौका दिएर खेलाएको छु। कोही पनि मसँग रुष्ट छैनन्।’

ए डिभिजनमा पहिलो प्रशिक्षकत्व सम्हाले पनि नेपाली लिग फुटबलमा कटुवालले दुई दशक बिताइसकेका छन। २०५६ सालबाट एनआरटीबाट लिग करिअर सुरु गरेका उनले त्यहाँ ३ वर्ष बिताए। त्यसपछि थ्रीस्टार, मनाङ, मछिन्द्र, आरसीटीबाट आफ्नो खेल पस्किए। २०६१ सालमा उनले थ्रीस्टारबाट लिग जितेका थिए।

सन् २०१५ मा भएको राष्ट्रिय लिगमा झापा–११ को कप्तासहित उनी प्रशिक्षकको भूमिका पनि निर्वाह गर्थे। राष्ट्रिय लिगमा त्यसबेला झापा–११ चौथो भएको थियो। त्यहीबेला झापा ११ मा रहेका देवेन्द्र तामाङ, रेजिन सुब्बा, योगेश गुरुङ, विजय धिमाल, रजिन धिमाललगायतका खेलाडीहरुलाई यसपटक मछिन्द्रले अनुबन्ध गरेको थियो। पूराना खेलाडीहरु भएकाले पनि कटुवाललाई टिम हाँक्न सजिलो भएको उनको अनुभव छ।

टिम बलियो हुँदाहँदै पनि बीचमा उतार चढाव रह्यो। मछिन्द्रले १० खेलमा जित, २ मा बराबरी र एकमा हारको नतिजा ब्यहोर्यो। यस्तै मनाङसँगको खेल सकिएपछि मैदानमा झगडा परेपछि मछिन्द्रकाका दीपक राई, देवेन्द्र तामाङ र विजय धिमाललाई दुई खेलको प्रतिबन्ध लगाइएको थियो।

त्यसको प्रभाव खेलमा पनि देखियो। लगत्तै जावालाखेलसँग १–० को झिनो अन्तरले जित हात पारेको मछिन्द्र अर्को खेलमा हिमालयन शेर्पासँग पराजित नै भयो। एन्फा कम्प्लेक्समा पानी परिरहँदा भएको खेलमा मछिन्द्र २–० ले स्तब्ध भएको थियो।

‘त्यसदिन दुबै क्लबले पानी परिरहेकाले नखेल्ने भनेका थियौं तर, एन्फाले खेलाइदियो। हाम्रा खेलाडीहरु पनि प्रतिबन्धमा परेका थिए। त्यसको प्रभाव पनि देखियो।,’ कटुवालले हार चाखेको खेलबारे भने।

यस्तै हेमन गुरुङ एक खेलमात्रै खेलेर टिमबाट अलगत भए। अभिशेष रिजालले विदेश खेल्न जाने भएपछि बीचैमा क्लब त्यागे। त्यसबाहेक सुजल श्रेष्ठ, रेजिन सुब्बा, विराज महर्जन लगायत खेलाडीको इञ्जुरीले पनि टिमलाई सतायो। ‘एकसमय त हामीसँग बेन्चमा तीनवटा खेलाडीमात्रै थिए। त्यस्तो स्थितिबाट गुज्रेर पनि हामी लिग च्याम्पियन भयौं,’ कटुवाल सम्झन्छन्।

आर्मीविरुद्धको फाइनल गर या मरको स्थिति थियो। आर्मीलाई बराबरीको नतिजाले पुग्थ्यो भने मछिन्द्रलाई जितको विकल्प थिएन। त्यो अवस्थामा टोलीलाई च्याम्पियन बनाउँने रणनीति कटुवालसँग के थियो त?

भन्छन्, ‘अन्तिम खेलसम्म आइपुग्दा आर्मी बलिाये टिम हो। उसविरुद्ध गोल गर्न गाह्रो हुन्छ। हामी सुरुदेखि नै सेटपिस (फ्रिकिक, कर्नर, पेनाल्टी)मा बलिया थियौं। हामीले जतिपनि गोल गरेका छौं सेटपिसमा बढी गरेका छौं। हाम्रो रणनीती गोल नखाने र सेटपिसको मौका सदूपयोग गर्ने थियो। त्यसैमा हामी सफल भयौं।’

रञ्जीत धिमालको फ्रिकिकमा आर्मीका विकास खवासले क्लियर गर्न खोजेको हेडर आर्मीकै पोस्टमा गएपछि उक्त आत्मघाती गोल फाइनलको निर्णायक बनेको थियो।

दुई वर्षअघि मात्रै प्रशिक्षकको ए लाइसेन्स प्राप्त गरेका कटुवाल नेपाली फुटबलको विकासका लागि होम एण्ड अबे तथा डबल लिग हुनुपर्ने सुझाव दिन्छन्।

‘यसलाई नै वर्षेनी राम्रो गर्दै लगे पक्कै पनि नेपाली फुटबल राम्रो हुन्छ। होम एण्ड अवे गराउँदा देशभरि नै माहौल सिर्जना हुन्छ,’ लिगका सर्वोत्कृष्ट प्रशिक्षक चुनिएका उनी भन्छन्, ‘अझ डबल लिग भएको भए राम्रो हो।  कम्तिमा पाँच–छ महिना खेलाडीहरु व्यस्त हुन्थे। जति लामो लिग भयो, राष्ट्रिय टिमले त्यहाँबाट त्यति नै राम्रो खेलाडी पाउछन्।’

ए डिभिजन लिगमा मछिन्द्रको नतिजा

मछिन्द्र २–० बीबीसी

च्यासल १–१ मछिन्द्र

मछिन्द्र ३–० फ्रेन्ड्स

एनआरटी ०–१ मछिन्द्र

मनाङ २–२ मछिन्द्र

जावलाखेल ०–१ मछिन्द्र

मछिन्द्र ०–२ हिमालयन शेर्पा

मछिन्द्र १–० नेपाल पुलिस

मछिन्द्र २–० थ्रीस्टार

मछिन्द्र २–१ एपीएफ

मछिन्द्र ६–१ सरस्वती

मछिन्द्र ३–१ संकटा

मछिन्द्र १–० आर्मी

भारतले निर्यात रोक लगाएका औषधि ल्याउन छलफल गर्दै नेपाल

Previous article‘सञ्चारमन्त्रीलाई तत्काल बरखास्त गरियोस्’
Next articleसञ्चारमन्त्रीको अडियोले नेकपामा तरंग- बालुवाटारमा छलफल, बर्खास्त गर्न प्रतिपक्षीको माग
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।