उज्यालो नेपाल। चितवनको रत्ननगरमा मोटरसाइकल अनियन्त्रित भई घरमा ठोक्किँदा दुई युवाको ज्यान गएको छ।
गएराति (बुधवार) राति ११ः५५ बजेको समयमा रत्ननगर–४ वडा कार्यालय नजिक भित्री सडकमा ना २२ प ३४४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई स्थानीय सुमन गदालको घरको भित्तामा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ।
मृत्यु हुनेमा रत्ननगर–३ बन्सी बस्ने वर्ष २२ का जीवन चौधरी र सोहि ठाउँका १८ वर्षीय सुमित महतो रहेका छन्।
घरको भित्तामा ठोक्किएर गम्भीर घाइते भएका मोटरसाइकल चालक जीवन र मोटरसाइकलको पछाडि बसेका सुमितको गएराति १२ः५५ बजेको समयमा भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए।
मृतक दुवै जनाको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ। मोटरसाइकल ठोक्किएर घरको भित्तामा समेत क्षति पुगेको भण्डारीले बताए। घटनाको विषयमा इलाका प्रहरी कार्यालय टाँडीले थप अनुसन्धान गरिरहेको छ।




